वैद्य नेतृत्वकाे देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपालकाे सीमाक्षेत्र मिचेर भारतले नक्शा पारेकाे विषयलार्इ लिएर काठमाडाैंमा विराेध प्रदर्शन गरेकाे छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ३ नं. प्रदेशले काठमाडौंमा विहीवार दिउँसो काठमाडौको सुन्धाराबाट निकालेको उक्त प्रदर्शन न्युरोड हुँदै ईन्द्रचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई संबोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले ‘कुनै पनि देशले आफ्नो देशको नक्शा आफैले बनाउने र एक इञ्च भूमिको रक्षाका लागि पनि उठिबस्ने गरेको’ सार्वभौम सच्चाइलाई औल्याउँदैै नेपालमा भने ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका मिचिएका सैंयौं भूभागहरु भारतको सीमाभित्र पर्ने गरी भारतले बनाइदिएको नक्सा नेपालका प्रधानमन्त्रीको कार्यालदेखि देशभरका प्रशासनिक कार्यालयहरुमा आदेश दिएर टाँग्न लगाउने गरेको कुरा खुलासा गरे ।

‘कालापानी भारततिर पारेको नक्शा र तदनुरुप तयार पारिएको निशान छाप नेपालका सरकारी, गैर सरकारी तथा सार्वजनिक ठाउँहरुबाट नहटाउँदासम्म निरन्तर संघर्ष जारी राखिरहने’ भन्दै अध्यक्ष गजुरेलले ‘यसका लागि जनआन्दोलनको उठान गर्न आफूहरु तयार रहेको’ बताए ।

‘सरकारले दिल्लीको इशारा र निर्देशनमा नक्कली नक्साहरु र निशाना छाप प्रयोग गरिरहेको कुरा हामीले जनतामाझ खुलासा गरेपछि ओलीको मन्त्रीमण्डलको बैठक बसेर नेपालकै नापी विभागले तयार पारेको नक्शा प्रयोग गर्ने भनी निर्णय भएको’ भन्दै अध्यक्ष गजुरेलले यो नापी विभागका महानिर्देशक र विभागीय मन्त्रीले पनि स्वीकार गरेको बताए ।

हाल नक्शामा मिचिएको कालापानीको मात्र कुरा गर्यौं भने पनि नेपालको ६२ वर्ग किलोमिटर भूभाग भारतले मिचिरहेको भन्दै गजुरेलले ‘महाकालीको वास्तविक सीमाना कुटीयाङ्दीदेखि कालापानीसम्मको भूभाग जोड्दा कूल ३१० वर्ग किलोमिटर नेपाली भूभाग भारतले मिचेको हुनाले यसको फिर्तिका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाले जनस्तरमा नै ठूलो जनआन्दोलनको उठान गरिने’ बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार