मेरा बुबा ल्हासामा व्यापार गर्नुहुन्थ्यो । त्यहाँ चाइनिजहरू आएपछि निजी व्यापार बन्द भयो । त्यसपछि बुबा नेपाल फर्कनुभयो ।

बुबाले चीनको खुब प्रशंसा गर्नुहुन्थ्यो । बुबा मात्रै होइन काका, दाजुहरूले पनि चाइनजिहरू यस्तो उस्तो भनेर मीठामीठा कुरा गर्थे । यस्तो माहोलले कम्युनिष्ट व्यवस्था भएको देश यस्तो हुँदो रहेछ भन्ने छाप बस्यो ।

त्यसबेला माधव नेपाल साइकल चढेर मेरो घरमा आउनुहुन्थ्यो । त्यहीँ बसेर घण्टौं कुरा गर्थेँ । उहाँ ट्रान्जिस्टर बोकेर आउनुहुन्थ्यो । हाम्रो कुरा अरुले नसुनोस् भनेर ट्रान्जिस्टर बजाउँदै कुरा गर्थ्यौं ।

तिब्बतको कुरा बुझ्न पुष्पलाल श्रेष्ठ हाम्रो घरमा आउनुहुन्थ्यो । खासगरी चाइनिजहरूले तिब्बतमा आएपछि के-के गरे भन्नेमा उहाँको चासो देखिन्थ्यो । म बुबासँग बस्ने र पुष्पलालको कुरा सुन्ने गर्थें । बुबा रेडियो खुब सुन्नुहुन्थ्यो । दाजु र म बुबासँगै रेडियो सुन्नेे र पत्रपत्रिका पढ्ने गथ्र्यौं ।

१२-१३ वर्षको हुँदा म र बहिनी अमृतलक्ष्मी दुर्गालाल श्रेष्ठसँग पढ्न असन जान्थ्यौं । दुर्गालालसँग दाजुको जस्तो, गुरुको जस्तो सम्बन्ध थियो । त्यतिबेला उहाँले सडक नाटक लेख्नुहुन्थ्यो । दुर्गालाल दाइ आफू जहाँ-जहाँ जानुहुन्थ्यो, मलाई पनि साथमा लैजानुहुन्थ्यो । दुर्गालाल दाइका कारणले पनि ममा वामपन्थी झुकाव बढेजस्तो लाग्छ । २०१७ सालपछि भने पुष्पलाल श्रेष्ठ भूमिगत हुनुभयो ।

कमलाक्षी, भोटाहिटीमा निरञ्जन गोविन्द वैद्य (नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक) को पुस्तक पसल थियो । हामी त्यहाँ थएर पुस्तक पढ्थ्यौं । वामपन्थी झुकाव हुनेहरूका लागि त्यहाँ किताब किन्नु एक किसिमको फेशनजस्तै थियो । सस्तो-सस्तो पुस्तक किन्थ्यौं । चाइना टुडे, पिपुल्स रिभ्यू पढ्थ्यौं ।

विसं. २०१४ सालमा त्रिचन्द्र कलेजमा पढ्ने बेलामा निर्मल लामा, रुपचन्द्र विष्टहरू मेरा सहपाठी थिए । कुनै पिरियड खाली भयो कि उनीहरु चउरमा बसेर बामपन्थी गफ दिइहाल्थे । यो माहोलले पनि मलाई वामपन्थी बनाउन मद्दत गर्‍यो ।

केपी ओली र विद्या भण्डारीको क्षेत्रमा भाषण गरें

पछि भाषा आन्दोलनमा पनि लागियो । म नेपाल भाषा मंकाः खलः को अध्यक्ष भएँ । त्यतिबेला साहित्य सम्मेलन हुने गर्दथ्यो । म कीर्तिपुर, बनेपासम्म साइकल चढेर चिठी बाँड्न जान्थें । सुदर्शन भन्ते लगायतका भाषिक कार्यक्रमका वक्ताहरू विभिन्न कारणले सम्मेलनमा आउन सक्नुभएन । त्यहीबेला म नाई भन्न नजान्ने मान्छेलाई साथीहरूले वक्ताका रुपमा अघि सारे । नेपाल भाषामा दुई-तीन ठाउँमा बोलेपछि भाषण गर्न पनि सिकें । त्यसले एक किसिमको आत्मबल मिल्यो ।

२०३६ सालमा विद्यार्थी आन्दोलन भयो । म कुनै विद्यार्थी संगठनको सदस्य थिइनँ । तर, सबैको जुलुसमा जान्थेँ । इन्कलाब भन्न होइन जिन्दावाद मात्रै भन्न । नाराको लिड गर्ने होइन कि पछिपछि लागेर स्वरै सुक्ने गरी जिन्दावाद भनेर कराउँथें ।

विद्यार्थी, राजनीति, मजदुर जुनसुकै जुलुसमा पुग्थेँ । पछिपछि त मनमोहन अधिकारी, सुशील कोइराला, झलनाथ खनाल, माधव नेपालसँग जुलुसमा सँगै हिँड्थ्यौं । साँच्चै भन्ने हो भने म अहिले पनि सडक आन्दोलनमै छुजस्तो लाग्छ । कहिले भाषा आन्दोलनको विषयमा त कहिले आदिवासी जनजातिको आन्दोलनका लागि सडकमा पुगिरहेको हुन्छु ।

जनमत संग्रहमा पनि म एक दुई ठाउँमा वक्ता भएर गएको थिएँ । अनेरास्ववियु पाँचांैको राष्ट्रिय सम्मेलन मित्रपार्क, चावहिलमा भएको थियो । त्यतिबेला प्रेस सञ्चालन गरेर बसेको थिएँ । त्यहीताका रघुजी पन्तसँग सम्पर्क भयो । विद्यार्थी सम्मेलन हुँदा मलाई वक्ताको रुपमा आमन्त्रण गरे । अब कस्तो फसाद, मैले नेपालीमा कहिल्यै भाषण नगरेको । म बोल्न सक्छु भन्ने आत्मविश्वासै थिएन ।

नाई भन्दाभन्दै पनि बोल्नैपर्ने भयो । शम्भुराम श्रेष्ठ र मलाई अतिथि वक्ता बनाएका थिए । मैले पहिलोपटक नेपाली भाषामा भाषण गरेको त्यहीँ नै हो । भाषणमा तालीका ताली आयो ।

त्यसपछि त शिक्षक आन्दोलनमा पनि बोलाउन थालियो । ०४८ सालमा मनमोहन अधिकारी, मदन भण्डारी, साहना प्रधान, केपी शर्मा ओली र उपनिर्वाचनमा विद्या भण्डारीको निर्वाचन क्षेत्रमा गएर भाषण गरेँ । ओलीजीलाई जिताउन झापाको दमकमा गएर पनि भाषण गरेँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार