हतारे छु

कहिलेकाहीँ रिसाउँछु । नजिकका मान्छेहरूबाट अप्रत्यासित प्रसंगहरू आएमा अझ बढी रिसाउँछु । अरूसँग अथवा विरोधीहरूसँग रिसाउँदिनँ । मेरो अर्को स्वाभाव अलि विद्रोही हो । यो सानैदेखिको हो । जनताको सत्ता नआएसम्म मेरो यो स्वाभाव रहिरहन्छ ।

विपक्षीले भनेजस्तो रुखो छैन

कता–कता मेरा विपक्षीहरूले मलाई ‘रुखो स्वाभावको पनि छ’ भनेको सुन्छु । तर, विपक्षीहरूले भनेजस्तो रुखो छैन । म प्रसंग र पृष्ठभूमिमा आफ्नो कुरा अलि खरो ढंगले राख्छु । यसरी खरो ढंगले राख्दा कहिले राम्रो पनि पर्छ र कहिले नराम्रो पनि पर्छ होला  ।

मलाई सौन्दर्य चिन्तक भनिन्छ

मैले आफैँलाई के भनौँ । तर, अरूले मलाई बढी नै सौन्दर्य चिन्तक भन्छन् । तर, म त्योभन्दा बढी राजनीतिक हुँ । मेरो विषय नै राजनीति हो । कहाँबाट चाहिँ मलाई यो सौन्दर्य चिन्तक भनियो थाहा छैन । कसैलाई आफू राजनीतिक हुनुप-यो, तर अरू राजनीतिक भएको मन परेन । अनि, मलाई सौन्दर्य चिन्तक भनिदिए कि जस्तो लाग्छ । तथापि, म सौन्दर्य चिन्तक पनि हो ।

वैज्ञानिक समाजवादी हुँ

कम्युनिस्ट विरोधीहरूले मलाई परम्परागत कम्युनिस्ट (जडसूत्रवादी) भन्छन् । यो एक प्रकारको आरोप नै हो । केही कमी–कमजोरी हुन सक्लान् तर, माक्र्सवादको गुदीलाई अर्थात् सारतत्वलाई पकड्न नसक्नेहरूले त्यस्तो भन्छन् । अरूलाई परम्परावादी भन्नेले आफू साच्चिकै नयाँ (खाँट्टी) कम्युनिस्ट हुनुप-यो नि त (हाँस्दै) । यदि खाँट्टी कम्युनिस्टले मलाई परम्परावादी भन्यो भने त त्यो पनि मैले मान्नुपर्ने हुन्थ्यो, त्यस्तो भएनँ । कम्युनिस्टको सिद्धान्त नै छोड्नेहरूले पूर्वाग्रही ढंगले मलाई परम्परावादी भन्ने गरेका छन् । म त वैज्ञानिक समाजवादी हुँ ।

परिस्थितिले सरल बनायो

माक्र्सको समाजवाद वैज्ञानिक समाजवाद हो । म माक्र्सवादी हुँ । तसर्थ, वैज्ञानिक समाजवादी हुँ । त्यसैले, सामान्य रूपले सरल र सहज छु । अनावश्यक कुरामा खर्च गर्दिनँ । अर्को, जोसँग पैसा छ उसले खर्च गर्ने हो । धेरै खर्च गर्न मसँग पैसा पनि छैन । आम जनताजस्तै म पनि मितव्ययी छु ।यसो भनौँ, पैसा नहुने परिस्थितिले नै सरल बनायो ।

माक्र्सवादको विज्ञानप्रति आस्था र विश्वास राख्छु । त्यो लेनिन, माओसम्म आइपुग्दा अझ राम्रो विकास भयो । यो सिंगो मानवजातिको भविष्य माक्र्सवादमै समाहित छ । र, साँचो अर्थमा भन्दा नयाँ मानवतावाद हो, माक्र्सवाद । मानिसको भविष्य पनि हो यो । यसप्रति निष्ठावान् हुनुपर्छ भनेर नै माक्र्सवादी भएको हुँ । यसको विकास गर्दै जानुपर्छ । मैले विकासै गर्न सकेको छु भनेर भन्दिनँ । हामीले नसके अरूले गर्लान् । यो हाम्रो एउटा आदर्श हो । तसर्थ, यसलाई विकसित लुल्याउँदै जानुपर्छ ।

सच्चा कम्युनिस्ट हामी मात्रै छैनौँ

नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएको छ । यसभित्र संशोधनवादको प्रभुत्व कायम भइराखेको छ । हाम्रा आफ्नै सहयोगी साथीहरूले माक्र्सवाद छोड्नुलाई गौरव ठानिराखेका छन् । कम्युनिस्टको सिद्धान्त परम्परावादी भयो भन्दै नयाँ–नयाँ खोज्दै हिँड्छन् । यसरी खोज्दै हिँड्दा कहाँ पुग्ने हुन् ठेगान छैन ।

क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले गोलबद्ध गर्नुपर्छ । सच्चा कम्युनिस्टहरू हामी मात्रै छैनौँ, अरू पनि छन् । सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई जोडेर एउटा गतिलो क्रान्तिकारी पार्टी बनाउनुपर्छ र नयाँ कम्युनिस्ट आन्दोलन गर्नुपर्छ भन्ने लाग्छ ।

अर्को रूपान्तरणको प्रक्रिया । रूपान्तरणकै निम्ति भनेर हामीले संघर्ष ग-यौँ । जनयुद्धमार्फत वैज्ञानिक समाजवादमा जानुपर्छ भन्दै आइयो । त्यो बाटो बीचमै अबरुद्ध भयो । यी पूरा गर्न नसकेका कामहरूलाई फेरि अघि बढाउँदै वर्गीय, जातीय, क्षेत्रीय, लैँगिक सबै असमानताहरूलाई अन्त्य गर्नका निम्ति फेरि एउटा राजनीतिक आन्दोलनको नयाँ ढंगले विकास गर्नुपर्छ । विचार मिल्ने विप्लव, आहुति, किरातीजीहरूले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्छ । वैचारिक राजनीतिका पक्षमा हामीमा एकरूपता हुनुपर्छ । बहस बढाएर अघि बढ्नुपर्छ । यो प्राप्तिका लागि अप्ठ्यारो परिस्थिति आएमा भूमिगत हुन पनि सकिन्छ ।

राष्ट्रपति दिए नि खान्नँ

नेपालमा पछिल्लो समयमा जति पनि सत्तामा गए, उनीहरू नेगेटिभ भएका छन् । तर, सत्ता खाली नकारात्मक मात्र नभएर सकारात्मक पनि हुन्छ । अहिले देशमा पुँजीवादी शासन व्यवस्था छ । निजी पुँजीलाई महत्व दिने संसद्वादी व्यवस्था छ, मुलुकमा । विभेद र असमानता छ । वर्तमानको बुर्जुवासत्ता हुँदासम्म म सत्तामा जान्नँ । राष्ट्रपति नै बनाए पनि खान्नँ । पुरानो सत्ता पल्टाएर नयाँ सत्ता ल्याउने हो । त्यो साम्यवाद हो । साम्यवाद भनेको नयाँ मानवतावाद हो । त्यो एक दिन अवश्य आउँछ । तर, समय लाग्छ । नयाँ सत्ता सर्वहारा वर्गको हुन्छ ।

मेरो साहित्य राजनीतिप्रेरित छ

‘लाहुरेको रहर’ भन्ने एउटा खण्डकाव्य लेखेँ । त्यसबाहेक केही कविता लेखियो होला । तर, मेरो खास लेखन समालोचना हो । चारवटा जति प्रकाशित भएका छन् । थुप्रै लेखहरू लेखेको छु । तर, मेरो सबै साहित्य राजनीति प्रेरित छ । मैले लेखेका समालोचना र लेखहरूले मेरै राजनीतिको सेवा गर्छन् । राजनीतिज्ञका साहित्य राजनीतिभन्दा अलग हुन्छन् भन्ने कुरा बेकार हो ।

टीका लगाउँछु, दसैँमा होइन

आदिम साम्यवादी समाजबाटै धर्म जन्मिएको हो । धर्म र संस्कृति जोडिएको हुन्छ । तर, संस्कृतिबराबर धर्म होइनँ । धर्म–संस्कृतिमा रहेका राम्रा पक्षहरूको जगेर्ना गर्नुपर्छ । नराम्रा पक्षको विरोध गर्नुपर्छ । खासमा अधर्मको उल्टो धर्म हो । तर, यसलाई ईश्वरसँग जोडियो । धर्म पुरानो राज्यसत्तालाई जोगाउने साधन बन्ने गरेको छ । तसर्थ, नेपालमा धर्म सापेक्षता हुनुहुन्न ।

फेरि, अर्को पाटो पछिल्लो समयमा नेपालमा धर्म परिवर्तन गराइँदै छ । यसरी धर्मलाई व्यापार बनाइनु गलत हो । बरु साम्राज्यवादी धर्मभन्दा यहीँको धर्म ठीक छ नि ! हो म भौतिकवादी हुँ कुनै पनि धर्म मान्दिनँ । तर, जनताले मान्ने धर्मप्रति अनास्था गर्दिनँ ।

पहिले–पहिले पञ्चायतकालमा मैले पनि दसैँमा टीका लगाएँ । अहिले पनि सामान्य अवस्थामा (अन्य दिन) टीका लगाउँछु । तर, दसैँमा लगाउँदिनँ । दसैँको टीकालाई धर्मसँग जोडियो । त्यसकारण लगाउन छोडेको हुँ । जसरी टीका लगाउनेको स्वतन्त्र हुन्छ, त्यस्तै लगाउँदिनँ भन्नेको पनि त स्वतन्त्रता हुनुप-यो नि ।

नागरिकतामै वैद्य

मेरा हजुरबा वैद्य हुनुहुन्थ्यो । तसर्थ, हाम्रो परिवारका सबै सदस्यहरूलाई वैद्य भनियो । खासमा हामी पोखरेल होैँ । विस्तारै हाम्रो पहिचान नै वैद्य भएपछि नागरिकता बनाउँदा थर नै वैद्य लेखाएँ । अहिले त सबैले वैद्य मात्रै भन्छन् । वैद्यभन्दा कत्तिले त नेवार भन्ने बुझ्दा रहेछन् ।

जीवनभर राजनीति गर्छु

७३ वर्षको भएँ । युवाजस्तो ज्यानमा तागत छैन । प्रेसरको समस्या पनि छ । भौतिक रूपले अलि गाह्रो भए पनि पार्टीका काम गरिरहेकै छु । जीवनभरि राजनीतिबाट विश्राम लिन्नँ  ।

नयाँ पत्रिकाका लागि वैद्यका विचारहरू ।

तस्बिरः सरोज बस्नेत

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार