नेपाली समाजका लागि अामुल परिवर्तनलार्इ संवाेधन गर्ने गीत  ‘गाउँ गाउँबाट उठ’ लार्इ नेपथ्य ब्याण्डले म्यूजिक भिडियोका रुपमा तयार पारेकाे छ ।

श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ ।  वामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन् ।

विशेषगरी तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो ।

तर, जनस्तरमा चाहिँ यसको लोकप्रियता चुलिँदै गयो । २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेका थिए ।

पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो । त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरु माथि नै आधारित थियो ।

पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ र ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट यो गीत सार्वजनिक गरेको छ । हालसम्म नाम नजुरेको नेपथ्यको दसौं अल्बममा यो गीत समेटिएर आउने तयारीमा छ ।

यो म्यूजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केहि समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुको दृश्यहरुलाई एकापसमा जोड्ने काम गरिएको छ । भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिनेछ ।

यो मनमुटु हल्लाउने गीत बजिरहेको बेला जहिल्यै पनि दर्शकहरु सकारात्मक उर्जाले भरिएर उफ्रिरहेका देखिन्छन् । नेपाल भित्र होस् वा बाहिर जता कन्सर्ट गर्दा पनि यस गीतका बेलामा चाहिँ ब्याण्डसँगै समस्त दर्शकहरु पनि गाइरहेका हुन्छन् ।

‘शान्ति संगीत यात्राको क्रममा एकपटक हामीले यो गीत गाइरहँदा रामेश दाइ र मन्जुल दाइ पनि हेर्न आउनुभएको थियो,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यतिबेला यो गीतलाई यस रुपमा गाएर पछिल्लो पुस्ताका तन्नेरीहरु माझ लोकप्रिय बनाइदिएकोमा हामीलाई थप प्रोत्साहित गर्नुु भएको थियो ।’

अमृतका अनुसार लण्डनको विम्बले एरेनामा आयोजित भब्य कन्सर्टपछि गीतकार श्याम तमोट स्वयं नेपथ्यको कार्यालयमा आएर ब्याण्डले यस रुपमा आफ्नो गीत अघि बढाएकोमा खुशी प्रकट गरेका थिए ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार