लेह्म्यान ब्रदर्स टाट पल्टेको र विश्वमा आर्थिक मन्दी छाएको ठीक १० वर्षपछि एक पटक पुनः त्यस्तै संकट आउने हो कि भन्ने आशंका बढ्न थालेको छ । ग्लोबल फाइनान्सियल फर्म लेह्म्यान ब्रदर्स कुनै बेला (सन् २००८ सेप्टेम्बर १५ अघि) अमेरिकाको चौथो ठूलो इन्भेस्टमेन्ट बैंकका रुपमा क्रियाशील थियो ।

प्रश्न उठ्न थालेको छ, के हामी अर्को एउटा आर्थिक संकटको मुहानमा उभिन पुगेका हौं ? सम्बद्ध कोही पनि यो प्रश्नको उत्तर स्वरुप केही बोल्न सकिरहेका छैनन् । तर, वर्तमानमा केही यस्ता संकेतहरु देखा पर्न थालेका छन्, जसले अर्थशास्त्रीहरुलाई पनि दिक्क बनाइरहेको छ । यस्तो स्थितिले नेपालजस्ता अति कम विकसित मुलुकमा कस्तो असर पर्ला ? सम्भावित आर्थिक संकटको मारमा परेका खण्डमा त्यसबाट उम्कन के–कस्ता उपाय अवलम्बन गर्नुपर्ने हो भन्नेबारे कतिपय मुलुक अनभिज्ञजस्तै छन् ।

२००८ को आर्थिक संकटबाट मुक्त हुन संसारभरका केन्द्रीय बैंकहरुले निकै ठूलो परिमाणमा नोट निष्काशन गरे । यसमध्ये अधिकतम मुद्रा वित्तीय बजारमा आयो । करिब २९० ट्रिलियन डलर वित्तीय बजार (सेयर, बन्ड तथा अन्य वित्तीय सम्पत्ति)मा आयो । यसका साथै, केन्द्रीय बैंकहरुले ब्याजदर घटाए । फलस्वरुप लगानीकर्ताहरु अधिकतम ब्याजको लोभमा खराब तथा अविश्वसनीय संस्था (क्षेत्र)मा लगानी गर्ने कार्यमा आकर्षित हुन थाले । यो ठूलो जोखिमयुक्त काम थियो ।

फैलँदो बजार अमेरिकी डलर उपयोग गर्न बाध्य छ । अमेरिकी डलर संसारको एकमात्र रिजर्भ करेन्सीका रुपमा कायम छ । यसको असर स्वरुप संसारका सबै बजारमा अमेरिकी डलरप्रतिको निर्भरता वृद्धि हुन पुग्यो । गतिशील तथा विकासशील अर्थव्यवस्थायुक्त देशले बढी लाभको आशमा ‘सर्ट टर्म’ मा बढी पैसा लगानी गरे । गतिशील बजारमा ऋणको मात्रा ह्वात्तै बढ्यो । २००८ को विश्व आर्थिक संकटपछि गतिशील अर्थव्यवस्थामा बाहिरी ऋण बढेर ४० ट्रिलियन डलर पुगिसकेको छ । कर्जा संकट कति भयावह थियो भन्ने कुरा इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्स (आईआईएफ) को रिपोर्टले प्रष्ट पार्छ । २६ वटा ठूला र गतिशील बजारको संयुक्त कर्जा २००८ मा तिनीहरुको जीडीपीको १४८ प्रतिशत थियो, त्यो बढेर २०१७ सेप्टेम्बरमा २११ प्रतिशत हुन पुग्यो ।

कोलम्बिया युनिभिर्सिटीका ल प्रोफेसर क्याथरिन जजका अनुसार सन् २००८ को आर्थिक संकटका बखत नियमनको ढाँचा कमजोर थियो । त्यसबखत नियमन एकीकृत थिएन, टुक्राटुक्रामा विभक्त थियो । क्याथरिन भन्छन्, ‘यस्तो चुनौती अहिले पनि कायम छ । यसले छिटै नै एउटा अर्को आर्थिक संकटतर्फ डो¥याइरहेको छ ।’

पछिल्लो समय अधिकांश सम्पत्ति महँगो भएको छ । र, असल लगानी निकै कम उपलब्ध हुन पुगेको छ । यसको अर्थ, बजारमा सुधारात्मक कदम चाल्न अत्यावश्यक भइसकेको छ । स्थिति यति नाजुक हुन पुगेको छ कि, कुनै साना घटनाले पनि ठूलो असर पार्न सक्छ । यस्तो परिस्थिति एकातिर छ भने अर्कोतिर ब्रेग्जिट, अमेरिका–चीनबीचको व्यापारयुद्धजस्ता ठूला घटना सामुन्नेमा उभिएका छन् ।

यिनै दुई घटनाले नै संसारलाई पुनः एकपटक आर्थिक संकटको भुमरीमा पारिदिन नसक्ला भनी कसले भन्न सक्छ र !

नवभारतटाइम्स डटकममा आधारित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार