कमरेड किरण, तपाईं कार्ल माक्र्सलाई कसरी सम्झनुहुन्छ ?

किरण : म कार्ल माक्र्सलाई सर्वहारा वर्गको महान् सिद्धान्तकारका रूपमा सम्झन्छु । उहाँले जुन माक्र्सवादको प्रतिपादन गर्नुभयो त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । त्यसले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका लागि, साम्यवाद प्राप्तिको सङ्घर्ष गर्नका निम्ति सैद्धान्तिक राजनीतिक र साङ्गठनिक रूपले उत्प्रेरित ग¥यो, म त्यसरी नै माक्र्सलाई सम्झन्छु ।

कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्त पेरिस कम्युनमा लागू भयो तर उहाँ जीवितै हुँदा त्यो असफल भयो । उहाँले त्यो असफलताबाट के शिक्षा लिनुभयो ?

किरण : पेरिस कम्युन इतिहासको एउटा महत्वपूर्ण परिघटना थियो । पेरिस कम्युनका बारेमा पहिलो अन्तर्राष्ट्रियबाट थुप्रै डकुमेन्टहरू, मूल्याङ्कनहरू पनि प्रकाशित भैसेका छन् । त्यहाँ उहाँले खासगरी ऐतिहासिक भौतिकवादसँग सम्बन्धित कुरा जो सुदर्शनले बताउनुभयो, ऐतिहासिक भौतिकवाद भन्दाखेरि वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्व सम्बन्धित मान्यता जुन माक्र्सले कम्युनिस्ट घोषणापत्रबाट सुरु गर्नुभएको थियो, पेरिस कम्युनको संश्लेषण गर्ने बेलासम्म ऐतिहासिक भौतिकवादका महत्वपूर्ण सिद्धान्तहरू परिपक्व भएर आए भन्ने देखिन्छ । उदाहरणका लागि, कम्युनिस्ट घोषणापत्रमा सर्वहारा वर्गको अधिनायकत्व भन्ने शब्द छैन, शासक वर्गका रूपमा सङ्गठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलि पछि गएर फ्रान्समा वर्गसङ्घर्ष लेख्ने सिलसिलामा त्यही सर्वहारा वर्गको अधिनायकत्वसँग सम्बन्धित कुरामा अलि माक्र्स जानुभयो । पछि गएर अठारौँ बु्रमेयरमा जाँदाखेरि अब सर्वहारा वर्गले सङ्घर्ष ग¥यो भने पुरानो राज्यसत्तालाई चकनाचुर पारेर नयाँ राज्यसत्ता ल्याउँछ भन्ने मान्यता विकसित गर्नुभयो । ठ्याक्कै पेरिस कम्युनमा जाँदाखेरि पहिलो कुरा, माक्र्सले के भन्नुभयो भन्दा पेरिस कम्युन कार्यनीतिक रूपमा संसदीय होइन, गैरसंसदीय व्यवस्थाको दोस्रो नम्बरमा पेरिस कम्युनले के ग¥यो भने पहिलेसम्म त राज्यसत्ता ध्वस्त पार्ने होइन, एउटा वर्गको हातबाट अर्को वर्गको हातमा लिने कुरा हो भनिन्थ्यो तर जब पेरिस कम्युनमा पुगियो सर्वहारा वर्गले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा ल्याइयो । तेस्रो कुरा, त्यो सर्वहारा वर्गको अधिनायकत्वको प्रयोगको कुरा थियो । त्यसपछि सर्वहारावर्गको अधिनायकत्व के हो भन्ने कुराको जबाफमा पेरिस कम्युनमा गएर हेर भन्नेसम्मको अवस्था आयो ।

भनाइको अर्थ के हो भने कम्युनिस्ट घोषणापत्रदेखि लिएर ऐतिहासिक भौतिकवादको मान्यता वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वको मान्यतालाई पेरिस कम्युनसम्म जाँदा पुष्टि भयो यहाँ एउटा के गर्न जरुरी हुन्छ भन्ने कुरा कम्युन त सकियो तर माक्र्सले के भन्नुभयो भने कम्युनजस्तै गरियो भने त्यो समाप्त भयो भने पनि कम्युनले जुन मुक्तिको आदर्श थालनी गरेको थियो त्यो मर्दैन । जबसम्म एउटा उत्पीडित वर्ग मुक्त हँुदैन तबसम्म पेरिस कम्युन बारम्बार ब्युँझिँदै जानेछ भन्नुभयो । यहाँले भनेजस्तै रुसको अक्टोबर क्रान्तिमा पेरिस कम्युन नयाँ ढङ्गले देखाप¥यो । नयाँ जनवादी क्रान्ति हुँदै थुप्रै क्रान्तिहरू भए । ती क्रान्तिको प्रक्रियामा त्यो देखाप¥यो । सारमा के थियो भने माक्र्सको ऐतिहासिक भौतिकवादको संश्लेषण थियो पेरिस कम्युन भन्ने लाग्छ मलाई ।

कमरेड किरण, रुसी क्रान्ति माक्र्सवादसम्मत कसरी थियो ?

किरण : रुसमा क्रान्ति कसरी भयो र त्यो परिस्थितिको विकास कसरी भयो भन्ने विषयमा क. सुदर्शनले भनिसक्नुभयो । थप कुरा रुसमा अक्टोबर क्रान्ति हुँदाखेरि मूलभूत रूपमा के हो भने एकातिरबाट साम्राज्यवादबीचको अन्तरविरोध तीव्र थियो । लेनिनले के गर्नुभयो भने सर्वहारावर्गका लागि एउटा महत्वपूर्ण नारा दिइयो । त्यो नारा थियो– विश्वयुद्धलाई गृहयुद्धमा बदल । संशोधनवादी र अवसरवादीहरूले के गरे भने पुँजीको रक्षाका लागि भनेर गए तर कम्युनिस्टहरू अथवा लेनिनहरू विश्वयुद्धलाई गृहयुद्धमा बदल्ने अभियानमा गए । रुसमा क्रान्ति गर्ने सिलसिलामा चाहिँ त्यहाँ पहिले पुँजीवादी क्रान्ति भैसकेको थियो । त्यहाँको शासक वर्गले के ग¥यो भने गृहयुद्ध जारी राख्नुुपर्छ भनेको अवस्थामा लेनिनको नेतृत्वको कम्युनिस्ट पार्टीले शान्ति र रोटीको नारा लगायो र त्यो समयमा जनतालाई विश्वयुद्धबाट शान्ति चाहिएको थियो । त्यो शान्तिको बाटो क्रान्तिको थियो । त्यो पनि लेनिनले ठीक समयमा ती कुरा राख्नुभयो । अर्को कुरा के थियो भने लेनिनको अक्टोबर क्रान्ति एकैछिनको थिएन, लामो समयको तयारीको फल थियो । त्यसको रिहल्सल १९०५ बाटै सुरु भएको थियो जस्तै सोभियतको पनि राम्रो अभ्यास गरिएको थियो । त्यसैको समग्रतामा स्वरूप, रणनीतिको निर्धारण र कार्यनीतिको निर्धारण गर्ने काम भयो । साम्राज्यवादको साङ्लो रुसमा नै कमजोर थियो । लेनिनले त्यही रुसमा नै ठोक्नुभयो ।

माक्र्स–एङ्गेल्सले प्रतिपादन गरेको सिद्धान्त जस्तै बल प्रयोगको सिद्धान्त, सर्वहारा वर्गीय अधिनायकत्व सर्वहारा वर्गको राज्य र त्यसको विलोपीकरणजस्ता विषयहरू रुसमा कसरी लागू गरिएका थिए ?

किरण : अक्टोबर क्रान्तिले त्यहाँको पुँजीवादी सत्ता ढालेर सर्वहारावर्गको राज्यसत्ता स्थापना ग¥यो । राज्यको विलोपीकरण त्यतिबेला नै होइन, राज्यको विलोपीकरण त समाजवादभन्दा धेरै माथि गैसकेपछि, तमाम प्रकारका अन्तरविरोधहरू हल भैसकेपछि, सर्वहारावर्गको अधिनायकत्व सृृदृढ गर्दै गैसकेपछि गाउँ र सहरबीचका भिन्नता, गाउँ र सहरबीचको भिन्नता, बौद्धिक श्रम र शारीरिक श्रमबीचको भिन्नता, धनी र गरिबबीचको भिन्नता यी भिन्नताको अन्त्य गर्ने क्रममा राज्यको स्वतः विलोप हुन्छ भन्ने माक्र्सको मान्यता हो । त्यही मान्यता लेनिनले लागू गर्नुभयो । स्टालिनको जमानामा ती विकसित हुँदै गए । रुसी क्रान्तिमा लेनिनले त्यसको सुरुआत गर्नुभएको हो । हुबहु त्यही लागू हुने कुरा त भएन जस्तो लाग्छ मलाई ।

मूलभूत रूपमा माक्र्सवादको सही प्रयोग गर्ने दुई व्यक्तित्व लेनिन र माओको निधनपछि विश्वमा क्रान्ति भए पनि सफल क्रान्ति भएनन् । त्यसो हुनुको कारण के हो ?

किरण : माओको निधनपछि विश्वमा क्रान्ति नै भएनन् त भन्न मिल्दैन, बरु के हो भने क्रान्तिले पूर्णता पाउन नसकेको अवस्था हो किनभने पेरूमा सशक्त रूपमा जनयुद्ध अघि बढेको हो । त्यहाँ रणनीतिक रक्षा, सन्तुलन हुँदै झन्डै प्रत्याक्रमणमा पुगेको अवस्था हो तर धक्का खायो । नेपालको सन्दर्भमा पनि रणनीतिक रक्षा र सन्तुलन हुँदै अघि बढेको अवस्थामा धक्का खायो । यस्तै भारतमा पनि चलिरहको छ । फिलिपिन्समा पनि चलिरहेको छ । जुन रूपमा सफलता प्राप्त गर्नुपर्ने हो त्यो भैरहेको छैन । दोस्रो कुरा, शक्ति सन्तुलनमा यी सबैखाले प्रतिक्रान्तिका घटनाहरूले गर्दा सर्वहारावर्ग कमजोर हुन गयो । तर के हो भने क्रान्ति तुरुन्त हुुने र लाभ हुने कुरा होइन । यो उतारचढाव हुँदै अघि बढ्ने कुरा हो । कमीकमजोरी नहुने कुरा भएन, छन् र भएका छन् । यति हुँदाहुँदै पनि कमीकमजोरी सच्याउँदै अघि बढिरहेको अवस्था पनि हो ।

अर्को कुरा, अरूले भन्ने कुरा के हो भने अहिले सर्वहारा वर्गको सत्ता पनि छैन र यसको मिडिया पनि छैन । यस्तो अवस्थामा कुरा के हो भने पहिलो कुरा त आजको मिडिया साम्राज्यवाद हो यो वर्गले आफ्नो मिडियामार्फत आफ्नो कुरा मात्र अघि बढाइरहेको छ । ताजा कुरा के हो भने जस्तो शीतयुद्धको समाप्ति, सोभियतको विघटन, नवउदारवाद र भूमण्डलीकरणका कुरा आए । खासगरी रुस र युरोपको घटनापछि कम्युनिज्मको अन्त्य भयो र नवउदारवाद चिरञ्जीवी छ भनेर भनेका हुन् तर २००८ मा आउँदा त अमेरिकाको हालत खराब भयो । कयाँै विचारकहरू के भन्छन् भने आर्थिक रूपमा त छँदैछ, राजनीतिक रूपमा पनि यस्तो अवस्था खराब छ भनेका छन् । उनीहरू संसदीय व्यवस्था, उदारवादी व्यवस्था र नवउदारवादी व्यवस्था पनि असफल भयो भनेर भनिरहेका छन् । यी सबै घटनाले अब फेरि क्रान्तिको अर्को तयारी भैरहेको छ भन्ने पनि बुझिन्छ । उनीहरूले भनेको जस्तो छैन । एउटा कुरा के हो भने केही देशमा समाजवाद पूरा भएको, क्रान्ति पूरा भएको, लहरका रूपमा अघि बढेको अवस्था त छैन । यसको पछाडि केही वस्तुगत कारण र आत्मगत कारणहरू पनि छन् । क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गर्न नसक्नु, गतिलो सर्वहारा वर्गको अन्तर्राष्ट्रिय आन्दोलन कमजोर हुनु, क्रान्तिकारीहरूले आफ्नै कमजोरी समीक्षा गरेर अघि बढ्न नसक्नुलगायत कारण पनि त छन् । तर बाहिर प्रचार गरिएको जस्तो परिस्थिति होइन ।

हामी अन्त्यतिर जाऔँ । दुईतीनवटा नयाँ विषय पनि छ्न् : एउटा साम्राज्यवादबीचको तीव्र अन्तरविरोध, पँुजीको अति संकेन्द्रीकरण, अर्को शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराहरू पूरा नहुने र सूचनाप्रविधिको विकास र त्यसको पहुँचले विकास भएको चेतनाका कारण फेरि नयाँखालको परिस्थिति निर्माण भएको छ । यस्तो समयमा माक्र्सवादलाई फेरि पनि लागू गर्नलाई कस्तो र कसरी सोच्नुपर्दछ ? नयाँ क्रान्तिका लागि वस्तुगत आवश्यकता तयार भएको हो ?

किरण : क्रान्तिका लागि वस्तुगत परिस्थिति विश्वमा पनि र नेपालमा पनि परिपक्व बन्दै गएको अवस्था हो । जस्तो विश्वमा हामीले देख्यौँ– भूमण्डलीकरण र नवउदारवादको नारा लगाउने अमेरिका र ब्रिटेन हुन् । अहिले आएर त अमेरिकाले संरक्षणवाद पकडेर गैरहेको छ । एकदम अखण्ड विश्वको प्रतिनिधित्व अमेरिकाले गर्दछ भनेकोमा बहुधुव्रीय विश्व व्यवस्था आइरहेको छ । थुप्रै अन्तरविरोधहरू आइरहेका छन् । व्यापार युद्धका कुराहरू पनि बढिरहेका छन् । यी सबै राजनीतिक, आर्थिक, सांस्कृतिक र सामरिक रूपमा पनि अन्तविरोधहरू तीव्र भैरहेका छन् । नेपालमा पनि रूपमा वाम सरकार बनेको छ । सारमा जनताका समस्याहरू झन् विकराल बन्दै गएका छन् । जनतामा ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने परिरहेको छ । यो अवस्थामा क्रान्तिका लागि परिस्थिति बन्दै गैरहेको छ भन्ने हो । अर्कोतिर के हो भने वस्तुगत परिस्थिति तयार भए पनि समस्या भनेको आत्मगत हो ।

अन्तर्राष्ट्रिय रूपमा पनि विश्व–सर्वहारा वर्गलाई कसरी एकताबद्ध गर्ने भन्ने समस्या छ । साम्राज्यवादका विरुद्ध एउटा साम्राज्यवादविरोधी मोर्चा आवश्यक छ । तेस्रो कुरा, हरेक देशका क्रान्तिको तयारी गर्दै जानुपर्ने आवश्यकता छ । सशस्त्र सङ्घर्ष गर्नुपर्दछ । यस्तै विगतका कमजोरीहरूको समीक्षा गर्दै माक्र्सवादको सारतत्व दुनियाँ बुझ्ने मात्र होइन, बदल्ने कुरा मुख्य हो भन्ने कुरालाई अझ दह्रोसँग समातेर अर्को तयारी गर्नुपर्दछ । वस्तुगत परिस्थिति विश्वमा र नेपालमा तयार हुँदै गैरहेको अवस्था छ तर आत्मगत परिस्थिति कमजोर छ र त्यो आत्मगत परिस्थिति तयार गर्न अधिकतम प्रयत्न गर्नुपर्ने छ । यसका निम्ति सच्चा क्रान्तिकारी कम्युनिस्टहरू हामी जोजो नजिक छौँ गोलबन्द भएर जानुपर्छ । हाम्रा छलफल गर्नुपर्ने विषय होलान्, सैद्धान्तिक–राजनीतिक हिसाबले छलफल र बहस गरेर जाऔँ । यसो गर्नु पनि पर्दछ । । आजको वस्तुगत आवश्यकता के हो भने क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरूले ढिलो नगरीकन एकता गर्नुपर्छ ।

वैद्यसँग इराताेखबरका लागि गुणराज लाेहनीले लिएकाे अन्तवार्ताकाे सम्पादित अंश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार