नेपाली जनता भोको पेटमा पनि विद्रोह गर्न तयार छन् । नेपाल रहे नेपाली रहन्छन् । अहिले मुलुक संवेदनशील क्षेत्र बनेको छ । अमेरिका नेपालको ढाडमा टेकेर तिब्बत हान्न चाहन्छ । यसका लागि भारतले दलाई लामालाई पालेर राखेको छ । अमेरिका र भारत नेपालमा अस्थिरता उत्पन्न गर्न चाहन्छन् तर चीन नेपालको स्थिरता चाहन्छ ।

नेपाल अस्थिर रहेमा भारत र अमेरिका पसेर चीनलाई दखल गर्न सक्छन् भन्ने चीनको ठहर छ । यसैले चीनले नेपाललाई विकास कार्यमा सहयोग गर्नसक्छ । यो कूटनीतिक कुरा हो । भारतले भने विकासको प्रलोभन देखाएर ब्रह्मलूट मच्चाइरहेको छ । कैयौँ ठाउँमा जल, जमिन र जङ्गल आफ्नो कब्जामा लिएको छ । नेपालको सामाजिक दलाल पुँजीवादले आफ्नो प्रभुविरुद्ध विरोधको स्वर निकाल्न सक्दैन । विस्तारवाद र साम्राज्यवादको विरोध गरेमा नेपालका दलालहरूको मुटु दुख्छ । आफ्ना मालिकहरूको चोट पुग्ने काम आएमा उनका हनुमानहरू कालोलाई कालो भन्न डराउँछन् । सेतोलाई सेतो भन्न डराउँछन् । असली रूपमा नेपालको राजनीतिको साँचो अमेरिकासँग छ । ब्रिटेनसँग छ । पश्चिमाहरूसँग छ । भारतले त लगाइदिएको काम गर्ने हो । भारत सिङ न पुच्छर हो । ऊसँग हजारौँ वर्षको गुलामीको संस्कार छ । ऊ स्वतन्त्र नभएकाले भारतले नेपाललाई स्वतन्त्र भएर बाँच्न दिँदैन । वास्तवमा भारत अहिले पनि अङ्ग्रेजबाट शासित छ । भारतका ४०० राज्यलाई अङ्ग्रेजले नै एकीकरण गरेको हो । रेल मार्ग ब्रिटेनले नै बनाइदिएको हो ।

दलाल सत्ताको आफ्नो भन्ने केही हुँदैन । ऊ दलाली गरेर सत्ता टिकाउन चाहन्छ । जबसम्म समाजिक दलाल पुँजीवाद समाप्त हुँदैन सत्तामा जाने के पी ओली मात्र होइन, जुन जोगी आए पनि कानै चिरेका हुन्छन् । जताततै भ्रष्टाचार व्याप्त छ । मालमा गयो भ्रष्टाचार छ । ६ रोपनी जग्गा कित्ताकाट गरेको ५५ लाख रुपैयाँ तिर्नुपरेको कुरा प्लटिङ गर्नेहरू बताउँछन् । रेस्टुरेन्ट र डान्स बारमा सीआईडीका रूपमा गएर एक कप कफीको ५ हजार–१० हजार तिर्नुपरेको कुरा स्वयम् पत्रकारहरूले बताएका छन् । यौन दुराचार, हत्याहिंसा र लूट व्याप्त छ समाजमा । निर्मला पन्तको बलात्कार र हत्या प्रकरण तीन महिना भैसक्दा पनि रहस्यमय बनेको छ । बलात्कारीहरू प्रमको कुर्सी वरिपरि घुमिरहेका हुन्छन् तर समातिँदैनन् ठूला माछाहरू । चाहे सुन प्रकरणको कुरा होस् वा सिन्डिकेटको कुरा होस्, वा ठेकेदारको लापरबाहीकै कुरा होस्, सबै विषयमा सरकार मौन देखिएको छ । उभार छैन, उतार छ । समृद्धि होइन, विषम वृद्धि छ । नेताहरूले तलबभत्ता र सहुलियत बढाइरहेका छन् । एकातिर महँगी र ढाड सेकिने करले जनता छट्पटिएका छन् । अर्कोतिर कथित कम्युनिस्ट सरकारले दसैँको शुभकामनाका सन्दर्भमा चियापान गर्ने दिन ५० हजार जनता उतारेको छ ।

लेखक वैद्य ।

सामन्तले पनि गर्न नसकेको कुरा महासामन्त बनेर पूर्णिमासम्म टीका लगाइदिन्छ सरकार । कस्तो विडम्बना !! निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट घुँडा टेकेर टीका लगाउँछन् । यो गुलामी संस्कार हो वा दास संस्कार ? दास सिक्रीमा बाँधिएका हुन्छन् । उनीहरूले विद्रोह गर्न सक्छन् । तर गुलामहरू आफ्नो अस्तित्व मेटाएर स्वतःस्फूर्त रूपमा पाउमा पर्न जान्छन् । टीका लगाउँदा मान्छे हेरेर कुर्सी अगाडि सार्ने र पछाडि हटाउने काम गरिन्छ । कस्तो गाईजात्रा हो यो ? कुनै व्यवस्था छैन । व्यवस्थापन छैन । कर्मचारीको लापरबाहीले अस्तव्यस्त भयो भनौँ भने आखिर कर्मचारी व्यवस्थापन गर्ने सरकारको नै जिम्मा हुन्छ । यसबाट सरकार पन्छेर बस्न सक्दैन । दसैँ–तिहार आफ्नो संस्कृतिअनुसार मान्नुपर्छ । यो बेग्लै कुरा हो तर ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने पुरानो उखानजस्तो आफूलाई कम्युनिस्ट बताउनेले कथित दुर्गा भवानीलाई अगाडि राखेर टीका ग्रहण गर्छ भने ऊ कम्युनिस्ट हो वा चरम अवसरवादी ? आत्मसन्तुष्टिका लागि धर्म गर्छ भने गरोस्, यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो तर उसले कम्युनिस्टको आवरण फाल्नुपर्छ । भौतिकवाद र अध्यात्मवाद सँगसँगै जान सक्दैनन् । दुवैलाई समात्नु भनेको सारसङ्ग्रहवादी अवसरवादी हुन्छ । न यता हुन्छ न उता हुन्छ । नेपालमा यस्ता कम्युनिस्ट भनाउँदा छन् जसले जनतामा कम्युनिस्टको विभ्रम फैलाएर शोषण गरिरहेका हुन्छन् । विकृति–विसङ्गति निम्त्याएका हुन्छन् । यसलाई द्वैधवादी संस्कृति भन्छन् । अर्को शब्दमा यसलाई पुँजीवादी संस्कृति पनि भनिन्छ । । रूपान्तरण हुनुपर्छ भनेर सबैले भन्छन् तर रूपान्तरण हुन सक्दैनन् । अनि केको नाटक ? कम्युनिस्ट त फेसन नै भएको छ ।

अब जनताले कम्युनिस्टको सरकारको बिहानी देखिसके । कम्युनिस्ट सरकारको बिहानीमा कालो बादल छ । वर्षामा बाटैभरि हिलो हिउँदमा धुलोको मुस्लो हुन्छ कम्युनिस्ट सरकारमा । नारामा विकास र समृद्धिको भजन छ तर उल्टो यात्रा छ । बेरोजगारी छ । दैनिक ४–५ सय युवा विदेश पलायन हुन्छन् । जागिरको प्रलोभनमा कैयौँ युवती दिल्लीका कोठीहरूमा बन्दी बनाइएका हुन्छन् । महँगीले आकाश छोएको छ । बलात्कार, हत्या, अपहरणको जगजगी छ । अभिभावकहरूमा बालबालिका कसरी जोगाउने भन्ने सन्त्रास छ । गुन्डाको राज छ । जनस्वास्थ्यमा खेलबाड । डा. गोविन्द के.सी.को मागमा अझै सुनुवाइ हुनसकेको छैन । राष्ट्रिय गौरवका विकासका कुरा ओझेलमा छन् । सबै कुरा जादुको छडीजस्तै ८–९ महिनामा नै हुनुपर्छ भनेको पनि होइन । तर सुरुआतै भएन । प्रधानमन्त्रीको एक्लो सुगारटाइले मात्र केही हुँदैन । वरिष्ठ नेताहरूको टिम लागेको देखिँदैन । राज्यहरूमा कर्मचारी पूरा हुन सकिरहेका छैनन् । खर्च थाम्न नसकेर सङ्घीयतामा प्रश्न उठ्न थालिसकेको छ । भारत–अमेरिका जस्तो गराउन चाहन्छन् उस्तै भएको छ नेपाल । दिन–प्रतिदिन सीमामा अतिक्रमण भएको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतिक अतिक्रमण छ नेपालमा । भारतले ६ सय ६ वर्गकिमि लगेको छ । लिम्पियाधुरा कालापानीमा मात्र ३७ हजार हेक्टर जमिन अतिक्रमण गरेको छ । भारतले बनाइदिएको नक्सामा ३ सय १० वर्गकिमि हटाइएको छ । यसमा नेपाल मौन रहेको छ ।

नवलपरासीको सुस्तामा मात्र १४ हजार हेक्टर जग्गा कब्जामा छ । १९७९ को हवाई फोटोग्राफीअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिमि निर्धारण गरिएकोमा त्यो खुम्चिँदै गएको छ । पुँजीवादी दलाल सरकार रहेसम्म राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रतामा खतरा रहिरहनेछ । सरकारले अरू केही नगरे पनि भ्रष्टाचार रोक्ने र देशको भूभाग अतिक्रमण गर्न नदिने मात्र भए पनि केही समय जनताले राहत पाउने थिए । तर सरकार सत्ता जाने भयले चुँसम्म बोल्न सक्दैन । यसकारण वैज्ञानिक समाजवाद नआएसम्म दलालहरूले लूटको स्वर्ग मच्चाउनेछन् । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका वैज्ञानिक समाजवादका पूर्वाधार हुन् । यही नै नयाँ जनवाद हो ।

अब पूर्वमा टिस्टा, पश्चिममा काँगडासम्म पुग्ने हाम्रो लक्ष्य हुनुपर्छ । व्यक्तिगत स्वार्थ त्यागी देशभक्तहरू एकजुट हुने हो भने एक दिन हामीले विशाल नेपाल बनाइछाड्नेछौँ । आफ्नो राष्ट्रका लागि नेपालीहरू भोकभोकै पनि लड्न तयार छन् । नेपाल नालापानी, सिन्धुलीगढीजस्ता युद्धमा अङ्ग्रेजसँग लडेको हो । अब राष्ट्रियताका लागि लड्न तयार छन् नेपालीहरू ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार