महेश न्यौपाने, रोल्पा

रोल्पा नगरपालिका १ हरिगातिनाकी गोठी थापा सुत्केरी भएको १ महिना पनि पुगेको थिएन । एक साँझ तत्कालिन शाही नेपाली सेनाको एक हुल उनको घरमा पस्यो । सुत्केरी स्याहारमा रहेका श्रीमान हर्कलाललाई एक छिन काम छ भन्दै लग्यो । सेनाले कहाँ लग्यो अहिले सम्म उनलाई अत्तोपत्तो छैन । अहिले छोरी क्याम्पस पढ्ने भईसकिन । साथीभाईका वुवा देखेर सोध्ने गर्छिन आमा हाम्रो वुवा घर कहिले आउनु हुन्छ ?

सोही गाउँकै प्रतिभा थापा र ढाँटे थापाको विवाह गरेको २ वर्ष पनि पुगेको थिएन । एक साँझ सेनाको हुल उनको घर पस्यो । घरको काममा व्यस्त रहेका ढाँटे थापालाई पक्रियो । जंगलको वाटो हुदै लिवाङ तर्फ लग्यो । सेनाले सोधपुछ पछि त पक्कै छोड्छ होला भन्ने लागेको थियो प्रतिभालाई । नावालक छोराको मुख हेरेर वसिन । श्रीमान एक दिन पक्कै फर्कन्छन भन्ने आशै आसमा वसेको वर्षै भईसक्यो तर उनी अझै फर्किएनन् ।

दिनहुँ जव सन्ध्या हुन्छ रजु खत्रीको आँखाको दृष्टि पूर्वतर्फको तीनधारे भिर तर्फ मोडिन्छ । भिरको वाटो हुदै कोही आए जस्तो लाग्छ उनलाई । श्रीमान कविराम खत्रीलाई नेपाली सेनाले त्यही वाटो भएर लिवाङ व्यारेक लगेको हुदा फर्कदा पनि त्यही वाटो फर्कन्छन की भन्ने लाग्छ उनलाई । हरेक साँझ उनले एक पटक टोलाएर त्यतै हेर्छिन अनि वल्ल घर भित्र पस्छिन । रजुले त्यसरी श्रीमान आउने वाटो कुर्न थालेको वर्षौ भईसक्यो तर उनका श्रीमान भने अझै फर्केनन् ।

रोल्पाका वेपत्ता परिवारको दिनचर्याको हो यो । माओवादी जनयुद्धमा राज्य द्धारा वेपत्ता पारिएका नगारिकका प्रतिनिधि पात्र हुन गोठी, प्रतिभा र रजु । पिडित तीनै जनाको घर रोल्पा नगरपालिका वडा नं १ हरिगातिना हो । तीनै जनाका श्रीमानलाई एकै दिन सेनाले गिरप्तार गरि वेपत्ता वनाएको हो । सामुहिक गिरप्तारी पछि वेपत्ता भएका आफन्त आउने आशै आसमा दशकौ विते । सशस्त्र विद्रोह शान्ति प्रकृयामा रुपान्तरण भयो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो तर उनीहरुका आफन्त भने मरे की ज्यूदै छन अहिले सम्म थाहा छैन ।

सशस्त्र जनयुद्धमा सवभन्दा वढी प्रभावित जिल्ला रोल्पामा कति वेपत्ता छन भन्ने राज्यसंग एकीन तथ्यांक छैन । स्थानीय शान्ति समितिको अभिलेख अनुसार जिल्लामा ३३ जना वेपत्ताका परिवारले मात्रै राहात लिएका छन । आईसिआरसीले रोल्पा जिल्लामा ६७ जना वेपत्ता भएकोमा २ जना घर फर्किसकेको भनेको छ । सत्य निरुपण तथा मेल मिलाप आयोग र वेपत्ता नागरिकको छानविन आयोगले पछिल्लो पटक मागेको निवेदनमा ११९ जनाले आफ्ना आफन्त वेपत्ता भएको उजुरी दिएका छन ।

सुरुवातमा राज्यले मृतकका परिवारलाई मात्र राहात उपलव्ध गराएकाले आफन्त वेपत्ता भएकाहरुले पनि मृतकको नामवाट राहात लिएकाले यो संख्या कम देखिएको हुन सक्ने सरोकारवालाहरुको भनाई छ । लामो समय ज्यूदो वा मृत्यु भएको खवर नपाए पछि राहातका लागि मृत्यु दर्ता गरेकाले यो संख्या कम देखिएको हो जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले भने । सैद्धान्तिक रुपमा उहाँहरुको अवस्था के छ भन्ने अझै पत्ता नलागे पनि व्यवहारिक रुपमा अधिकांश परिवारजन मृत्यु भएकोमा विश्वस्त भईसकेका छन वुढाले भने । माओवादी सेनाको पूर्व कमाण्डर समेत रहेका वुढाले परिवर्तनमा ठूलो भूमिका खेलेका वेपत्ताहरुको स्थीति सार्वजनिक गर्न कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारसंग माग समेत गरे ।

वेपत्ता आफन्तको स्थीतिको वारेमा सत्यतथ्य थाहा नपाएर लामो समय आफन्तजन तड्पिरहेकाले यसको यथासिघ्र निकास दिनु पर्ने प्रमुख जिल्ला अधिकारी गंजवहादुर एमसीको भनाई छ । मृतकका परिवारको भन्दा वेपत्ता परिवारको पिडा दर्दनाक हुन्छ एमसीले भने । विषम परिस्थितिमा यस्ता घटना हुने औल्याउदै सत्यतथ्य पत्ता लगाउन सवै पक्ष जिम्मेवार हुनु पर्ने एमसीले वताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार