अमेरिकाले एकपक्षीय व्यापार संरक्षणवाद अँगाल्दै अन्य मुलुकको अर्थतन्त्रमाथि खातरा निम्त्याइरहँदा धेरै मुलुकले अमेरिकी डलरको विकल्पबारे बहस थालेका छन् ।

फ्रान्स, जर्मनी, टर्की र इरानजस्ता देशमाथि अमेरिकाले आर्थिक प्रतिबन्ध लगाएको वर्तमान स्थिति छ । अमेरिकी संरक्षणवादका कारण आफ्नो देशको अर्थतन्त्रमाथि असर परेको भन्दै यस्ता मुलुकले अमेरिकी डलरमा आधारित अन्तर्राष्ट्रिय कारोबार व्यवस्थाबाट हात झिक्ने प्रस्ताव गरेका छन् ।

सोसाइटी फर वल्र्डवाइड इन्टरब्यांक फाइनान्सियल टेलिकम्युनिकेसनले सन् २०१७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय भुक्तानीमा अमरिकी डलरको हिस्सा ३९.८५ प्रतिशत, युरोको ३५.६६ प्रतिशत, पाउन्ड स्टर्लिङको ७.०७, जापानी येनको २.९६ प्रतिशत र चिनियाँ युआनको १.६१ प्रतिशत हिस्सा थियो । युरोलाई अमेरिकी डलरको विकल्पका रूपमा हेरिँदै गर्दा अन्तर्राष्ट्रिय भुक्तानी तथा कारोबारमा अमेरिकी डलरको पकड कायमै छ । अन्तर्राष्ट्रियस्तरमा हुने मुद्रा सटहीको ७० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको छ ।

तर, पछिल्लो समय अमेरिकाले लिएको अन्तर्राष्ट्रिय व्यापार नीति तथा सर्तका कारण अमेरिकी व्यापार हिस्सा ओरालो लाग्दै छ । यसकारण अन्तर्राष्ट्रिय व्यापार भुक्तानीमा पनि अमेरिकी डलरको हिस्सा निरन्तर घट्दो छ ।

अन्तर्राष्ट्रिय भुक्तानीका लागि डलर प्रमुख मुद्रा भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि विश्वका मुलुक तथा कम्पनीले डलर रोज्नैपर्ने बाध्यता छ । यद्यपि, पछिल्लो समय अमेरिकाको अर्थतन्त्र तथा व्यापार नीतिको विरोध गर्ने देशको संख्या बढ्दै गएको छ । अमेरिकालाई एक्ल्याउने प्रयास यस्ता मुलुकले गरिरहेका छन् ।

यसैबीच, अमेरिकी डलरको प्रभावबाट स्वतन्त्र भएर विश्व व्यापार भुक्तानी व्यवस्था गर्ने प्रस्तावित नयाँ व्यवस्थाले अमेरिकी डलरको दबदबालाई साँच्चै हटाउन सक्छ । यस्तो भन्नुको तात्पर्य रातारात नै डलरको विकल्प तयार भइहाल्छ भन्ने होइन । तर, डलर युगको अन्त्य गर्दै अन्तर्राष्ट्रिय व्यापारका लागि डलरभन्दा अन्य मुद्राको प्रचलन बढी हुने सम्भावना छ ।

अन्तर्राष्ट्रिय व्यापारका लागि उत्पादनकर्ता तथा निर्यातकर्ता दुवै हिसाबले जर्मनी मुख्य प्रभावशाली खेलाडीका रूपमा उदाएको छ । विश्वमाझ अमेरिकाले आफ्नो व्यापार नीति लादिरहँदा जर्मनी, फ्रान्स, बेलायत, रुस, चीन, जापान, दक्षिण कोरियाजस्ता मुलुक मिलेर नयाँ अन्तर्राष्ट्रिय भुक्तानी व्यवस्था निर्माण गर्ने सम्भावना छ ।

यी देश एक ठाउँमा उभिएको खण्डमा यिनको संयुक्त अर्थतन्त्र र व्यापारको आँकडाले अमेरिकालाई पछि पार्नेछन् । एसियाभित्र हेर्दा, केही मुद्दालाई लिएर चीन र जापानबीच केही असमझदारी व्याप्त छन् ।

व्यापार युद्धप्रति अमेरिकाले बारम्बार मोह देखाउँदै गर्दा अमेरिकाले स्वयंलाई अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाबाट अलग्याउने काम गरेको छ । अमेरिकी व्यापार युद्धले युरोप र एसियाबीचको व्यापार रोक्न सक्दैन ।

आगामी दिनमा युरोप र एसियाको व्यापार बढ्ने निश्चित छ । यस्तो व्यापार तथा कारोबारका लागि पनि अमेरिकी डलरभन्दा अन्य मुद्राले नै महत्व पाउने पक्का छ । अमेरिकी व्यापार संरक्षणवाद निरन्तर चल्ने हो भने सन् २०१९ मै अन्तर्राष्ट्रिय कारोबारमा युरोले डलरलाई पछार्ने बलियो सम्भावना छ ।

(लेखक अर्थविश्लेषक हुन्) नयाँ पत्रिकारले ग्लोबल टाइम्सबाट गरेकाे अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार