सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य  एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन्।

उनले भने,‘सरकारले अब गियर चेञ्ज गर्नुपर्छ। अहिले काम अलि सुस्त देखिएको छ। गियर चेञ्ज गरेपछि बल्ल पिक अप लिन्छ।’

अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ को उद्घाटन गर्दै उनले सरकारले अब गियर चेञ्ज गरेर तीव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको आग्रह  गरे।

उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने,‘यतिमात्रै होइन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं। यतिबेला ज्यादै नै महत्वपूर्ण र सकारात्मक परिस्थिति सिर्जना भएको छ। विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन्। राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो। त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाइको सरकार बनेको छ।’

उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे।

उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकता पूरा गर्नुपर्छ। यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पुरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ। नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार