बीबीसी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबका किंग सलमानले अमेरिकी सेनाको सहयोग बिना दुई हप्तासम्म पनि राज गर्न नसक्ने बताएका छन् ।

अमेरिकी राज्य मिसिसिपीमा एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी साउदी अरबको सुरक्षा गर्छौं । उनीहरु निकै धनी छन् । मलाई किंग सलमान निकै मनपर्छ । तर मैले उनलाई भनिसकेको छु, ‘हामीले तपाईंको सुरक्षा गरिरहेका छौं । यदि हामीले तपाईंलाई सहयोग नगरे तपाईंले दुई हप्तासम्म पनि राज गर्न सक्नुहुन्न ।’’

यद्यपी, ट्रम्पले किंग सलमानसँग कहिले कुरा गरे भन्ने बारे जानकारी दिएनन् । साउदी अरब खाडी मुलुकमध्ये अमेरिकाको सायद सबैभन्दा भरोसायोग्य साथी हो ।

कुवेतको मुद्दामा भएको पहिलो इराक युद्धदेखि अहिलेसम्म, दुबै देश एकअर्काको साथमा रहँदै आएका छन् । यस्तोमा प्रश्न यो उठ्छ कि ट्रम्पले आफ्नो सहयोगी देशका लागि यति कडा शब्दको प्रयोग किन गरे ?

राष्ट्रपति बनेलगत्तै ट्रम्पले साउदी अरबको पनि भ्रमण गरेका थिए । साउदी अरबमा उनको तरवारको डान्स निकै भाइरल भएको थियो । डेढ वर्ष नपुग्दै यो सम्बन्धको न्यानोपन किन हराइरहेको छ ?

यसको सजिलो विवेचना यो हुनसक्छ कि ट्रम्प नसोचिकनै सार्वजनिक बयान दिने गर्छन् ।

तेलको खेलः

सायद राष्ट्रपति ट्रम्प आफ्ना सहयोगीमाथि तेलको बढ्दो मूल्यमा लगाम लगाउनका लागि यस्तो बयान दिइरहेका छन् तर तेलको यो राजनीतिका विभिन्न पाटा छन् ।

यसअघि पनि अमेरिकाले तेलको मुद्दामा साउदी अरबलाई चेतावनी दिँदै आएको छ । यसै वर्ष जूनमा राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत साउदी अरबका किंग सलमानसँग तेलको मूल्य कम गर्नेबारे कुरा भएको जानकारी दिएका थिए । ट्रम्पले साउदी अरब यसको लागि राजी भएको समेत बताएका थिए ।

त्यतिबेला ट्रम्पले तेलको बढ्दो मूल्यका लागि इरान र भेनेजुएलालाई जिम्मेवार बताएका थिए ।

तर हालै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यद्यपी, यो प्रतिबन्ध नोभेम्बरदेखि लागू हुनेछ तर यसको घोषणा लगत्तै तेलको बजार भने तात्तिसकेको छ । इरान संसारभरी कच्चा तेलको महत्वपूर्ण निर्यातकर्ता हो । यो देशले हरेक दिन करिब तीस लाख ब्यारेल तेल निर्यात गर्छ ।

तेलको मूल्यमा निगरानी राख्ने स्टिफन इन्नेसले रोयटर्सलाई भने, ‘नोभेम्बरमा इरानको तेलमाथि प्रतिबन्ध सुरु हुनेबित्तिकै तेलको बजारमा दबाब अत्यधिक बढ्ने चिन्ता छ । यतिबेला बजारले प्रतिबन्धको असरलाई कम आँकलन गरेपनि स्थिती चिन्ताजनक हुनसक्छ ।’

इरानमाथिको प्रतिबन्धपछि  तेलको मूल्य बढिहालेको खण्डमा यसले अमेरिकालाई क्षती पुर्याउँछ । मूल्यलाई नियन्त्रण गर्नका लागि अमेरिका साउदी अरबलाई दबाब दिइरहेको छ र ट्रम्पको ताजा बयानले पनि यसैतर्फ संकेत गरेको छ ।

मुसलमानको पवित्र स्थल मक्का र मदिना साउदी अरबमा भएका कारण संसारका करोडौं मुसलमान यसलाई विशेष महत्व दिन्छन् तर शिया बाहुल्य भएको इरानले इस्लामी दुनियाँको नेतृत्वको हिसाबले आफूलाई साउदी अरबको प्रतिद्वन्द्वी मान्छ ।

अमेरिका र इरानको कलह जगजाहिर छ । यस्तोमा साउदी अरब र अमेरिका एक प्रकारले गल्फमा नेचुरल एलाई (स्वभाविक सहयोगी) हुन् ।

इराकको राजनीतिक उथलपुथल, मध्य–पूर्वमा इस्लामी चरमपन्थ र इरानको कथित परमाणु कार्यक्रमले साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई थप नजिक बनाउँछ । यस्तोमा ट्रम्पको कडा बयानका बाबजुद यी दुई देशबीचको सम्बन्धमा यथास्थिती रहिरहन्छ किनभने अहिले कमसे कम इरान र इस्लामी चरमपन्थका कारण दुबै देशलाई एक–अर्काको निकै आवश्यक छ ।

खाडीमा विरोधको स्वरः

राष्ट्रपति बनेपछि ट्रम्पले थुप्रै पटक साउदी अरब र उसको सत्ताधारी परिवारका लागि कडा शब्द प्रयोग गरे । खाडीको मिडियामा यसका लागि एकप्रकारको रोष पनि छ ।

मिडिल इस्ट आईमा मदावी अल–रशिद लेख्छिन्, ‘ट्रम्पको अमेरिका र साउदी अरबबीचको सम्बन्धमा कूटनीतिको पर्दा पनि गायब छ । यसमा विनम्र भाषासमेत देख्न पाइँदैन ।’

उनलाई लाग्छ कि यमनमा साउदी अरबको हस्तक्षेपलाई समर्थन गरेको बदलामा अमेरिका तेलको मूल्यमा आफ्नो मनमर्जी गर्न चाहन्छ । सायद यो यमनको युद्ध नै हो जसले साउदी अरबको अमेरिकामाथि निर्भरता थुप्रै गुणा बढाइदिएको छ ।

तर यो लडाईं जारी राख्नका लागि साउदी अरबलाई जसरी पनि अमेरिकाको सहयोग चाहिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार