सपना देख्नुपर्छ, आशावादी हुनुपर्छ

म सक्रिय राजनीतिक भूमिकाबाट अलग भएको छु । केही समययता अब म सक्रिय भूमिकामा रहन सक्दिनँ होला भन्ने लाग्दै थियो । मेरो शारीरिक अवस्था कमजोर हुँदै गएको थियो । मेरो आवासको अवस्था राम्रो थिएन । महासचिव कमरेडले त्यो कुरा अनुभूत गर्नुभयो होला । त्यो वास्तविकता थियो । बुढ्यौलीमा न्यूनतम् आवश्यकता महसुस हुँदोरहेछ । शरीरमा बल हुँदा केही पनि चाहिएको थिएन । अहिले घरमा बसिरहँदा त्यस्तो महसुस भएको हो । बचपन र बुढ्यौलीमा स्याहारसुसार र ढाडस चाहिँदो रहेछ ।

हाम्रो पार्टीले पुँजीवादी सत्तासँग लड्दालड्दैको अवस्थामा निर्माण पनि गरिरहने नीति लिएको छ । विगतको कम्युनिस्ट आन्दोलनमा त्यस्तो नीति थिएन । नेता, कार्यकर्ता सयौँको सङ्ख्यामा गिरफ्तार भएका छन् । अभियानहरू चलिरहेका छन् । यता निर्माणको काम चलिरहेको छ । पार्टीको योजनामा बाटो बनिरहेको छ । समाजघर बनिरहेको छ । यस्तो चौतर्फी पहलकदमी यसअघि कहिल्यै भएको थिएन ।

मेरो परिवार बितेको समयमा श्रद्धाञ्जलीसभा राखिएको थियो । त्यो समयमा महासचिव कमरेड आउनुभयो । त्यसबेला मेरो घर हेर्नुभयो । त्यसले उहाँमा केही प्रश्न उठायो कि ? महसुस गर्नुभएछ, ‘यसलाई एउटा बास चाहिएको छ ।’ त्यसपछि मेरा लागि बास बनाइदिने योजना बनाउनुभएछ । त्यसअनुसार घर शिलान्यास उहाँले नै गर्नुभयो ।
मेरो झुपडीमा मोहनविक्रम सिंह, निर्मल लामा, नारायणकाजी सबै आएका थिए । लामा अहिले छैनन् । परिवारले खाना नखुवाएको कुनै नेता छैनन् तर श्रद्धाञ्जली दिन कमरेड विप्लव आइपुग्नुभयो । समय पनि विचित्रको हुँदो रहेछ । म उहाँसँग एउटै समितिमा छोटो समय मात्र बसेर काम गरेँ तर उहाँमा गहिरो छाप परेछ ।

पार्टीले मेरा लागि निवास बनाइदिने निर्णय गरेपछि त्यसलाई स्वीकार गर्ने कि नगर्ने ? भन्ने प्रश्न उठ्यो । मान्छेहरूले विभिन्न टिप्पणी गरे । सकारात्मक र नकारात्मक टिप्पणीहरू थिए । अन्ततः निर्माणको काम सुरु गरियो । क्रान्ति पूरा भैसक्नुपर्ने स्थितिमा आज हामी नयाँ ढङ्गले क्रान्ति सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवाद हाबी भएको कारण यसो भएको हो । संशोधनवादलाई परास्त नगरेसम्म कहिल्यै पनि क्रान्ति सम्भव छैन । तसर्थ संशोधनवादका विरुद्ध लड्नैपर्छ । म पाँच दशक सक्रिय राजनीतिमा रहेँ । त्यस क्रममा धेरै खालका अवसरवादसँग सङ्घर्ष गरियो । त्यो सङ्घर्ष व्यक्तिगत स्वार्थका लागि थिएन । परिवर्तन र क्रान्तिका लागि लडिएको थियो । सङ्घर्षका कारण एकता र विभाजन भैरहन्थे । पछाडि फर्केर हेर्दा आफैँलाई अनौठो लाग्छ । सपनाजस्तो लाग्छ । लड्दालड्दा कहाँ पुगिएन ? के पो गरिएन र ? आज यहाँ आइपुगियो । महासचिव विप्लव र उहाँको टोलीले नेपाली क्रान्तिलाई अगाडि लैजान्छ भन्ने विश्वास लागेको छ ।

दलाल संसदीय व्यवस्था र क्रान्तिकारी शक्तिका बीचमा टक्कर बढेर गएको अवस्था छ । यस्तो बेला हामी के गर्छौं त ? पार्टीको महाधिवेशनले एकीकृत जनक्रान्ति कार्यदिशा बनायो । नीति र कार्यक्रम आयो । अब जिम्मेवारी हाम्रो काँधमा आएको छ । त्यो दायित्व पूरा गर्न तयार हुने कि नहुने ? प्रश्न तपाईं युवा साथीहरूतिर सोझिएको छ । एकपछि अर्को लगातार जुझारु प्रकारका कार्यक्रमहरू गइरहेका छन् । जनता, देशभक्त र बौद्धिक समुदायले सहयोग गरिरहेका छन् । आज देशभक्त शक्तिहरू, क्रान्तिकारी शक्तिहरू, उत्पीडित समुदाय एकापट्टि र दलालहरू अर्कोपट्टि भएर देश ध्रुवीकृत हुँदै गएको अवस्था छ । ओली–प्रचण्ड नेतृत्वको दलाल सत्ताले समृद्धि, विकास र राष्ट्रिय स्वाधीनताको नारा उरालेको छ तर उसका हर्कतहरूले व्यवहारतः त्यसको खण्डन गरिरहेको छ । दलाल सत्ताले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्दैन । त्यो त साम्राज्यवादको गोटी हो । त्यसले समृद्धि दिन सम्भव छैन । त्यसले सिंहदरबारको लुटपाट र भ्रष्टाचारलाई गाउँसम्म विस्तार गर्ने हो । विकासको नाराभित्र देशको प्राकृतिक स्रोत विदेशीलाई सुम्पने काम दलाल सत्ताले गरिरहेको छ । साम्राज्यवादको बजार विस्तार गर्ने, नेपाली श्रमशक्ति दोहन गर्ने, हामीलाई परनिर्भर बनाउने, उत्पादन गर्न नसक्ने उपभोग मात्र गर्न जान्ने समाज निर्माण गर्ने साम्राज्यवादी स्वार्थलाई दलाल सरकारले ‘विकास–निर्माण’ भन्ने गरेको छ । यो विकास हो कि विनास हो ? यस विषयमा छलफल हुनुपर्छ ।

ओली–प्रचण्ड मण्डलीले चुनावमा ‘शान्ति, विकास र समृद्धि’ को नारा लगाएको थियो । जनता आशावादी भएर मतदान पनि गरे । तर देशमा आज के भइरहेको छ ? हत्या, हिंसा, बलात्कार भैरहेको छ । सरकार संरक्षित ज्यादती भएको छ । सत्ताधारी पार्टी र प्रहरी नै अपराधीको मतियार बनेको आशङ्का गरिएको छ । सिमाना मिच्ने, राष्ट्रघात गर्ने, कालोबजारीको संरक्षण गर्ने, एकाधिकार कायम गर्ने गरिरहेको छ । त्यसकारण यिनीहरू नाङ्गिँदै गएका छन् । हाम्रो पार्टीले गरेको राजनीतिक विश्लेषण सही भएको छ जसको कारण हाम्रो पार्टी लोकप्रिय बन्दै जाने र दलाल शक्तिहरू विस्थापित हुने प्रक्रिया बढ्दै गएको छ । यो यथार्थलाई लामो समय घरानाका सञ्चारमाध्यमहरूले लुकाएका थिए । आज लुकाउन पनि नसक्ने अवस्था भएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलन थुप्रै नकारात्मक पक्षसहित अगाडि आएको छ । पार्टीले त्यसप्रकारको पक्षलाई हटाउन चाहेको छ । जनताको गाँस, बास र कपासको अधिकार रक्षा गर्न चाहेको छ । कम्युनिस्ट सरकार बन्यो भने ६० वर्ष पुगेका बूढाबूढीलाई मार्छ भनेर काङ्ग्रेसीहरू प्रचार गर्थे । स्वास्नी साझा हुन्छ भनेर प्रचार गर्थे । मसहित धेरैको बास र सामाजिक क्षेत्रमा भएको लगानी ती सबै नकारात्मक प्रचारको जबाफ हो । ‘सुनारको सय चोट, लोहारको एक चोट’ भनेझैँ व्यवहारले धेरै कुराको आफैँ जबाफ दिँदो रहेछ । महासचिवले मेरो आवासको शिलान्यास गर्नुभएको थियो । उहाँलाई यो भवन हेर्ने, आफैँले उद्घाटन गर्ने इच्छा पक्कै थियो होला तर उहाँ आफैँ आउन सक्ने अवस्था रहेन । उहाँको विचार र भावनाको प्रतिनिधित्व पार्टीले गरेको छ । त्यसैमा हामीले सन्तोष गर्नुपर्छ । संसार बदल्नका लागि सही दर्शन चाहिन्छ । सिद्धान्त मुख्य कुरा हो । तर व्यवहारबिनाको सिद्धान्तको कुनै महत्व हुँदैन । त्यसकारण व्यवहार राम्रो हुनैपर्छ ।

क्रान्तिका लागि आशावादी हुनुपर्छ र सपना चाहिन्छ । देशमा चौतर्फी अन्तरविरोध बढेका छन् । दलाल सरकार त्यसको समाधान गर्न नसक्ने अवस्थामा देखिएको छ । त्यसकारण नेपाली क्रान्तिका लागि वस्तुगत अवस्था अनुकूल बन्दै गएको छ । त्यसकारण हामी पूरा मनले इमानदारीसाथ लाग्नुपर्छ ।
(२०७५ असोज १६ गते आले निवास उद्घाटन समारोहमा व्यक्त विचारको मूल अंश)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार