संसारका धेरै मुलुकमा कम्युनिस्ट र समाजवादी पार्टीहरूले त अक्टोबर क्रान्ति सम्झिए नै । रुसका नयाँ जार मानिने भ्लादिमिर पुटिनले समेत गत वर्ष नै क्रान्तिको शतवार्षिकी समारोह राज्यले नमनाउने तर क्रान्तिबारे वर्षैभरि प्राज्ञिक बहस गर्ने, गराउने उद्घोष गरेका थिए । राज्यले नै शतवार्षिकी मनाउने, नमनाउने द्विविधाले अहिले रुसमा रहेको अन्तरविरोधको परिस्थिति प्रतिविम्बित हुन्छ ।

सोभियतकालमा नोभेम्बर ७ मा सार्वजनिक बिदा दिइन्थ्यो । सन् १९९६ देखि त्यो बिदा हटाइएको थियो । बोरिस यल्तसिनपछिका शासकहरू त्यो क्रान्ति बिर्सन चाहन्छन् । उनीहरूको संश्लेषणमा अब पनि क्रान्ति दिवस मनाइरहने हो भने त्यसले क्रान्तिले देखेको सपना खोतलिदिन्छ र खासगरी विभाजित समाजमा अझ बढी विभाजन ल्याई अर्को नयाँ विद्रोहको बिजारोपण गरिदिन्छ भन्ने देखिन्छ।

हुन पनि पुरानो क्यालेन्डरअनुसार २५ अक्टोबर राति ९ बजेर ४० मिनट जाँदा क्रुजर अरोरामार्फत शीतकालीन दरबारमाथि धावा बोलेर श्रमजीवीहरूको पहिलो राज्यको घोषणा गरिएको थियो । त्यसको भोलिपल्टै अखिल सोभियत कांग्रेसको पहिलो बैठकमा भ्लादिमिर लेनिनले नयाँ सरकारको नेतृत्व गर्दै घोषणा गरेको पहिलो वाक्य थियो, ‘अब हामी नयाँ समाजवादी व्यवस्था स्थापित गर्ने कार्यको सुरुआत गर्छैाँ ।’

अमेरिकी पत्रकार जोन रिडले लेखका छन्, ‘यो क्रान्ति मानव इतिहासमा अद्भुत थियो । यो क्रान्ति पुँजीवादविरुद्ध पहिलोपटक भइरहेको थियो ।’
स्पेनिस लेखक रेनान भेगा सेन्टरका शब्दमा ‘क्रान्ति’ शब्द ल्याटिन शब्दमा खगोल शास्त्रको ‘रेभोल्युटो’बाट उद्धृत गरिएको हो । यसको अर्थ मेसिनजस्तै, दोहोरिइरहने, कहिल्यै नबदलिने भन्ने थियो । तर, समाजवादमा त्यसको अर्थ फरक हुन पुग्यो । समाजवादी प्रसंगमा पुगेपछि क्रान्तिको अर्थ भयो— पुँजीवादी प्रणालीमा आधारभूत परिवर्तन जसको उद्देश्य हो समाजमा विद्यमान शोषण, असमानता र अन्यायविरुद्ध आक्रामक हस्तक्षेप गरी आमूल परिवर्तनको दिशा निर्धारण । अहिलेका रुसी शासक पुटिन हुन् वा पश्चिमा अति दक्षिणपन्थी शासक, क्रान्ति शब्दसँगै तर्सिन्छन् ।

उनीहरूलाई सधैं क्रान्तिको चपेटामा पर्ने डर हुन्छ । त्यसैले त बेलायती इतिहासकार सिमोन सेवाग मोन्टेफिओर भन्छन्, ‘मिस्टर पुटिन आफूलाई जारजस्तै ठान्छन्, उनी क्रान्तिसँग डराउँछन् ।’ उनलाई सन् १९४५ को जर्मनमाथि सोभियत विजय मन पर्छ (त्यस दिन उनी भिक्ट्री परेडमा भाग लिन्छन्) तर १९१७ को बोल्सेभिक क्रान्ति मन पर्दैन, त्यसैले उनी त्यो क्रान्ति भएकै थिएन जस्तो बहाना गर्छन् (मोन्टेफिओरर, ‘ह्वाट इफ दी रसियन रेभ्युल्युसन ह्याड नेभर ह्यापेन्ड’, न्युयोर्क टाइम्स) ।

सोभियत सत्ताको बिजारोपण

सन् १९१७ को फेब्रुअरीमा रुसका सामाजिक क्रान्तिकारी, मेन्सेविक र बोल्सेविकहरू मिलेर तत्कालीन जारशाही (रुसी भाषामा राजालाई जार भनिन्थ्यो) विरुद्ध आन्दोलन गरे । जारको ठाउँमा केरेन्स्कीको नेतृत्वमा पुँजीवादी शासन स्थापित भयो । केरेन्स्कीको शासन स्थापित भए पनि रुस युद्धमै थियो । गरिबी र बेरोजगारी बढ्दो थियो । केरेन्स्कीको शासनलाई स्वीकार्दै पुँजीवादी व्यवस्था नै स्वीकार गर्ने कि समाजवादी आन्दोलन अगाडि बढाउने भन्नेबारे रुसी कम्युनिस्टहरूमा ठूलो बहस सुरु भयो ।

अप्रिल २, १९१७ मा लेनिन भोलि नै स्विट्जरल्यान्डको निर्वासनबाट पेट्रोगाड आइपुग्दै छन् भन्ने सूचना बोल्सेभिकहरूले पाए । आइपुग्नासाथ उनले आफ्ना कार्यकर्ताको भेलामा गणतन्त्र सोभियत स्थापनाका लागि ‘निरन्तर क्रान्ति’ आवश्यक रहेको उल्लेख गरे ।

अप्रिल १८, १९१७ मा उनले सोभियत स्थापनाका लागि पार्टीको पिटर्सबर्ग कमिटीमा आफ्नो तर्फबाट बहुचर्चित ‘अप्रिल थेसिस’ प्रस्तुत गरे । (लेनिनले स्विट्जरल्यान्डबाट फर्र्कंदै गर्दा बाटोमा नै रुसी कम्युनिस्टहरूले अब के गर्नुपर्छ भन्नेबारे १० बुँदाको प्रस्थापना तयार गरेका थिए, त्यसलाई नै अप्रिल थेसिस भनिन्छ ।) त्यस बैठकमा एकजना अनुपस्थित रहे भने उपस्थित १३ मध्ये दुईजनाले विरोध जनाए ।

त्यस्तै थेसिसको पक्ष र विपक्षमा अन्य प्रान्तीय समितिहरूमा मतमतान्तर जारी रह्यो । ७ अप्रिलमै त्यो थेसिस बोल्सेविक पार्टीको अखबार प्राब्दामा छापिएको थियो । उनको थेसिसको सार थियो, ‘बुर्जुवा क्रान्ति समाप्त भयो । अब यो क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्नुपर्छ ।’ यसैबीच २४ देखि २९ अप्रिलसम्म रुसी सामाजिक-जनवादी मजदुर पार्टी (आरएसडीडब्लूपी)को सातौं सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा लेनिनले पार्टीभित्र रहेका अतिवामपन्थी र अतिदक्षिणपन्थीको आलोचना गरे । उनले अप्रिल थेसिसमा एउटा नारा पनि थपे, ‘सम्पूर्ण राज्यशक्ति सोभियतलाई ।’ सो सम्मेलनमा अप्रिल थेसिस ठूलो बहुमतका साथ पास भयो । यो घोषणासँगै समाजवादी क्रान्ति गर्न तयार शक्ति एकातिर र त्यसको विरोध गर्नेहरू अर्कातिर भए । ध्रुवीकरण सुरु भयो (चाइना मेभिले, अक्टोबर ः दी स्टोरी अफ दी रसियन रेभोलुसन) ।

अप्रिल थेसिसको मूल मुद्दा मानव इतिहासमा पहिलोपटक ‘समानता’ शब्दको कार्यान्वयन थियो । १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्तिका तीन नारा ‘स्वतन्त्रता’, ‘समानता’ र ‘भ्रातृत्व’ कार्यान्वयन गर्न पहिलोपटक पहल गरिएको थियो । समानताको नाराले गरिब र कामदार वर्गलाई आकर्षित गर्‍यो र असाधारण तरिकाले संगठित हुन बल पुर्‍यायो । अप्रिलको अन्त्यदेखि नै भाषण र बहसको बाढी नै आयो । बोल्सेभिकहरूले थिएटर, सर्कस, कृषि हाटबजार, स्कुल, ब्यारेक, कारखाना कहीँ पनि भाषण र बहसको सिलसिला चलाउन छोडेनन् । उनीहरूले खुल्लमखुला क्रान्तिबारे चर्चा-परिचर्चा गरे ।
केही पुँजीवादी इतिहासकार र राजनीतिज्ञहरूले दाबी गरेजस्तो अक्टोबर क्रान्ति गुपचुप ढंगले सम्पन्न गरिएको थिएन । लेखक तथा गार्जियनका स्तम्भकार पौल म्यासन भन्छन्, ‘रुसी क्रान्ति इतिहासमा आमजनता संलग्न भएर गरिएको राजनीतिक हस्तक्षेप थियो । इतिहासमा यस्तो घटना पहिला फ्रान्समा मात्र भएको थियो ।’

क्रान्ति सम्पन्न हुने दिन अर्थात् ७ नोभेम्बरमा बोल्सेभिकहरूले ‘वर्गशक्ति’ नामको एउटा पर्चा बाक्लै छरेका थिए । उक्त पम्पप्लेटमा उनीहरूले केरेन्स्कीको नेतृत्वमा रहेको सरकारको अकर्मण्यताको कारण जे पनि हुनसक्ने बताएका थिए । धेरैजना सैनिक अधिकारी ‘सैन्य कु’का लागि सगबगाइरहेका र यहुदीविरुद्ध जातीय संहार मच्चाइने खतरा बढेको त्यस पर्चामा उल्लेख थियो । यस्तो अवस्थामा लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले मात्र शक्ति प्राप्तिको खाली ठाउँ भर्न सक्थे । हुन पनि विश्वयुद्धमा कमजोर बन्न पुगेको रुस भोक, रोग र शोक तीनवटैको पर्याय बन्न पुगेको थियो । यस्तो समयमा परिवर्तनको निर्णय लिन ढिलाइ गरेमा रुसमाथि फ्रान्स र जर्मनीको संयुक्त हमला हुने सम्भावना पनि उत्तिकै थियो । अन्ततः बोल्सेभिकहरूले ‘रोटी, कपडा र जमिन’को नारा दिए । सोही नाराले उत्साही रुसी मजदुर-किसान र तल्लो तहका सेना मिलेर क्रान्ति सफल पारे ।

क्रान्तिको राप र प्रतिहमला

अक्टोबर क्रान्तिले युरोप खासगरी जर्मनीलाई नराम्ररी हल्लाइदियो । यसले औद्योगिक राष्ट्रका मजदुरमा उत्साह र आशाको सञ्चार गरिदियो । ती मुलुकका शासक त्राहिमाम भए । सन् १९१९ मा तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड लियोद जर्जले आफ्ना समकालीन फ्रेन्च प्रधानमन्त्री जर्ज क्लेमेन्कुसँग क्रान्तिको डर यसरी व्यक्त गरेका थिए, ‘सम्पूर्ण युरोप क्रान्तिको रापले भरिएको छ । आमकामदार वर्गमा असन्तुष्टि मात्र छैन, आवेग र विद्रोह गर्ने जोश भरिएको छ । मानौं, उनीहरू युद्धमा होमिन तयार छन् । सम्पूर्ण व्यवस्था अर्थात् सामाजिक, राजनीतिक तथा आर्थिक आधारशीलामाथि आममानिसले प्रश्न उठाइरहेका छन् । र, एउटा युरोपेली व्यवस्थाबाट अर्कोमा रूपान्तरित हुन आतुरझैं लाग्छन् ।’

क्रान्तिलगत्तै युरोपका औद्योगिक मुलुकहरू अक्टोबर क्रान्तिविरुद्ध खनिए । आमजनता मारेर रगतको होली खेले । बोल्सेभिक क्रान्तिले जमिन, उद्योग र बैंक राज्यको नियन्त्रणमा लिएको थियो । जमिनदार र निजी बैंकर्सबिना नै राज्यको अर्थतन्त्र चलाउन थालिएको थियो । सहरी योजना कुत केन्द्रित थिएनन्, न त बैंकहरू आय आर्जनमा केन्द्रित थिए । राष्ट्र बैंकले मुद्रा छाप्थ्यो र ऋण उपलब्ध गराउँथ्यो, त्यसैले साहुकारहरूको आवश्यकता नै रहेन ।

त्यसैगरी जमिनदार (पोपर्टी ओनर)माथि कुत उठाउनुपर्ने झन्झट पनि रहेन । मजदुरहरूकै नेतृत्वमा संरक्षण र सञ्चालनको नयाँ विधि अपनाइएकाले ज्यालामा शोषणको ठाउँ पनि रहेन । मजदुर तथा तिनका परिवारजनलाई खाना, स्वास्थ्य, शिक्षा, खेलकुद, सार्वजनिक तवरमा उपलब्ध गराइन थालियो । त्यस्तै रहनका लागि आवास दिइयो । संसारमै यो पहिलोपटक भइरहेको थियो । राज्य पहिलोपटक आमजनताको जीवनको जिम्मेवार बनिरहेको थियो।

यस्तो उथलपुथलले पुँजीवादी मुलुकका सरकार र निजी उद्योगी व्यापारीहरू नझस्कने कुरै भएन । त्यसैले सोभियत सरकार ध्वंस गर्न दत्तचित्त भएर लागिपरेको जारशाही सेनाका जर्नेलहरूको फौज श्वेत गार्डलाई सघाउन १४ देशले आफ्ना फौज नै पठाए ।

संसारमै पहिलोपटक स्थापित मजदुर-किसानको राज्यमाथि गरिएको हस्तक्षेपविरुद्ध बिस्तारै युरोप र अमेरिकाका कामदार वर्गले ठूलो विरोध गरेर ऐक्यबद्धता जनाए । लाखौंको संख्यामा ती देशमा नारा, जुलुस र हडताल हुन थाले । क्रान्ति बाँच्यो । सोभियत रुसलाई युरोपेली मुलुकहरूमा क्रान्ति भइदिए सहयोग पुग्ने अपेक्षा थियो तर युरोपमा क्रान्ति फेल भयो । एक्लो रुसका लागि आफूभित्रै सब थोक खोज्न र आफैंले आफंैलाई धान्नुपर्ने अवस्था आइलाग्यो । आफ्नै मजदुर र किसानसँग भएको शक्ति र तिनको आर्जनमाथि भर पर्नुपर्ने अवस्था सिर्जना भयो । यसले शक्ति सत्ता सञ्चालनको विधिलाई वार कम्युनिजममै जस्तो केन्द्रीकृत गर्दै लग्यो । लेनिनको मृत्युपछि त स्टालिनको अधिनायकत्व नै सुरु भयो । उनको अधिनायकत्वमा सोभियत संघ क्रमशः प्रशासनिक तानाशाही राज्यमा रूपान्तरित हुँदै गयो ।

सोभियत विघटन र निजीकरण

स्टालिनसँगै उनले शक्तिका लागि प्रयोग गरेको आतंक पनि समाप्त भयो । तर, उनले निर्माण गरेको राजनीतिक माथिल्लो-संरचना यथावत् नै थियो । एक दलद्वारा नियन्त्रित अर्थतन्त्र, राजनीतिक तथा सांस्कृतिक जीवनपद्धति र अत्यधिक केन्द्रीकृत आर्थिक प्रणाली यी तीनबीचको समन्वयले आर्थिक विकासलाई निरन्तरता दिन सक्दैनथ्यो । मजदुर-किसानको राज्यमा उनीहरूलाई नै फ्याक्ट्री र खेत सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मा दिइनुपथ्र्यो, दिइएन । उनीहरू नै राजनीतिको माथिल्लो संरचनामा स्थापित हुनुपथ्र्यो तर बाटो छेकियो ।

अक्टोबर क्रान्तिले स्थापना गरेको कामदार वर्गको राज्य बिस्तारै बिस्तारै प्रशासनिक तानाशाही (ब्युरोक्र्याटिक डिक्टेटरसिप)मा रूपान्तरित भयो । एउटा वर्गको नाममा अर्कै वर्गको राज धेरै समय टिक्दैनथ्यो । त्यो ढल्यो । सोभियत संघ ढलेपछि त्यसले स्थापना गरेका राज्यका सार्वजनिक सम्पत्ति कौडीको दाममा हिजोका सफेदपोस प्रशासकहरूले निजीकरणमा लगे । क्रोनी क्यापिटालिज्म (आसेपासे पुँजीवाद)को बिस्तार भयो । यसरी आमजनताको लोकतन्त्रको व्यवस्थापन गर्ने अवसर गुम्न पुग्यो ।

अचेल लोकतन्त्र वा प्रजातन्त्रको निकै ठूलो चर्चा हुने गर्छ । तर, आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्र स्थापित र दिगो हुन सक्दैन । अहिले पुँजीवादी देशमा फैलिएको संकटले यही पुष्टि गर्छ । सोभियत संघको पछिल्लो कालखण्डमा रुसी जनताले राज्य मातहत रहेको सम्पत्तिमा सहकारी तथा सार्वजनिकबीच सहकार्यको माग गरेका थिए । त्यसो गरिएको भए लोकतान्त्रिक नियन्त्रणको सही अर्थ हुन्थ्यो । त्यस्तो गरिन पनि सकिन्थ्यो किनकि राज्यको हातमा समग्र अर्थतन्त्रमाथि नियन्त्रण थियो ।

सोभियत जनताले पुँजीवाद चाहेका थिएनन् । तर, प्रशासन हावी समाजमा गोर्वाचेवको पेरेस्त्रोइका (सुधार)माथि उनीहरूले हस्तक्षेप नै गर्न सकेनन् । वोरिस यल्तसिन आएपछि पुरानो अर्थतन्त्र यसरी ध्वस्त भयो, करोडौं मानिस गरिबीको रेखामुनि एकै चोटि होमिए । कुल गार्हस्थ्य उत्पादन लगभग ४५ प्रतिशतले ह्रास हुन पुग्यो । महामन्दीको बेला भएको अमेरिकी अर्थतन्त्रमा गएको भन्दा ठूलो पहिरो सोभियत संघको अर्थतन्त्रमा गयो । ‘शान्ति’, ‘रोटी’ र ‘जमिन’को नाराबाट सुरु भएको क्रान्ति यल्तसिन र पुटिनको सक-थेरापीमा आएर ध्वस्त हुन पुग्यो ।

वर्तमान विश्व र कम्युनिस्ट सपना

आलंकारिक भाषामा भन्दा, वर्तमान विश्व व्यवस्था जलिरहेको छ । मिल्टन फ्रिडमेन, फ्रेडरिक भन हायक, मार्गरेट थ्याचर र रोनाल्ड रेगनको नवउदारवादी सपनामा विश्व बजार नियन्त्रित हुन पुगेको छ । विश्वमा गरिबी, असमानता र शरणार्थी शिविर बढिरहेछन् । विगतमा हिटलर, मुसोलिनी, किसिन्जर र ब्रेजिनेस्कीहरूले कम्युनिस्ट सपना पूरा हुन नदिन करोडौं मानिसलाई मसानघाट पुर्‍याए । ब्लेयर, बुस, क्लिन्टन तथा निकोलाई सार्कोजीहरूले पछिल्लो समय अफगानिस्तान, सिरिया, लेबनान, इराक, लिबिया तथा यमन ध्वस्त पार्न छोडेका छैनन् ।

यहाँनेर इतिहासकार सिमोन मोन्टेफियोरको निबन्धको पुनः स्मरण हुन्छ । ‘ह्वाट इफ दी रसियन रेभ्युलुसन ह्याड नेभर ह्यापेन्ड’ (रुसी क्रान्ति कहिल्यै नभएको भए के हुन्थ्यो ? ) नामक निबन्धमा उनी भन्छन् :

‘यदि रुसी क्रान्ति नभएको भए धेरै कुरा हुँदैनथे । आजको चीन, भियतनाम, उत्तर कोरिया, लाओस, कम्बोडिया, क्युबा, अंगोला हुने थिएनन् । अहिलेका ल्याटिन अमेरिकी मुलुकहरू खासगरी भेनेजुयला, बोलिभिया र सान्डानिस्टाको निकारागुवा हुने थिएन ।’ उनी थप्छन्, ‘हिटलर पनि त्यो रूपमा प्रस्तुत हुने थिएन किनभने ऊ सोभियत क्रान्तिसँग तर्सिएको थियो । त्यसलाई ध्वस्त पार्न मात्र ऊ जन्माइएको थियो । चीनमा च्याङकाई सेकका सन्तानहरूले राज गरिरहेका हुन्थे । क्युबा र भियतनामका जंगलहरूमा गुरिल्लाहरू तछाडमछाड गरेर भिड्दैनथे । शीतयुद्ध हुने थिएन ।’

‘बिनाजनसेना क्रान्ति अर्थहीन हुन्छ’ भन्ने लेनिनको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘बोल्सेभिकहरूले पहिलोपटक पेसेवर क्रान्तिकारी खडा गरे । प्रहरी राज्य बनाए । प्रतिक्रान्तिविरुद्ध वर्गयुद्धका लागि आधुनिक तरिकाबाट जनसमूह परिचालन गरे । यद्यपि मोन्टेफियरले अक्टोबर क्रान्तिले संसारका भोकानांगा मानिसहरूमा लड्ने जाँगर र उत्साह भरेको, साम्राज्यवादी उपनिवेशविरुद्ध मुक्ति आन्दोलन लड्न प्रेरित गरेको, पाँच सय वर्षको देहव्यापार एवं दास व्यापार बन्द गराएको, महिला तथा अपांगतायुक्तलाई मताधिकार दिलाउन बाध्य पारेको, शिक्षा, स्वास्थ्य र आवास व्यवस्थापनका लागि राज्यलाई बाध्य पारेको र अन्य सामाजिक न्यायका लागि युरोप र अमेरिकामा लोककल्याणकारी राज्य स्थापित गर्न बाध्य पारेको चर्चा भने गर्दैनन् । अक्टोबर क्रान्ति नभएको भए जनउत्तरदायी राज्यको परिकल्पना पनि हुन सक्दैनथ्यो ।

मोन्टेफियरजस्ता समाजविज्ञानका जानकारहरूले अक्टोबर क्रान्तिलाई भ्रान्तिपूर्ण ढंंगले व्याख्या गर्छन् । उनीहरू उक्त क्रान्तिले निर्माण गरेको अन्तर्राष्ट्रिय ऐक्यबद्धता, समानता, मानवीय सपना, समानता, अधिकार र मौकाको उपलब्धिबारे चर्चा गर्दैनन् । पश्चिमा मुलुकले अन्य देशलाई दबाएको, लुटेको र सताएको देख्दैनन् । उनीहरूका लागि उपनिवेश खडा गरेर मुलुकलाई नै बलात्कार गरिरहँदा पनि ती देश कथित ‘स्वतन्त्र’, ‘प्रजातान्त्रिक’ र ‘मानवअधिकारवादी’ लागिरहन्छन् ।

संसारभरि अहिले पनि मानिस संघर्षमा होमिएका छन् । अक्टोबर क्रान्ति नभएको भए युरोप र अमेरिकाको शासन र उपनिवेशबाट तेस्रो विश्वका मुलुकले मुक्ति पाउन असम्भव थियो । नेपालकै सन्दर्भमा पनि राणा र शाहहरूको हुकुम चलिरहेको हुन्थ्यो । आजका हाम्रा मूर्धन्य समाजशास्त्री राजनीतिशास्त्रीहरू लामो टुप्पी हल्लाउँदै स्वस्तीवाचन र पाती पढिरहेका हुन्थे होलान् । जनजातिहरू बेलायतीहरूको भरिया भएर साम्राज्यवादी स्वार्थ पूरा गर्न जंगलजंगल युद्धमा भौतारिरहेका हुन्थे होलान्।

नयाँ आशाको सञ्चार

हो, महान् समाजवादी क्रान्ति पूर्ण थिएन । संसारमा केही पनि पूर्ण हँदैन । दर्शनशास्त्री आन्द्रे भाल्चेकका शब्द सापट लिने हो भने ‘पूर्णता’ भन्ने शब्द डरलाग्दो, चिसो र कल्पनै गर्न नसक्ने गरी पट्यारलाग्दो शब्द हो । यद्यपि अक्टोबर क्रान्तिले सामन्तवाद र पुँजीवादको शारीरिक, बौद्धिक र भावनात्मक दासत्वबाट मानिसलाई मुक्त गर्‍यो । जात र लैंगिक भेदभाव नराखी आममानिसमा समान व्यवहार गर्नुपर्छ भन्ने पाठ सिकायो । नयाँ गर्न सकिन्छ र हरेकको विकल्प हुन्छ भन्ने देखाइदियो । लाखौं करोडौं मानिसमा साँच्चिकै राम्रो र परिस्कृत जीवन जिउन सकिन्छ भन्ने आत्मविश्वास जन्माइदियो । सबै खालका जातिगत, भाषागत विभेदहरू अन्त्य हुनुपर्छ, जातीय रंगहरू समान हुनुपर्छ र प्राकृतिक स्रोतसाधनमाथि सबैको हक हुन्छ, हुनुपर्छ भनेर लड्न सिकायो । हक अधिकार हुन्छ र पाउनुपर्छ भनेर लड्न त सिकायो ।

१० वर्षअघि विश्व-पुँजीवादमा आएको संकटलाई समाज विज्ञानका वैज्ञानिकहरूले प्रणालीगत संकटका रूपमा लिएका छन् । १० वर्षको यो अवधिमा उदारवाद प्रतिदिन मरिरहेको छ । अनेकन पपुलिस्ट दक्षिणपन्थीहरू जन्मने क्रम जारी छ । अनियन्त्रित नाफा आर्जन गर्न तिनीहरूले युद्ध र आतंकको खेती गरिरहेका छन् । परिणाम, आमजनतालाई गरिबीको रेखामुनि धकेलिरहेका छन् । तिनीहरूले थोपरेको नवउपनिवेशी कदमविरुद्ध अहिले पनि मानिसहरू विभिन्न ब्यानरमा संघर्षरत छन् । चीन, क्युबा, भेनेजुयला, भियतनाम, अंगोला लगायतका मुलुकमा अझै रातो झन्डा फहराइरहेकै छ । अहिले पनि साम्राज्यवादी शोषण र उत्पीडनविरुद्ध ऐक्यबद्धता दर्शाउने क्रम जारी छ । अक्टोबर क्रान्तिले अर्बौं मानिसमा ऊर्जा भरेकै छ भन्ने ठाउँ छ ।

साम्राज्यवादी र तिनका पिछलग्गुहरू आततायी छन् । उनीहरू बुझ्दैनन्, सर्वसाधारण मानिसका पनि सपना हुन्छन् । ती सपना मारेर मर्दैनन् । आममानिसमा रहेको उत्साह वा प्रेरणाको हत्या गर्न सकिन्न । सय वर्षअघि सम्पन्न अक्टोबर क्रान्तिले सर्वसाधारण मानिसलाई अन्यायको विरुद्ध र समानताको पक्षमा उभिन सिकायो । आफ्ना हातगोडामा भिराइएका दृश्य, अदृश्य नेल र हत्कडी चुँडाल्न सिकायो । सर्वसाधारण फेरि विस्तारै जाग्नेछन्, उभिनेछन् र नेल र हत्कडीहरू चुँडाल्नेछन् । आशा र सपनाहरू फेरि ब्यूँतिनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार