»» तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ताटोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्र्नुभएको हो ?

होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेलेर फाल्ने एकीकृत जनक्रान्तिमा छ ।

जनयुद्ध अन्त्य गरिएपछि तपाईं नेता भएको बेलामा, माओवादी आफैँले सरकारको नेतृत्व पनि ग¥यो । अन्य दलको नेतृत्वमा त धेरैपटक सहभागी भएको थियो । यो लामो अवधिमा केके सकारात्मक र नकारात्मक परिवर्तन देख्नुभयो ?

दस वर्षको महान् नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्ध नेपाल राज्य बनेपछिको अर्को नयाँ र गुणात्मक परिघटना हो । यसले पहिलोपटक जनताको सत्ता, जनताको अर्थतन्त्र, जनताको सेना, जनताको कानुन, अदालत, प्रशासन पैदा गरेको थियो । २०६२—६३ पछि इतिहासकै नवीनतम् उपलब्धिहरूलाई विश्वभरिका पुँजीवादी—साम्राज्यवादी—उत्तरसाम्राज्यवादी र पार्टीभित्रका आत्मसमर्पणवादी—विसर्जनवादीहरूको साँठगाँठ र लेनदेनमा समाप्त पार्न खोजियो । यो नेपालका लागि मात्र होइन, विश्व–कम्युनिस्ट आन्दोलनकै लागि नकारात्मक परिघटना हो । यी कार्य म नेता भएको बेलामा होइन, प्रचण्ड नेता भएको बेलामा भएको हो । म र हामी नेतृत्व—टोलीमा थियौँ । धोका भएको देखेपछि उनका विरुद्ध विद्रोह ग¥यौँ । जहाँसम्म सकारात्मक उपलब्धिको कुरा छ, सुधारवादी—संशोधनवादी—कानुनवादी कोणबाट हेर्दा सामन्तवादको अन्त्य भएको छ, दलाल पुँजीवादी भएपछि गणतन्त्र आएको छ । तर यहाँ कम्युनिस्ट घोषणापत्रमा माक्र्स—एङ्गेल्सले भनेजस्तै युद्धरत दुवै पक्ष परास्त भएका छन् र बीचको दलाल पुँजीपति वर्ग सत्तासीन बन्न पुगेको छ । यो इतिहासको विडम्बना र मजाक हो । तथापि क्रान्तिकारीहरूले यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्दै एकीकृत जनक्रान्तिको नयाँ अध्याय सुरु गरिसकेका छन् । यो सबैभन्दा सकारात्मक र सुखद पक्ष हो ।

»» नेपाली राजनीति आउने १० वर्षमा कहाँ पुग्ने देख्नुहुन्छ ? नेपाल र नेपाली सर्वसाधारण जनताको जीवनस्तर कहाँनेर देख्नुहुन्छ ?

मैले पहिले पनि चर्चा गरेँ, १० वर्षमा नेपाली राजनीति आमजनताले कम आकलन गरेको दलाल पुँजीवादी मार्गमा हिँडिरहेको छ । सबैले, विशेषतः श्रमिक जनताले के आशा गरेका थिए भने लगभग ८० प्रतिशत भूभागमा विजय हासिल गरिसकेको जनयुद्ध र जनसत्ताले पूर्णता पाउनेछ कि त प्रतिक्रियावादी सत्तासँगको युद्ध उत्कर्षतिर जानेछ । आश्चर्य ! यहाँ के भयो तपाईंलाई थाहै छ । विजयउन्मुख कम्युनिस्ट पार्टी र श्रमजीवी जनताले हार्नुप¥यो, जनयुद्धबाट निर्माण गरेका सत्ता विघटन भए भने हामीसँग आमनेसामने युद्धरत राजतन्त्र र शाहीसेनाले पनि हा¥यो । सत्तामा टप्किन त कताबाट दलाल पुँजीपति वर्ग पो आइपुग्यो । जनतामाथि दलाल पुँजीवाद लादिएपछि जनता र देशको अवस्था चौतर्फी रूपमा सङ्कटपूर्ण बन्दैछ । राष्ट्रघात, भ्रष्टाचार, जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार, महँगी अचम्मै लाग्दो गरी मौलाएका छन् । यो कैयौँ अर्थ (राष्ट्रियता) मा राजतन्त्रभन्दा पनि खराब र खतरनाक छ । जस्तो कि सिक्किमलाई यस्तै दलालहरूले बेचेर खाएका थिए ! तर आज पुनः दलाल पुँजीवादी सत्ताका विरुद्ध नयाँ क्रान्तिको प्रक्रिया अगाडि बढिसकेकाले यो सिक्किमचाहि हुनेछैन ।

»» तपाईंलाई कतिपयले ‘प्रचण्ड भाग दुई’ का रूपमा अथ्र्याइरहेका छन् । सर्वसाधारण जनताले अबको परिवर्तनको नेतृत्व गर्ने तपार्इं हो भन्ने विश्वास दिलाउने आधार केके छन् ?

हो, केही पतीत र जासुस तत्वहरूले यसो भन्थे र भन्दा हुन् ! क्रान्तिकारीहरूमाथि हुने घेराबन्दी र हमलाको एउटा रूप हो यो । हामी सबैलाई प्रचण्डजस्तै बनाउने र वैज्ञानिक समाजवाद तथा क्रान्तिप्रति भीषण अविश्वास फैलाउने, नसकेपछि क्रान्तिकारीहरूप्रति अविश्वास पैदा गरिदिने र जनतालाई आफ्नो भाग्यको फैसला गर्ने महान् क्रान्ति र वैज्ञानिक समाजवादबाट विमुख गर्ने तरिकाका रूपमा यसो भनिँदैछ । कुनै सीप नचलेपछि ‘अङ्गुर अमिलो छ’ भन्ने तरिका हो । तर यो पनि अब च्यातचुत भइसक्यो भन्ने लाग्छ ।

जहाँसम्म हाम्रो पार्टी र मेरो नेतृत्वको सवाल छ यसको सबैभन्दा ठूलो विश्वसनीयता भनेको सारा पुँजीवादी—साम्राज्यवादी—उत्तरसाम्राज्यवादीहरूको लोभलालच, डरधम्की र जोखिमहरूलाई पूर्ण रूपले बेपर्वाह गर्दै साथै पार्टीभित्रका घोर आत्मसमर्पणवादी—विसर्जनवादीहरूका अनेकौँ लोभलालच र घेराबन्दीलाई ध्वस्त पार्दै जनता, क्रान्ति, देश भनेर क्रान्तिको आँधीबेहरीमा होमिनु नै हो । निजी जीवन र अवसरवादी राजनीतिक समूहका सम्पूर्ण स्वार्थहरूलाई लत्याएर वैज्ञानिक समाजवादी आदर्शमा उभिन आइपुगेपछि तपाईंले उठाउनुभएका जिज्ञासाहरू अर्थहीन हुन्छन् ।

»» केपी ओली नेतृत्वको डबल नेकपासहित काङ्ग्रेस पनि आर्थिक समृद्धिकै कुरा गरिरहेको छन् । समृद्धि भन्ने शब्द नेपाली राजनीतिक बजारमा खुबै चर्चामा छ । यसबारे तपार्इंको धारणा के हो ?

हो, यो चर्चामा छ । तपाईंलाई थाहा छ– मान्छेलाई दास बनाएर पशुजस्तो बेचबिखन गर्दा पनि मालिकहरूले समृद्धिकै लागि भन्थे । साम्राज्यवादले विश्वलाई लपेटामा पारेर अमानवीय लुटपाट र नरसंहार गर्दा पनि संसारमा समृद्धि बाँड्न हिँडेको भन्थे । आज पनि पुँजीवादीहरूले जनतालाई आफ्नो हैकमभित्र राख्नका लागि समृद्धिकै कुरा गरिरहेका छन् । नेपालको हकमा हेर्नुस् न सत्ता पुरानै, संरचनाहरू पुरानै, अर्थतन्त्र पुरानै, वर्ग पुरानै भएपछि अनि केपी—प्रचण्डले समृद्धि कहाँबाट टप्काउने हुन् ! के यिनले आकाशबाट झार्ने हुन् ! १३ वर्ष अगाडिका प्रचण्डका तर्क हेर्नुस् न, त्यसबेला एमालेका केपी वली, माधव नेपाल, झलनाथ, काङ्ग्रेसहरूले बहुदलीय प्रजातन्त्र र समृद्धिको प्रचार गर्दा के भन्थे ? साम्राज्यवादका पिट्ठु, पाले, नोकर, दलाल, जनतालाई झुक्याउने फटाहा भन्दैनथे र ! अनि एमाले, काङ्ग्रेसलाई बढारेर फाल्नुपर्ने तर्क गर्दैनथे र ? समृद्धिका लागि सामन्ती, दलालहरूको सत्तालाई जरैबाट फाल्नुपर्ने भन्दैन थे र ! अनि उनै नेता, उही सत्ता कसरी जनताको समृद्धि हुन्छ ? यो सबै आफ्नो पश्चगामी, प्रतिगामी, पतनलाई लाज छोप्ने खोल हाल्न खोजेको मात्र हो । यसमा अब त कसैलाई विश्वास पनि छैन । केचाहिँ निश्चित हो भने दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना भयो भने साँच्चिकै समृद्धि हुन्छ । यो झूटो आश्वासन होइन, इतिहाससिद्ध तथ्य हो ।

»» चुनावताका सयौँ बम पड्के । तपार्इंंकै कार्यकर्ता पनि घाइते भए । एकजना त मारिए । किन तपार्इंको पार्टी यसबारे मौन बसेको हो ? जिम्मा नलिएको हो कि लिन नमिलेको हो ? कारण के हो ?

यो प्रचार पनि उत्तेजना फैलाएर नेता र कार्यकर्ताहरूलाई दुर्घटनामा पार्ने नियतले चलाइएको हो । तपाईंले भनेजस्तो कुरा कहाँ हो ? हामीले प्रतिक्रियावादी चुनाव खारेज गर्ने भन्यौँ, पोस्टर निकाल्यौँ, पर्चा र अपिल निकाल्यौँ । सशक्त कारबाही चलाउने बतायौँ । दमन भए प्रतिरोध गर्ने भन्यौँ अनि त्यसै ग¥यौँ र जिम्मा पनि त लियौँ । एक हजारजति नेता र कार्यकर्ता गिरफ्तार पर्नुभयो । तपाईंले पनि रेडियो, टीभीले भनेको सुन्नुभयो नै होला । हामीले सङ्घर्ष ग¥यौँ । प्रतिरोध सङ्घर्षमा एक होइन, दुईजना कमरेडहरू– कमरेड सनराइज र कमरेड धनरूप सहिद हुनुभयो । हामीले सहिद नै घोषणा ग¥यौँ । उहाँहरूको स्मृतिमा सभाभवनहरू नै बनाइरहेका छौँ । घाइतेहरूलाई उपचार ग¥यौँ । प्रतिरोध सङ्घर्षमा चुनावी बुथहरू कब्जा भए । प्रहरीहरूलाई प्रतिरोध गरियो अनि कहाँ भयो अन्योल ! आज पनि त दलाल, कमिसनखोर, भ्रष्ट नेता, नोकरशाह, पुँजीपतिहरूमाथि कारबाही दनादन भइरहेकै छन् । के यी विषय घामझैँ छैनन् र ! जिम्मा भनेको के हो ? बमलाई हातमा तुर्लुङ्ग झुन्ड्याएर ल हेर बम, अब हान्दै छौँ होसियार भन्दै चोकचोकमा उभिन जाने हो ? हेक्का राख्नुहोला यो प्रचार दुर्नियतपूर्ण छ ।

»» तपार्इंं र तपाईंको पार्टी नेता/कार्यकर्ता भूमिगत छन् भन्ने चर्चा सुनिन्छ । किन ?

यो शब्दलाई नै हामीले पुरानो, काम नलाग्ने भइसकेको भनेर भनिसकेका छौँ । यो शब्द पनि कि त क्रान्ति गर्न नसक्ने केवल क्रान्तिको झ्याली पिटेर क्रान्तिकारी भइटोपल्नेले गरेको प्रचार हो कि त प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूलाई जनताबाट अलग गर्नका लागि फैलाएको शब्द हो । यसमा खास ठूलो रहस्य र अर्थ छैन ।

जब क्रान्ति जनताका लागि गरिन्छ भने जनताले नै क्रान्तिको रक्षा गर्ने हो । जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो अनि एक क्रान्तिकारी जनताको बीचमा रहने, बस्ने कुरालाई केको भूमिगत ! भूमिगत त ती तत्व छन् जसले क्रान्तिमा धोका दिएका छन्, गद्दारी गरेका छन् । वार्ताका नाममा जनता र देशलाई धोका दिएर जनताले क्रान्तिबाट हासिल गरेका उपलब्धिहरूलाई नास पारेका छन्, ती तत्व पो प्रहरी र सेना नभएसम्म पाइला नसारेर भूमिगत छन् । हेलिकोप्टर र प्लेनबाहेक हिँड्नै छोडेर जनताबाट भूमिगत भएका छन् । हाम्रा नेता–कार्यकर्ता सबै पूरा जोसजाँगरका साथ पार्टीका अभियानहरूमा डटेका छन् र क्रान्ति चलाइरहेका छन् ।

»» नेपालमा तपाईंले देखेका तीन मुख्य समस्या केके हुन् ?

केको तीन–चार समस्याका कुरा भए र दलाल पुँजीवादी सत्ताभित्र ! सिङ्गै सत्ता जनताका विरुद्ध भएपछि केको तीन–चार समस्या ? नेपालको मुख्य भनेको एक समस्या हो । त्यो हो– दलाल पुँजीवादी सत्ता । नेपाली जनताको अधिकार, देशको स्वाधीनता र शान्तिका लागि, जहिलेसम्म यो रहन्छ जनताले अकथनीय दुःख र पीडा झेलिरहनु पर्नेछ ।

»» तपाईंको पार्टीले जनयुद्धको ‘लिगेसी’ लिन्छु र म नै हुँ असली माओवादी भनेर दाबी त गरेको छ तर पत्याउने आधार के छन् ? विचार मात्र राखेर नपुग्ला । लडाइँ गर्नु परे सेना पनि चाहिएला । छ त तपाईंको पार्टीसित सेना ? छ भने लड्न सक्ने जति छ त ?

ठिकै भन्नुभयो । जनयुद्ध मात्र होइन, नेपाली क्रान्तिहरूको उत्तराधिकारी हामी र हाम्रो पार्टी हो । त्यो मुख्यतः सैद्धान्तिक विचारकै कारणले हो । जहाँसम्म सेनाको कुरा उठाउनुभयो, सेना दुईवटा शक्तिसँग मात्र हुन्छ : एउटा सत्ता सञ्चालन गर्ने वर्गसँग, अर्को प्रतिक्रियावादी सत्तालाई मिल्काउन चाहने क्रान्तिकारी वर्ग र शक्तिसँग । जनमुक्ति सेनाका बारेमा अब सायद सत्य कुरा भन्ने वेला भयोजस्तो लाग्छ । प्रचण्ड—बाबुरामहरूले महान् जनमुक्ति सेना विसर्जन गर्दा नै हामीले प्रतिरोध गरेका थियौँ र क्रान्तिलाई साथ दिन चाहने जनमुक्ति सेनाका कमान्डरहरूको भेला गरेका थियौँ । त्यसमा कम्पनी सहकमान्डरभन्दा माथिका मात्र ४०० भन्दा बढी भेला भएका थिए । पछि हामीले सदस्यहरूको पनि देशैभरि भेला ग¥यौँ । जब किरणसँग हामीले विद्रोह ग¥यौँ त्यसको एउटा कारण यही थियो । पछि हामीले जनमुक्ति सेनाको गौरवपूर्ण इतिहास रक्षा गर्दै जनमुुुक्ति सेनालाई पुनर्गठन ग¥यौँ । आज जनता खाली छैनन् । जनतासँग क्रान्तिलाई अगाडि बढाउने महान जनमुक्ति सेना छ । यसको सङ्ख्या तपाईले भनेजस्तो केकति भन्नेतिर नजाऔँ । क्रान्ति सञ्चालन गर्नसक्ने र विजय हासिल गर्दै जानसक्ने स्तरमा छ ।

»» तपाईंको पार्टीको बाटो के हो ? सशस्त्र हो कि शान्तिपूर्ण ? जनता भन्छन्– देख्दा शान्तिपूर्णजस्तो देखिन्छ फेरि होइनजस्तो पनि देखिन्छ । कार्यकर्तालाई मुद्दा लागेको छ । तिनै कार्यकर्तालाई शान्तिपूर्ण आन्दोलनमा पनि पठाउनुहुन्छ ।

यस्ता प्रश्न तपाईं किन सोधिरहनुभएको छ ? अघि पनि भूमिगतको चर्चामै मैले धेरै भनिसकेँ । पहिले पनि धेरै ठाउँमा यसबारे व्याख्या भइसकेको छ । क्रान्ति यति अगाडि बढिरहँदा पनि तपाईंले आदिमकालको जस्तो प्रश्न सोध्नुभयो ! क्रान्ति भनेको के हो ? काङ्ग्रेसले राणाविरुद्ध गरेको क्रान्ति, एमालेले पञ्चायतविरुद्ध गर्न खोजेको तर नसकेको क्रान्ति, प्रचण्डहरूले १० वर्ष चलाएको र पछि बेचेर खान खोजेको क्रान्ति (जनयुद्ध), भोगेर, पचाएर, बुझेर यहाँ पुग्दा पनि यस्तो प्रश्न सोध्ने ! यो त जनतालाई पनि ज्ञान भइसकेको विषय हो ।

»» तपाईं र तपार्इंको दलविरोधीले तपाईं पार्टी त सङ्घीयता, पिछडिएका जाति, क्षेत्र र लिङ्गलाई मूलधारमा ल्याउने समावेशी मुद्दाकै विरोधी भनेर व्याख्या गरिरहेका छन् । साँचो हो भने श्रमजीवी र राज्यसत्ताले डामेका जाति र क्षेत्रलाई अधिकार सम्पन्न बनाउने तपाईंका आधार केके हुन् ?

हो, केही तत्वहरूले केही वर्ष अगाडिसम्म यो प्रचार गरेका थिए तर यो प्रचार गर्ने तत्वहरूको नै धोती खुस्किसक्यो । यस्तो प्रचार बढी नयाँ जनसत्ताहरू, जनयुद्ध र जनमुक्ति सेना समाप्त पार्न र नेपालमा दलाल पुँजीवादी सत्ता फर्काउन चाहने तत्वहरूले क्रान्तिकारी पार्टी र नेताहरूबारे भ्रम पार्न, दुईचार दिन भए पनि पिसाबको न्यानो गर्न यस्तो प्रचार गरेका थिए । हामीले यो सत्य जनतालाई स्पष्ट गर्दै आयौँ । अन्ततः जब नेपालमा सत्ता दलाल पुँजीपति वर्गको हातमा पुग्यो तब कुनै पनि उत्पीडित वर्ग, जाति, लिङ्ग सन्तुष्ट भएनन् । उनीहरूले के बुझे भने सत्ता जनताको नभएसम्म अर्थात् वैज्ञानिक समाजवादी सत्ता स्थापना नभएसम्म कुनै पनि उत्पीडित वर्ग र जातिले मुक्ति पाउँदैनन् ।

सत्ता दलाल पुँजीपति वर्गको हातमा दिने अनि श्रमिक र उत्पीडितले अधिकार पाएनन् भन्ने कुरा नै मिल्दैन । किनकि दलाल पुँजीपति वर्गको सत्ता बन्ने र चल्ने नै श्रमिक वर्ग र जाति, समुदायको उत्पीडन गरेर हो । त्यसैले त वैज्ञानिक समाजवादी सत्ताको अनुसन्धान भएको हो ।

जहाँसम्म समानुपाती, समावेशी, सङ्घीयताजस्ता शब्दहरूको प्रयोग छ यो वैज्ञानिक समाजवादमा स्वतः हुन्छ किनकि यसको सार भनेको नै सत्ताद्वारा उत्पीडितहरूले सत्ता सञ्चालन गर्ने अधिकार प्राप्त गर्ने हो त्यो समाजवादमा मात्र हुन्छ । पुँजीवादभित्र भट्याइने यी शब्द छन् नि, यी चोरहरूले सदाचारको टोपी लगाएर जनतालाई झुक्याउन हिँडेजस्तो मात्र हो । रात परेपछि त चोरहरूले लुटपाट सुरु गरिहाल्छन् ।

»» ओली सरकारले काम गर्न नसके असन्तोष र अस्थिरता दुवै चर्केला । त्यसलाई नेतृत्व गरेर परिवर्तन गर्न कोही त आउलान् नै । तपाईंको पार्टीले नै त्यस्तो वैकल्पिक धार दाबी गर्ने मुख्य आधार केके हुन् ?

पत्रकार मित्र, यो केपीको सवाल होइन, यो दलाल पुँजीवादी सत्ताको सवाल हो । केपी—प्रचण्ड त यसका प्यादा र हतियार मात्र हुन् । केपीको सट्टामा काङ्ग्रेस, राप्रपा, फोरम जो पुगे पनि हुने यस्तै हो । केपीले फुर्फुर गर्नु त भ्रम वा बेइमानी मात्र हो । यिनको परम शक्ति प्रभु त दलाल पुँजीवादी सत्ता हो । यसको प्राणपखेरु दिल्ली, सिङ्गापुर, बैङ्ककका कोठीहरूमा छ । उसको इच्छा फेरियो भने केपीको मिति समाप्त हुन्छ । केही दिनदेखि यसका सङ्केतहरू देखिन थालिसकेका छन् । केपी—प्रचण्डहरूको मूर्खता देखेर मान्छे हैरान छन् ।

हामीले आउँदो क्रान्तिका लागि केही महत्वपूर्ण आधारहरू पेस गरेका छौँ । पहिलो त हामीले क्रान्तिका लागि आफैँलाई सम्पूर्ण रूपले तयार गर्ने हो । दोस्रो, हामी क्रान्तिकारी पार्टी, शक्तिहरूसँग सम्भव भएसम्म एकता, त्यो नभए संयुक्त मोर्चा निर्माण गरेर क्रान्तिलाई अगाडि बढाउने नीतिमा दृढ छौँ । तेस्रो, हामी देशभक्त शक्तिहरूसँग राष्ट्रिय स्वाधीनता र राजनीतिक परिवर्तनका लागि संयुक्त मोर्चा निर्माण गरेर काम गर्न तयार छौँ । चौथो, सच्चा लोकतान्त्रिक शक्तिहरूसँग पनि संयुक्त मोर्चा बनाएर जनताको पूर्ण स्वतन्त्रता र अधिकारका पक्षमा काम गर्न तयार छौँ । पाँचौँ, सम्पूर्ण राष्ट्रिय, जातीय, लैङ्गिक मुक्तिका लागि सङ्घर्षरत जनवादी शक्तिहरूसँग पनि आमूल परिवर्तन र पूर्ण अधिकारका लागि मिलेर लड्न तयार छौँ ।

हामी सबै शक्तिलाई विश्वस्त पार्न चाहन्छौँ– दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गर्ने महान् क्रान्तिमा हातेमालो गरेर जाऊँ, नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको विकल्प छैन । नेपाली श्रमिक जनताले वैज्ञानिक समाजवादलाई अवश्य नै साथ दिनेछन् । वैज्ञानिक समाजवादले मात्र सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक, देशभक्त, राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध गर्न सक्छ साथै सबै जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधीन बनाउन सक्छ ।

(अङ्ग्रेजी अनलाइन https://www.recordnepal.com/wire/comrades-at-war/
मा प्रकाशित महासचिव क. विप्लवको अन्तर्वार्ता नेपालीमा भाषान्तरण गरी प्रकाशित गरिएको हो– सम्पादक ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार