नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले अन्तराष्ट्रिय परिस्थिति अनुकूल नदेखेपछि अाफुले जनयुद्धलार्इ शान्ति प्रकियाबाट अवतरण गरेकाे बताएका छन् । राजधानीमा अायाेजित एक कार्यक्रममा प्रचण्डले यस्ताे बताएका हुन् ।

दशाैं हजार मान्छेकाे बलिदान किन र केका लागि भन्नेबारे प्रचण्डले कुनै कुरा खुलाएनन् तर अन्तराष्ट्रिय परिस्थिति जनयुद्ध सफल हुनका लागि अनुकूल नभएकाे बताएका छन् ।

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने- ‘म कहीँ न कहीँ एउटा परिस्थितिको खोजीमा थिएँ । त्यो असाध्यै राम्रो मौका दरबार हत्याकाण्डले र ज्ञानेन्द्रले सम्पूर्ण पावर आफ्नो हातमा लिन्छु भन्ने कर्मले मैले खोजिराखेको परिस्थिति तयार भएको हो । यदि त्यो हुँदैनथ्यो भने त्यो परिस्थिति मैले चाहेर पनि हुँदैनथ्यो ।’

जनयुद्धलाई शान्तिपूर्ण रुपान्तरण गर्ने क्रममा त्यसबेलाको परिस्थितिबारे प्रचण्डको संश्लेषणको सम्पादित अंश –

हामी विजयी भइहाल्छौं भन्ने कुरा मैले अन्तर्राष्ट्रिय परिस्थिति, देशको र क्षेत्रीय परिस्थिति हेर्दा त्यस्तो देखिनँ । हामीले सिधै युद्धबाट जित्न सक्ने अन्तर्रािष्ट्रय परिस्थिति थिएन ।

त्यसोभए (जनयुद्ध) सुरु नै किन गरेको ? सुरु गर्दा जितिन्छ भनेर सुरु गर्ने अनि शान्ति सम्झौता गर्दा जितिँदैन भनेर सम्झौता गर्ने ठाउँमा पुगेको हो त ? यस्तो क्रान्ति, विद्रोह, आन्दोलनमा नेतृत्वको के छ भन्ने कुराले पनि माने राख्छ ।

साथसाथै फेरि आन्दोलन, क्रान्ति, विद्रोह भन्ने कुरा अन्तर्राष्ट्रिय परिघटना हो । अन्तर्राष्ट्रिय परिघटना कसरी जाँदैछ भन्ने कुरा त्यसको सफलता, असलफलता, सम्झौता, नसम्झौता गर्ने कुराको निर्णयकर्ता हुन्छ ।

जतिबेला हामीले जनयुद्ध सुरु गर्‍यौं । श्रीलंकामा तामिलहरुको सशस्त्र विद्रोह अघि बढेको थियो । निकै नै शक्तिशाली ढंगले अघि बढेको थियो । भारतको एक लाख सेनाले पनि परास्त गर्न सकेको थिएन ।

इन्डियाको आन्ध्र प्रदेश र नक्सलाइट मुभमेन्ट फेरि उठ्ने संकेतहरु देखिएका थिए । पेरुमा सशस्त्र युद्ध माओवादीकै नामबाट अघि बढेको थियो । ८० हजारको ज्यान जाने गरी चर्केको थियो । विजय हुने हो कि भन्याजस्तो गरी अघि बढेको थियो ।

निकारागुवामा एक ढंगको सशस्त्र विद्रोह थियो । टर्कीको राष्ट्रिय मुक्ति आन्दोलन र सशस्त्र विद्रोह विशिष्टखालको थियो । फिलिपिन्समा त्यस्तै घटनाक्रम थियो ।

हामीले देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिघटनासँग सम्मिलित भएर जनयुद्ध अघि बढाएका थियौं । यी सबैलाई गहिरो गरी अध्ययन नगरी सतहीरुपमा विश्लेषण गर्नु उचित हुँदैन ।

कतिपय मुक्ति आन्दोलन दमन गरेर ध्वस्त भएका थिए, कतिपय शान्ति वार्तामा प्रवेश गरेका थिए । केही नाम निशान नरहने गरी ध्वस्त पारिएको थियो । मैले कमाण्डरको हैसियतले ती परिघटना हेरेको थिएँ ।

मैले शान्ति प्रक्रियामा आउन चाहेको पनि होइन, एउटा पार्टी र नेताले आउँछु भनेर चाहँदा पाइहाल्ने र हुने कुरा पनि होइन । दुनियाँमा धेरै आन्दोलन छन् । शान्तिमा आउन चाहँदा चाहँदै दमनमा परेर समाप्त भएका उदाहरण पनि छन् ।

म सम्झिन्छु, पहिला थुप्रै वार्ता सफल भएका थिएनन् । दरबार हत्याकाण्डपछि र राजा ज्ञानेन्द्रले सम्पर्ण तागत हातमा लिएपछि परिस्थिति मेरा लागि अनुकुल भयो ।
पेरुको मैले कुरा गरेँ । गोञ्जालो गिरफ्तार हुनुभयो, उहाँ वार्ता गर्न तयार हुनुभयो । तर सरकारले चाहेन । त्यतिञ्जेलसम्म आन्दोलन पराजित भइसकेको थियो । आन्दोलन ध्वस्त भइसकेको थियो ।

नेपालको दुईपटकको शान्तिवार्ता र असफलता देखिसकिएको थियो । यस्तो परिस्थितिमा म कहीँ न कहीँ एउटा परिस्थितिको खोजीमा थिएँ । समस्याको सकारात्मक अवतरण भनौं वा एउटा सेफल्याण्डिङ अर्थमा पनि बुझ्न सकिन्छ । तर, अवतरण त अवतरण नै हो, म त्यसको खोजीमा थिएँ ।

त्यो असाध्यै राम्रो मौका दरबार हत्याकाण्डले र ज्ञानेन्द्रले सम्पूर्ण पावर आफ्नो हातमा लिन्छु भन्ने कर्मले मैले खोजिराखेको परिस्थिति तयार भएको हो । यदि त्यो हुँदैनथ्यो भने त्यो परिस्थिति मैले चाहेर पनि हुँदैनथ्यो ।

म सम्झिन्छु, पहिला थुप्रै वार्ता सफल भएका थिएनन् । दरबार हत्याकाण्डपछि र राजा ज्ञानेन्द्रले सम्पर्ण तागत हातमा लिएपछि परिस्थिति मेरा लागि अनुकुल भयो ।शान्तितिर र राजनीतिक रुपान्तरणतिर जानु देश, जनता र आन्दोलनकारीको हितमा हुन्छ भनेपछि उचित अवसर खोजी गर्दा हाम्रो वार्ताले सकारात्मक र रचनात्मक मोड लिन थाल्यो ।

पहिलो सम्झौता नेकपा एमालेसँगै भएको हो । गिरिजाप्रसाद कोइरालाले आँट नगरेको भए पनि शान्ति प्रक्रिया अगाडि आउँदैनथ्यो । उहाँको भूमिका कहिँ कतै मिनिमाइज गर्नुहुँदैन, सकिँदैन । गिरिजाबाबु गणतन्त्रमा जानुहुन्छ भन्ने म १२ बुँदे समझदारीदेखि नै विश्वस्त थिएँ । एमालेसँग त हाम्रो समझदारी नै भएको थियो ।

अहिले पनि यता शान्ति प्रक्रियामा आएपछि म बाट केही त्रुटीहरु भएका छन् । जुन कुरामा मैले पटक-पटक सार्वजनिकरुपमा भनेको छु । युद्धका बेलामा पनि केही त्रुटी भएका छन् । मैले युद्धकै बेलामा पनि भनेको छु ।

शान्ति प्रक्रियामा पहिलो संविधानसभाको निर्वाचन भएपछि मबाट त्रुटी भयो । मैले नियतवश गरेको होइन । यो प्रक्रियामा मेरो अनुभवको कमी देखियो ।मैले गिरिजालाई राष्ट्रपति बनाउनुपर्थ्यो । त्यसो गरेको भए दुई वर्षभित्र संविधान बन्थ्यो । शान्ति प्रक्रिया टुंगिन्थ्यो । कहीँ न कहीँ हाम्रो अपरिपक्वता देखियो । हामी ठूलो पार्टी भयौं, हामीले जे भन्छौं त्यही हुनुपर्छ भन्नेजस्तो मनोगत विश्लेषण त्यहाँ रहृयो ।

१२ बुँदे समझदारी बनाउन सहयोग गर्ने राजनीतिक दल १२ बुँदे समझदारी हुँदै शान्ति सम्झौतामा आउन प्रेरित गर्ने अन्तर्राष्ट्रिय समुदायसँग सहज सम्बन्धलाई निरन्तरता दिनुपर्थ्यो । त्यो नदिँदा समस्या भयो ।

अन्तिममा, यस्ता पुस्तकहरु विमोचन गर्दै जाँदा प्रधानमन्त्रीजीसँग कुरा गर्ने मुडमा छु । एउटा किताब मैले नै नलेखेसम्म पूर्ण चाहिँ नहुने भयो भन्ने लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार