जनयुद्ध गणतन्त्रका लागि कोशेढुंगा हो । आँधी–तुफान हो । गणतन्त्रकै लागि कैयौँ जवानहरूले ज्यान तेजेका छन् । अग्निमा चरु होमेझैँ जीवन आहुती दिएका छन् ।
माओवादी आन्दोलन जंगलको डढेलोझैँ मुलुकव्यापी फैलिइरहँदा कैयौँ किशोरकिशोरी पनि जनमुक्ति सेनामा भर्ती भए ।

उमेरको कुनै छेकवार लागेन । परिवर्तनका लागि काँधमा राइफल बोके । अहिले त्यसको फल सीमित नेताहरूको पोल्टामा परेको भन्दै पूर्वमाओवादी लडाकुहरू आन्दोलित छन् । र, राज्यसँग दुवै हात थापेर आफ्नो अधिकार मागिरहेका छन् । कहिले मुख्यालय कब्जा गर्छन्, कहिले हक स्थापित गर्न टाउकामा लाठी थाप्छन् । केहीले त हार मान्नु भएर आत्महत्याको बाटोसमेत रोजे ।

सत्तामा आसीन र राज्यको उपल्लो तहमा पुगेकाहरू भन्दैछन्– अधिकार प्राप्तिको सङ्घर्षका दिन सकिए । समृद्धि र विकासको युगको सूत्रपात भयो ।

तर, अयोग्य भनी घर फर्काइएका पूर्व बालसैन्य, जनमुक्ति सेनाका लडाकुहरू भन्छन्– “लडाइँ अझै बाँकी छ । सङ्घर्षको बाटो अझै टुङ्गिइसकेको छैन । यही परिस्थिति रहिरह्यो भने बन्दुक उठाउने दिन टाढा छैन ।”

यस्तैमध्येका एक हुन्– कुलप्रसाद भट्टराई उर्फ ‘कुसम’ । १७ वर्षको उमेरसम्म उनको कथा अलग्गै थियो । कालिकोट मेहेलमुडीका भट्टराईको मगजमा पनि जनयुद्धको रापताप चढ्यो । किशोर उमेर पार नहुँदै २०५८ सालमा उनी माओवादी आन्दोलनको हिस्सा बने । युद्धका किस्सा बने ।

जनमिलिसिया हुँदै माओवादीमा प्रवेश गरेका भट्टराई तत्कालै जनमुक्ति सेना बनाइए । प्लाटुन कमान्डर भइहाले । अर्घाखाँची सदरमुकाम सन्धीखर्क, म्याग्दी सदमुकाम बेनी, बर्दियाको बेलासपुर, कैलालीको आमखैया, भजनी, जुम्लाको खलङ्गा भिडन्तमा फर्स्र्ट एसल्टमा राइफल पड्काएका भट्टराई कालीकोटको पिली आक्रमणमा समेत सहभागी भए । र, त्यही भीडन्तमा उनको शरीर बम–बारुदले चाल्नो बन्यो । त्यही छिद्र उनको लागि ‘दुःस्वप्न’ बन्न पुगेको छ ।

बन्दुकदेखि विषसम्म !

परिवर्तनको रुमानी सपना मन–मस्तिष्कमा सजाएका भट्टराई यतिबेला जीवन र मरणको दोसाँधमा छन् । गणतन्त्र ल्याउन बम–बारुदको मुस्लोभित्र होमिएका भट्टराईको उपचार गर्दा–गर्दा जायजेथा सकियो ।

झन्डै सात लाख रूपैयाँ ऋण लाग्यो । तैपनि शरीर सद्दे भएन । सरकारले पनि उपचारमा कुनै सहायता गरेन । यही पीरले उनले आत्महत्याको बाटो रोजे । र, जनयुद्धका सैन्य कमान्डर र वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै समीपमा विष पिएर मृत्युको प्रयास गरे । ५ मंसिर अर्थात् विस्तृत शान्ति–सम्झौताको १२ वर्ष पुगेकै दिन उनले झन्डै आफ्नो ज्यान लिए ।

उच्च सुरक्षा घेराकै अघिल्तिर विष खाएकाले उनी मृत्युबाट त जोगिए । तर, भविष्य जोगिएको छैन । छर्राको पीडा पन्छिएको छैन ।

सात लाख ऋणले उठीबास लगाउने तयारी गरिरहँदा परिवारको थाप्लोमा अर्को समस्या आइलागेको छ– भट्टराईको प्राण–रक्षा कसरी गर्ने ? जीवन कसरी जोगाउने ?

पोहोरमात्रै बिहे गरेकी २३ वर्षकी श्रीमती सरिता छिनछिनमा बेहोस हुन्छिन् । ‘पति कहिले निको हुन्छन् ?’ भन्दै बर्बराइरहन्छिन् । कालिकोटमै रहेका उनका बाबुआमालाई थाहासम्म दिएको छैन । भाइको टीठलाग्दो अवस्थाको साक्षी बस्नुपरेकामा दाजु हंशराजको पनि होसहवास उडेको छ ।

युद्धको अवशेषले परिवारलाई विघटनको दिशातिर हुर्याउला कि भन्ने चिन्ता त छँदैछ ।

बाह्रखरी अनलाइनले गरेकाे टिप्पणीकाे सम्पादित अंश।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार