भारतमा माओवादी छापामार र सरकारी सुरक्षाफौज बीचको दशकौं लामो संघर्षमा लगभग ४० हजार जनाको ज्यान गइसकेको छ । भारतीय माओवादीहरूले विश्वकै सर्वाधिक ठूलो लोकतान्त्रिक देश भनेर चिनिने भारतमा सशस्त्र संघर्षको बाटो नै किन राेजे त ? ‘लण्डन स्कुल अफ इकोनोमिक्स’की प्राध्यापक अल्पा शाह यसै प्रश्नको उत्तर खोज्न लगभग डेढ वर्षसम्म भारतको झारखण्ड राज्यमा माओवादीको गढ मानिने आदिवासी बस्तीहरूमा बसिन् । प्रस्तुत छ बिबिसीमा प्रकाशित उनको अनुभूतिकाे सारांश :

रातको समय, हामीहरू अर्धनिद्राको अवस्थामा धान खेतबीचबाट जङ्गलको सुरक्षित ठाउँतिर जाँदै थियौं । म बडो मुस्किलले आँखा खुलै राख्ने प्रयास गर्दै थिए । उज्यालोको नाममा हामीसँग टर्च समेत थिएन ।

म भारतका माओवादी छापामारहरूको एउटा समुहसँग थिए । उनीहरू आदिवासी र ग्रामीण गरिबहरूको अधिकारको लागि आफुले लडिरहेको दाबी गर्ने गर्दछन् । म लगातार सात दिन सात रातदेखि यिनीहरूसँगै थिए । हामीहरू प्रत्येक रात ३० किलोमिटर हिंड्दै आइरहेका थियौँ । सुरक्षा फौजले गस्ती बढाउँदै गइरहेकोले उनीहरूले राति समेत आफ्नो ठाउँ बदल्ने गरेका थिए ।

म निकै थाकेकी थिएँ । मलाई आफ्ना काँध कुनै गह्रुङ्गो भारी जस्ता लागिरहेका थिए । खुट्टा सुन्निएका थिए । मेरो गर्धनमा झड्का लागेको थियो । हिँड्दा हिँड्दै मा कहिले निदाउन पुगेछु थाहै भएन र एक झड्कासँगै म झल्याँस्स ब्युँझिए । मेरो मस्तिष्क मेरा गोडाहरूमा भइरहेको हलचलबारे अनभिज्ञ थियो । मेरा गोडा लार्बराए, मेरो गर्धनमा फेरि झड्का लग्यो ।

 

छापामारहरू यसलाई ‘निद्रामा हिंड्नु’ भन्दा रहेछन् । मलाई लाग्थ्यो उनीहरू यसमा सक्षम छन् । मा एउटा मानवशास्त्रीको रूपमा मा विगत डेढ वर्षदेखि झारखण्डका आदिवासीहरूमाझ थिएँ ।

सम्बन्धित् समाचार  प्रतिवेदनको गम्भीर खुलासा : कहाँ लुकाइए निर्मलाका कपडा, किन पखालियो खसेको वीर्य ?

म बुझ्न खोज्दै थिएँ, किन भारतका केही गरिबहरूले सबैभन्दा ठुलो लोकतन्त्रलाई लत्याएर समतामूलक समाज निर्माणको नाममा हतियारको बाटो रोजे । यो फेब्रुअरी २०१० को कुरा थियो, मेरो शोध भर्खर सिद्धिएको थियो र म यस ‘रात्रि मार्च’मा सामेल भएकी थिएँ ।

म चाँडै लण्डन फर्कंदै थिए तर यिनीहरूको जीवन भने यस्तै चल्ने वाला थियो । सुरक्षा फौजबाट बच्न उनीहरू वर्षभरि ठाउँ फेर्दै गर्थे र जङ्गलमा वर्षभरि केही दिनमात्र सुत्ने गर्दथे ।

साम्यवादी समाज‘ स्थापनाका लागि संघर्ष

गएको ५० वर्षयता माओवादीहरू साम्यवादी समाज स्थापनाका लागि भारतको केन्द्रीय सत्तासँग युद्धरत छन् । यस संघर्षमा हालसम्म ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ । १९६७ मा पश्चिम बङ्गालको नक्सलबारीनामक गाउँबाट सुरु भएको वामपन्थी आन्दोलनको कारण यी छापामारहरूलाई नक्सलवादी समेत भनिन्छ ।

हुन त यो आन्दोलन केही समयपछि सेलाएर गयो । तर माओवादीहरूले फेरि समूह बनाए र मध्य एवं पूर्वी भारतका केही ग्रामीण इलाकाहरूमा आफ्नो नियन्त्रण स्थापित गरे ।

यस आन्दोलनमा मार्क्सवादी विचारकहरूदेखि गरिब, दलित, आदिवासी लडाकाहरू सामेल छन् । उनीहरू सबै मिलेर उनीहरूकै शब्दमा ‘अर्धसामन्ती’ वर्तमान व्यवस्थालाई जरैदेखि उखेल्न चाहन्छन् भने भारत सरकार उनीहरूलाई ‘अतिवादी गुट’ मान्ने गरेको छ ।

२०१० मा हामीहरू बिहारको जङ्गलमा भएको भूमिगत सम्मेलनबाट झारखण्डमा हुने अर्को सम्मेलनमा हुँदै गरेको अर्को सम्मेलनमा जाँदै थियौं ।

भारतीय शहरहरूका गगनचुम्बी र चमकदार भवनहरूको तुलनामा सम्मेलनका शिविरहरू एकदमै भिन्न तर प्रभावित गर्ने खालका थिए । इन्द्रधनुष देखिने गोरेटाहरू हुँदै हामी शिविरसम्म पुग्यौं । त्यहाँ लडाकूहरूका लागि कोठाहरू बनाइएका थिए । एउटा बैठक कक्ष थियो । पाल टाँगेर एउटा औषधि उपचार कक्ष, एउटा टेलर कोठा, एउटा कम्प्युटर कक्ष र एउटा भान्सा बनाइएको थियो ।

शौचालयहरू चारैतिरबाट ढाकिएका थिए, जबकि आसपासका गाउँहरूमा शौचालय थिएनन् । यसरी बनाइएका खुफिया सहरहरूलाई कुनै प्रमाण या निसान नै नछोडी दुई घण्टाभित्र गायब गर्न सकिन्थ्यो ।

जाति र वर्गविहीन समाजको उदाहरण

छापामार सेनाहरूको जीवन भारतीय समाजमा व्याप्त सामाजिक वर्गीकरणभन्दा अलग थियो । यो एउटा सानो जातिविहीन र वर्गविहीन संसार थियो, ठीक त्यस्तै आदर्शवादी समाज जस्तो उनीहरू बनाउन चाहन्थे ।

मतभेद मेटाउनु थियो । लैङ्गिक असमानता हटाउनु थियो । मानसिक र शारीरिक मजदुरीबीचको अन्तर मेटाउनु थियो । यहाँ प्रत्येक व्यक्ति ‘कमरेड’ थियो र ऊ आफ्नो जातिगत र वर्गीय पहिचानभन्दा फरक एउटा नयाँ नामका साथ फेरि जन्मिएको थियो ।

खाना पकाउने काम महिला र पुरुष दुबैले पालैपालो गर्थे, तल्लो तहका सदस्यहरूलाई सिक्न छाडिदिने गरिन्थ्यो भने ठुला नेताहरू शौचालयका लागि खाडल खन्ने गर्दथे ।

तर समयसँगै यी माओवादीहरू औसत सेनामा सीमित हुन पुगे । उनीहरूले आफूलाई जीवित राख्न सैन्य रणनीतिमा जोड दिए र सामाजिक न्यायको लडाई कतै छुट्न गयो ।

अचेल छापामारहरूका गढ मानिएका क्षेत्र सुरक्षा फौजबाट चारैतिरबाट घेरिएका छन् । यी सुरक्षाकर्मीहरूलाई झारखण्ड जगुआर्स, कोब्रा र ग्रेहाउंड्स जस्ता नाम दिइएका छन् । उनीहरूलाई छापामारहरूसँग लड्न विशेष प्रकारले प्रशिक्षित गरिएको छ ।

मानवाधिकार कार्यकर्ताहरू अक्सर आरोप लगाउने गर्छन्- सुरक्षा फौजले संचालन गर्ने अभियानहरूको प्रमुख उद्देश्य आदिवासीहरूलाई त्यहाँबाट हटाउनु हो, ताकि निजी कम्पनीहरूका लागि ठुलो परिणाममा कोइला, फलाम र बक्साइटका खानी संचालन गर्ने बाटो खुलोस् ।

कयौं भारतीय र बहुराष्ट्रिय कम्पनीहरूलाई खानी संचालनको अनुमतिपत्र धेरै पहिलेदेखि दिइसकिएको छ । तर पुरानो वन कानुन र आदिवासीहरूको जमिन उनीहरूलाई अवरोध पुऱ्याइरहेको छ ।

छापामारहरू भने प्रहरीबाट खोसेका बन्दुक र विष्फोटकको भरमा आफ्नो नियन्त्रण कायम राखेका छन् । उनीहरू क्यामेराको फ्ल्याशबाट डेटोनेटर र गाईको गहुँतबाट विस्फोटक बनाउने दावा गर्छन् ।

तर अब उनीहरू संख्यामा दस हजारभन्दा पनि कम छन् र भारत सरकारको सुरक्षा संयन्त्रको शक्तिको कोपभाजन बनेका छन् । त्यसैले उनीहरूका गतिविधिहरू सीमित हुन थालेका छन् ।

भारतका आदिवासी क्षेत्रहरूमा पनि अब सडक र बिजुलीका तारहरू देखिन थालेका छन् । नयाँ पूर्वाधारहरूले सुरक्षाफौजलाई आवतजावत गर्न सजिलो बनाइदिएको छ ।

साउथ एशिया टेररिस्ट पोर्टलका अनुसार गत ६ वर्षमा करिब ६ हजार नक्सलवादीहरूले आत्मसमर्पण गरेका छन् । तर मानवअधिकारकर्मीहरू भन्छन् यिनीहरूमध्ये धेरै आदिवासीहरू रहेका छन् जसलाई प्रहरीले जबर्जस्ती आफू नक्सलवादी भएको भन्न बाध्य पारेका रहेछन् ।

झारखण्डमा मात्रै करिब ४ हजार आदिवासीहरूमा नक्सलवादी भएको आरोप लागेको छ । उनीहरू कुनै सुनुवाई बिना वर्षौंदेखि जेलमा बन्द छन् ।

तर यी यावत वाधाहरूका वावजुद भारतमा माओवादी आन्दोलन चल्दैछ र जब जब सरकाले यो सिद्धिएको अनुमान  गर्दछ आन्दोलन फेरी गोलबद्ध हुने गरेको छ ।

(अल्पा शाह लण्डन स्कुल अफ इकोनोमिक्समा प्राध्यापक छिन् । उनले हालै मात्र आदिवासीहरूबारे एउटा पुस्तक लेखेकी छिन्, जसको शीर्षक- ‘नाइटमार्चः अमंग इण्डियाज रिभोल्यूशनरी गुरिल्ला’ रहेको छ, एभरेस्ट दैनिकबाट ) ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार