सर्वोच्च आदेशमा शुक्रबार रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई गिरफ्तार गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको छ ।

मुख्य रजिष्ट्रारको रोहवरमा रिहाइपछि सर्वोच्च अदालतपरिसरबाट निस्कने क्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) के.के. आचार्यको नेतृत्वमा हतियारसहित तैनाथ दर्जनौं संख्याको प्रहरी टोलीले बल प्रयोग गरेको हो । नेताको रिहाईमा स्वागत गर्न परिसरमा जम्मा भएको कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुमाथि लाठी चार्ज गरेर प्रकाण्ड र भुजेललाई गिरफ्तार गरिएको थियो । अन्धधुन्दा रुपमा गरेको लाठी प्रहारबाट दर्जन कार्यकर्ता घाइते भएका छन् । चार जना सर्वसाधारण समेत घाइते भएका छन् ।

बम विष्फोट र कर्तव्य ज्यान अभियोगमा प्रकाण्डलाई दाङ र आगजनीको अभियोगमा भुजेललाई नुवाकोटमा राख्दै आएको थियो । तर बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईबाट दुवै जनालाई शुक्रबार साँझ पौने ६ बजे पूर्जी समेत नदेखाई प्रहरीले गिरफ्तार गरेर अलगअलग भ्यानमा राखी माइतघरतर्फ लगेको छ । कहाँ लैजाने ? भन्नेबारे प्रहरीले संचारकर्मीसँग केही बताउन चाहेन । प्रकाण्डालाई बा २ झ २८१० नम्बरको निलो रंगको पिकअप भ्यानमा राखेर लगेका छन् ।

प्रकाण्डको यो पाँचौ र भुजेलको तेस्रो पटकको गिरफ्तारी हो । प्रकाण्डलाई गत साउन २२ गते र भुजेललाई यही भदौ १२ गते काठमाडौंबाट गिरफ्तार गरेको थियो । आज प्रकाण्डको रिहाई आदेश न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले दिएको हो भने भुजेलको रिहाईको आदेश न्यायाधीश चोलेन्द्र शमसेर जबरा र बमक्मार श्रेष्ठको संयुक्त इजलासबाट भएको हो ।

सरकारविरुद्ध नाराबाजी

प्रवक्ता प्रकाण्ड र नेतृ भुजेललाई गिरफ्तार गर्ने क्रममा कार्यकर्ता र शुभचिन्तकहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सर्वोच्चको आदेशमा रिहा भएका नेताहरुलाई परिसरबाटै गिरफ्तार गरेर स्वतन्त्र न्यायालयको अपमान गरेको भन्दै सरकार विरुद्ध नारा नारा लगाएका हुन् ।

‘हाम्रा नेतालाई निर्दोष ठहर गरेर छाड्न आदेश दिन्छ, तरसरकार आदेश मान्दैन’ सर्वोच्च आदलतपरिसरमा भेटिएका एक कार्यकर्ताले भने ‘सरकार आफ्नै अदालतको आदेश नमान्ने सरकार फासीवादी हो । अब सबै नेपाली यो सरकारको विकल्प खोज्नतर्फ लाग्नुको विकल्प छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार