विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरिएपछि सर्वोच्च अदालतले सरकारलाई कडा चेतावनी दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८(४) अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको हो ।

बन्दीप्रत्यक्षी करणको मुद्दामा ३ पटक थुनामुक्त गर्न आदेश दिँदा पनि पुनः पक्राउ गरिएको भन्दै अदालतले प्रकाण्ड संविधानबाट प्रत्याभूत वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित भएको ठहर गरेको छ ।

‘निरन्तर थुनामा राखेको देखिएको परिप्रेक्ष्यमा नेपालको संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट यी निवेदक बञ्चित हुन गएको विषयमा यो इजलाश संवेदनशील भएको छ,’ न्यायाधीश द्वय सिन्हा र सिंहको इजलाशले शुक्रवार जारी गरेको आदेशमा भनिएको छ, ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउथै व्यक्तिको गैर कानूनी थुनाको सम्बन्धमा पटक पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र चल्ने प्रयत्न गरिएको त होइन ? भन्ने आशंकाको आभास समेत हुन गएको छ ।’

आदेशमा अगाडि भनिएको छ, ‘विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदायी क्षम्य हुन सक्दैन र यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नुपर्ने अवस्था आउन सक्दछ ।’

संविधानको धारा १२८ को उपधारा (४) मा सर्वोच्च अदालतको न्यायसम्पादनमा कसैले अवरोध गरेमा वा आदेवा वा फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनाको कारबाही चलाउन सकिने व्यवस्था छ । धारा १२८ को उपधारा (४) मा भनिएको छ, ‘मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नु पर्नेछ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनामा कारबाही चलाइ सजाय गर्न सक्नेछ ।’

सर्वोच्चले शुक्रवार चाैथाेपटक प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । यद्यपि प्रहरीले उनलाई पुनः पक्राउ गरेको छ ।

पुनः पक्राउ परेका प्रकाण्डलाई उदयपुर पठाइएको प्रहरीले जनाएको छ । उदयपुरमा उनीविरुद्ध आगजनी र विस्फोटनसम्बन्धी मुद्दा दर्ता भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार