विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शनसँग रातोपाटी अनलाइनका लागि फणिन्द्र नेपालले लिएकाे अन्तर्वार्ता :

तपाईंको पार्टीका प्रवक्ता चन्दा उठाएको आरोपमा पक्राउ परेपछि सर्वोच्च अदालत र सरकारबीच पक्राउ र रिहाको दोहोरी चलेको छ । प्रकाण्डलाई जिल्ला जिल्लामा घुमाएर मुद्दा चलाउने क्रम जारी छ । यो घटनालाई तपाईंको पार्टी नेकपाले कसरी हेरेको छ ?

अपहरणको शैलीमा कमरेड प्रकाण्ड लगायतका नेता तथा कार्यकर्ताको गिरफ्तारी भयो र गिरफ्तारीपछि अदालतले छाड्न आदेश दिने, सरकार अथवा पुलिसले समात्ने काम भइरहेको छ, यो हामीलाई नाटक र विडम्बना जस्तो लागेको छ । उनीहरूकै भनाइलाई आधार मान्ने हो भने स्वतन्त्र न्यायपालिका भनिएको छ ।

नेपालमा साम्राज्यवादीहरूले माओवादीको बीउ सकियो भनेर सोचेका थिए । किनभने प्रचण्ड, बाबुरामलाई त्यसबाट विचलित पारियो अरू पनि विचलित भइसके । यो कोष्ठवाला नेकपा पनि सकियो भन्ने ठानेका थिए । तर यहाँ जबरजस्त रूपमा विकल्पका रूपमा हाम्रो पार्टी नेकपा खडा भयो ।

हाम्रो पार्टी खडा भइसकेपछि यसलाई पनि कसरी सिध्याउने भनेर अमेरिकादेखि मान्छेहरूको दौडादौड छ । यस्तो प्रकृया चल्दै गर्दा अहिलेको सरकारले दलाल पुँजीवादी आफ्ना मालिकहरूले जे जे भन्छन्, त्यो मानिरहेको अवस्था छ । साम्राज्यवादीहरूको आदेशमा नै नेपालका वास्तविक कम्युनिस्टहरू कसरी सिध्याउने भन्ने प्रयासअनुरूप हाम्रा नेता तथा कार्यकर्तामाथि धरपकड र आक्रमण भइरहेको छ । तर नेपाली जनतामा रोपिएको क्रान्तिकारी बीउ कुनै हालतमा मर्दैन र अगाडि बढ्छ बरु हाम्रो पार्टी स्थापित भएर जान्छ ।

चन्दाकै आरोप लगाउने हो भने त हिजोदेखि प्रचण्ड, बाबुराम बादलले चन्दा उठाएनन् ? उनीहरू (प्रचण्ड, बाबुराम र बादल)लाई पनि थुनामा राख्नुपर्छ । त्योभन्दा पनि ठूलो कुरा त यिनीहरूले जसरी भ्रष्टाचार र ब्रह्मलुट गरेका छन् । हिजो केही पनि नभएकाहरू आज अर्बपति भएका छन् । उनीहरूले नै भ्रष्टाचारीहरूलाई उकेरा लगाएका छन्, संरक्षण गरेका छन् । तिनीहरूलाई पहिला थुन्नुपर्छ, यदि यो राज्यसत्ताको त्यो नियम हो भने ।

सरकारले चन्दा आतङ्कदेखि बम विष्फोटसम्मका घटनामा तपार्ईंको पाटी संलग्न छ भनेको छ । कुनैबेला एउटै पार्टीमा रहेका नेताहरू नै अहिलेको सरकारमा छन् । यसरी हेर्दा सरकारले आफ्नो भूमिका निर्वाह गरेको छ भन्न सकिँदैन ?

चन्दा आतङ्क मच्चाएकाले हाम्रा नेता तथा कार्यकर्ता पक्राउ गरेको सरकारको दावी छ । त्यो चन्दा आतङ्कको कुरा नै होइन । हाम्रा प्रवक्ता साङ्गठानिक कार्यक्रमबाट आउँदै हुनुहन्थ्यो पक्राउ गरियो ।

दोस्रो कुरा, चन्दाकै आरोप लगाउने हो भने त हिजोदेखि प्रचण्ड, बाबुराम बादलले चन्दा उठाएनन् ? उनीहरू (प्रचण्ड, बाबुराम र बादल)लाई पनि थुनामा राख्नुपर्छ । त्योभन्दा पनि ठूलो कुरा त यिनीहरूले जसरी भ्रष्टाचार र ब्रह्मलुट गरेका छन् । हिजो केही पनि नभएकाहरू आज अर्बपति भएका छन् । उनीहरूले नै भ्रष्टाचारीहरूलाई उकेरा लगाएका छन्, संरक्षण गरेका छन् । तिनीहरूलाई पहिला थुन्नुपर्छ, यदि यो राज्यसत्ताको त्यो नियम हो भने ।

के बुझ्नुपर्छ भने हामीले निश्चय नै चन्दा उठाएका छौँ । जबरजस्त कतै उठाएका छैनौँ । हामीले दोहोरो सत्ता छ भनेका छौँ । हाम्रो जनसत्ता, जसलाई कर तिर्नुपर्छ भनेका पनि छौँ, केही मानिसलाई वर्गीकरण गरेर । यसले गर्दा कुरा उनीहरूले भनेजस्तो आतंक होइन, यो राजनीतिक कुरा हो । राजनीतिक रूपमा वैकल्पिक शक्तिको उदय भएको छ । यो शक्तिलाई कसरी सक्ने विनास गर्ने भन्ने उनीहरूको उद्देश्य हो भनेर बुझ्न जरुरी छ ।

तर तपाईंले यस्तो दाबी गरिरहँदा प्रकाण्डसँगै बरामद भएको आर्थिक विभागको कागजातमा त सात करोडभन्दा बढी आय देखिएको छ । चन्दा उठाएर आर्थिक आतङ्क मच्चाएको हैन भनेर कसरी विश्वास गर्ने ?

जे कुरा प्रचारमा ल्याइएको छ त्यो सत्यमा आधारित छैन । त्यो वाहियात हल्ला मात्रै हो । हामीले पार्टी सञ्चालनका लागि चन्दा उठाउँछौँ । चन्दा दिनेमा धेरै शुभचिन्तक छन् । त्यसको साथसाथै केहीबाट हामीले करका रूपमा पनि लिने गरेका छौँ तर जुन रकम भनेर उनीहरूले हल्ला मच्चाएका छन्, त्यो गलत कुरा हो । वास्तविक कुरा लुकाएर एउटा राजनीतिक पार्टीलाई बदनाम गर्ने काम सत्तापक्षले गरिरहेका छन् । यसबाट कुनै हालतमा जनता विचलित हुँदैनन् ।

तपाईंहरूले यो संविधान र व्यवस्था नै खारेजीको माग गर्नुभएको छ । तर यसको विकल्प केही दिनुभएको छैन । के हुनसक्छ विकल्प ? जनताले बुझ्नेगरी बताइदिनुस् न ?

यो सत्य कुरा हो, हामीले यो संविधान र व्यवस्था मान्दैनौँ भनेर घोषणा गरिसकेका छौँ । यसको विकल्प चाहेर नै हामी हाम्रा गतिविधि गरिरहेका छौँ । संविधान र व्यवस्था कसैलाई मान्ने अधिकार छ भने कसैलाई नमान्ने अधिकार पनि छ । नमान्ने हाम्रो अधिकार हो । क्रान्तिकारी भएको, नेपालको क्रान्ति बीचैमा तुहाएको र प्रचण्ड बाबुरामले गद्दारी गरेकाले हामी अर्को विकल्पमा गएका हौँ ।

यिनीहरूले जुन सत्ता अहिले चलाइरहेका छन् यो हिजोको भन्दा अझ बढी भ्रष्टाचारी भयो । लुटाहा प्रवृत्तिको भयो । त्यसैले यसको विकल्प चाहिन्छ भनेर नेपाली जनताले भनेका छन् । जनताले चाहेको कुरा हामीले सचेत रूपमा अगाडि बढाएका हौँ ।

यो संसदीय व्यवस्थाको विकल्प नै वैज्ञानिक समाजवाद हो । सरकारलाई हामीले सामाजिक दलाल पुँजीवादीहरूको सरकार भनेका हौँ । सामाजिक दलाल पुँजीवादीहरूको सत्ता सामाजिक फासीवादतर्फ जाँदैछ । राष्ट्रघात, जनघात, ढाड सेक्ने कर लगाउने र चरम भ्रष्टचार गर्ने काम हुदै आएको छ । यो सामाजिक फासीवाद अभिव्यक्त भएको हो । यसमा हाम्रो विकल्प या बाटो के हो भने वैज्ञानिक समाजवाद हो ।

के हो यो वैज्ञानिक समाजवाद ? 

यो व्यवस्था भनेको जनताको व्यवस्था हो, जसले सातवटा प्रमुख कुरा हल गर्छ । ती हुन् गास, बास कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चार । यी सात चीज जनताले अनिवार्य पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
नेपालमा पटक पटक आन्दोलन हुँदै आए । व्यवस्था परिवर्तन भए । पछिल्लो समय १० वर्षे जनयुद्ध पनि तपाईंहरूले नै गर्नुभयो र शान्ति प्रकृया हँुदै नयाँ संविधान र सङ्घीयता लागू भयो । यसरी लामो समय र कष्टपछि आएको व्यवस्था र संविधान यति सजिलै परिवर्तन गर्छौं या हुन्छ भनेर बुझ्नु गलत नहोला र ?

नेपाली जनताले चाहेको र हिजो हामीले जनयुद्ध गर्दा भनेको के हो भने, पुरानो सत्ता चकानाचुर नपारी नयाँ व्यवस्था स्थापना हुन सक्दैन र जनताले स्वतन्त्रता अथवा जनताले आफ्नो अधिकार प्राप्त र जनजीविकाको हक प्राप्त गर्न सक्दैनन् भनेर जसरी जनयुद्ध सुरु गरेका थियौँ त्यसको विपरीत र विपक्षमा गएर बीचमै जनयुद्धलाई तुहाइउो ।

दोस्रो कुरा राज्यसत्ता आमूल परिवर्तन भयो त ? भएन ।  केहो राज्यसत्ता भनेको ? राज्यसत्ता भनेको केही मानिस सरकारमा जाने र राज्यको सम्पत्ति लुट्ने कुरा होइन । राज्यसत्ता परिवर्तन भनेको त पहिलो कुरा सेना परिवर्तन हुनुपर्यो । दोस्रो कुरा प्रहरी परिवर्तन गर्नुपर्यो ।

हामीले आमूल परिवर्तन ‘र्याडिकल चेन्ज’ भनेका हौँ । हामीलाई हिजो बाबुराम प्रचण्डले पनि बनिबनाउ राज्यसत्ता पुरानो राज्यसत्ता भत्काएर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भनेर सिकाएका थिए । जनवादी सत्ता स्थापना गर्ने भनेर नै हामीले जनयुद्ध गरेका हौँ । अर्को विचित्र त के छ भने जनयुद्धमा वर्गसत्रु रहेका केपी ओलीसँग घाँटी जोडेका छन् ।

त्यसैगरी अदालत र प्रशासन परिवर्तन गर्नुपर्यो । त्यसपछि जेल र अन्तिममा सरकार परिवर्तन हुने हो तर यहाँ राज्यसत्ता परिवर्तन गर्नुभनेको सरकार मात्रै परिवर्तन गर्नु हो भनेर हिजोदेखि नै बुझ्ने गरियो त्यो गलत हो ।

तपार्ईंहरूले भनेको वैज्ञानिक समाजवाद जनताले कहिले उपयोग गर्न पाउँछन् त ? जनताले विभिन्न परिवर्तनका नाममा कहिलेसम्म दुःखकष्ट भोगिरहने ?

तपाईंले भनेको जनताले दुःख कष्ट सहन पर्ने कुरा सत्य हो । तर नेपाली जनताले सुख चाहिँ कहिले पाए ? कुन चाहिँ शासन र व्यवस्थाले नेपाली जनतालाई सुख दिएको थियो र अहिले दुःख पाए ? त्यस्तो त छैन । बरु झन झन दुःख पाउँदै गएका छन् । हामीले त जनतालाई दुःख दिने यो राज्यसत्ताको पूरै जरो उखेलेर त्यसको ठाउँमा नयाँ बिरुवा रोप्नुपर्छ भनेका छौँ । पुरानै घरामा बसेपछि त हिजो जे थियो आज पनि त्यही मात्रै हुन्छ । जनताको सुखका लागि हामीले जनयुद्ध सुरु गर्दा यहीँनिर बिसाउने त भनेका थिएनौँ । बरु के भनेका थियौँ भने यसरी हतियार उठाइसकेपछि बीचमै विसाउनु भनेको जनताप्रतिको ठूलो धोखाघडी हुनेछ ।

अहिले पनि हामी त्यही वाचा अगाडि बढाइरहेका छौँ । नेपाली जनतालाई नै सुख दिने हिसाबले हामी अघि बढिरहेका छौँ । आमूल परिवर्तन गरेर जनताको सुख समृृद्धि हुन्छ भन्नेमा हामी दृढ हुनेछौँ ।

त्यसका कार्ययोजना केके छन् त तपाईंहरूसँग ? 

पहिलो कुरा त्यसका लागि सबै क्षेत्रमा विकल्प प्रस्तुत गर्छौं । सोभियत लागू गर्छौं । जस्तो रुसमा विकल्पका रूपमा सोभियत लागू भएको थियो । त्यो राज्यसत्ता हामी चलाउँछाँै । अदालत, प्रहरी प्रशासन, सेना हामी चलाउँछौँ । यसो गर्दै जाँदा पूर्णतः नयाँ सत्ताको विकास गर्दै अघि बढ्छौँ । यसक्रममा एकातिर जनतालाई विकास निर्माणका कुरा पनि दिँदै जान्छौँ र बाधा पुर्याउन खोज्ने पुरानो सत्तालाई ध्वस्त बनाउँदै जान्छौँ । यसो गर्न एकीकृत जनक्रान्ति आवश्यक पर्छ । यसो गरेपछि अन्ततः जनताको जित हुन्छ ।

विगत तीन वर्षदेखि तपाईंहरू नयाँ ढङ्गले हिँड्दै हुनुहुन्छ । ठ्याक्कै भनिदिनुस् तपाईंको पार्टी भूमिगत, अर्धभूमिगत वा खुला पार्टी हो ? 

यसमा हामीले ठ्याक्कै यही हो भनेर घोषणा गरेका छैनौँ । यो परिस्थितिमा निर्भर हुन्छ । सहज परिस्थिति भयो, हाम्रा गतिविधि विनारोकटोक हुन पाए भने हामी खुला र स्वतन्त्र हुन्छौँ । हैन, राज्यले यसरी नै दमन गर्छ भने हामी जुनबेला जस्तो परिस्थिति आउँछ त्यो रणनीति अपनाउँदै अघि बढ्छौँ ।

पछिल्लो समय सरकारले तपाईंहरूका शीर्ष नेता तथा कार्यकर्ता नियन्त्रणमा लिन थालेपछि तपार्ईंहरू भूमिगत हुन थाल्नुभएको हो ?

त्यो स्वाभाविक हो । राज्यसत्तासँग सबैथोक हुन्छ । क्रान्तिकारीहरूसँग त्यस्तो सुविधा हुँदैन । त्यसकारण हामी जनताका बीचमा रहँदै कामकारवाही अगाडि बढाउनुपर्ने बाध्यता हुन्छ ।

एउटा नेकपा सरकारमा छ । त्यसमा तपाईंहरू जनयुद्ध लड्दाताकाका सहयात्री पनि छन् । अर्को नेकपा तपाईंहरू सङ्घर्षमा हुनुहुन्छ । एउटै थालमा भात खाएकाहरू यसरी फरकफरक बाटोमा लाग्नुलाई कतिपयले बनावटी नाटक पनि भनिरहेका छन् नि ? 

शत्रु मित्रमा बदलिन्छ । मित्र शत्रुमा पनि बदलिन्छ । यो मान्यता अहिले हामीमा लागू भएको छ । यसलाई यसैगरी बुझ्दा उपयुक्त होला । प्रचण्डजीहरू यति छिटै चरम प्रतिकृयावादी हुनुहोला भनेर हामीले सोचेका पनि थिएनौँ । यति धेरै दलालमा परिणत हुनुहोला भनेर सोचेका थिएनौँ । अहिले केपी ओली र प्रचण्डमा कसले भारत र युरोपियन युनियनलाई रिझाउने भन्ने प्रतिस्पर्धा छ । यति तल्लो तहमा पुगेर साम्राज्यवादको दलाल होलान् भनेर हामीले सोचेका थिएनौँ । यो त निम्न पुँजीवादी अधैर्यता हो । प्रचण्ड, बाबुराम र बादलले निम्न पुँजीवादी अधैर्यता देखाए । यो कस्तो हुन्छ भने एकछिन तात्ने र एकै छिनमा सेलाउने । जस्तो सिलिबर भनौँ । सिलबरे नेता हुन् उनीहरू । हामीलाई आज बादलले गृहमन्त्रीको कुर्सीमा बसेर अपराधी भने । एउटा राजनीतिक पार्टीलाई अपराधी करार गरेर राज गरिरहका छन् बादल ।

अब यस्तो दिन आउँदैछ कि उनीहरूले कुकुरले नपाएको दुःख पाउँनेछन् । यो सत्य कुरा हो । उनीहरूले कि कम्युनिस्टको खोल नै फालेर हिँड्नुपर्छ नत्र भने त्यो खोल ओढ्दासम्म उनीहरूले सुख पाउँदैनन् ।

तपाईंहरू सँगसँगै जनयुद्ध लडेका गृहमन्त्री बादलप्रति बढी नै रुष्ट हुनूहुन्छ ? 

बादलजीले कुकुरभक्ति नगरे हुन्थ्यो । उहाँले केपी ओलीजीको पिछलग्गू भएर क्रान्तिकारीहरूलाई दपेट्न खोज्नुभएको छ । त्यसो गर्नु उचित होइन ।

सरकारले तपाईंहरूलगायत असन्तुष्टहरूसँग वार्ताको आह्वान गरेको छ । के वार्ता हुन्छ ? 

यो अवस्थामा वार्ता हुँदैन । हाम्रो वार्ता गर्ने परिस्थिति छैन ।

कतिबेला परिस्थिति बन्छ ? होला त वार्ता ?

वार्ता जतिबेला हुन्छ, त्यतिबेला हामी एउटा सन्तुलनमा आएका हुन्छौँ ।

दोस्रो कुरा, जसरी सरकारले वार्तावार्ता भनेर भनेको छ, यो वार्ता गर्ने तरिका नै होइन । एकातिर हाम्रा साथीहरूलाई अपहरण शैलीमा हत्कडी लगाउने अर्कोतिर वार्ताको कुरा गर्ने कसरी मेल खान्छ यो ? सरकारले हामीलाई छोएर वार्ताका नाममा छाम्न खोजेको हो । किनकि यहाँ मुद्दा चुनावका बेलाको बनाइएको छ । नेताहरूलाई देशभरी हिरासतमा राखेर कहिले कता र कहिले कता घुमाइएको छ । फेरि वार्ता भनेर हामीलाई सीधै कुनै लिखित चिठीपत्र पनि पठाइएको छैन । त्यसकारण वार्ताको हल्ला चलाएर हामीलाई दमन गर्दै समाप्त पार्ने षडयन्त्र अनुसार सरकार चलेको भनेर हामीले बुझेका छौँ ।

वार्ताका लागि तपाईंहरूका शर्त के के हुन् ? 

पहिलो कुरा त एउटा राजनीतिक पार्टीलाई त्यसै अनुरूपको मान्यता दिनुपर्छ । दोस्रो हिजो उहाँहरू आफैले कसरी राजनीति गर्नुभाथ्यो त्यो सोच्नुपर्छ । त्यतातर्फ पटक्कै नसोच्ने अनि वार्तावार्ता भन्ने ? अर्को कुरा झुठा मुद्दा किन लगाएको छ ? त्यसको जवाफ दिनुपर्दैन ? त्यस्ता मुद्दा हटाउनुपर्दैन ?  अहिले त एकातिर अदालतले छोड्ने आदेश दिने अनि गेटमा पुग्न नपाउँदै हत्कडी लगाइहाल्ने ! यो कस्तो राजनीति हो ?
यसमा गल्ती भयो भनेर सार्वजनिक माफी माग्नुपर्छ, त्यसपछि मात्रै सोच्न सकिन्छ ।

एउटा कुरा तपाईंलाई भनौं– हामीले चुनावका बेला चाहेको भए सबैलाई सकिदिन्थ्यौँ । साच्चै नै चाहेको भए प्रचण्ड, बादल, वर्षमान सबै सकिन्थे । केपी ओली पनि सकिन्थे तर हामीले सुझबुझका साथ बचाईबचाई कारवाही गर्यौँ । त्यसक्रममा कहीँकतै थोरबहुत बचाउँदा बचाउँदै पनि केही मानिस परेको भने अवश्य हो ।

सरकार योभन्दा बढी लचक हुने ठाउँ छैन भन्छ, तपाईंहरू अहिले वार्ता नै हुन सक्दैन भन्नुहुन्छ । यदि वार्ता अघि बढ्दै बढेन भने के हुन्छ ?

वार्ताको विकल्प के हो भनेर हामीले अहिले जे गरेका छौँ त्यही हो । हामी जसरी अघि बढेका छौँ त्यसरी बढिरहन्छौँ । सरकारले जुन वार्ताको कुरा गरेको छ, त्यो संसारका प्रतिकृयावादीहरू मिलेर क्रान्तिकारीहरूलाई सिध्याउने खेलअन्तर्गत हो । यो सरकारको वार्ता गर्ने हैसियत पनि छैन । सरकारलाई युरोपियन युनियन र भारतीय विस्तारवादीले पनि वार्ता गर भनेर सघाएका छन् ।

तपाईंहरू पार्टी विस्तारमा लागेको तीन वर्ष भयो, योबीचमा चन्दा उठाउने र बम विस्फोट गर्ने कामबाहेक केही देखिँदैन । यसरी मानिसलाई आतङ्कित पारेर कसरी क्रान्ति सम्भव होला त ?

जनता आतङ्कित भएका छैनन्, भ्रष्टचारी आतङ्कित भएका छन् । घुसखोरी डराएका छन् । राज्यसत्तामा बसेर भ्रष्टाचार गर्न पल्केकाहरू लर्खराएका छन् । त्यही किसिमका प्रशासकहरू डराएका छन् । जनता त हाम्रै पक्षमा छन् । साथ दिइरहेका छन् । अब झन् दिनेछन् । यिनीहरू कति फटाहा, बदमास्, अत्याचारी हुन भन्ने अझ बढी जनताले बुझिसके । त्यसकारण हाम्रो पार्टी थप लोकप्रिय र जनताको पार्टी हुँदै जनतामा स्थापित भएको छ ।

तपाईंहरूले भनेको क्रान्तिको मोडल कस्तो हो ? त्यो प्रष्ट पारिदिनुस् न साथै अहिलेको युगमा बन्दुक पड्काएर क्रान्ति गर्छु भन्नु मूर्खता होइन ? 

अहिलेको युगमा पनि बन्दुकबाट क्रान्ति सम्भव छ । नहुने भए हामी किन लाग्थ्यौँ ? आफूलाई सबैभन्दा सभ्य ठान्ने अमेरिका । ऊ हतियार र बन्दुककै भरमा अघि बढेको छ कि छैन ? तर हामीले सामान्य बम पड्काएको चाहिँ देख्ने ? सबैभन्दा ठूला भनिएका देशहरू जो छन् उनीहरू बम र बन्दुकबाटै चलेका छन् । आफू बन्दुकको तयारी गर्ने अरूलाई हुँदैन भन्ने ? यसको अर्थ जनताले बन्दुक उठाएभने उनीहरूलाई सिध्याउने ? यो हामी देखिरहेका छौँ ।

नेपालको राजनीतिक परिस्थति के हो भन्दा सामाजिक दलाल पुँजीवादीहरू अर्थात विग्रिएका कम्युनिस्टहरू फासीवादमा जाँदैछन् । यसलाई परास्त गर्न जनताले सैनिक तयारी गर्नुपर्छ । सैनिक तयारी नगरेसम्म जनताको जित हुनै सक्दैन । अरू उपाय नै छैन । उदाहरणकै लागि चुनावकै कुरा गराँै । तपाईंसँग एक करोड छैन भने एउटा वडाध्यक्षको उम्मेदवार बन्न सक्नुहुन्न । त्यसका लागि त धनाड्य नै हुनुपर्यो, धनसँग बन्दुक हुन्छ । त्यो बन्दुक र धन नभई चुनाव जित्दैन । त्यसकारण हामी के भन्छौँ भने बन्दुक जनताले नलिई हँुदैहुँदैन ।

नेपालमा अनगिन्ती समस्या छन् । सीमा समस्यादेखि छिमेकी देशको हेपाहा प्रवृत्ति छ । तपाईंहरू आफूलाई राष्ट्रवादी भन्दै हुनुहुन्छ । यी समस्याका बारेमा के सोच्नुभएको छ र के गर्दै हुनुहुन्छ ? 

तपाईंको प्रश्न ठिकै हो । हामीले सीमाका कुरा पनि उठाएका छौँ । लिपुलेकको कुरा पनि गरेका छौँ । दक्षिणी भेगमा मिचिएका सीमा फिर्ता गर्नुपर्छ भनेर हामीले सरकारलाई भनेका पनि हौँ । साम्राज्यवादीहरूलाई पनि भन्यौँ । हाम्रो सीमामा आएर हाम्रा नागरिकको हत्या हुन्छ । तर सरकार चुप लाग्छ । यदि सरकारले हामीलाई अनुमति दिन्छ भने हामी यी कुरामा हस्तक्षेप गर्न तयार छौँ ।

मिचिएका सीमा जोगाउने जिम्मा स्वाभिमानी प्रत्येक नेपालीको हो । यसो गर्न तपाईंहरूलाई सरकारले भन्नैपर्छ र ! ल भन्यो रे भारतीय सेनासँग लड्ने हिम्मत छ ? 

हामी पहिला यहाँको सत्तापक्षसँग लड्छौँ । जो भारतबाट गाइडेड छ, भारतीय सरकारभन्दा के फरक छ र यो ? कतिपयले हामीलाई भारतीय सेनासँगै लड भनेर पनि नउक्साएका होइनन् । तर हामी त्यसरी उक्साहटमा लाग्दैनौँ । हामी पहिला यहीँ लड्छौँ । यो राज्य दलाल पुँजीपतिवर्गबाट मुक्त गर्न चाहान्छौँ ।

एउटा कुरा प्रष्ट बताइदिनुस् । नेपालका हरेक आन्दोलन या परिवर्तनमा प्रत्यक्ष परोक्ष अन्तर्राष्ट्रिय शक्तिको हात हुने गरेको देखिन्छ । तपाईहरूको आन्दोलन तीभन्दा फरक हो ?

कम्युनिस्ट आन्दोलन भनेको अन्तर्राष्ट्रिय नै हुन्छ । त्यसकारण संसारका मजदुरहरू, सुकुम्बासीहरू, पीडितहरू सबै मिलेर क्रान्ति गर्छौं । हामी एक्लै हिँड्दैनौँ । हाम्रो नारा नै छ– ‘संसारका श्रमजीवी तथा उत्पीडित एक हौँ ।’ यसो भन्दैमा हामी फेरि कसैबाट निर्देशित छौँ भन्ने होइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार