सर्वप्रथम राष्ट्रियताका सम्बन्धमा स्पष्ट हुन जरुरी छ । यस कारणले पनि कि राष्ट्रियताका नाममा कतिबेला छद्म राष्ट्रियताले पनि मानिसका मन मस्तिष्कमा डेरा जमाएको हुन सक्दछ । अन्धराष्ट्रवाद, उग्रराष्ट्रवाद, राष्ट्रिय अहङ्करवाद, दब्बू राष्ट्रियतावाद आदि जस्ता राष्ट्रवाद भ्रामक कुरा हुन् । यहाँ प्रश्न उठ्छ– राष्ट्रियता आखिर के हो ? यस विषयमा हामी स्पष्ट हुन जरुरी छ । यो कुरा पनि ठीक हो कि राष्ट्रियतासम्बन्धी परिभाषा वा मान्यताको कुनै सर्वमान्य सिद्धान्त छैन । विविध चिन्तकहरूले यसलाई विभिन्न ढ्रङ्गले परिभाषित गर्ने जमर्को गरेका छन् र उनीहरू त्यसको नजिक नजिक पुग्न सफल पनि भएका छन् ।

राष्ट्रियता सम्बन्धमा लेनिन र स्टालिनका परिभाषाले निकै चर्चा पाएको देखिन्छ । राष्ट्रियता सम्बन्धमा आफ्ना विचार व्यक्त गर्दै लेनिन भन्दछन्– ‘सारा संसारमा सामन्तवादमाथि पुँजीवादको अन्तिम विजयको काल राष्ट्रिय आन्दोलनहरूसँग सम्बन्धित छ । यी आन्दोलनहरूको आर्थिक आधार कुन तथ्यसँग सम्बन्धित छ भने माल उत्पादनमा पूर्ण जिय प्राप्त गर्नका लागि पुँजीपति वर्गद्वारा आन्तरिक बजारहरूमाथि कब्जा गरिनु, एउटै भाषा बोल्ने निवासीहरूका राजकीय दृष्टिले एकताबद्ध इलाकाहरू हुनु र भाषाको विकास तथा साहित्यमा त्यसको परिपुष्टिका सबै वाधाहरूलाई हटाउनु आवश्यक हुन्छ ।’

राष्ट्रियताको सम्बन्धमा स्तालिनले निकै सरल व्याख्या प्रस्तुत गरेका छन् । राष्ट्रियताको सम्बन्धमा बोल्दै स्तालिन भन्छन्– राष्ट्रियताको लागि एउटै भाषा हुनु जरुरी छ तर एउटै भाषा बोल्नेहरूको पनि राष्ट्रियता फरक फरक हुन सक्दछ । ब्रिटिस र अमेरिकीहरू एउटै भाषा बोल्छन् तर उनीहरूको राष्ट्रियता एउटै होइन । यस्तो फरक एउटै भाषा बोल्ने मान्छेहरू फरक फरक भूगोलमा बस्ने भएकोले हो । यसको अर्थ के हो भने राष्ट्रियता भाषा मात्र होइन साझा भूगोल पनि हो तर साझा भूगोल मात्र पनि राष्ट्रियता हुँदैन । त्यसको लागि आन्तरिक आर्थिक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ जसले यसका विविध अङ्गहरूलाई त्यसको पूर्णतासित जोड्दछ । जर्जियालीहरू सुधारभन्दा पहिले एउटै भाषा बोले पनि र एउटै भूगोलमा बसे पनि एउटै राष्ट्र हुन किन सकेका थिएनन् भने उनीहरू एउटै आर्थिक जीवनसित आवद्ध रहेका थिएनन् ।

उनीहरू साझा भूगोलमा बसे पनि अलग अलग भू–भागमा विभाजित भएका थिए । परस्परमा जुधिरहेका थिए तर साझा आर्थिक जीवनले मात्र पनि राष्ट्रियतालाई जन्म दिंदैन । इङ्लैन्ड आयरलैन्ड र अमेरिकाले एउटै भाषा बोले पनि उनीहरूको एउटै राष्ट्रियता हुन नसकेको कारण हो उनीहरूमा विकसित भएको फरक मनोविज्ञान । यसैले राष्ट्रियता मनोविज्ञानको पनि विषय हो । यस्तो मनोविज्ञानले राष्ट्रिय चरित्र वा संस्कृतिको निर्माण गर्दछ । स्तालिन भन्छन्– राष्ट्रिय चरित्र वा संस्कृति कुनै स्थिर कुरा होइन । यो गतिशील हुन्छ र समय अनुसार फेरिंदै पनि जान्छ । रूपान्तरित हुँदै पनि जान्छ । सङ्क्षेपमा स्तालिनले राष्ट्रियतालाई यसरी परिभाषित गरेका छन्– ‘कुनै राष्ट्र एउटा स्थिर समुदाय हो, जसको एक ऐतिहासिक रूपमा विकसित भाषा, सीमा, आर्थिक जीवन र मनोवैज्ञानिक रचना उसको संस्कृतिमा देखा पर्दछ ।’

माथिको चर्चाबाट पनि के कुरा स्पष्ट हुन्छ भने राष्ट्रियता कुनै सरल कुरा होइन । यो अत्यन्त जटिल अवधारणा हो ।
राष्ट्रियताको जन्म पुँजीवादी युगमा भएको हो । अझ यसलाई युद्धको उपज हो पनि भनिएको छ । कुरा के भने राष्ट्रियताको अवधारणा इतिहासको एउटा खास कालखण्डमा युरोपमा भएको हो । १७ औँ शताब्दीमा युरोपमा चलेको तीस बर्से युद्धपछि भएको जर्मनको वेस्ट फेलिया सन्धि (१६४८) लाई राष्ट्रियताको अवधारणाको आधारशिला मानिएको छ । उसरी यसको खास विकास त युरोपको औद्यिगिकरण सँगसँगै हुन पुगेको हो । सामन्तवादी युगबाट पुँजीवादी युगमा प्रवेश गर्नु नै राष्ट्रिय जागरणको लागि उपयृुक्त भौतिक कारण बन्न पुगेको देखिन्छ ।

भनिन्छ, राष्ट्रियता र लोकतन्त्र एउटै सिक्काका दुई पाटा हुन् । यही कुरालाई हाम्रो देशको सन्दर्भमा चर्चा गर्दा हामीले के भन्न सक्दछौँ भने अहिलेसम्म दुई किसिमका राष्ट्रियताले यस मुलुकलाई गाँजेको छ । एउटा हो लोकतन्त्रबिनाको मन्डले राष्ट्रवाद । अर्को हो राष्ट्रियताबिनाको लेन्डुपदोर्जेवाद । अहिलेको हाम्रो आवश्यकता हो लोकतान्त्रिक राष्ट्रवाद । अहिलेको युगमा अझ हाम्रो मुलुकको धरातलीय यथार्थमा लोकतान्त्रिक राष्ट्रवाद सम्भव छ छैन त्यो फेरि छुट्टै अध्ययन र अनुसन्धानको विषय हो । उसरी हामी हाम्रो देशको सन्दर्भमा अर्को राष्ट्रवादको चर्चा पनि गर्न सक्दछौँ– त्यो हो प्रगतिशील राष्ट्रवाद । निश्चित रूपमा प्रगतिशील राष्ट्रियतावाद सर्वहारा अन्तराष्ट्रियतावादको एक अभिन्न अङ्ग हो । इतिहासको खास कालखण्डमा यो प्रगतिशील राष्ट्रवादको रूपमा अभिव्यक्त हुने गर्दछ । हुने गरेको छ ।

राष्ट्रियताको सवाललाई हामी आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियताको अर्थमा पनि बुझ्न सक्दछौँ । आन्तरिक राष्ट्रियताको सम्बन्ध मुलुकभित्रकै अवस्थासित हुन्छ भने बाह्य राष्ट्रियताको सम्बन्ध मुलुक बाहिरको अवस्थासित हुन्छ । राष्ट्रियता बलियो हुनु भनेको आन्तरिक रूपमा पनि बलियो हुनु हो र बाह्य रूपमा पनि । यी दुबै प्रकारका राष्ट्रियता एक अर्काका पूरक हुन् । एउटा कमजोर भए अर्को पनि कमजोर हुन पुग्ने कुरा स्वाभाविक हो ।

नेपालमा देशभक्तिको भावना नेपाल अङ्ग्रेज युद्धसँगै बिकसित हुन गएको देखिन्छ । त्यतिबेला नेपालीहरू देशप्रेमको भावनाले एक भएर बाहिरी सत्रु अङ्ग्रेजको बिरुद्धमा जीवन मरणको युद्ध लडेका थिए । १८१६ को सुगौली सन्धिपछि नेपाल अर्धउपनिवेशमा परिणत भयो । यसको सामाजिक आर्थिक राजनीतिक र सांस्कृतिक अवस्था अर्धसामन्ती र अर्धऔपविनिवेशिक हुन पुग्यो ।

यसको अर्थ के भने नेपालको राष्ट्रियता निकै कमजोर हुन पुग्यो । नेपाल भारतबीचमा भएको १९५० को सन्धिले नेपालको राष्ट्रियतालाई निकै नै कमजोर पारेको छ । त्यसपछि भारतसित इतिहासका खास खास कालखण्डमा भएका असमान सन्धि सम्झौताले नेपालको राष्ट्रियतालाई जीर्ण र रुग्ण बनाएको देखिन्छ । हिजो गोरा शासक अङ्ग्रेजको पालामा जङ्गबहादुर कार्ल माक्र्सको भाषामा ब्रिटिस साम्राज्यवादका चौकीदार हुन पुगेका थिए भने आज आएर भारतका काला शासकहरूको पालामा नेपाली शासकहरू भारतीय विस्तारवादका बफादार चौकीदार हुन पुगेका छन् । त्यसलाई यतिबेलाको नेपालको चलनचल्तीको भाषामा भन्दा उनीहरू नेपाली लेन्डुप दोर्जे हुन पुगेका छन् ।

नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा पुराएर यसको राष्ट्रियतालाई क्षतविक्षत बनाउने असमान सन्धि सम्झौताहरूमा अङ्ग्रेजसित भएको सुगोली सन्धि (१८१६), अङ्ग्रेज भारत र नेपालबीच भएको त्रिपक्षीय गोरखा भर्ती केन्द्र सन्धि (१९४७), नेपाल भारत कोशी सम्झौता (१९५४), गण्डक सम्झौता (१९५९), नेपाल भारत सुरक्षा सहयोग सम्झौता (१९६५), महाकाली सन्धि (१९९६), बिप्पा सम्झौता (२०११) आदि प्रमुख रूपमा रहेका छन् ।

यतिबेला नेपालको राष्ट्रियतामाथि सबभन्दा बढी आघात विस्तारवादी चरित्र बोकेको भारतले नै पुरयाएको देखिन्छ । यसले नेपालको कालापानीमा १९६२ देखि भारतीय सेनाको कैम्प नै खडा गरेको छ । यो उसको नाङ्गो विस्तारवादी चरित्रको भद्दा रूप हो । यसबाहेक यसले सुस्ता महेशपु लगायत नेपालका ६३ भन्दा बढी ठाउँहरूमा सीमा अतिक्रमण गरेको छ । यस्तो सीमा अतिक्रमण अद्यावधि जारी छ । यसले अन्तरराष्ट्रिय नियम कानुन मिच्दै अझ नेपालको भू–भाग समेत कब्जा गर्दै नेपालसँग कुनै सल्लाह नै नगरी सीमाक्षेत्रमा बाँध बाँधेर नेपालको तराईलाई बर्षामा डुबाउनमा पार्ने र हिउँदमा मरुभूमि पल्टाउने गतिविधिलाई तीब्र पारेको छ ।

नेपालको इतिहास र वर्तमानको गतिविधि समेत कोट्याउँदा हामीले के देख्दछौँ भने राष्ट्रघाती कोशी सम्झौता मातृकाप्रसाद कोइरालाले गरेका थिए । राष्ट्रघाती गण्डक सम्झौता वीपी कोइरालाले गरेका थिए । राष्ट्रघाती टनकपुर सम्झौता गिरिजाप्रसाद कोइरालाले गरेका थिए । टनकपुरमा गरिएको कमजोरीलाई सच्चाउने भन्दै माधवप्रसाद नेपालले भारतसित टनकपुर महाकाली र पञ्चेश्वरको एकीकृत विकासको नाममा प्याकेजमा सहमति गर्दै अझ बढी राष्ट्रघाती कदम उठाएका थिए । शेरबहादुर देउवाको पालामा व्यापक जनविरोधको बेवास्ता गर्दै मध्यरातमा संसदले गरेको महाकाली सन्धिको अनुमोदन त्यसैको जारी रूप थियो । २०६२–०६३ को दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पश्चिम सेती, माथिल्लो कर्णाली र अरूण तेस्रोमा फेरि थप राष्ट्रघाती सन्धि गरेका थिए ।

आफूलाई राष्ट्रवादी राजाको रूपमा प्रस्तुत गर्न चाहने महेन्द्रले भारतसित १९६५ को सन्धि गरेर ठूलो राष्ट्रघात गरेका थिए । त्यसरी नै विस्तारवादी भारतको विरुद्धमा सुरुङ युद्ध लड्ने भन्ने माओवादी नेता पोष्टबहादुर बोगटीले २०१२ मा ऊर्जामन्त्रीको रूपमा भारत भ्रमणका बेलामा पहिले नै सम्झौता भैसकेर पनि कार्यान्वयन नभएका कोशी उच्च बाँध, महाकाली, पञ्चेश्वर र अपर कर्णालीलाई कार्यान्वन गर्ने सहमति गरेर विगतको राष्ट्रघातमा आफ्नो सिल मोहर लगाएका छन् ।

माओवादीका शीर्ष नेता कमरेड पुष्पकमल दाहाल प्रचण्डले भारतसित नेपालको विशेष सम्बन्ध रहेको छ भन्दै पंडित जवाहरलाल नेहरूको नेपाललाई आफ्नो सुरक्षा घेराभित्र राख्ने विस्तारवादी नीतिलाई हृदय खोलेर नै स्वागत गरेका छन् । त्यति मात्र होइन कमरेड प्रचण्डले भारतको नेपालको जलश्रोतमाथि कब्जा जमाउने मेघा प्रोजेक्टलाई पनि मुण्टो हल्लाएर अनुमोदन गरेको देखिन्छ । माओवादीले मधिसे मोर्चासित गरेको चारबुँदे सहमति पनि राष्ट्रघाती सहमति मानिएको छ ।

डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा आफ्नो भारत भ्रमणको बेलामा २०११ म भारतसित बिप्पा सम्झौता गरेर राष्ट्रघातको नयाँ कीर्तिमान खडा गरेका छन् । उनले आफैँँ आफ्नो कसूर स्वीकार गर्दै भनेका छन् – बिप्पा सम्झौतामा मैले जुवा खेलेको हुँ ।

यसरी नेपाली जनताले सबभन्दा बढी भरपर्दो राष्ट्रवादी पार्टी भनेर चिनेको माओवादी पार्टीका शीर्ष नेताहरूबाट नै ठूलो राष्ट्रघात भएपछि नेपालको राष्ट्रियतामाथि चोटमाथि अझ थप चोट परिरहेको स्थिति उत्पन्न भएको छ । नेपालको राष्ट्रियता धरापमा परेको छ ।

नेपालको राष्ट्रियतामाथि बोल्दै पुष्पलालले भनेका छन्– केही हदसम्म भारतमा ब्रिटिस सरकारको नीतिले गर्दा पनि दुई देशबीचको सम्बन्धमा खलल पैदा भएको हो । ब्रिटिसहरूले नेपाललाई संरक्षित राज्यको रूपमा मान्दथे तर भारतेली नेताहरू यसको अझ एक कदम पर पुगे । तिनीहरूको नजरमा नेपाल भारतको एक भाग मात्र थियो । नेहरूले आफ्नो भारतको खोज नामक लेखमा लेखेका छन्– उत्तरी पूर्वमा रहको नेपाल नै भारतको एक मात्र सच्चा स्वतन्त्र राज्य हो । निःसन्देह यो उनको गजबको खोज थियो । उनको नजरमा नेपाल एक स्वतन्त्र सार्वभौमसत्तायुक्त देश नभै मात्र भारतको एक राज्य थियो ।

आफ्नो राष्ट्रियताबारेका अवधारणा व्यक्त गर्दै वीपी कोइराला भन्छन्– देश भनोस्, त्यो भूगोल होइन, त्यो माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश–हितको कुरो हो । जनताको अधिकार देशको अधिकार हो । यदि नेपालको भूगोलबाट एक करोड नेपाली जनताको आवादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ, यद्यपि भूगोल आफ्नो ठाउँमा जस्तोको तस्तै स्थायी भइरहनेछ ।

वर्तमान नेपालको गठन गोरखाका एउटा राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । १८ औँ शताब्दीमा हिन्दुस्तान भू–भागमा अनेकौँ राजामहाराजा, जागिरदार तथा साहसी सरदारहरू मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै आ–आफ्नो क्षेत्रको विस्तार र नयाँ नयाँ राज्यहरूको गठनमा तँछाड मछाड गर्दै विजयको होडमा लागेका थिए । त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् ।

आफ्ना छिमेकका राजा रजौटाहरूभन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू सत्रुपक्षभन्दा अधिक दक्ष र रणकुशल थिए । पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । राष्ट्रिय एकताको अभियान त्यो थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन ।

राष्ट्रियता सम्बन्धमा गिरिजाप्रसाद कोइरालाको विचार वीपी कोइरालासित मिल्दोजुल्दो छ । उनी भन्छन्– यहाँ जति नेपालीहरू छन् तिनीहरूलाई मैले राष्ट्र भन्ने सम्झेको छु, त्यसपछि मात्र मैले भूगोलको कल्पना गरेको छु । यही भूगोलभित्र जति नेपालीहरू समाहित छन् ती नेपालीहरू नेपाल राष्ट्र हुन् । अहिले चन्द्रलोकमा अमेरिकी, रुसीहरू गएर आइसकेका छन् तर कसैले चन्द्रलोक मेरो हो भन्न सकेको छैन तर जुन दिन त्यहाँ मानिसहरू बस्न थाल्नेछन् त्यस दिनदेखि चन्द्रलोक पनि राष्ट्रमा परिणत हुन थाल्नेछ ।

मोहनविक्रम सिंहले नेपालको राष्ट्रियताका बारेमा आफ्ना अवधारणा व्यक्त गर्दै भनेका छन्– आज देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा समेत गम्भीर प्रकारको खतरा देखापरेको छ । विश्वस्तरमा अमेरिकी साम्राज्यवाद सबै देशहरूको राष्ट्रियता र सार्वभौमिकताको लागि मुख्य खतरा बनेको छ तर नेपालको सन्दर्भमा भारतीय विस्तारवाद नै हाम्रो राष्ट्रियताको लागि मुख्य खतरा बनेको छ । भारतीय विस्तारवादले नेपाललाई भुटान वा सिक्किम बनाउनको लागि दशकौँदेखि योजनाबद्ध किसिमले षड्यन्त्र गर्दै आएको छ ।

राष्ट्रियता सम्बन्धमा रामराजाप्रसाद सिंहको अवधारणा यस्तो थियो– यो एउटा राजनीतिक, सामाजिक र आर्थिक ढाँचाभित्र समान आकाङ्क्षा राख्दै एक सार्वभौम राज्यमा बस्ने जनताका बीच विद्यमान एकात्मकता भावना हो ।

राष्ट्रियताको बारेमा आफ्ना अवधारणा प्रस्तुत गर्दै मोहन बैद्य ‘किरण’ भन्दछन्– आधुनिक राष्ट्रको जन्म सामन्तवादका बिरुद्ध पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियामा हुन्छ । यो प्रक्रिया माल उत्पादन, विनिमय र बजारको विकाससँग सम्बन्धित छ ।
(‘कवितामा राष्ट्रियता खोज्दै जाँदा’ आलेखको एक अंश)

Save

Save

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार