संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रकाशन गरेको “गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय“ पुस्तिकामा नेपालको क्षेत्रफल १ लाख ३७ हजार १ सय ६२ दशमलव ०३५ वर्गकिलोमिटर मात्र देखिएको र बाँकी १० हजार १८ दशमलव ९६५ वर्गकिलोमिटर क्षेत्रफल हराएकोबारे उठेको प्रश्नको जवाफ तत्काल नमिल्ने भएको छ ।

पहिलो नापी विभागले योबारे औपचारिक धारणा सार्वजनिक गरे नापी विभागका केही अधिकारीहरुले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने क्रममा राष्ट्रिय निकुन्ज र संरक्षण क्षेत्रको क्षेत्रफल स्थानीय तहमा नजोडिएकाले फरक परेको हो, भने । यो कुरा त केही दिन पहिल्यै तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले नै प्रष्ट्याईसकेका छन् ।

नापी विभागका अधिकारीहरुले भने अनुसार राष्ट्रिय निकुन्ज र संरक्षण क्षेत्रको क्षेत्रफल जोड्दा नेपालको कुल क्षेत्रफलको योगफलसँग कहीँ कतैबाट मेल खाँदैन । यो कुरालाई लिएर सीमाविदहरुले गम्भीर प्रश्न उठाएका छन् । सीमा अध्ययेता रतन भण्डारीले, ‘टेलिभिजनमा नापी विगागका कर्मचारीका भनाई सुनेपछि मैले देशमा रहेका सबै राष्ट्रिय निकुन्ज र संरक्षण क्षेत्रको कूल क्षेत्रफल जोड्दा २८ हजार ६ सय ५४ दशमलव ३८५ वर्ग किलोमिटर हुन आयो । यसरी राष्ट्रिय निकुन्ज र संरक्षण क्षेत्रको कूल क्षेत्रफलमा स्थानीय तहको कुल क्षेत्रफल नी दावी गरिएको १,३७, १६२ जोड्दा नेपालको कूल क्षेत्रफल १, ६५,८१६ वर्गकिलोमिटर हुन आउँछ । जबकि नेपालको कूल क्षेत्रफल १, ४७,१८१ वर्गकिलोमिटर हुनुपर्ने होइन ?’ भनी प्रश्न गरेका छन् ।

तत्कालीन स्थानीय तह पुनः संरचना आयोगका अध्यक्ष पौडेलका अनुसार स्थानीय तहको भनिएको क्षेत्रफल साविक गाविसका वडाहरुको क्षेत्रफलको योगफल हो । उनले भनेका छन्, ‘त्यो नेपालको क्षेत्रफल होईन । राष्ट्रिय निकुञ्ज र केही वन क्षेत्रको क्षेत्रफल त्यसमा जोडिएको छैन ।’

यसरी भेटिन्छ गायब भएको १०,०१९ वर्गकिलोमिटर नेपाली भूमि 

तर, राष्ट्रिय निकुञ्जको मात्रै छुटेको हो भने पनि, नेपालमा रहेका १० राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफल जोड्दा १०८५३ हुन आउँछ । हराएको भनिएको भूभागको योगफल झण्डै १००१९ वर्गकिलोमिटर छ । जहाँ ८ सय ३४ वर्गकिलोमिटरको फरक पर्छ ।

यो विषय नसुल्झाउने हो ? 

नापी विभागका महानिर्देशक गणेश भट्टलाई यो विषयमा चर्चा भएको कुरा थाहा रहेछ । तर, उनका अनुसार विभागले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

उनले यो विषय सुल्झाउनै पर्छ भने तर, कहिले भनेनन् । उनले तत्काल हुँदैन भन्ने भाषा प्रयोग गरे । किन हुँदैन तत्काल ? जवाफमा उनले भने, ‘यो विषयमा मन्त्रालयसँग कुरा हुनै बाँकी छ । मैले मन्त्रीज्यूलाई कन्भेन्स गर्न सके भने, र उहाँले कार्यादेश दिनु भयो भने पुनरावलोकन गर्न सकिन्छ । तर, अहिले हुँदैन हाम्रो प्राविधिक टोली नेपाल-भारत सीमा बैठकका लागि भारत जाँदैछ ।’

असोज २५, २६ र २७ गते भारतमा नेपाल–भारत सीमा सम्बन्धी बैठक रहेको उनले सुनाए । त्यसपछि पनि हुँदैन ? जवाफमा उनले भने, ‘लगत्तै दशैँ, तिहार र छठ छ । तर, मन्त्रालयले कार्यादेश दियो भने यो काम गर्न त्यति असहज छैन ।’

प्रविधि र नाप्ने प्रणालीका कारण क्षेत्रफल केही फरक पर्छ

उनले प्रविधि र नाप्ने प्रणाली कस्तो अपनाइयो भन्ने कुराले पनि क्षेत्रफलमा फरक पर्ने बताए । महानिर्देशक भट्टले भने, ‘जस्तै, प्रोजेक्सन सिष्टम हुन्छ । यसमा क्षेत्रफल बढी नै निस्केको देखिन्छ । तपाईले कुन प्रणाली अपनाउनु भयो भन्ने कुरामा पनि निर्भर हुन्छ ।’ जस्तै गाउँ पञ्चायत गठन पहिलेका ठाउँहरुको क्षेत्रफल त्यसमा समावेश नै हुँँदैन । जस्तै उदाहरणका लागि शुक्लाफाँटाको पहिले थिएन, अहिले केही स्थानीय तहमा जोडिएको छ । उनले भने, ‘यसमा थप हेर्नु पर्ने हुन्छ । पछि कुरा गर्दै गरौँला ।’

राष्ट्रिय निकुन्ज, संरक्षण क्षेत्र तथा शिकार आरक्षहरुको क्षेत्रफल

चितवन राष्ट्रिय निकुन्ज, क्षेत्रफल ९३२ वर्ग कीलोमीटर
सगरमाथा राष्ट्रिय निकुन्ज, क्षेत्रफल १,१४८ वर्ग किलोमीटर
लामटांग राष्ट्रिय निकुन्ज, क्षेत्रफल १७१० वर्ग किलोमीटर
रारा राष्ट्रिय निकुन्ज, क्षेत्रफल १०६ वर्ग किलोमीटर
खप्तड राष्ट्रिय निकुन्ज, क्षेत्रफल २२५ वर्ग किलोमीटर
शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज, क्षेत्रफल ३५५५ वर्ग किलोमिटर
बर्दिया राष्ट्रिय निकुन्ज , क्षेत्रफल – ९६८ वर्ग किलो मीटर
मकालु बरुण राष्ट्रिय निकुन्ज, क्षेत्रफल – १५०० वर्ग किलोमीटर
शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज, क्षेत्रफल– १५९ वर्ग किलोमीटर
बाँके राष्ट्रिय निकुन्ज, क्षेत्रफल – ५५० वर्ग किलोमीटर
शुक्लाफाँटा राष्ट्रिय निकुन्ज, क्षेत्रफल – ३०५ वर्ग किलोमीटर
पर्सा राष्ट्रिय निकुन्ज, क्षेत्रफल – ६३७ वर्ग किलोमीटर
अन्नपूर्ण संरक्षण क्षेत्र, क्षेत्रफल – ७,६२९ वर्ग किलोमीटर
कन्चनजंगा संरक्षण क्षेत्र, क्षेत्रफल – २,०३५ वर्ग किलोमीटर
मनास्लु संरक्षण क्षेत्र, क्षेत्रफल – १६६३ वर्ग किलोमीटर
अपीनाम्पा संरक्षण क्षेत्र, क्षेत्रफल – १९०३ वर्ग किलोमीटर
गौरीशंकर संरक्षण क्षेत्र, क्षेत्रफल – २१७९ वर्ग किलोमीटर
कृष्णसार संरक्षण क्षेत्र, क्षेत्रफल – १५.९५ वर्ग किलोमीटर
कोशी टप्पु वन्यजन्तु आरक्ष, क्षेत्रफल १०९.४३५ वर्ग किलोमीटर
ढोरपाटन शिकार आरक्ष, क्षेत्रफल १,३२५ वर्ग किलोमीटर

राष्ट्रिय निकुन्ज, संरक्षण क्षेत्र तथा शिकार आरक्षहरुको कूल क्षेत्रफल २८,६५४.३८५ वर्ग किलोमिटर

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार