काठमाडौं–तत्कालीन नेकपा माओवादी युद्दमा होमिएको थियो । माओवादीका ‘सुप्रिमो’ थिए– पुष्पकमल दाहाल प्रचण्ड । त्यतिबेला प्रचण्डलाई एक रहस्यको पात्र ठानिन्थ्यो । कतिले प्रचण्ड छँदैछैनन् भन्थे त कतिले प्रचण्ड भन्ने नै पद्मरत्न तुलाधर हुन् पनि भन्ने गर्थे ।

रोचक त के  छ भने त्यतिबेला प्रचण्डको बारेमा समाचार छाप्दा भारतीय सञ्चारमाध्यममा जहिले पनि तुलाधरको फोटो छापिन्थ्यो ।  यही कन्फूजनका बीच तत्कालिन राज्य पक्ष (प्रहरी) ले तुलाधर नै प्रचण्ड भएको भन्दै पक्राउ गरेको थियो ।

उनै मानव अधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आज निधन भएको छ । विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन वामपन्थी नेताको रुपमा समेत चिनिएका तुलाधरले खेलेको भूमिकाको कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पनि पटक पटक प्रसंशा गरेका छन् ।

भदौ १५ गते पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्ष्यमा आयोजित ‘शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’  विषयक गोष्ठीमा अध्यक्ष प्रचण्डले भनेका थिए, तत्कालीन माओवादीलाई शान्ति प्रक्रिया ल्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।’

माओवादी द्वन्द्वको समयमा सरकार र माओवादीबीच मध्यस्थकर्ताको भूमिका समेत खेलेका तुलाधरले पछिल्लो समय वाम एकतामा विशेष जोड दिएका थिए ।  त्यसैको फलस्वरुप एमाले र माओवादी बीच एकता भएको बताइन्छ ।

एमाले र माओवादी बीच एकता भएको तीन दिनपछि नेकपाका महासचिव विष्णु पौडेलसहितको टोली तुलाधरलाई भेट्न उनकै घरमै गएका बेला तुलाधरले यो कुरा उनीहरुसँग राखेका थिए ।

त्यस भेटघाटको क्रममा उनले यी दुई दलबीच भएको एकताले आफू सबभन्दा खुशी रहेको बताएका थिए । सो क्रममा तुलाधारले एकताले जीवनको सबैभन्दा ठूलो सपना पूरा भएको धारणा राखेको नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले स्मरण गरे ।

तुलाधरले त्यतिबेला अन्य साना कम्युनिष्ट बीच एकता गर्न सुझाव पनि दिएका थिए ।तुलाधारले वामपन्थी एकतामा मात्र होइन, कम्युनिष्ट र काँग्रेसलाई मिलेर आन्दोलन गर्न पनि सुझाव दिएका थिए ।

उनले काँग्रेस र कम्युनिष्ट दुबैशक्ति एक ठाउँमा आए मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने भन्दै तत्कालिन काँग्रेस नेता गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याएपछि २०४६ को आन्दोलन सफल भएको थियो ।

बहुदल घोषणापछि तुलाधारले २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका गिए । यस्तै स्वतन्त्र वामपन्थीकै हैसियतमा २०५२ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेको सरकारमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।

नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने आन्दोलनमा सक्रिय रहेका तुलाधर २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेपछि त्यतिबेल उनको निकै चर्चा भएको थियो । उनले त्यहाँ पनि बहुदलीय व्यवस्थाको कुरा उठाएका थिए ।

जनजाति आन्दोलन

तुलाधार वामपन्थी आन्दोलनमा मात्र होइन, भाषा र आदिवासी जनजाति आन्दोलनमा पनि सक्रिय थिए । उनले २०७१ सालमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति बनाएर आन्दोलनको अगुवाई गरेका थिए ।

समितिमा तत्कालिन एमाले सचिव पृथ्वीसब्बा गुुरुङ, तत्कालिन एमाओवादी सचिव वर्षमान पुन, कांग्रेस नेता इन्द्रबहादुर राई, तत्कालिन माओवादी सचिव देवप्रसाद गुरुङ, तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतलाई उनले सदस्यमा राखेका थिए ।

बन्न लागेको नयाँ सविधानमा आदिवासी जनजाति, मधेशीहरुको अधिकार सुरक्षित हुने सम्भावना नरहेको भन्दै तुलाधरले आन्दोलनको शुरुवात गरेका थिए ।

त्यतिबेला पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता र जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशिता माग राख्दै तुलाधार नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति र नगेन्द्र

कुमाल अध्यक्ष रहेको नेपाल आदिवासी जनजाति महासंघले संयुक्त आन्दोलन गरेको थियो ।  नयाँ संविधान ‘यथास्थितिवादी संविधान बन्न लागेको’ भन्दै तुलाधारले अनसन समेत शुरु गरेका थिए ।

भीमारथारोहण 

तुलाधरको भीमरथारोहणको एकमहिने कार्यक्रम अन्तर्गत भदौ ३० गते उनलाई नागरिक अभिनन्दन गरिएको थियो । भदौ १६ गते तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महिना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण गरिएको थियो ।

अभिनन्दन समारोह समितिले भदौ १ गते देखि भदौ ३० गतेसम्म १२ कार्यक्रम गरेको थियो ।

राताेपाटीले तयार पारेकाे रिपाेर्टकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार