नेपालका सबैजसो लेखक कुनै न कुनै समूहको फेरो समाएका कारण कुनै ‘व्यवस्था’ प्रति तीखो कलम चलाउन सक्दैनन् । तर, साहित्यकार खग्रेन्द्र संग्रौला नेपाली समाजका यस्ता मिथक हुन्, जसले सधैं अन्याय र विभेदविरुद्ध कलम चलाए ।

व्यक्तिको हिसाब गर्ने हो भने सम्भवतः कलम चलाएर सत्ताधारी र उनीहरुका आसेपासेको धेरै गाली खाने र कलम चलाएरै निमुखाहरुको धेरै स्वावासी पाउने संग्रौला एक्ला लेखक हुन् भन्दा पनि फरक नपर्ला । ०३६ सालमा मात्र होइन, ०४८ साल पनि संग्रौला सत्ताका विरोधी थिए । उनी प्रजातान्त्रिक कालमा पनि सत्ताको विरोधी नै रहे । ०५८ सालको दरबार हत्याकाण्डविरुद्ध कसैले बोल्न नसक्ने समयमा पनि उनले कलम चलाए ।

संकटकाल लगाएर माओवादीविरुद्ध युद्धमा होमिएको सरकारविरुद्ध उनले ‘कुन्सान काका’ को नामबाट कलम चलाए । जब त्यही माओवादी पार्टी सत्तामा आयो, शहरी परिवेशमा भिज्न र त्यसका नेताहरु आलिसान बंगालामा बस्न थालेसँगै संग्रौलाको निशानामा माओवादी पार्टी र त्यसका नेताहरु पनि पर्न थाले ।

तर, आजभोलि संग्रौलाका तीखा लेखहरु उति पढ्न पाइँदैनन् । अबको तीन महिनापछि ७३ वर्षमा टेक्न लागेका संग्रौलालाई उमेरले पो गलाएको हो कि ? वा देशमा कम्युनिस्टहरुको दुई तिहाइवाला सत्ता आएका कारण संग्रौलाको बोली नरम भएको हो ? यसको कारण खोज्दै चावहिलस्थित निवासमा पुग्दा संग्रौलाले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डप्रति विगतमै पारामा आगो ओकले ।

अनलाइनखबरका लागि अाश्विनी काेइरालाले लिएकाे अन्तर्वार्ताकाकाे संक्षिप्त र सम्पादित अंश :

मानिसहरु त के भन्न थालेका छन् भने ‘देशमा कम्युनिस्टहरुको दुई तिहाइ सरकार आएको छ । त्यसैले खगेन्द्र संग्रौलाको कलम अब पहिले जस्तो बिरोधमा चल्दैन ।’ यो भनाइमा सत्यको अंश कति छ ?

सबैभन्दा पहिले त तपाईंलाई कसले भन्यो, खड्गप्रसाद ओली र उनका आसेपासे कम्युनिस्ट हुन् भनेर ? ‘गोरुगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने खड्गप्रसाद होइनन् ? जब देशमा गणतन्त्रको नारा लाग्दै थियो, त्योबेला उनले आन्दोलनलाई निस्तेज बनाउन यस्ता पश्चगामी अन्तरवार्ता दिएर आन्दोलनकारीको अपमान गरेका थिए ।

जसले संघीयता रुचाउँदैनथ्यो, जसले पहिचानलाई धारे हात लगाउँदथ्यो, जसलाई एकथरीको आन्दोलनले टाउको दुखाउँथ्यो, एकथरीको अनुहार देख्यो कि भाउन्न हुन्थ्यो, त्यस्ता व्यक्तिहरुको सत्तालाई कसरी कम्युनिस्ट भन्ने ? यो नाम मात्रको कम्युनिस्ट हो ।

जुन दलको तपाईं महिमागान गाउनुहुन्थ्यो, त्यो माओवादी नै देशको पालनहार भन्नुहुन्थ्यो, त्यो दल पनि एकीकरण भएर बनेको दल सत्तामा छ नि ?

कहाँको एकीकरण नि ? विलय भन्नुस् । केहीलाई अझै पनि एमाले र माओवादी एकीकरण भएको भ्रम छ । माओवादीले लिएको आदर्श, बनाएको कार्ययोजना र सपनामा एमाले आएको हो र ? पुष्पकमल दाहाल आफ्नो दरबार जोगाउन सरक्क ओलीमा रुपान्तरण भएका हुन् ।

हो, हिजो पूर्व मेचीदेखि महाकालीसम्म माओवादीले असमानताका विरुद्ध आँधीबेहेरी उठाएको हो । निमुखा र सीमान्तकृत जनताका छोराछोरीलाई सिंहदरबारको सपना देखाएकै हो । एउटा बामपन्थी भएको नाताले त्यो परिवर्तनका मुद्दामा म सहमत भएकै हो ।

तर, कस्तो अनौठो भने, हिजो जो व्यक्ति यी सबैको बिरोधमा थियो, त्यही व्यक्तिलाई सत्ता सुम्पेर उसैलाई त्वंशरणम गरेर पुष्पकमल र उनका आसेपासेहरु मह चाटिरहेका छन् । कस्तो अनौठो दृश्य ? हेर्नुस् त । रमाइलो छैन त ?

झण्डै दुई तिहाई मत पाएको यो सरकारबाट पनि देशले केही पाउँदैन भन्ने तपाईंको निष्कर्ष हो ?

जुन बाटोमा खड्गप्रसाद हिँडिरहेका छन्, त्यो बाटोबाट त केही पनि पाउँदैनन् । मैले यो के भनेँ भन्नुहोला, पछि यो रेकर्ड सुन्नुहोला र हो रहेछ भन्नुहोला ।

यसको एउटा सानो उदाहरण- खड्गप्रसाद ओलीले अहिले पानीजहाज र रेलको कुरा गरेर चटके सपना देखाइरहेका छन् । हाम्रो प्राथामिकता पानीजहाज र रेल हो कि कृषिमा उत्पादकता बढाउने हो ? केरुङबाट काठमाडौं रेल ल्याउन कति बजेट लाग्छ, थाहा छ ? मलाई पनि थाहा छैन । तर, सुन्दैछु, नेपालको एक वर्षको बजेटले पनि भ्याउँदैन ।

म ३७ वर्षदेखि मेलम्ची पानीको कथा सुनिरहेको छु । आजको दिनसम्म ए बाबै, मेलम्चीको पानी त कसो खान नपाउँला भन्दै बाँच्दैछु । पानीजस्तो महत्वपूर्ण कुरा त हाम्रा कार्यशैली, आम्दानी र प्रविधिले समयमा ल्याउन सकिरहेको छैनौं भने ९७ प्रतिशत भूभागमा पुल र सुरुङ बनाएर ल्याउने भनिएको रेलमा हामी किन मख्ख परेका हौं ? ओलीले धर्मान्ध पुरेतको थेगोतुल्य गगनमार्गी सपना देखाउँदैछन्, हामी धरातलमा बसेर खड्गप्रसादका सपना लाटाले पापा हेरेझैँ हेर्दैछौं ।

भनेपछि, सपना देख्ने अधिकार पनि हामीलाई छैन भन्ने बुझ्नुपर्‍यो ?

सपना देखौं न । कर्णाली जस्ता दुर्गममा पनि गतिलो रोड बनेको सपना देखौं । कृषिमा क्रान्तिको सपना देखौंँ । गरिबको उब्जनी सहरसम्म आएको र त्यसले गतिलो मूल्य पाएको सपना देखौं । यस्तो सपना कहाँ देख्छन् र राजाहरुले ।

हेर्नुस्, दुईवटा बुलेटप्रुफ गाडीले नपुगेर सरकारले मर्सिडिजबेञ्च ब्राण्डका अरु दुईवटा बुलेटप्रुफ गाडी किन्दैछ । हिजो राजाले चढ्ने त्यो ब्राण्ड आज खड्गप्रसादले किन चढ्नुपर्‍यो ? किनभने, उनमा पनि अचेतन, अर्धचेतनमा कतै राजा बन्ने मोह छ । उनी र पुष्पकमल दुईतिहाईको शक्तिले मैमत्ता भएका छन् । कांग्रेसजस्तो भित्रभित्र मक्किएको, आफैं आफैं झगडा र षडयन्त्रले सिद्धिएको प्रतिपक्षी देखेपछि यस्तो हुनु स्वाभाविक पनि हो । यो मैमत्ताको अर्को पनि कारण छ ।

हिजो पञ्चायतकालमा एउटा मात्र गोरखापत्र थियो । आज हेर्नोस्, सरकारको समर्थन गर्ने धेरैवटा गोरखापत्र र गोरखापत्रका अनलाइन संस्करण छन् । ठूला र जनताले विश्वास गर्ने सञ्चारमाध्यमहरु घरिघरि बौराएर हामी गोरखापत्र होइनौंं, स्वतन्त्र अखबार हौं भनेजस्तो गर्छन्, फेरि बेहोसीमा गैहाल्छन् ।

नागरिक समाज कहिल्यै संगठित संस्था नै होइन । त्यसमाथि सबैको कतै न कतै लभ परेकै छ । त्यही भएर बालुवाटारमा महिनाको डेढ लाख रुपैयाँ गाडी धोएको मात्र बिल आउन थालेको छ । बालुवाटारमा पञ्चायती व्यवस्थामा जस्तै आसेपासेलाई नगद दिएर जदौ गर्न लगाइन्छ । नत्र डा. केसीजस्तो समाजवादी मुद्दा बोक्ने चिकित्सकलाई स्वास्थ शिक्षाको योजनाकार बनाउन छाडेर अपराधी करार गर्दथ्यो ? यो सरकारलाई अपराधी, बिचौलिया, डनहरुले गाँजिसकेका छन् ।

अब त दुई अध्यक्षले जनताका पक्षमा केही गर्न चाहेछन् भने पनि गर्न दिँदैनन् । यस्तोमा यो कम्युनिस्ट सरकार हुनु त धेरै परको कुरा, बामपन्थी सरकार पनि रहेन ।

तपाईंले धेरैपटक कम्युनिस्ट र बामपन्थीबीच फरक छुट्याइरहनु हुन्छ । यी दुईबीच के फरक छ ?

कम्युनिस्ट त्यो व्यक्ति वा संस्था हो, जसले द्वन्द्वात्मक भौतिकतामा विश्वास गर्छ । लेनिनवादी शास्त्रले देखाएको बाटो हिँड्छ । सर्वहाराले सत्ता खोसेको र उनीहरुको पक्षमा त्यो सत्ता चलेको कल्पना गर्छ । बामपन्थीले त्यति ठूलो कल्पना गरिहाल्दैन । तर, उ सधैं परिवर्तनको पक्षमा हुन्छ । परिवर्तनको पक्षमा गर्नुपर्ने काममा उ आफूले सक्ने जति नथाकी अघि बढिरहन्छ ।

नेपाली कांग्रेसभित्र मैले धेरैपटक गगन र नरहरिहरुलाई वामपन्थी भन्ने गरेको छु । जब कि नामले कम्युनिस्ट भन्ने दलका सामन्तहरुको कुरा अब कति गरौं ?

तपाई कम्युनिस्ट कि बामपन्थी ?

मेरा आफ्नै संस्कार, त्याग गर्न नसक्ने आँट र कमजोरीका कारण कम्युनिस्ट हुन सकिनँ । जब कि गोर्कीको ‘आमा’ भित्रको पावेल र आस्त्रोभ्स्कीको ‘अग्निदीक्षा’ भित्रको पावेललाई पढेर मलाई पनि कम्युनिस्ट हुने रहर पलाएको थियो । यी दुई पुस्तकका पावेलहरुले मलाई धेरै वर्षसम्म कम्युनिस्ट बनाउने प्रयत्न गरिरहे । सायद यही कारण कम्युनिस्टहरु मेरा आदर्श रहे ।

आजको एमाले कुनैबेला कम्युनिस्ट हुँदा मैले निशर्त सघाएँ । यही कारण हिजोको माओवादी कम्युनिस्ट हुँदा मैले ज्यानको जोखिम राखेर उनीहरुको पक्षमा बोलेँ, कलम चलाएँ । बेला-बेलामा गगन र नरहरिहरुको निर्वाचनमा सघाउन गएँ । कम्युनिस्ट हुन नसके पनि बामपन्थी चाहिँ रहनुपर्छ भन्ने यही आदर्शका कारण ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार