गत माघमा धरानमा सम्पन्न बुढासुब्बा गोल्डकप थ्रीस्टारका कप्तान विक्रम लामाको लागि दुखदायी बन्यो । आफ्नो कप्तानीमा थ्रीस्टार क्लबलाई फाइनलसम्म पुर्‍याए पनि उपाधि उचाल्ने बेलामा उनी अस्पतालको बेडमा थिए ।

फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा विक्रम लामाको खुट्टाको टिबिया र फिबुला (ठूलो र सानो हड्डी) भाँच्चिएको थियो । उनलाई तत्काल काठमाडौंको ग्रान्डी अस्पतालमा राखेर उपचार गरियो । अहिले उनी पूर्णरुपमा ठीक नभए पनि अभ्यासमा भने फर्केका छन् ।

बुधबार विहान ललितपुरको सातदोबाटोस्थित चर्च मैदानमा पुग्दा थ्रीस्टार क्लब अभ्यासरत थियो । प्रशिक्षक मेघराज केसीले खेलाडीलाई दुई समूहमा विभाजित गरेर खेलाइरहेका थिए ।

अन्य खेलाडीसँगै अभ्यासमा थिए, लामा । उनी पहिलेकै स्पि्रटमा नखेले पनि अन्य खेलाडीको हौसला बढाउँदै बेला-बेला निर्देशन पनि दिईरहेका देखिन्थे ।
‘घाइते भइसकेपछि देश-विदेशबाट धेरैले मलाई सहयोग गर्नु भएको छ । पुरानो अवस्थामा फर्किन मिहिनेत गरिरहेको छु,’ विक्रमले भने ।

उनले थपे, ‘खेल्नलाई म ७०-८० प्रतिशत ठीक भएको छु । ननकन्ट्याक त मजाले खेल्न सक्छु । तर, कन्ट्याक गेममा फर्किनको लागि अझै समय लाग्छ ।’
शहिद स्मारक ए डिभिजन लिगबाटै पुनरागमन गर्ने आशा उनले व्यक्त गरे । विक्रम नेपाली राष्ट्रिय फुटबल टोलीका पनि भरपर्दा मिडफिल्डर हुन् । सन् २०११ देखि निरन्तर थ्रीस्टार क्लबमा आबद्ध छन् उनी ।

‘म अब ४ हप्ता, ६ हप्ता या ८ हप्तामा खेलमा फर्किन सक्छु । कसरतबाट आफुलाई कसरी बलियो बनाउन सकिन्छ त्यसमा भरपर्दो रहेछ । ए डिभिजन लिगको पहिलो र दोस्रो हप्तादेखि नभए पनि तेस्रो र चौथो हप्तादेखि अवश्य मैदानमा आउनेछु,’ उनले भने ।

थाइल्यान्ड जाने

उनी अब थप उपचार र परिक्षणका लागि थाइल्यान्ड जादैछन् । थाइल्यान्डको बैंककमा बस्ने थ्रीस्टार क्लबका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठले उनलाई यसमा सहयोग गरेका छन् । फिफाद्वारा मान्यता प्राप्त बैंकक हस्पिटलमा श्रेष्ठले उनका लागि अपोइन्टमेन्ट मिलाइसकेका छन् । यो खेलाडीहरुको उपचार गर्ने अस्पताल हो ।

‘मेरो त्यहाँ ३ दिनजति स्वास्थ्यपरिक्षण छ । त्यसपछि म कहिले कन्ट्याक गेममा फर्किन्छु थाहा हुन्छ,’ विक्रमले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार