पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले अाेली प्रचण्डले नेतृत्व गरेकाे नेकपाकाे स्वर्णकाल समाप्त भएकाे बताएका छन् ।

अब देशमा विप्लव नेतृत्वकाे नेकपाले परिपक्व कदम उठायाे भने उसले देशकाे नेतृत्व लिने किरातीले दाबी गरेका छन् । राताेपाटी अनलाइनसँगकाे कुराकानीमा किरातीले अाेलीकाे राष्ट्रवाद भारतीय शासकसामु लम्पसार परेकाे बताए ।

अाफुहरूले विप्लव र वैद्यले नेतृत्व गरेकाे पार्टीसँग पार्टी एकीकरणकाे प्रस्ताव अगाडि बढाएकाे र त्यसले सकारात्मक दिशा लिएकाे बताए । किरातीसँगकाे कुराकानीकाे सानाे अंश-

सरकारले राम्रो काम भएको दाबी गरेको छ, सूची नै बनाएको छ । तपाईंले केही राम्रो देख्नु भएन है ? 

यो प्रश्नको सही जवाफ बालकले दिनेछन् । जसको बादशाहा नाङ्गै रहेको बताउन सक्छन् ।

–तपाईंले गृहमन्त्री रामबहादुर थापा बादललाई विद्रोह गर्न आह्वान गर्नुभयो, त्यसो नगरे उनको राजनीतिक अवसान हुने दाबी गर्नुभयो ? किन यस्तो निष्कर्षमा पुग्नुभयो ? 

तुलनात्मक रूपमा प्रचण्डहरूभन्दा बादल देशभक्त लाग्छन् । अर्को उनले प्रयास गरेका सुधारका कामहरू जनताको पक्षमा थिए । राम्रो काम गर्नेको मूल्याङ्क हुँदैन । त्यसैले मैले विद्रोह गर्न आह्वान गरेको हुँ ।

–तर गृहमन्त्री बादलले विप्लव पार्टीका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई हथकडी लगाए भन्नेहरू छन् नि ? 

हो, त्यसको नैतिक जिम्मा बादलले लिनुपर्छ । किनकि उहाँ गृहमन्त्री हुनुहुन्छ । तर यथार्थ के हो भने गृहमन्त्रालयको अनुसन्धान विभाग सुरुमै केपी ओलीले खोसेर लगेपछि बादल आँखा र कान नभएका गृहमन्त्री बन्न बाध्य छन् ।

–अर्को चुनावसम्म नेकपाको अवस्था के होला ? 

खासगरी विप्लवले परिपक्व कदम उठायो भने फेरि पनि माओवादी पार्टी राष्ट्रिय शक्तिमा आउँछ । अन्यथा पुँजीवादी काँग्रेस विकल्प बन्ने प्रष्ट देखिन्छ । ओली–प्रचण्डको संसदवादी नेकपाको स्वर्णकाल सकियो । राष्ट्रवादको खोक्रो नारा उराल्दै भारतीय शासकसामु लम्पसार पर्ने ओली–प्रचण्डलाई नेपाली जनताले धिक्कार्ने छन् ।

–एकीकृत नेकपाभित्र पूर्वमाओवादी नेताहरूको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ? 
एक तिहाई साथीहरू हाँस्दै–हाँस्दै एमालेकरणमा विलय भएका छन् भने दुई तिहाई साथीहरू रुँदै–रुँदै गएका देखिन्छन् । ती रुँदै जानेहरूको आँशुको पोखरीमा प्रचण्डहरूले अभिजातवर्गीय शान प्रदर्शनको प्रयास गर्लान् ।

–आफ्ना पूर्वनेता प्रचण्डलाई तपाईंको सुझाव के छ ? 

माओवाद र पहिचानको मुद्दा त्यागेर अरू धोका दिनभन्दा राजनीति छाडेर बसे माफी पाउलान् कि !

–प्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी ? 

नेपाली राजनीतिमा पृथ्वीनारायण शाहदेखि जङ्गबहादुर राणा, महेन्द्र शाह हुँदै हाल प्रधानमन्त्री केपी ओली गोर्खाली अन्धराष्ट्रवादका प्रतिनिधि हुन् । गोर्खाली अन्धराष्ट्रवाद नेपाली राष्ट्रवादको विरुद्ध हुन्छ । जनजातिले भनेको ब्राह्मणवाद, मधेसीले भनेको पहाडिया अहंकारवाद, महिलाले भनेको पितृ सत्तावाद र दलितले भनेको विष्टवादको केन्द्र गोर्खाली अन्धराष्ट्रवाद हो । त्यसलाई उखेलेर फाल्न समाजवादी क्रान्तिको कार्यभार हुन्छ । जसका निम्ति नेकपा मोओवादी केन्द्र समर्पित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार