एक हुल युवा र युवती फौजी ड्रेसमा बसबाट ओर्लेर बजारको चोकमा फुत्त आइपुग्छन्, युवकका हातमा खुकुरी समेत हुन्छ, शीरमा रातो तारा अंकित टोपी । अनि कलाकारले जोशिलो स्वरमा भट्याउन थाल्छन् –

चमचम गर्ने खुकुरी शान लगाउने बेला भो
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो….

एक दशक अघिको माओवादी सशष्त्र विद्रोहको झल्को दिने गरी यस्तै शब्दहरु समेटिएका गीत गुन्जन थालेपछि चोकका यत्रत्रत्र छरिएका मान्छेहरु गीत सुन्न र नाच हेर्न झुम्मिन्छन् । कलाकारले गीत अघि बढाउंदै थप्छन्

फेरि जंघार तर्ने बेला भो, बारुदसंग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो,दुश्मनसंग भिड्ने बेला भो …..

कतै मौलिक देउसी भैलो त कतै रेकर्डेड फिल्मी गीत र नृत्यले शहर बजार र गाउंसम्म तिहारको रमझम बढाइरहेका बेला रुपन्देहीमा जनयुद्धको झल्को दिने यस्तै क्रान्तिकारी शब्दले भरिएका जनवादी भैलोले धेरैको ध्यान खिचेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गतको क्षितिज सांस्कृतिक परिवारले रुपन्देहीमा सञ्चालन गरेको देउसी भैलाले अरुले भन्दा बेग्लै स्वाद दर्शक स्रोतालाई पस्केको छ । प्रहरी प्रशासनको डरले अरु बेला राज्यसत्ताविरुद्ध यसरी खुलेयाम सांस्कृतिक कार्यक्रम गर्न नपाएको पार्टीले तिहारको मौकालाई सदुपयोग गर्दै सांस्कृतिक कार्यक्रमसंगै आफ्नो राजनीतिक विचार समेत जनतामाझ प्रवाह गरिरहेको छ । जनवादी भैलोमा पस्किने गीतहरुले फेरि अर्को अन्तिम युद्ध लड्न जनतालाई यसरी आव्हान गरिरहेको हुन्छ

आउ साथी मृत्युलाई जित्ने आंट गरौं
जनताको बैरीलाई मिच्ने आंट गरौं
उठ हे क्रान्ति वीरहरु अन्तिम युद्ध लड्नु छ 
चमचम गर्ने खुकुरी शान लगाउने बेला भो ……
क्षितिज परिवारको जनवादी देउसी भैलोमा थारु,भोजपुरी,मगरहरुको सालैजो,सोरठी,कौडा टप्पा,तामांगसेलो, आदि जनजातिका संस्कृतिमा आधारित गीत र नृत्य पनि कलाकारले पस्केका छन् भने शहीदप्रति समर्पित गीतसंगै,वर्तमान केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध पनि कलाकारले उत्तिकै सशक्त ब्यंग्य प्रहार गरेका छन् । बढ्दो महंगी,भ्रष्टाचार,बलात्कार र हत्या,वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण,बेरोजगारी,युवा शक्तिको विदेश पलायन,पश्चिमा छाडा संस्कृतिले नेपाली मौलिक संस्कृतिमाथि गरेको अतिक्रमण र जनजिविका जस्ता विषयमा कलाकारले मार्मिक गीत र नृत्य प्रस्तुत गर्दा उपस्थित सबैले मन पराएर साथ दिन्छन् । गीत र नृत्य सुनेर हेरेर बाटोमा हिंड्दै गरेकाहरु पनि एकछिन रोकिन्छन् अनि सक्दो आर्थिक सहयोग गरेर हिंडछन् । जसले गर्दा नेकपाका नेता कार्यकर्ता, कलाकार थप उत्साहित हुन्छन् ।

मुलुकमा कम्युनिष्ट भनिनेहरुको दुई तिहाईको सरकार भएपनि जनताका आधारभूत समस्या जस्ताको त्यस्तै रहेका,महंगी,भ्रष्टाचार,हत्या,हिंसा बढेको,नेपाली भूमि अतिक्रमण हुंदै ६० हजार हेक्टर भन्दा बढी गुमेको,ब्यापार घाटा चुलिएको,सरकारले बलात्कारी,सुन तस्कर र सिण्डिकेटलाई संरक्षण गरिरहेको जस्ता कारणले जनतालाई यसबारे बुझाउन र एकीकृत जनक्रान्तिका लागि तयार रहन आव्हान गर्न जनवादी देउसी भैलोलाई माध्यम बनाइएको अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनीका संयोजक खोमा तरामु मगरले बताए । हामीलाई अरु बेला कार्यक्रम गर्दा सरकारले दमन र हस्तक्षेप गर्ने भएकाले तिहारको अवसरमा जनतामाझ आफ्नो पार्टीका कुरा राख्न आएको उनले बताए । जनवादी देउसी भैलोमा आत्मा पौडेल, एन्जल जीएम, बिहानी मगर, प्रकाश घिमिरे, आरजु राना, सन्देश थापा,लगायतका डेढ दर्जन कलाकार रहेको क्षितिज सांस्कृतिक परिवारका संयोजक संयोगले जानकारी दिए ।

२१ गते रुद्रपुरबाट शुरु भई पाँच दिनसम्म आइपुग्दा जनताबाट अपार माया,स्नेह र समर्थन पाएको र करिब १० लाख ५२ हजार २ सय स्वेच्छिक आर्थिक सहयोग जुटेको महासंघका संयोजक तरामु मगरले बताए । महासंघले रुद्रपुरको हरैया बजार, गरगरे, सालझण्डी बजार, झिमझिमे बजार, बाँसगढी, रामापुर कलोनी बजार, मुर्गिया चोक, नयाँगाउँका विभिन्न स्थान, जितगढी किल्ला, बुटवलको मैनाबगर, चन्द्रनगर, सुख्खानगर, तिनकुने चोक, शंकरनगर, शान्ति चोक, देवदहको खैरेनी बजार लगायत झण्डै दुई दर्जन स्थानहरुमा जनवादी देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

देवदह नगरपालिकामा रहेको खैरेनी बजारमा नगरपालिकाले साउण्ड सिस्टम सहित देउसी भैलो खेल्न रोक लगाएको भएपनि विप्लव नेतृत्वको नेकपाले अपार जनताको सहभागितामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज संगमले पार्टीले राज्यसत्तालाई नै अस्वीकार गरेको भन्दै कसैले भनेर आफ्नो पार्टीको कुनै पनि कार्यक्रम नरोकिने बताए । सेक्रेटरी अमरले जनवादी देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमको माध्यमद्धारा पचासौं हजार जनतासंग प्रत्यक्ष भेटघाट तथा पार्टीको राजनीतिक सन्देश पुर्याएको बताए ।
खेम थपलियाकाे फेसबुक स्टाटसबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार