कृष्णप्रसाद धमला ‘ गम्भीर ‘ नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य हुन् । उनलाई पार्टी कामको सिलसिलामा उपत्यका आउँदै गर्दा ‘विशेष सुराकी’को आधारमा गिरफ्तार गरिएकाे थियाे । उनीसँगै अर्का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लार्इ काठमाडौंको नागढुंगाबाट सादा पोशाकमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को एक टोलीले साउन १० गते गिरफ्तार गरेकाे थियाे । तीन महिनापछि  धमलासँगै अर्का पाेलिटव्युराे सदस्य जिवन्त पनि रिहा भएका छन् । रिहा हुनु केहीदिन अघि मात्र नेता धमलासँग क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय प्रतिनिधिसँगको हिरासत अवधिमा भएको भेटमा कुराकानीकाे मुख्य अंश :

तपाईलाई कहाँबाट, कुन समय र कसरी गिरफ्तार गरियो ?

म र कमरेड जीवन्त पार्टी कामको सिलसिलामा सार्वजनिक बस चढेर काठमाडौं आउँदै थियौं । त्यो दिन साउन १० गते थियो । दिउँसो ३ बजेतिर बस नागढुंगामा आइपुग्यो । केही मान्छेले बस रोक्न लगायो र केही मान्छे बसभित्रै आएर हाम्रो नाम सोधे । शुरुमा त जेपनि हुन सक्ने ठानेर उनीहरुले लिएका नामबारे बोलेनौ । तर हामीलाई लिन आएका हुनाले त्यो सोधाई नौटंकी मात्र थियो । त्यहाँ अर्को हुने कुरा थिएन । दुवैजनालाई बसबाट ओराले । बसबाट ओर्लदा वरिपरि डेढ दर्जन जति मानिस थिए । सबैजनाले हामीलाई घेरा हालेर राखे ।

त्यसपछि के भयो ?

घेरा हालेपछि घेराकै बिचमा केही परसम्म हिँडाए । त्यहाँ गाडी ठीक पारेर राखिसकेका रहेछन् । उनीहरुले आफूलाई सीआईबी प्रहरी हुँ भनेर बसभित्रै भनिसकेका थिए । बाहिर आएर पनि तिमीहरु को हौ ? भनेर सोध्यौं । हामी प्रहरी हौं भनेर जवाफ दिए । सबैजना सादा पोशाकमा थिए । केही मान्छे मोटरसाइकलमा थिए । झट्ट हेर्दा प्रहरीजस्तो होइन कि चुल्ठे, मुन्द्रे जस्ता देखिन्थे ।

त्यसपछि के गरियो ? 

त्यसपछि हामीलाई एउटै गाडीमा चढ्न भने । हामीले मानेनौं । पहिला कारण के बताउन भन्यौं । तर उनीहरुले हामी प्रहरी हौं । तिमीहरु यहाँ आउँदैछौ रे भन्ने विशेष सूचना पाएर पक्राउ गर्न आएका हौं भने । किन र कहाँ लैजान लागेको ? भनेर सोधेँ । त्यसमा ‘वर्ता कुरा गर्ने हैन’ भन्दै धम्कीको भाषा बोले । केहीले त ‘धेर बोल्छस्’ भनेर गाली गर्दै फोहोरफोहोर शब्दमा मुख छाडे । धक्का मार्ने माम पनि गरे । उनीहरुको कब्जामा परिसकेको हुँदा हाम्रो कुरा सुन्ने, मान्ने अवस्था थिएन । गाडीमा चढ्यौं । त्यो गाडी त्यहाँबाट थानकोटको बाटो भएर आएन । नागढुंगाबाट अलिक अगाडि बढेपछि गाउँबिचको बाटोबाट सितापाइला छेउतिर निकाले । त्यहाँबाट स्वयम्भू पछाडि हलचोकको सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय छिर्ने गेटनेर १० मिनेटजति हामीलाई ल्याएको त्यो गाडी रोक्यो । त्योबेला दिउँसो साढे ४ जति बज्याथ्यो होला ।

त्यहाँ गाडी रोकियो र गाडीबाट दुईजना मान्छे झरेर गेटभित्र पसे । त्यसको केही मिनेटमै भित्रबाट दुई तीनजना मान्छे त्यही गाडीमा आएर बसे । गाडी वनस्थलीपट्टि बढ्यो । बढेसँगै झोलाबाट निकालेर हामी दुवैजनालाई आँखामा कालो पट्टी बाँधिदिए । हातमा हत्कडी लगाइदिए । त्यसपछि कहाँ लगियो ? भन्ने धेरै भेऊ पाउन सकिनँ । कालो पट्टी बाँधिएपछि गाडीको गति त्यति बढाएनन् । सामान्य गतिमा निकैबेर घुमाइराखे । सायद अँध्यारो हुन दिनुरहेछ जस्तो लाग्छ ।
करिब ३ घण्टाजति पछि गाडीलाई कुनै घर वा कम्पाउण्डभित्र छिराएजस्तो अनुमान भयो । त्यसपछि आरोलेर अलगअलग ठाउँमा लगे । एकलेअर्कोको स्वर सुन्ने अवस्था शून्य बनाइयो । मलाई एउटा कोठा भित्र लग्यो । त्यो कोठा अण्डरग्राउण्डमा थियो । जुत्ता ढोकाबाहिरै खोल्न लगायो । लगेर म्याट ओछ्याइएको भुँइमा राखे । हत्कडी र कालो पट्टी त लगाइएकै थियो । त्यहीँ बसेँ ।

त्यसरी भुँइमा राखिसकेपछि निकैबेर कोही पनि आएनन् । पछि दुईजनाको टोली आएजस्तो लाग्छ । नाम, ठेगाना, घरपरिवार, कामको बारेमा प्रश्न गरे । सबैको जवाफ दिएँ । त्यसपछि पार्टी जीवनबारे सोधे । जवाफमा मैले म नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य हुँ । जिम्मेवार पार्टीको जिम्मेवार नेता हुँ भनेर जवाफ फर्काएँ । पार्टी कामकै सिलसिलामा काठमाडौं आउँदै गरेको बताएँ । तर त्यतिले उनीहरु मान्ने कुरा थिएनन् । अर्कै उद्देश्य लिएर उपस्थित थिए उनीहरु त्यहाँ । मानौ उनीहरुले खोजेको चिज दिएनन् भने ज्यान लिन पछि नपर्ने आशयबाट प्रस्तुत हुन्थे । घुमाउरो तरिकाले संकेत पनि दिन्थे । हरेक टोलीमा नै त्यो भाव देखिन्थ्यो । एकजना अपराधीमाथि गर्ने व्यवहारसहित अगाडि खडा हुन्थे । त्यसबेला रातको ८ बज्याथ्यो हुनुपर्छ ।

खासमा किन गिरफ्तार गरेका रहेछन् र के के सोधे ?

खासगरी ममाथि पार्टीसँग केन्द्रित रहेर प्रश्नहरु साध्न शुरु गरे । मैले पहिल्यै मेरो जिम्मेवारी र हैसियतबारे प्रष्ट पारिसकेको थिएँ । तैपनि उनीहरुले चित्त बुझाउने र छाड्ने क्ुरा थिएन । खासमा महासचिव विप्लवबारे धेरै प्रश्न गरे । महासचिवको उत्तर हामीले दिनसक्ने कुरा पनि थिएन । दिने कुरा पनि होइन । प्रश्नकर्ताहरु कोही माक्र्सवाद, लेनिनवा र माओवादीबारे केही थाहा नपाएझैं गर्थे, कोही आफूलाई सबै थाहा भाजस्तो गर्थे ।

काठमाडौंमा कहाँ बस्छस्, किन आइस्, कसलाई भेट्न आईस, कहाँ हान्ने योजना छ । अहिलेसम्म कहाँकहाँ हनिस्, विष्फोट गरिस् जस्ता होच्याएर प्रश्न गरे । विप्लव कहाँ बस्छन् त्यहाँ लग्दिनु, नत्र भने धम्की दिए । सिधै म सक्दिनँ भनेँ । त्यस्तै बिचमा एकजनाले उग्ररुपमा प्रस्तुत भए । तिनले ‘म पनि पूर्वमाओवादी हुँ’ ममाथि भन्दै हात छोडे । आँखामा पट्टी बाँधिएको हुँदा तिनलाई देख्ने कुरा थिएन । केवल स्वर मात्र सुनिने कुरा भयो । त्यो मान्छेले आफू पहिले जनयुद्धका कमाण्डर भएको र पछि पार्टी, मालेमा छाडेर त्यहाँ जागिर खान पुगेको बताउँथे । हामी माओवादी नेताप्रति गाली गलौज गर्न र हात छोड्न त्यस्तै मान्छे प्रयोग हुँदा रहेछन् भन्ने त्यहाँ देखियो । मालेमा र माओवादी पार्टी वा नेकपाको बद्नाम गराउने अनि सर्वसाधारणमा भ्रम छर्ने रणनीतिमा राज्य संयन्त्र नै लागिरहेको भन्ने कुरा बुझ्न त्यो एउटा बलियो उदाहरण थियो त्यो हर्कत ।

नेकपा नेतृत्व विप्लवबारे खास प्रश्न के थिए ?

राज्यले हाम्रो पार्टीलाई हेर्ने र गर्ने दमनकारी व्यवहारका कारण पनि नेतृत्वसँग कुराकानी हुने अवस्था थिएन । पार्टीको केन्द्रीय समितिको बैठक हुँदा पार्टीलाई जनतासँग नजिक कसरी बनाउने ? जनता समर्थन कसरी प्राप्त गर्न सकिन्छ ? देश र जनताको जीवनबारे कस्तो एजेण्डा अघि सार्ने ? देश र नागरिको आवश्यकता के हो ? राज्यसत्ता कुन अवस्था छ ? त्यसले जनतालाई के दियो ? के दिएन ? अब सत्तालाई जनताको बनाउन के गर्नु पर्ला ? नेपाली क्रान्तिको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति कस्तो छ ? जस्ता सामान्य विषयमा छलफल हुने कुरा हुन्थ्यो ।

त्यसैलाई निहुँ बनाएर बैठक किन गरिस् ? कहाँ गरिस् ? क्रान्तिको कुरा किन उठाइस् ? तिम्रा पार्टीका नेतृत्व कहाँ छन् ? काठमाडौंमा आएर कहाँ विप्लव कहाँ बस्छन् ? तिमीहरुको सेल्टर कहाँ हो ? जस्ता आन्तरिक कुरा खोतल्ने कोशिस गरिन्थ्यो । मैले अभियोग के हो त्यो भन्नु, अरु कुरा अरुलाई नै सोध्नु भने । यस्ता कुरा सोधेर देशको समस्या समाधान हुने कुरा हो र भन्या । सत्ताको जागिर, नून खाएर बसेपछि जनता कुन अवस्था छन् । देशको सार्वभौमसत्ता कस्तो अवस्था छ ? भन्ने अध्ययन गरेर जनतालाई पूर्णअधिकार दिए भइहाल्यो नि त्यति प्रश्न गर्न जान्नेले । ओली–प्रचण्डलाई सुझाए भैगो नि । हामीले जतिपनि गरेका छौं ति सबै उसकै संविधानमा व्यवस्था भएअनुसार राजनीतिक गतिविधि गरिरहेका छौं । त्यो कुरा सर्वोच्च अदालतले आदेशपत्रमा प्रष्टसँग व्याख्या गरिसकेको छ । खुला पार्टी गठन गरेर राजनीति, सभा, भाषण, संगठन विस्तार त गरेका छौं नि । त्योबाहेक अरु के गरेका छौं । तर यत्तिकैमा राज्यसत्ता त्रसित भएको छ । यो के अचम्म ।
त्यसकारण मैले हाम्रो पार्टी नेकपाका महासचिव विप्लवले तिमीहरुको राज्यसत्ताले जनतालाई अधिकार नदिई दमन, हस्तक्षेप, गिरफ्तार, झुठा मुद्दा लगाउने हर्कतको ठाउँमा जनतालाई पूर्ण अधिकार बनाउने, देशलाई स्वाधीन र आत्मनिर्भर तुल्याउने, भ्रष्टाचार, महंगी, कालोबजारिया नियन्त्रण गर्ने, घुस्याहलाई ठेगान लगाउने, देशलाई हानी पुरयाउने सन्धिहरु खारेज गर्ने, देशभित्रका प्राकृतिक स्रोतसाधनको भरपुर मात्रामा देशभित्रै उपयोग गर्ने नीति बनाएर त्यसको नेतृत्व गरिरहेका छन् । के यसो गर्नु अपराध हो ? अहँ होइन । म त्यो अभियानका टिम सदस्य मात्र हुँ भने । तर अर्कैबाट निर्देशित मान्छेहरु मेरो कुरा सुन्ने पक्षमा हुने कुरा भएनन् ।

एकोहोरो तरिकाले विप्लव कहाँ बस्छन् ? अहिले कहाँ छन् ? कहाँ हान्ने योजना बनाउँदैछन ? यतिखेर कहाँ भेटिन्छ ? मोवाइल नम्बर कति हो ? पार्टीसँग सेना कति छन् ? उनीसँग कति जनाको टिम हिड्छन् ? कुनकुन स्तरको हतियार बोक्छन् ? पार्टीसँग कति हतियार छ ? कहाँ राख्छ ? जस्ता प्रश्न गरे । जुन विषय मलाई थाहै छैन । अनावश्यक प्रश्न र विषय झिकेर मानसिक यातना दिने काम अत्याधिक गरे ।

तपाईको जवाफ के रह्यो त ?

ती प्रश्नहरुको जवाफ मबाट पाउने कुरा थिएन । किनकि म त एउटा राजनीतिक चेतना र ज्ञान दिँदै हिड्ने मान्छे । अर्को कुरा नेकपासँग सेना र हतियार छ भन्ने सरकारको बुझाई पूरै गलत छ । हामी त राष्ट्रियता, स्वाधीता खतरा देशमा चलिरहेको दलाल संसदीय व्यवस्थाका कारणले परिरहेको छ, यसलाई भत्काएर वैज्ञानिक समाजवादको स्थापना र नागरिकलाई राजनीतिक अधिकारसहितको राज्यसत्तामा सहभागी गराउनेबारे, देश र नागरिकलाई आत्मनिर्भर र स्वाभिमानी बनाउने नीति र एजेण्डा बोकेर शान्तिपूर्ण राजनीति गर्दै हिँडिरहेका छौं । अनि कहाँबाट सेना, कहाँबाट हतियारको कुरा आउँछ । जनयुद्धकालका जनमुक्ति सेना र सबैखाले हतियार त्यसबेलाका ‘सुप्रिम कमाण्डर’ प्रचण्डले संयुक्त राष्ट्रसंघका प्रतिनिधिको रोहवरमा तत्कालीन सरकालाई बुझाइसकेका छन् । अहिले हामीसँग हतियार र सेनाको कुरा गर्ने ? वाहियात कुरा भनेर मैले जबाफ दिए ।

शारीरिक यातना पनि दिइयो भन्ने कुरा आएको छ, सत्य हो ?

हो, शारीरिक यातना दिने काम भएको छ । त्यो बेला मैले ‘एउटा देश र नागरिकप्रति जिम्मेवार पार्टीको एकजना पोलिटब्यूरो सदस्य हुँ म, जिम्मेवार भनेर जिम्मेवारीपूर्वक कुरा गर्नुस् । म अहिले तिमीहरुको नियन्त्रणमा छु । चाहेको खण्डमा ममाथि जे पनि गर्न सक्छौ’ भनेँ । अनि ‘यो दलाल सत्ता सधैं रहिरहन्छ भन्ने चाहिं नठान्नुस्, ख्याल गर्नुहोस्’ भनेँ । त्यसपछि अलिक मत्थर भए । पछि मानसिक यातना त कति हो कति । नहुने प्रश्न गर्ने र अनि जसरी पनि उत्तर चाहिने जिद्दीले उनीहरुलाई र हामी बन्दीलाई पनि अनावश्यक तनाव । मैले यसलाई ठूलो अन्यायको रुपमा लिएको छु । मैले भनेँ, ‘यसो गर्नुभन्दा देशको सिमाना मिचिरहेको छ । सीमानाका नेपालीहरु भोलिपल्ट बिहान ब्यूँझदा रातारत सीमा स्तम्भ सारेर भारतपट्टि पुर्याइसकिएको हुन्छ । पूर्खादेखि बसिरहेका नेपालीसँग हातमा लाजपूर्जा छ, जग्गा छैन । त्यो सामान्य अन्याय होइन । विदेशीको ठूलो अतिक्रमण र हस्तक्षेप हो । त्यस्तै नागरिकको दैनिक जीवन महंगीले भाँचिरहेको छ । स्वास्थ्य, शिक्षामा नीजि क्षेत्रको ब्रम्हलुट छ । छोराछोरीलाई पढाउने विषयले सर्वसाधारण जीवन खाइदिएको छ । यातायात भाडा उस्तै चरम छ । तर सरकार चलाउने जिम्मा लिएर बस्नेहरु नदी, खोला, डाँडा, पहाड, तराई उर्वर भूमि, जंगल, राष्ट्रिय उद्योग, कलकारखाना पैसा खाएर माफिया, दलाल र विदेशी पूजीँवादीहरुलाई बेचिरहेका छन् । यो अपराधप्रति तपाई सुरुक्षाकर्मीहरुको ध्यान जानु पर्दैन ? भनेर प्रतिप्रश्न गरेँ ।

केपी–प्रचण्ड र बादलले भन्याजस्तै शान्ति सुरक्षा र मुलुकमा समृद्धि आएको भए दिनहँु हत्या, महिला हिंसा, बलात्कार, अपहरण, अपराधका जघन्य घटनाहरु किन भइरहेका छन् त ? कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको छ । झण्डै दुई महिना बितिसक्दा पनि हत्या कोही पत्ता लगाएको ? यही सुरक्षा गृहप्रशासनको सुरक्षा प्रणाली ? काला बजारिया र बिचौलियाले बजार निलिसक्या छन् । भ्रष्चारी र घुसखोर, तस्करले देश खाइसक्या छन् । यस्तो बेला प्रशासन कहाँ छ ? भ्रमणको नाममा विदेशी सेना अत्याधुनिक हतियारसहित देशको मुटु राजधानीमै आएर परेड खेल्दा यो देशको सुरक्षाको जिम्मा लिएर बसेका सुरक्षा निकाय र तिनका अधिकारी कहाँ छन् ? त्यो बेला चुँईक्क बोल्दैनन् । यहाँका संसदवादी दलका नेताहरु चुँईक्क किन बोल्दैनन् । यो भनेको विदेशी दलाल र हस्तक्षेपकारी शक्तिको गुलामी गर्नु हो । यसबारे जनताले प्रश्न गरिरहेका छन् ।

त्यसकारण यो सरकारसँग कोही पनि नागरिक सन्तुष्ट छैनन् । आक्रोशित छन् । सरकार र संविधान एक किसिमले फेल भइसकेको छ । यस्तो अवस्थामा नेकपाका नेता कार्यकर्तालाई शारीरिक र मानसिक यातना दिएर समाधान हुन्छ भन्ठान्नु घोरमूर्खता बाहेक केही होइन । यो कुरा बादलहरुले बुझुन नसक्दा समस्या भएको हो ।

एउटा जिम्मेवार राजनीतिक पार्टी नेता भएको हिसाबले यी तमाम प्रश्न सोध्दा कस्तो लाग्यो ?

जति पनि प्रश्न गरे ती कुनैपनि नेपाल र नेपालीको हितमा छैनन् । दलाल सरकारको संरक्षणमा हुर्केबढेका र फैलिएका दलाल–माफियाहरुले चलाएका कम्पनी, उद्योगमा आक्रोशित जनताले क्षति पुर्याएका हुन्छन्, त्यसका दोषजति नेकपा र तिनका नेता कार्यकर्तामाथि थोपरिदिन्छ सरकार । गिरफ्तारपछि ममाथि जतिपनि अभियोगहरु लगाइयो, ती सबै राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण बाहेक केही थिएन, छैन । राज्यसत्ताको गलत रवैया र नीतिप्रति फरक मत, विचार राख्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । विद्यामान राज्यसत्ताभन्दा राम्रो गर्न वा राजनीति गर्न राजनीति दल खोल्न र राजनीतिक जागरण ल्याउन पाउने संसदवादीहरुकै संविधानले दिएको अधिकार हो । विद्रोह जनताको अधिकार हो भन्ने कुरा पनि यो सरकारलाई बताइराख्नु पर्ला र ।

नेकपाले अहिलेको संविधानप्रति फरक मत र विचार राखेर छुट्टै संविधान र दस्तावेज जनतालाई दिएर राजनीतिक पार्टी गठन गरेर हिडेको पार्टी हो । अनि यही खराब र दलाल व्यवस्थामा आइजा, देखाईदिन्छु जस्तो गरी जबर्जस्त गरेर हुने कुरा हो यो ? होइन । त्यसकारण संविधानने दिएको कुरा गर्नै नदिने र गरेमा दमन गर्ने, गिरफ्तार गरेर झुठा मुद्दामा फसाउने काम गरेर राज्यले नै समाजमा आतंक मच्चाइरहेको अवस्था छ । ‘स्थानीय तह’ संचालनको नाममा अत्याधिक मात्रामा नयाँ कर लगाएको छ । चालु करमा उस्तै मात्रामा बढाएको छ । यसबारे नेकपाले अझ व्यापक रुपमा भण्डाफोर र बुझाउन पाइरहेको छैन । नागरिकले त्यो कुरा बुझेको दिन यो सत्ता, सरकार कहाँ पुग्छ, हेर्दै जानुहोला ।

त्यो रात कहाँ लगेर राखियो र कति समय यातना र प्रश्न श्रृंखला चलाइयो ?

साउन १० गते राति ८ बजेतिरबाट शुरु भएको प्रश्न बिहान ३ बजेसम्मै चलाए । फरकफरक टोली आउँथ्यो । पानीबाहेक केही खान दिएनन् । सुत्न दिनु भन्दासमेत मानेनन् । उनीहरुको योजना भनेकै कसरी हुन्छ, के गर्दा गल्छ र आत्मसमर्पण गर्छ त्यो तरिका अपनाउने हुँदारहेछन्् । मैले खान, सुत्नसमेत नदिई करकापमा बोल्न लगाउने कोशिस गरेर मानवअधिकार उल्लंघन गर्यौ भनेर कराएपछि बल्ल बिहान ६ बजे अगाडि डेढ घण्टाजति हत्कडी र कालो पट्टीमै सुत्न दिए । त्यो ठाउँ (कोठा सीआईबीकै भवन हुनुपर्छ । त्यसपछि जीवन्तजीलाई पनि सँगै ल्याए । त्याे बेला बिहान उज्यालो भएको रहेछ । थाहाँ पाउन सकिने अवस्था थिएन । कालो चिया र बिस्कुट ल्याइदिए । त्यो पनि हत्कडी र पटटीमै खान लगाए । विरोध गरेँ ‘माथिको आदेश’ भन्दै पट्टी समेत खोल्न मानेनन् । ‘माथिको आदेश’ भनेको सुन्दा ठिट पनि लागेर आउँछ । कारिन्दाहरु कति निरीह छन् भन्ने लाग्छ ।

प्रश्नको भावबाट के बुझिन्थ्यो ?

प्रश्न नेपाली जनताको क्रान्ति र परिवर्तनलाई निमोठ्ने खालकै हुन्थे । देशलाई स्वाधीन र नागरिकलाई अधिकार सम्पन्न गर्नेबारे नभई दलाल पूँजीवादी सत्ता र त्यसका नेतृत्वमा बसेका ठेकेदारहरुलाई संरक्षण पुग्ने किसिमका हुन्थे । खुशी बनाउने कोणबाट बढी प्रश्न गरिन्थ्यो ।

अर्को कुरा, कुनै प्रश्न यस्ता पनि हुन्थे कि आतंककारीविरुद्ध तालिम प्राप्त पात्रले सोध्ने जस्ता पनि । पूरै अमेरिकन र इजरायली तरिकाबाट सोधिन्थ्यो । मानौं चाहेको जवाफ दिएनौं भने ज्यानै नरहने कन्फर्म जस्तो । जसलाई ‘इन्काउन्टर अर्थात भुठभेड’ भनेर पनि बुझ्न सकिन्छ । म लगायत एकदुई जनालाई मारेर क्रान्ति रोकिने न होइन ? त्यसमा त स्पष्टै छ । प्रचण्डले गद्दारी गरेर नेपाली जनताको क्रान्ति रोकियो त ? छैन । राज्यद्रोहीलाई सोधिने पूरै टे«न्ड प्रश्न जस्ता । त्यस्ता प्रश्न नेपालको हकमा आवश्यकै छैन । त्यस्ता व्यक्ति राज्यसंयन्त्रभित्र कसरी परे भन्ने महत्वपूर्ण प्रश्न यहाँनेर छ । त्यसैले त नेकपाले यो दलाल संसदीय व्यवस्थामाथि पूर्णशंका लागेर जनताको सत्ता स्थापनाबारे अभियान चलाएको हो । त्यसकारण सरकार नेकपा वा नेपाली क्रान्तिलाई कसरी दमन गर्ने र सिध्याउने भनेर पूर्वतयारीमा अवस्थामा रहेको देखिन्छ ।

उसलाई उसकै कानूनले गरेको मानवअधिकार, वैयक्तिक स्वतन्त्रताबारे व्यवस्थासँग कुनै मतलव छैन । जवाफमा मैले मेरो बारेमा मैले भन्ने हो, अन्य विषयमा, अरुको बारेमा मलाई नसोध्नुस् भनेँ । म एकजना राजनीतिक बन्दी हुँ भनेपछि बल्ल अलिक मत्थर हुन्थे । यस विषयमा जीवन्त कमरेड पनि कढ्निुभएछ । राज्यसत्ताले मानवअधिकार र नागरिकको स्वतन्त्रताको कुल्चन पाइन्छ ? अँह पाइँदैन । त्यसैले हामीले यो सरकार नियम, कानून, संविधान नमान्ने फासीवादी सरकार हो भनेका हौं ।

त्यहाँबाट कहाँ पुर्याइयो ?

बिहान गाडी चढाए । कहाँ लैजाने भनेर सोध्दा केही बोल्दैनथे । चालकले ‘हामी पेप्सीबाट निस्कने कि अन्तैबाट ?’ भन्ने सुनेपछि पेप्सीकोलातिरबाट लैजान खोज्या रहेछन् भन्ने अन्मान लगायौं । हत्कडी र कालो पट्टी त छँदै थियो । एक घण्टाजति गाडी बढेपछि ‘यतै यतै’ भने । गाडी रोके । त्यसपछि दुवै जनाको आँखाबाट पट्टी खोलिदिए । त्यो कोटेश्वर तीनकुनेनेर आइपुगेर हो । पट्टी हामीलाई अगाडि फर्कन लगाई पछाडिबाट खोले र पछाडि फर्कन दिएनन् । त्यसैले मान्छे चिन्न सकेनौं । अगाडितर्फ हेर्दा प्रहरी चौकी तीनकुने लेखिएको साइनबोर्ड देखेँ । अब चाहिं कोटेश्वर तीनकुने प्रहरीमा ल्याइपुर्याएको रहेछ भन्ने थाहा भो ।

पट्टी खोलेपछि हामीलाई चौकीभित्र लगियो । बन्दीसरह थुनामा राखिएन । छुट्टै कोठा राखियो । दुवैजना सँगै बस्यौं । उनीहरु केही कागजपत्र मिलाउने तयारी गर्दै गरेको अनुमान मिल्थ्यो । बेलुकातिर ‘तपाईहरुबाट बरामद सामान सूचीमा दस्तखत गर्नु पर्यो’ भनेर फाइलमा ल्याप्चे गर्न भनियो । हामीलाई शंका लाग्यो । के के सामान पढेर सुनाउन भन्यौं । उनीहरुले तपाईहरुको सामान मोवाइल, पर्स, कागजपत्र त हो नि भने । तैपनि पत्यार लागेन । पढेर पनि नसुनाउने र पढ्न पनि नदिने हो भने हामी ल्याच्पे, सही केहस्ी पनि गर्दैनौं भनेर अडान लियौं । अभियोग ठाडै अस्वीकार गर्यौं । थाहै नभएको घटनासँग जोडेर राज्यले नै फसाउन खोजेको विषयलाई गम्भीरताका साथ लियौं ।

अनि जीवन्त कमरेडले कागज लिएर पढ्नुभयो । पढ्दा के के हो के के । ल्याप्चेको लागि तयार पारिएको कागजमा त काभ्रेको नमोबुद्ध नगरपालिकास्थित एक (नाम बिर्सेँ) क्रसर उद्योगमा आगो लगाएर ‘संगठित अपराध’ गरेको भनेर उल्लेख गरिएको छ बा । त्यो देखेर चकित भयौं । त्यसपछि दुवैजनाले प्रतिवाद गर्यौं । निर्दोष मान्छेलाई फसाउन खोज्ने ? यही सत्ताको चरित्र ? सत्य सेवा सुरक्षणम् नारा बोक्ने प्रहरीको काम यही हो ? राज्यसँग मानवअधिकार हेर्ने निकाय छैन ? भनेर सशक्त विरोध गर्यौं । त्यसपछि अलिक हच्किए ।

तैपनि ‘तपाईहरुले ल्याप्चे गरे पनि नगरेपनि मुद्दा यही हो । केही फरक पर्दैन’ भने । हामीलाई केही फरक पर्दैन भन्यौ । त्यसपछि रातको समय पारेर गाडी चढाएर काभ्रेपचलाञ्चोक सदरमुकाम धुलिखेल पुर्याइयो । त्यहाँ लगेर ३६ दिनसम्म त्यही ‘संगठित अपराध’ मुद्दामा म्याद थप्दै राख्दै गर्यो । त्यसबिचमा थुप्रै शुभचिन्तक, पत्रकार, अधिकारकर्मीहरु भेट गर्न आए । हामीमाथि भइरहेको अन्याय र सरकारको फासीवादी चरित्रबारे बतायौं । त्यसपछि मिडियामा व्यापक पनि भयो । धेरैले थाहा पाउन मौका पाए । सरकार नांगिँदै गयो ।

यसबाट के देखिन्छ भने यो राज्यसत्ता देशभक्त र इमान्दार जनताको होइन । ढाँटछल, दलाली, अपराध, अन्याय र असमाजिक तत्वहरुको हित गर्ने सरकार हो र सत्ता हो । शासकको बुद्धि र षडयन्त्र देख्दा देशमा शान्ति होइन कि निकट समयमै भीषण राजनीतिक द्वन्द्व हुन्छ । यो कुरा निकै गम्भीरतासाथ बुझ्नु जरुरी छ । अन्ततः हामी काभ्रेको त्यो अभियोगमा सर्वोच्च अदालतबाट निर्दोष ठहर भई भदौ १८ गते भयौं । तर लगत्तै सर्वोच्च गेटबाटै पुनः गिरफ्तार गरियो ।

यसबिचमा सरकारले वार्ताको कुरा उठाएको छ, यसलाई कसरी लिनुभएको छ ?

सरकारको वार्ता आह्वानमा सत्यता र औचित्य दुवै छैन । त्यो कुरा उसलाई पनि राम्रोसँग थाहा छ । त्यसैले नेकपाको नामै किटेर वार्ता गर्न बोलाउन नसकिएको हो । अर्को कुरा अहिलेको वार्ता टोली हेर्दा झरो टार्ने र पछि दमनको तयारी गर्ने भन्ने गन्ध बढी आउँछ । त्यसमा हामीले इमान्दारिता भन्दा ज्यादा षडयन्त्र देखिरहेका छौं ।

साँच्चिकै वार्ता गर्ने हो भने सरकारले नेकपाको शान्तिपूर्ण र्याली, सभा, न्याय अधिकार लागि गरिने विरोधजुलुस, भित्तालेखन, पोष्टरिङ, संगठन विस्तार, प्रशिक्षण र जनजागरण अभियानमाथि दमन किन ? अभियानकर्मीमाथि धरपकड र झुठा मुद्दा अनि यातना किन ? रोक्नु पर्दैन सरकारले । नेकपासँग वार्ता गर्ने सरकारको असल चाहना हो भने राजीतिक रुपमा प्रस्तुत हुन अनिवार्य छ । झुठा मुद्दाको साहारा लिनु भनेको नेकपासँग राजनीतिक प्रतिस्पर्धा गर्ने आँट सरकारसँग छैन भन्ने ठहरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार