कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनीको टिएर भन्ने सानो ठाउँमा भएको थियो । उनका पिता एक मध्यमवर्गीय वकिल थिए । उनी यहुदी थिए । त्यस समय युरोपमा यहुदी परिवारलाई धेरै करकाप र छेकबार हुने हुँदा पिताले इसाई धर्म ग्रहण गरेका थिए । उनको यो धर्मान्तरण आस्थाको विषय नभएर व्यावहारिकताको उपज थियो । पिता हेनरी माक्र्स एक प्रगतिशील विचारका व्यक्ति थिए । कार्ल माक्र्समा त्यसको प्रभाव परेको थियो । पिताभन्दा पनि आफ्नो एक पाका छिमेकीबाट माक्र्स झन् प्रभावित भए । लुडविग वेस्टफेन नाम भएका यी छिमेकी एक बौद्धिक एवम् संवेदनशील सरकारी जागिरे थिए । किशोर माक्र्सको प्रतिभाबाट लुडविग प्रभावित थिए । कार्ल माक्र्सको व्यक्तित्वको विकासमा प्रौढ लुडविगको ठूलो भूमिका रह्यो । कार्ल माक्र्स सम्भवतः भावुक मानिस थिएनन्, तर आफ्नो जीवनको अन्तिम घडीसम्म माक्र्सले लुडविगलाई भावुक भएर सम्झन्थे । लुडविगको छोरी जेनीसँग कार्ल माक्र्सले पछि बिहे गरे । त्यो एक प्रेमविवाह थियो ।

छिमेकमा प्रारम्भिक शिक्षा पूरा गरेपछि माक्र्स उच्च शिक्षाका लागि बोन विश्वविद्यालय गए । भर्खर १७ वर्ष टेकेका माक्र्सका निम्ति उड्नका लागि खुला आकाश उपलब्ध थियो । भावी ससुरा लुडविगको पुस्तकालयमा उनको प्रारम्भिक प्रशिक्षण भएको थियो । परवर्ती समाजवादी चिन्तक सेन्ट साइमनका किताब माक्र्सले त्यहीँ पढे । सेन्ट साइमनले कार्ल माक्र्सको व्यक्तित्व र विचारधारालाई गहिरो रूपमा प्रभावित गरेका थिए । त्यतिवेला युरोपमा सेन्ट साइमनबाहेक पनि अनेकथरी समाजवादी चिन्तक चर्चामा थिए । भावी ससुराले किशोर माक्र्सलाई सबैसँग चिनापर्ची गराए । बोन विश्वविद्यालयमा पुग्दा कार्ल माक्र्सको अगाडिको गोरेटो अपेक्षाकृत स्पष्ट भइसकेको थियो । तिनताका माक्र्सले आफ्ना पितालाई लेखेका पत्र उपलब्ध छन् । कार्ल माक्र्सको बौद्धिक खोजीको व्यापकता त्यस्ता पत्रमा भेट्न सकिन्छ । बोन विश्वविद्यालयको पढाइ सकेर माक्र्स बर्लिन विश्वविद्यालय गए । बर्लिन तिनताका फ्रान्स, बेलायत र अमेरिकामा भइरहेको घटनाक्रमसित सोझै सम्पर्कमा थियो ।

बर्लिन त्यस समय तीव्र वैचारिक मन्थनबाट गुज्रिरहेको थियो । त्यस बौद्धिक समुद्र मन्थनको आधार केन्द्र प्रस्ट थियो । पौराणिक समुद्र मन्थनमा कुनै कच्छपले मदानी धारण गरेको थियो । यसपटकको कच्छप भने कुनै जन्तु थिएन । यो एक घटना थियो । त्यो घटना फ्रान्सेली राज्यक्रान्ति थियो । फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ मा सुरुवात भएको थियो । अमेरिकाको स्वाधीनता संग्रामले फ्रान्सेली राज्य क्रान्तिलाई प्रत्यक्ष प्रभावित गरेको थियो । स्वाधीनताअघि अमेरिकाको माटोमा अंग्रेज र फ्रान्स लडेका थिए । त्यस युद्धबाट फर्केका फ्रान्सेली सैनिकसमेत नयाँ सोच र जीवनमूल्यका साथ फर्के । विचारधाराको तहमा रुसो, भोलटेएर, मन्टेस्कुजस्ता लेखकले फ्रान्समा हलचल मच्चाएका थिए । क्रान्तिको राजनीतिक कारण भने फ्रान्सेली समाजमा विद्यमान थियो । फ्रान्समा राज्यसत्ताको सारा स्रोत राजामा निहित थियो । त्यसपछि राजाका भारदार वा सामन्त थिए । विभिन्न उपाधि धारण गरेका यी सामन्तले आफ्नो अधीनमा रहेका किसानलाई जोतेर, जोताएर खाएका थिए । त्यस्तै बलियो गुरु–पुरोहित भएर बसेका पादरीहरू थिए । फ्रान्सेली समाजमा पादरी र सामन्तप्रति घृणाको व्यापक प्रचार भएको थियो । पादरीको भुँडी फोडेर तिनका आन्द्रामा सामन्तीलाई लट्काउनुपर्छ भन्ने कोठे गफ थियो । दर्शनशास्त्रका उपलब्धिमूलक रचनाहरूले त्यस कुरालाई मलजल गरेको थियो । त्यतिले नपुगेर राजारानीको बानी–व्यहोरा खपिनसक्नुको थियो । राजालाई सिकार र खेलकुदबाट फुर्सद थिएन । उनको माइती देश अस्ट्रियासँग फ्रान्सको शत्रुता थियो । रानी आमजनताको नजरमा विदेशी एजेन्ट थिइन् ! रानीको दाम्पत्य जीवन सुखी र सन्तोषजनक थिएन । सोझी तर बढी नक्कली थिइन् । सिंगारपटार गर्नुबाहेक जुवा खेल्नमा उनको विशेष अभिरुचि थियो । पेरिस र बर्साइ दरबारबाहिर उनका बारेमा घृणास्पद चर्चा मात्र सुनिन्थे ।

फ्रान्सेली राज्यक्रान्ति रक्तरञ्जित भएर अगाडि बढ्यो । पहिले त राजारानी, सामन्ती र उनका मतियार बलि चढे । पछि यो दायरा फराकिलो हुँदै गयो । मारिएकाका मतियार वा सुराकी नै भनेर पनि निर्दोष मारिन थाले । हुँदै जाँदा क्रान्तिका नायकवर्गसमेत बाँकी रहेनन् । नेपोलियनको उदय फ्रान्समा कल्पनातित असुरक्षा, रक्तपात र अराजकताको जगजगीमा भएको थियो । यस्तै अराजकताको गर्भबाट ती दुस्साहसिक सिपाही प्रकट भएका थिए । सन् १७८९ मा थालिएको यस क्रान्तिको १० वर्ष पुग्दा नपुग्दा नेपोलियन फ्रान्सको सर्वेसर्वा भइसकेका थिए । अर्थात्, १७९९ सम्ममा भन्नका लागि तीनजनाको कमिटीमा सत्ता थियो । लगत्तै पछि सन् १८०२ मा नेपोलियन फ्रान्सका आजीवन शासक छानिए । सेनापतिका रूपमा नेपोलियनले सिंगो युरोपमा गजब चमत्कार गरे । उनले सैन्य बलमा जितेका राजा–रजौटा खेदिए । सर्वत्र प्रजातन्त्र वा गणतन्त्र स्थापित भयो । फ्रान्सेली राज्यक्रान्तिको केही ऐतिहासिक कार्यभार थिए । कार्ल माक्र्सको नजरमा यो बुर्जुवा क्रान्ति थियो । नेपोलियनले यस्तो बुर्जुवा क्रान्तिलाई तार्किक निष्कर्षमा पु¥याए । नेपोलियनले फ्रान्समा एकपछि अर्को प्रगतिशील कदमसमेत चाले । तर, उनलाई त्यतिले मात्र पुगेन । उनलाई अब राजा नभई भएन । सम्राट् भएर नेपोलियनले राजाको छोरीसमेत बिहे गरे । क्रान्तिकारी र गणतन्त्रवादी जनसमुदाय उनको विरोधमा गयो । उनको पतन सुरु भयो । सन् १८१५ मा उनी निर्णायक रूपमा हारे । उनलाई बन्दी बनाएर सेन्ट हेलेनाको टापुमा पठाइयो ।

लेखक

कार्ल माक्र्स जन्मँदा नेपोलियन सेन्ट हेलेनमा निर्वासनका वर्ष व्यतित गरिरहेका थिए । तर, नेपोलियनका कथा–व्यथाबाट जर्मनीको प्रत्येक घर गुन्जायमान थियो । प्रत्येक तरुणको मनमा प्रश्न थियो– फ्रान्सेली क्रान्तिले आफ्नो लक्ष्य किन प्राप्त गर्न सकेन ? समता, स्वतन्त्रता र भातृत्वको तीनबुँदे नारामा फ्रान्सेली राज्यक्रान्ति सुरुवात भएको थियो । अब सबै समान हुन्छन्, स्वतन्त्र हुन्छन्, सबैका लागि एकनासको कानुन बन्छ भन्ने सपना थियो । एकनासको कानुन अवश्य बन्यो । तर, त्यस कानुन टेकेर आएको नयाँ समाजमा क्रान्तिको समतामूलक आदर्श चरितार्थ कतैबाट पनि भएन । बडा–बडा विद्वान् र क्रान्तिकारीसमेत छक्क परेर बसेका थिए । युवाहरू प्रश्न गर्दै थिए । हेगेलले त्यस्ता प्रश्नको उत्तर दिने कोसिस गरे । हेगेलको तर्क जटिल थियो, तर उत्तर सजिलो थिएन । हेगेलका अनुसार ती आदर्शको व्यावहारिक अनुवादका निमित्त अहिले समय आएको छैन, एक दिन आउँछ । माक्र्स बर्लिन विश्वविद्यालय जाँदा जर्मनीको सिंगो बौद्धिक समाज हेगेलको चिन्तनबाट आच्छादित थियो । हेगेलको चिन्तन प्रणाली अत्यन्त जटिल र संश्लिस्ट छ । प्रारम्भमा माक्र्स हेगेलमा मस्त डुबे । तर, पछि छिप्पिँदै आएपछि हेगेलसँग उनको मोह भंग भयो ।

माक्र्स बर्लिन विश्वविद्यालयमा पढ्दापढ्दै उनका भावी ससुरा एवम् पथप्रदर्शक लुडविगको मृत्यु भयो । लुडविगको मृत्यु सन् १८४० मा भएको थियो । लुडविगको मृत्युको २ वर्षपछि माक्र्स र जेनी प्रणय सूत्रमा आबद्ध भए । जेनीको परिवारका सदस्यले भने यो विवाहलाई रुचाएनन् । कार्ल माक्र्सको परिवार पनि यस विवाहबाट प्रसन्न थिएनन् । एक त जेनी कार्ल माक्र्सभन्दा केही जेठी थिइन् । दोस्रो उनीहरूको सामाजिक स्तर धेरै फरक थियो । माक्र्स र जेनीको दाम्पत्य जीवन भने सुखद रूपमा चलेको देखिन्छ । माक्र्सका थुप्रा छोराछोरी भए । जेनीले बढो धैर्यतापूर्वक सिंगो परिवारको हेरचाह गर्थिन् । प्रारम्भमा माक्र्स परिवारमा ठूलो आर्थिक संकट थियो । जेनीको एउटा छोरोसमेत कुपोषणको सिकार भयो । एंगेल्सको उदार अनुदानबाहेक आम्दानीको अर्को स्रोत थिएन । र, पनि जेनीले परिवार धानेकी थिइन् ।

बर्लिन विश्वविद्यालयबाट डिग्री लिएपछि कार्ल माक्र्स व्यवसायको खोजीमा लागे । विद्यार्थीकालमै माक्र्स क्रान्तिकारी भइसकेका थिए । कार्ल माक्र्सको क्रियाकलापबाट सरकार सशंकित थियो । त्यसमा पनि माक्र्सको यहुदी पृष्ठभूमि कसैबाट पनि छिपेको थिएन । कार्ल माक्र्सले सरकारी कार्यालय वा विश्वविद्यालयमा जागिर पाउने सम्भावना रहेन । त्यस्तो जागिर खाएर फेरि क्रान्तिकारी कार्य गर्छु भनेर सोच्ने कुरा थिएन । कार्ल माक्र्स आफ्नो सम्पूर्ण जीवन जनताको सेवामा लगाउन चाहन्थे । सौभाग्यवश उनकी पत्नी पनि यस मार्गमा तगारो बनिनन् । कार्ल माक्र्स पत्रकारिता पेसामा लागे । जर्मनीमा तिनताका प्रकाशनको अभाव थिएन । कार्ल माक्र्सले ‘राइनल्यान्ड’ भन्ने पत्रिकामा काम गर्न सुरु गरे । माक्र्स त्यस पत्रिकाको प्रमुख सम्पादक र लेखक थिए । पत्रिकाको माध्यामबाट कार्ल माक्र्सको विचार जनसमक्ष पुग्ने भयो । उनका निमित्त यो एक सिर्जनात्मक चुनौती र अवसर थियो । यसरी पत्रकारिताले उनलाई क्रान्तिकारिता र रोजगारी दुवैको बाटो खोलेको थियो । उनी उत्साही भएका थिए ।

तर उनको यो उत्साह दिगो रहेन । जर्मनी आखिर जर्मनी नै थियो । त्यहाँ फ्रान्स वा बेलायत जस्तो उदारवादी वातावरण थिएन । निरंकुश राजतन्त्र थियो । कडा सेन्सरसिप थियो । माक्र्सले सेन्सरसिपको विरोधमा धेरै लेखे । छिटै नै माक्र्सको अखबार सरकारले प्रतिबन्ध गरिदियो । राज्यले उनलाई जर्मनी छोड्न आदेश दियो । माक्र्स जर्मनी छाडेर ब्रसेल्स बसाइँ सरे । त्यसपछि माक्र्सको बन्जारा जीवन सुरु भयो । केही वर्ष ब्रसेल्स र पेरिसमा बिताएर माक्र्स अन्ततः सन् १८४९ मा बेलायत पुगे ।

बेलायत पुग्नुअघि माक्र्स मनग्य भट्किएका थिए । त्यस्तै भट्किने क्रममा माक्र्स झन्डै दुई वर्ष फ्रान्समा रहे । माक्र्सको फ्रान्सको बसाइ अत्यन्त लाभदायक रह्यो । फ्रान्समा नै उनको विचारधाराले करिब अन्तिम रूप प्राप्त ग¥यो । सबैले भनेका छन्, फ्रान्सेली राजनीतिको द्वन्द्व माक्र्सको चिन्तनको गहिरो आधारशिला हो । स्वयं माक्र्सले यो कुरा स्विकारेका छन् । सबभन्दा ठूलो कुरा त झन् माक्र्सले फ्रान्समा नै आफ्ना आजीवन मित्र फ्रेडरिक एंगेल्सलाई राम्ररी चिने । कदाचित एकपटक पहिल्यै झल्याकझुलुक भेटेको भए पनि उनीहरूको मित्रतामा लाहाछाप यहीँ नै लाग्यो । त्यसैले माक्र्सको जीवनमा पेरिसको त्यो अध्याय अत्यन्त महत्वपूर्ण रह्यो ।

जर्मनीको निसास्सिँदो वातावरणबाट पेरिस पुगेका माक्र्सले त्यहाँ एक उन्मुक्त आकाश भेटेका थिए । तर, त्यहाँ पनि काम पुरानै रह्यो । एउटा पत्रिकासँग सम्बद्ध भए । फ्रान्समा जर्मनीमा जस्तो सेन्सरसिप थिएन, संगत पनि राम्रो थियो । फ्रान्स आएर नै माक्र्स सेन्ट साइमनको विचारसँग झन् गहिरो रूपमा परिचित भए । त्यहीँ नै उनले चाल्स फुरियर र प्रुदोका कृति पढ्ने मौका पाए । प्रुदोसँग पनि उनको राम्रो चिनारी भयो । प्रुदोबाहेक पनि अनेकौँ संगठन र आन्दोलनका नेताहरू फ्रान्समा थिए । त्यस्ता नेतामध्ये अराजकतावादी नेता वाकुनिन प्रमुख थिए । छिट्टै नै माक्र्स प्रुदो र वाकुनिनका भने विरोधी भए ।

फ्रेडरिक एंगेल्सलाई छाडेर माक्र्सको कसैसँग पनि आजीवन स्वाभाविक सम्बन्ध रहेन । माक्र्सको स्वभाव नै अलि विचित्रको थियो । वैचारिक सवालमा उनलाई अलिकति पनि धरमर थिएन । उनले लिएको–बुझेको क्रान्तिको बाटो र लक्ष्यमा चोट पु¥याउने कुनै पनि कुरा उनलाई सह्य थिएन । यी सब कुरालाई उनको चारित्रिक वा व्यक्तिगत कुरा मात्र भनेर हेर्न सकिँदैन । उनको विचारधारको चरित्र स्वयं त्यस्तै थियो । माक्र्स क्रान्तिकारिका निमित्त स्पष्ट, तर्कपूर्ण एवं वैज्ञानिक चिन्तन हुनैपर्छ भन्ने चाहने मानिस थिए । यस्ता स्पष्ट विचार नभएको मानिसलाई माक्र्स खतरनाक सम्झन्थे । अझ जनतालाई आफ्नो पछाडि लगाउन सक्ने प्रभावशाली व्यक्तित्व भएका मानिससँग स्पष्ट विचार छैन भने त्यसका विरुद्ध माक्र्स कस्सिएर लाग्दथे । वाकुनिन तिनताका एक प्रभावशाली विचारक थिए । ठीक त्यस्तै पु्रदो पनि लोकप्रिय विचारक थिए । कार्ल माक्र्सले मन, वचन र कर्मले यिनहरूको प्रभावलाई न्यून गर्न खोजे । उनको महत्वपूर्ण कृति नै प्रुदोविरुद्ध लेखिएको छ, माक्र्सको रचनावलीमा भेटिने ‘दर्शनको गरिबी’ भन्ने पुस्तक प्रुदोविरुद्धको थियो । प्रुदोले गरिबीको दर्शन भन्ने पुस्तक लेखेका थिए । माक्र्सले त्यसैलाई उल्टाएर दर्शनको गरिबी भन्ने लेखेका हुन् । यो उनको पहिलो गम्भीर पुस्तक हो भन्न सकिन्छ ।

सन् १८४८ मा नै उनको र एंगेल्सको संयुक्त लेखनमा ‘दि कम्युनिस्ट मेनुफेस्टो’ लन्डनबाट छापिएको हो । कम्युनिस्ट मेनुफेस्टोको प्रकाशनपछि पनि माक्र्सको वैचारिक विकास रोकिएन । उदाहरणार्थ कम्युनिस्ट मैनुफेस्टोमा सर्वहारावर्गको अधिनायकत्वको उल्लेख पनि छैन । ठीक त्यस्तै उनको आर्थिक चिन्तन पनि पुष्टि भएको छैन । एंगेल्ससँगको भेटले उनलाई अर्थशास्त्रको अध्यनतर्फ प्रवृत्त गरेको थियो । त्यसअघि माक्र्स जर्मन दर्शन र फ्रान्सेली राजनीतिमा रुमल्लिएका थिए । लन्डन प्रवासले मात्र उनलाई दास क्यापिटलसम्म पु¥यायो । यति हुँदाहुँदै पनि कम्युनिस्ट घोषणापत्रको प्रकाशनका साथ उनको जीवनको एउटा महत्वपूर्ण अध्याय टुंगिन्छ ।

कम्युनिस्ट घोषणापत्रको लेखनको आफ्नै पृष्ठभूमि छ । यो लेख्नुभन्दा पहिले माक्र्सले आफ्नो अध्ययनमा भने कुनै कसर बाँकी राखेका थिएनन् । दर्शनशास्त्र, राजनीतिशास्त्रका यावत् तरंगसँग उनी परिचित थिए । सुस्तरी उनी हेगेलको प्रभावबाट मुक्त भए । हेगेलको द्वन्द्ववादले भने उनलाई छाडेन । उनले सेन्ट साइमनको औद्योगिकीकरणको अनिवार्यता र वर्ग संघर्षलाई ग्रहण गरे । वाकुनिनको अराजकता र अस्पष्टता उनलाई मान्य थिएन । तर, उनको संगठनको प्रभाव र क्षमतादेखि माक्र्स चमत्कृत थिए । अन्य समाजवादी विचारक यथा रोवर्ट ओएन र चाल्र्स फुरिएरप्रति पनि ऋणी थिए । समग्रमा माक्र्सले यिनीहरू कोहीलाई पनि पूर्ण स्वीकार गरेका थिएनन् । उनले सबैको कमजोरी खुट्याएका थिए । तर, यी सबैको सकारात्मक कुराको यिनले पञ्चामृत बनाएका थिए । त्यस पञ्चामृतको पहिलो स्वाद हामी कम्युनिस्ट घोषणापत्रमा भेट्छौँ ।

मानिस आफ्नो युगको सन्तान हुन्छ । माक्र्स पनि त्यसको अपवाद थिएनन् । उनलाई भक्तहरू बाइबलका द्रष्टाका स्थानमा राख्न चाहन्छन् । मानौँ उनले कुनै अलौकिक प्रेरणाबाट संज्ञान उपलब्ध गरेका थिए । त्यो यथार्थ थिएन । उनले तत्कालीन युरोपमा घटित घट्नाक्रमबाट शिक्षा लिएर आफ्नो चिन्तन विकसित गरेका थिए । त्यो चिन्तनमा पनि एक होइन, अनेकौँ मनिषीहरूको योगदान छ । कल्पनावादी भनेर चिनिएका रोबर्ट ओवेन, चाल्र्स फुरियर र सेन्ट साइमनलाई पाखा लगाएर माक्र्सको बौद्धिक विकासलाई बुझ्न सकिँदैन । त्यस्तै बेलायतमा त्यस समय विकसित शास्त्रीय अर्थशास्त्रका जनक विशेष गरेर एडम स्मिथ र रिकार्डो वेगर उनका अतिरिक्त मूल्यको सिद्धान्त बन्न सक्दैन थियो । हेगेलको प्रभाव त त्यसै पनि छँदै थियो । हेगेल नपढ्दा त माक्र्स झनै नबुझिने रहेछ भनेर लेनिनले भनेका छन्।

प्रथम विश्व युद्धको प्रारम्भिक वर्षको कुरा हो प्रवासमा रहेका क्रान्तिकारीहरू प्रतिबन्धमा परेका थिए । प्रशस्त फुर्सद थियो । लेनिन जस्ता सतत् सक्रिय रहने मानिसको पनि पुस्तकालय जाने वा सिनेमा हेर्नेबाहेक अरू काम थिएन । त्यस्तो वेलामा लेनिनले फेरि एकपटक हेगेलको दर्शन पढ्न पुगेछन् । हेगेलको दर्शन अध्ययन गर्ने क्रममा लेनिनले आफ्नो नोटबुकमा टिप्पणी लेखेछन्— ‘हेगेल नपढ्दासम्म कार्ल माक्र्सलाई बुझ्नै नसकिने रहेछ । मैले पनि अहिलेसम्म हेगेलको दर्शन राम्रोसँग पढेको थिइनँ । मैले माक्र्सलाई नबुझेको हो कि क्याहो ?’ लेनिनको यो अचम्मको टिप्पणी उनकै हस्तलिपिमा आज पनि पढ्न सकिन्छ ।

ठट्यौली शैलीमा लेनिनले आफ्नो बौद्धिक सीमाको यो संकेत गरेका हुन् । तर, यो उदाहरण लेनिनको विषयमा केही बताउन होइन, यो त कार्ल माक्र्सको बौद्धिक परिचय दिने कोसिस मात्र हो । यत्ति भन्न खोजिएको हो– माक्र्सका उपर हेगेलको सर्वाधिक प्रभाव थियो । माक्र्सले हेगेलको आदर्शवादलाई पचाएर छाडिदिए । तर, हेगेलको चिन्तन–प्रणाली तथा द्वन्द्ववाद कहिल्यै छाडेनन् । खासमा उनले आफ्नो राजनीतिक र आर्थिक मान्यतालाई समेत द्वन्द्ववादको आलोकमा व्याख्या गरे । माक्र्सवादको विषयमा भएको यावत् विषयलाई द्वन्द्ववादले जहिले पनि ठूलो बहसको रूपमा खडा गरेको छ । कतिपय समाजवादी यथा एडबर्ड बर्नास्टिनले माक्र्सवादको सबैभन्दा ठूलो कमजोरीको रूपमा द्वन्द्ववादलाई लिएका छन् । बर्नास्टिनले द्वन्द्ववादलाई रहस्यवादको संज्ञा दिएका छन् । सिद्धान्ततः यो एउटा खतरनाक तर्कजाल हो भन्छन् उनी । उता लेनिन र माओ त्से तुङ भने माक्र्सवादको प्राण नै द्वन्द्ववाद हो भन्छन् । लेनिन र माओबाहेक पनि दर्शनशास्त्रको क्षेत्रमा कार्यरत माक्र्सवादीहरूले द्वन्द्ववादको विषयमा बारम्बार बहस गरेका छन् ।

कार्ल माक्र्सको जन्म हुँदा हेगेल बाँचेकै थिए । प्रसिद्धिको शिखरमा थिए । हेगेलको मृत्यु सन् १८३१ मा भएको थियो । कार्ल माक्र्स उच्च शिक्षाका निमित्त बर्लिन विश्वविद्यालय पुग्दा हेगेलका अनुयायी दुई भागमा विभाजित भएका थिए । दक्षिणपन्थी हेगेलवादी भनिनेहरू यथास्थितिवादीको समर्थन गर्थे भने वामपन्थी हेगेलवादीहरू क्रान्तिका समर्थक थिए । यस्तो हुनुको कारण त्यस दर्शनमा नै अन्तरनिहित थियो ।

हेगेलको प्रसिद्ध कथन छ ‘त्यो वास्तविक छ, जो विवेकसम्मत छ र जो विवेकसम्मत छ, त्यो नै वास्तविकता हो ।’ हुन त जर्मनी भाषामा कसरी लेखे कुन्नि ! हामीले अंग्रेजीमा पढ्दा ज्यादा काइदाले अभिव्यक्त हुन्छ । हेगेलको शब्दमा भन्नुपर्दा च्भब िष्क चबतष्यलब,ि चबतष्यलब िष्क चभब िअर्थात् भनौँ ब्अतगब िष्क चबतष्यलब िबलम चबतष्यलब िष्क बअतगब ि! यो छोटो वाक्य धार्मिक सूत्रजस्तो लाग्छ । तर, जति बुझ्दै गयो उति यसले नयाँ प्रश्न खडा गर्दछ । जो तर्कसम्मत छ, त्यो मात्र वास्तविकता हो भन्नसाथ कुरा उठ्छ तर्क सम्मत चाहिँ के हो त ? हेगेल बर्लिन विश्वविद्यालयका सम्मानित प्राध्यापक थिए । तत्कालीन राज्यले उनलाई मान्यता दिएको थियो । उनले त्यस राज्य व्यवस्थालाई यो तर्कमा आधारित छ, यो नै विवेकसम्मत वास्तविकता हो भन्ने गरेका थिए । तर, हेगेलबाटै प्रेरणा लिएर युवापिँढीले होइन, यो जर्मन राजतन्त्र केको विवेकसम्मत हो भनेर प्रश्न गर्न थालेका थिए । यस्तो प्रश्न गर्नेहरूमा जर्मनीकै लुडविग फायरबाक प्रमुख थिए । कार्ल माक्र्सले फायरबाकको अध्ययन गरेको प्रतिक्रिया थेसिस वन फायरबाक भन्ने विख्यात टिपोटमा लिपिबद्ध गरेका छन् । माक्र्स त्यहा“ लेख्छन्– ‘दार्शनिकहरूले आजसम्म दुनियाँलाई विभिन्न ढंगबाट अथ्र्याएका छन् तर खासमा खाँचो भने दुनियाँलाई फेर्ने हो ।’

यो सानो अभिव्यक्ति धेरै पछि प्रकाशनमा आयो । कार्ल माक्र्सका प्रारम्भिक रचनाको जानकारी उनका प्रारम्भिक अनुयायीलाई समेत थिएन । लेनिन, ट्रट्स्की, रोजा लक्जेम्वर्गसमेतले त्यो देख्न पाएनन् । माक्र्सको जर्मन आइडियोलोजीको नामले यो पुस्तक सन् १९३५ मा मात्र प्रकाशनमा आएको हो । कार्ल माक्र्सका यस्ता पछिल्ला प्रकाशनले पनि उनको हेगेलप्रतिको झुकाबको थप पुष्टि गरेको छ ।

जर्मन राज्यप्रतिको बफादारीका बाबजुद हेगेलले परिवर्तनको विराट् दर्शनको दरबार बनाएका थिए । उनको दर्शनको केन्द्रमा ‘परिवर्तन’ छ । मुख्य किताब उही ‘तर्कशास्त्र’ हो । त्यसैलाई लेनिनले स्विट्जरल्यान्ड प्रवासमा पढेको हो । परिवर्तनको यो तथ्य प्राचीन ग्रिक दर्शनमा हेराकलाइटिसले अत्यन्त नाटकीय ढंगबाट प्रस्तुत गरेका छन् । गौतम बुद्धले पनि परिवर्तनलाई नै आफ्नो धर्म र दर्शनको आधार बनाएका थिए । यसै पनि मानिस जीवनमा प्रत्येक घडी परिवर्तनको अनुभूति गरिरहेको हुन्छ । तर, हेगेलले परिवर्तनको दर्शनमा नयाँ आयाम थपे । उनले परिवर्तन र द्वन्द्वलाई गाँसे । प्राचीन समाजमा पनि द्वन्द्वको अनुभूति थियो । बुद्धको ‘मझिम–निकाय’ अथवा अरस्तुको ‘गोल्डेन मिन’ द्वन्द्वको चिनारीको परिणाम थियो । हेगेलले यी कुरालाई देश, काल र परिस्थितिसँग गाँजेर पेस गरे । समयको साथ प्रत्येक कुरा परिवर्तित हुन्छ । कुनै कुरा संसारमा शाश्वत छैन । जो छ त्यो रँहदैन । तर, हुने र फेरि नहुने क्रममा त्यस जाँदै गरेको वस्तुस्थितिले नयाँ सिर्जना गरेर जान्छ । हेगेलको भाषामा भन्दा थेसिस हुन्छ, त्यसको एन्टिथेसिस हुन्छ । यस्तै द्वन्द्वबाट पछि सेन्थेसिस निस्कन्छ । त्यो सेन्थेसिस कालान्तरमा पछि थेसिसमा परिणत हुन्छ । त्यसैले अर्को एन्टिथेसिस जन्माउँछ र समय पुगेपछि मात्र अर्को सेन्थेसिस निस्कन्छ । कार्ल माक्र्सको पुस्ता फ्रान्सेली क्रान्तिको विफलताबाट किंकर्तव्यविमुढ भएर बसेको थियो । प्रकारान्तरले हेगेल जवाफ दिंदै थिए । फ्रान्सेली राज्यक्रान्तिको लक्ष्य चरितार्थ हुने समय आएको थिएन । त्यसैले विफल भयो । त्यसो भए के सफलता र विफलता नै तर्क र विवेकको एक मात्र कसी हो त ? यस्तो प्रश्न उठाउने युवा जमातलाई हेगेलले चित्त बुझाएनन्, जवाफ दिएनन् । यस्तै नाजवाफीबाट नयाँ पुस्ता अगाडि बढ्यो । कार्ल माक्र्स त्यसमध्ये प्रमुख थिए ।

३० वर्ष पुग्दानपुग्दा कार्ल माक्र्स आफ्नो वैचारिक विकासको दिशाप्रति आश्वस्त भइसकेका थिए । अब उनी कर्म क्षेत्रमा कुद्न चाहन्थे । तत्कालीन विद्रोहको परिदृश्यले यस्तो सोच दिएको थियो । तर, कार्ल माक्र्सका निमित्त क्रान्ति भावावेशको कुरा थिएन । त्यो गहन, वैज्ञानिक शोध–अनुसन्धान र त्यसमा आधारित कर्मको विषय थियो । तथ्यको वास्ता नगर्ने भावुकतामा आएर धेरै ठूला कुरा चुट्ने क्रान्तिकारी पेरिसका कफी हाउसमा भेटिन्थे । कार्ल माक्र्सले तिनलाई गम्भीरतापूर्वक लिएनन् । यस्ताको लहलहैमा लागेर क्रान्तिमा होमिने तत्परता कहिले पनि देखाएनन् । एंगेल्सको स्वभाव बरु बेग्लै थियो । उनी मौका पाउँदा बन्दुक भिर्न पनि तयार देखिन्थे । स्वभावमा यो सानो अन्तर भएर पनि माक्र्स र एंगेल्समा कहिले कुनै मतभेद भएन ।

कार्ल माक्र्सको राजनीतिक विचारधाराको विकासमा भने फ्रान्सको ठूलो प्रभाव थियो । फ्रान्स सिंगो १९औँ शताब्दीमा वर्गसंघर्षको अखडा रह्यो । माक्र्सले एक होइन, अनेकौँपटक फ्रान्सको राजनीतिका बारे कलम चलाए । फ्रान्सको विषयमा लेखिएको तीनवटा साँच्चै नामुद कृति छन् । ती कृतिको नामले नै त्यसको प्रतिपाद्यको बोध गराउँछ । कार्ल माक्र्सले ‘नेपोलियनको १८औँ ब्रुमियर’, ‘फ्रान्समा गृहयुद्ध’, ‘फ्रान्समा वर्गसंघर्ष’ नामक बेग्लाबेग्लै पुस्तक लेखेका छन् । पुस्तकको नामबाटै स्पष्ट छ, कार्ल माक्र्सका उपर फ्रान्सको राजनीतिको ठूलो प्रभाव परेको थियो । ब्रसेल्स र पेरिसमा बस्दा त्यहाँका लडाकु मजदुरसँग उनको जीवन्त सम्पर्क थियो । तिनताका मजदुरहरूको बीचमा काम गर्ने राजनीतिक कार्यकर्ताहरूले आफ्ना बारेमा बताउ“दा आफूलाई कहिले सोसलिस्ट र कहिले कम्युनिस्ट भन्ने गर्थे । सोसलिस्ट वा समाजवादी शब्द केही नरम प्रतीत हुन्थ्यो । माक्र्स जेसुकै भए पनि नरम भने थिएनन् । तदनुरूप उनले केही कडा हुने कम्युनिस्ट शब्द रुचाए । समय बित्दै जाँदा एकपटक फेरि कम्युनिस्ट र सोसलिस्ट पर्यायवाची शब्द पनि बन्न पुगे । प्रथम महायुद्धमा समाजवादी आन्दोलनमा ठूलो फुट देखा प¥यो । त्यसवेला एकपटक लेनिनले फेरि आफूलाई हामीले कम्युनिस्ट नै भन्नुपर्छ भनी अड्डी लिए । त्यस दिनदेखि आजसम्म यो फुट जीवितै छ । अब त सोसलिस्ट र कम्युनिस्ट शब्द नै अलग हो कि जस्तो लाग्छ । यी दुवै शब्दको अभिप्रायः पृथक् नै प्रतीत हुन्छ । सुरुमा यस्तो थिएन । तर, शब्दहरू यसरी नै बन्ने रहेछन् क्यारे ।

कम्युनिस्ट घोषणापत्र
कार्ल माक्र्सको प्रसिद्ध कृति ‘कम्युनिस्ट घोषणापत्र’ उनको वैचारिक विकासको एक कोसेढुंगा हो । त्यतिन्जेलसम्मको आफ्नो सारा शोध, अध्ययन र अनुभव उनले यस पुस्तिकामा प्रस्तुत गरेका छन् । कम्युनिस्ट घोषणापत्र मजदुर संगठनको अनुरोधमा लेखिएको कृति हो । त्यसै संगठनमा सम्पर्क भएका र तिनताका लन्डनमा बसोवास गरिरहेका जर्मन मुलुकका मजदुरहरूले माक्र्स र एंगेल्सलाई आफ्नो संगठनको उद्देश्य र घोषणपत्र लेखिदिन आग्रह गरेका थिए । अनि यो कृति लेखियो । यस कृतिको पहिलो खरोट एंगेल्सले तयार पारेका थिए । एंगेल्सको त्यो रचना प्रश्नोत्तर शैलीमा लेखिएको थियो । माक्र्स पनि त्यस मस्यौदाबाट लाभान्वित भएका थिए । अहिले हामीसँग उपलब्ध कम्युनिस्ट पार्टीको घोषणापत्र भने कार्ल माक्र्सको लेखन थियो । पुस्तक लेखकको ठाउँमा भने कार्ल माक्र्स र एंगेल्स दुवैको नाम छ।

विचारको इतिहासमा यस घोषणापत्रको टक्करको प्रभाव अर्को कुनै दस्ताबेजले पार्न सकेको छैन । घोषणापत्रको मूल दस्ताबेज मुस्किलले ३० पेजको होला । भूमिका र पादटिप्पणी थपिँदा केही ठूलो देखिन्छ । घोषणापत्र सरल, स्पष्ट र प्रेरक छ । झन्डै–झन्डै बुद्ध र इसा मसिहको उपदेश जस्तै बोधगम्य छ । यसै कारणले यो घोषणापत्र यति लोकप्रिय हुन गएको हो । यो घोषणापत्रमा मुख्यतः एउटा जबर्जस्त आह्वान छ– क्रान्तिको ।

घोषणापत्रको पहिलो पंक्ति नै तताउने खालको छ– ‘एउटा प्रेतले युरोपलाई पछ्याइरहेको छ ! त्यो साम्यवादको प्रेत हो । सबै शासक थरहरिएका छन् । अस्ट्रिया, फ्रान्स, जर्मनी, बेल्जियमका कुनै शासक नतर्सेका छैनन् ।’ यस्तो भावावेशपूर्ण वाक्यको लगत्तैपछि सपाट शैलीमा उनी भन्छन्, ‘आजसम्मको मानव जातिको इतिहास वर्गसंघर्षबाट अगाडि बढेको छ ।’ आजसम्मको इतिहासमा एक वर्गले अर्को वर्गलाई शोषण गरेर आफू सुखसयलमा बाँचेको छ । हिजोका दिनमा सामन्तीहरूले खेतालालाई शोषण गरेका थिए । अहिले बुर्जुवाले मजदुरलाई शोषण गरेका छन् । बुर्जवावर्गको आगमनको साथ मानव इतिहासमा एउटा नयाँ तत्व प्रवेश भएको छ । त्यो हो मेसिन वा कलकारखाना । यो मेसिनले मानिसको उत्पादन आशातीत रूपमा अभिवृद्वि गरेको छ । उत्पादनको अभिवृद्धिको तुलनामा श्रमिकवर्गको जीवनस्तरमा भने सुधार भएको छैन । उत्पादन धेरै छ । वस्तु गोदाममा थुप्रेका छन् । तर, बजारमा खोजेजति खरिदार छैनन् । यस परिस्थितिमा स्वामित्वको वर्तमान स्वरूप रहँदासम्म समाज अगाडि बढ्न सक्ने देखिँदैन । र्पुजीवादले उत्पादनका मेसिनसमेतलाई विकसित र परिष्कृत गर्न सक्दैन । पुँजीवादले आफ्नो विकासमा आफैँ तगारो तेस्र्याएको छ । यस्तो थपिएको र थुप्रिएको उत्पादित वस्तुलाई ऊ बाँडेर खान चाहँदैन । उत्पादित वस्तु नबाँडिँदा उत्पादनको साधनमा समेत एक चरणपछि अड्को लाग्छ । यसरी पुँजीवादले आफ्नो अन्त्य आफैँ निम्त्याउँछ ।

माक्र्सले पुँजीवादको उत्पादनशीलताको घनघोर प्रशंसा गरेका छन् । पुँजीवादले सामन्ती संसारलाई बदलिदिएको छ । समाजका यावत् अंगको क्रान्तीकरण गरेको छ । मानिसले पहिलेभन्दा ज्यादा सुविधा पाएको छ । तुलनात्मक दृष्टिले ज्यादा सम्पन्न पनि छन् । यो मानिसको आखिरी गन्तव्य होइन । मानिस आज पनि श्रमिकको रूपमा न्यायोचित ढंगले पुरस्कृत र सम्मानित छैन । आममजदुरको चेतना उक्सिएको छ तर जीवनस्तर दयनीय छ । मजदुरहरू सुस्तरी समाजको सर्वाधिक चेतनशील र संगठित वर्ग बन्दै गएका छन् । समाजमा उनीहरूको बहुमतसमेत बन्दै गएको देखिन्छ । बहुमतमा रहेको यस चेतनशील एवं संगठित समुहले पुँजीवादको शोषण खप्ने कुरै भएन । पुँजीपति चाहेर पनि मजदुरको अनिष्ट गर्न सक्दैन । आखिर मजदुर वर्गको परिश्रमबाट नै पुँजीपतिको नाफा र भरणपोषणसमेत चलेको छ । तर, यसै पुँजीवादको विकासका निमित्त पनि मजदुरवर्गले विद्रोह गर्ने समय आइसकेको छ । त्यो विद्रोह हुन्छ । पु“जीपति सत्ताच्यूत हुनेछन् र मजदुरवर्गको शासन स्थापित हुनेछ ।

कम्युनिस्ट घोषणापत्र अलग–अलग भागमा विभक्त छ । पहिलो भागमा क्रान्तिको आह्वान, पुँजीवादको उपलब्धि सँगसँगै कमी र कमजोरीको चिनारी, दोस्रो भागमा कम्युनिस्टविरुद्व लागेको आरोपको खण्डन र तेस्रो भागमा त्यस समय रहेका केही समानान्तर सोसलिस्ट विचार र संगठनहरूको परिचय र आलोचना गरिएको छ । अन्तिम भागमा भने समयमा कम्युनिस्टहरूको कार्यक्रमको रूपरेखा छ । यी सबै भाग एउटा स्वाभाविक सूत्रमा बाँधिएका छन् । त्यसैले पुस्तकको पहिलो पृष्ठदेखि आखिरी पृष्ठसम्म पढ्दा पाठक एकनासको जोशले तरङ्गित हुन्छ । कम्युनिस्ट मेनुफेस्टोको दोस्रो भागमा कम्युनिस्टहरूप्रति लाग्ने लाञ्छनाको माक्र्सले खण्डन गरेका छन् । तिनताका पनि कम्युनिस्टहरूको निजी सम्पत्ति राख्न नदिने र पारिवारिक सम्बन्धको प्रेम र दायित्वबोधलाई निमिट्यान्न पार्ने आन्दोलन भनिने गरिन्थ्यो । बुर्जुवा समाजमा पनि दाम्पत्य सम्बन्धको नैतिक मर्यादाको खुब गुणगान गाइन्थ्यो । माक्र्सले निजी सम्पत्ति, परिवार र दाम्पत्य बन्धनको आरोपलाई समुचित उत्तर दिने खाँचोसमेत देखेका छैनन् । उल्टो उनी यस्ता कुराहरूको खिसी गर्छन् । यी यावत् कुरा र यी पुराना जीवनमूल्य कहाँ रहे र ? भन्ने माक्र्सको उल्टो प्रश्न छ । बुर्जुवा क्रान्तिले कल, कारखाना पुँजीपतिको पेवा बनाइसकेको छ । अब कोसँग पो भने जस्तो सम्पत्ति बाँकी रहेको छ र ? रह्यो पति–पत्नीको सम्बन्धको कुरा माक्र्स ढुक्क भन्छन्– यो सम्बन्ध पनि अब वेश्यावृत्तितुल्य भएको छ । ‘अझ वेश्या त केही स्वतन्त्र पनि हुन्छन् होला । विवाहित पत्नीको हालत त त्योभन्दा पनि खराब छ ।’ माक्र्सले यस्तो आरोपको खण्डन गरेर समय खेर फाल्न चाहेनन् । त्यस घोषणापत्रमा नै उनी हा.. हा.. गरी उपहास गरेको देखाउ“छन् । पुस्तकको पुच्छरमा त्यस समय समाजमा चर्चित रहेको कम्युनिस्ट समूहहरूको परिचय र आलोचना छ । आलोचना कडा छ । अझ प्रतिद्वन्द्वी हुन पुगेका कम्युनिस्ट संगठनलाई त उनी खप्दै खप्दैनन् । माक्र्सले ‘कल्पनावादी’ भनेर तत्कालीन केही समाजवादीलाई पगरी भिराएका छन् । त्यस्ता पगरी गुथिनेमा रोवर्ट ओवेन, सेन्ट साइमन, फुरियर आदि छन् । यस्तो उपहासले गर्दा समाजवादी आन्दोलनको इतिहासमा यिनीहरूको सम्यक मूल्यांकन हुन सकेको छैन । वास्तविकता के हो भने कार्ल माक्र्स यिनीहरूबाट गहिरो रूपमा प्रभावित थिए । त्यस्तै परिवर्तनवादी चिन्तक र द्रष्टाहरूको का“ध चढेर उनले सुन्दर भविष्यमा चियाएका थिए । पछि गएर एंगेल्सले ‘समाजवाद : काल्पनिक वा वैज्ञानिक’ भन्ने पुस्तिकामा माक्र्सको आलोचनाको केही परिमार्जन गरेका छन् । तर, जो हुने नोक्सान भइसकेको थियो ।

कम्युनिस्ट मेनुफेस्टो प्रकाशन भएको झन्डै २०० वर्ष पुग्न लाग्यो । यसबीच यस पुस्तकलाई हातमा बोकेर धेरै विद्यार्थी र युवाहरू क्रान्तिमा होमिए । पुस्तिका लगभग कविताको शैलीमा लेखिएको छ, कविताजस्तै भावपूर्ण छ । प्रत्येक शब्दमा क्रान्ति आह्वानको तातो फिलिंगोको स्पर्श हुन्छ । लेखकको इमानदारीको तीव्रताको अनुभूति सजिलै गर्न सकिन्छ । पाठकका लागि यो पुस्तक आश्चर्यजनक रूपमा सजिलो पाठसमेत छ । कार्ल माक्र्सका पुस्तकमध्ये दुई सर्वाधिक प्रसिद्ध छन् । एउटा यही ‘कम्युनिस्ट मेनुफेस्टो’ नै हो । अर्को ‘दास क्यापिटल’ हो । ‘दास क्यापिटल’ जति दुरुह छ, झन्डै त्यसै अनुपातमा कम्युनिस्ट घोषणापत्र अत्यन्त सुबोध छ । राजनीतिमा चासो राख्ने प्रत्येक पार्टी वा समूहका कार्यकर्ताले यो पुस्तक पढ्दा निश्चय पट्याइ मान्ने छैनन् । भन्नेले भनेका छन् कार्ल माक्र्सले यो पुस्तिका मात्रै लेखेको भए पनि पुग्थ्यो ।

कार्ल माक्र्स ब्रसेल्समा रहँदाका बखतमा कम्युनिस्ट घोषणापत्र लन्डनमा प्रकाशित भएको हो । जर्मनी र फ्रान्सबाट लखेटिएका माक्र्स मोटामोटी तीन वर्ष त्यता बसेका थिए । उनी बसेको घर अहिलेसम्म ब्रसेल्समा छ । ब्रसेल्सको उनको बसाइ अपेक्षाकृत आरामदायी थियो । माक्र्सको आमाले गतिलो रकम पठाइदिएकी थिइन् । त्यसैले यस घरमा कार्ल माक्र्स बसेका थिए भन्ने पट्टा लगाएर राखिएको छ । उनको आर्थिक खर्च चलेको थियो । फ्रान्स र जर्मनीको तुलनामा बेल्जियमको सरकार माक्र्सप्रति केही नरम थियो । कम्युनिस्ट घोषणापत्रपछि यो स्थिति रहेन । अब ब्रसेल्स सरकारले उनलाई त्यहाँ बस्न नदिने निधो ग¥यो । सरकारले उनलाई तत्काल ब्रसेल्स छोड्न आदेश दियो । माक्र्सको परिवार फेरि बिजोगमा पर्यो । तर, एउटा अद्भूत संयोग प¥यो । ब्रसेल्सको सरकारले निष्कासनको चिठी दिएको घडीमा उनले फ्रन्सका क्रान्तिकारीबाट निम्तो पाए ।

कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको महिना दिन नपुग्दै पेरिसमा विद्रोह भयो । इतिहासमा यो १८४८ को क्रान्तिले जानिन्छ । यो विद्रोह वा क्रान्ति पेरिसमा मात्र सीमित थिएन । स्विट्जरल्यान्डबाट थालिएको विद्रोहको सिलसिला इटली, फ्रान्स, अस्ट्रिया, जर्मनी सबैतिर डडेंलोझैँ फैलिँदै थियो । त्यही क्रान्तिका सिलसिलामा माक्र्सले निम्तो पाएका थिए । कार्ल माक्र्सका निमित्त यहाँभन्दा खुसीको अर्को कुरा थिएन । यात्राको पूर्वसन्ध्यामा बेल्जियमको पुलिससँगको साधारण झैझगडापछि माक्र्स सहर्ष पेरिस गए । तर, पेरिसको अवस्था खराब थियो । माक्र्सले सोचेजस्तो थिएन । भन्नलाई त क्रान्ति भएको थियो तर त्यहाँ कुनै भरपर्दो व्यवस्था हुन सकेको थिएन । क्रान्तिले नयाँ सरकार अवश्य आएको थियो । तर, त्यस सरकारले गरिखाला जस्तो थिएन । माक्र्स त्यस्तो अव्यवस्था रुचाउँदैन थिए । माक्र्स धेरै दिनसम्म पेरिसमा टिक्न सकेनन् । उता जर्मनीमा पनि उथलपुथल भइरहेको थियो । त्यसैले उतैतिर लागे । जर्मनीमा गएर उही जमानामा आफूले थालेको पत्रिकालाई नयाँ नाम दिएर प्रकाशन गर्न थाले ।

जर्मनीमा पनि पत्रिका प्रकाशनको काम सजिलो थिएन । एक त समाज यथास्थितिवादी थियो, माक्र्स क्रान्तिकारी थिए । फेरि माक्र्स पटक्कै मिलनसार थिएनन् । स्वभावका हिसाबले लगभग व्यक्तिवादी थिए । पत्रिका चलाउनलाई केही मानिस जुटाएर टिम बनाई काम गर्ने उनको बुता थिएन । धन्न एंगेल्सको सहाराले केही संसाधन जुटाइयो, पत्रिका प्रकाशन प्रारम्भ भयो । माक्र्सले बडो लगनसाथ त्यस पत्रिकामा अनेक लेख लेखे, सम्पादन गरे । तर, झन्डै सिंगो पश्चिमी युरोपमा उर्लिएको सन् १८४८ को त्यो क्रान्ति दीर्घायु भएन । छिटै सर्वत्र प्रतिक्रियावादी शासकले जिते । माक्र्स त्यो सब देख्दै थिए । देख्ने मात्र होइन, चेतावनीसमेत दिँदै थिए । तर, उनको चेतावनी कसले सुन्ने ?
जर्मनमा पनि प्रतिक्रियावादी शासन आउन धेरै समय लागेन ! छिटै नै माक्र्सको पत्रिका प्रतिबन्धित हुने अवस्थामा पुग्यो । स्थिति कस्तो भयो भने माक्र्सले पत्रिका बन्द हुँदाहुँदैमा अन्तिम अंकमा तत्कालीन सरकारको दमनकारी नीतिको कडा आलोचना गर्न भ्याए । त्यो अंक माक्र्सको अध्येताको लागि अहिले पनि रुचिको विषय छ । खासमा फ्रान्स, जर्मनी, ब्रसेल्सलगायत पश्चिमी युरोपका देशमा कहीँ पनि माक्र्स बस्न सक्ने अवस्था थिएन । यी कुनै पनि देशमा माक्र्स आफूखुसी गएनन् । ठीक त्यस्तै ती देशलाई आफूखुसी छाडेनन् । माक्र्स एकपटक फेरि जर्मनीबाट पनि निष्कासित गरिए । अब उनीसँग जाने एउटै देश थियो, त्यो हो बेलायत । माक्र्स सन् १८४९ मा बेलायतका निमित्त हिँडे । माक्र्स लन्डन हिँडेको तीन–चार दिनपछि उनको परिवार पनि लन्डन पुग्यो । अन्य विभिन्न मुलुकबाट वेलाबखत खेदिँदै फर्किंदै गरेका जस्तै लन्डनमा पनि केही दिनको बसाइ होला भनी माक्र्स त्यहाँ पुगेका थिए । तर, लन्डन बेग्लै अनुभवको देश ठहरियो ।

लन्डन ३
कार्ल माक्र्स लन्डन पुग्दा उनको उमेर मुस्किलले ३० वर्षको थियो । उनको जल्दोबल्दो व्यक्तित्व थियो । प्रतिबद्ध क्रान्तिकारीका रूपमा उनी आफ्नो जन्मभूमि जर्मनीलगायत सिंगो युरोपलाई बदल्न चाहान्थे । तर, यसैले उनको जोर चलेको भए लन्डन धेरै बस्ने थिएनन् । तर, आफ्नो सारा जोस, जाँगर र क्रान्तिकारिताका बाबजुद माक्र्स आफ्नो बाँकी जीवन लन्डनमा बिताउन बाध्य भए । लन्डन पुग्दा जेनी गर्भवती थिइन् । जेनीका यसअघिका तीन सन्तान तीन बेग्लै देशमा जन्मेका थिए । देश निकालाको भागाभागमा त्यस्तो हुन गएको थियो । अब लन्डन पुगेपछि त्यस्तो भागाभाग गर्नुपरेन । तर, डेराबाट निकालिने क्रम भने कायमै रह्यो । प्रारम्भिक वर्षका कष्ट अकथनीय थिए । बालबच्चासमेतले पाउनसम्म दुःख पाए । तर, कार्ल माक्र्सको क्रान्तिजन्य गतिविधिमा कुनै न्यूनता आएन । विश्वभरिका क्रान्तिकारी उनीकहाँ आइरहन्थे । तिनको स्वागत र सम्मानमा उनकी पत्नी व्यस्त रहन्थिन् । त्यसमा जेनीले झिँजो मानेको पनि देखिँदैन । जेनीको स्वभाव साह्रै मीठो थियो । यो माक्र्सका निमित्त ठूलो सहारा थियो । बेलायतको आन्तरिक राजनीतिमा खुलेर विद्रोह नगर्दासम्म बेलायतले यस्ता शरणार्थीलाई दुःख दिँदैनथ्यो । बेलायतमा तत्कालीन कानुनअन्तर्गत रही प्रयोग गर्न सकिने नागरिक अधिकारको स्थिति सन्तोषजनक थियो । बेलायतमा राजनीतिक र सामाजिक क्षेत्रमा मौलिक सुधारसमेत भइरहेको थियो । त्यतिन्जेल अवश्य त्यहाँ बालिग मताधिकार थिएन । मताधिकारको विस्तार भने भइरहेको थियो । मजदुरहरूको काम गर्ने घन्टामा कटौती हुँदै गइरहेको थियो । यी र यस्तै मागहरूका लागि चार्टिस्ट आन्दोलन भन्ने एउटा परिघटनासमेत भइरहेको थियो । एंगेल्सले चार्टिस्ट आन्दोलनलाई विशेष विश्वासका साथ हेरेका थिए । माक्र्सलाई त्यसप्रति विश्वास थिएन । लन्डन आएपछि कार्ल माक्र्सको विशेष ध्यान हिजोको आफ्नो देशको निर्वासित कार्यकर्ता र विशेष गरेर मजदुरहरूको खोजीमा नै रहन्थ्यो । जर्मनीलगायत विभिन्न मुलुकबाट आइपुगेका यस्ता निर्वासित कार्यकर्ताको लन्डनमा बाक्लो उपस्थिति थियो । माक्र्सले उनका माझ सकेजति समय बिताउँथे । माक्र्सले युरोपमा क्रान्तिको आशा छाडेका थिएनन् ।

बेलायत र बाँकी युरोपलाई अंग्रेजी च्यानलले छुट्याउँछ । तर पनि अंग्रेजी च्यानलको पार्थक्यले गर्दा तत्कालीन बेलायत र बाँकी युरोपका बीचमा ठूलो राजनीतिक र सांस्कृतिक खाडल बनाएको थियो । बेलायत दिनानुदिन औद्योगीकरणको बाटोमा अग्रसर थियो । औपनिवेशिक शोषणबाट उसको राष्ट्रिय आयमा तीव्र वृद्वि भइरहेको थियो । त्यहाँका मजदुरको हिंसक क्रान्तिप्रति कुनै आकर्षण थिएन । चार्टिस्टहरू पनि हिंसा भनेपछि तर्सिन्थे । त्यस्तो अवस्थामा अंग्रेज सरकारले कार्ल माक्र्स वा वाकुनिनको उपस्थितिमा चिन्ता गर्ने कुरा थिएन । त्यस्ता यहाँ थुप्रै थिए । यसै पनि फ्रान्सेली क्रान्तिपछि भागेका राजनीतिक सरणार्थीहरूले एउटा परम्परा बसाएका थिए । आखिर फ्रान्सेली क्रान्तिबाट भागेका जो थिए, राजा राजौटा ड्यूक, काउन्ट आदि थिए । यसै पनि त्यस देशमा जोन लक, जेएस मिल, टमस पेन जन्मिइसकेका थिए । विचार स्वतन्त्रताका हकमा कुनै प्रतिबन्ध थिएन । अंग्रेजहरू आफ्नो उपनिवेशका विद्रोहीको निगरानी भने कडा रूपमा राख्थे । तिनले अब जर्मन, फ्रान्स वा रुसको निर्वासित राजनीतिक कार्यकर्तामा धेरै चासो लिँदैनथे । तदनुरूप कार्ल माक्र्सको विश्व प्रसिद्ध कृति कम्युनिस्ट मेनुफेस्टो लन्डनमा सजिलै प्रकाशित भयो । ब्रसेल्समा बसेर मूल जर्मनमा लेखिएको भए पनि त्यसको प्रथम प्रकाशन लन्डनमा भएको हो । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार