सबैभन्दा पहिले हाम्रो पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा गरेको जनप्रदर्शनसहितको सभाबारे व्यक्त प्रतिक्रिया हेरौँ :

‘यो सोचेभन्दा राम्रो भयो । सोचेभन्दा धेरै जनता आए । गाउँका सबै उप्केर आइगए । बेरोजगारलाई रोजगार भो’ आदि । यी बाह्य प्रतिक्रिया हुन् जो स्वाभाविक पनि छन् तर हामीले त यो सोचेजस्तै भयो । हाम्रो नीति र योजनाअनुसार नै भयो । त्यसैले हाम्रो कुरा बुझाउन यो कार्यक्रमद्वारा पार्टीले भन्न खोजेको र दिन खोजेको सन्देश के हो त ? यहाँ यसबारे सङ्क्षिप्त चर्चा गरौँ—

हामी नेपालको एक राजनीतिक पार्टीको प्रतिनिधिको हैसियतले आफ्ना जनतासँग छलफल गर्न चाहन्छौँ र उनीहरूलाई विनम्रताका साथ सोध्न चाहन्छौँ– के तपाईंहरू अहिलेको आफ्नो जीवनसँग, देश र समाजको व्यवस्थासँग सन्तुष्ट हुनुहुन्छ ? हुनुहुन्न भने किन हुनुहुन्न ? के तपाईंहरूले विगतमा गरेको कठिन र बलिदानीपूर्ण सङ्घर्ष अहिलेको यही जीवन भोग्न र देशको यही व्यवस्था देख्नलाई थियो ? थिएन भने सोच्नुहोस् र प्रश्न गर्नुहोस् अनि उत्तर खोज्ने हिक्मत गर्नुुहोस् किनकि तपाईंहरूलाई थाहा छ– हामी वर्तमान राज्यव्यवस्थासँग सन्तुष्ट छैनौँ र यसका विरुद्ध वैकल्पिक व्यवस्थाका लागि सङ्घर्षरत छौँ साथै हामीलाई थाहा छ– तपाईंहरू कोही पनि सन्तुष्ट हुनुहुन्न । त्यसो भए के असन्तुष्ट हुनु नराम्रो कुरा हो ? होइन, यो त राम्रो कुरा हो किनकि आजका सबै देश, समाज र व्यक्ति जो विकास र समृद्धिको उच्च शिखरमा पुगेका छन्, ती आफ्नो प्रगतिमा सन्तुष्ट भएर हैन, बरु असन्तुष्ट भएर पुगेका हुन् । त्यसैले अहिलेको व्यवस्थासँग जनता किन असन्तुष्ट छन् ? यसको कारण र समाधान के हो ? यसबारे छलफल गर्न पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँ केन्द्रित भएका हौँ, यो बेला हामीलाई प्रेरित गर्ने महान् सहिद, घाइते, बेपत्ता योद्धा र उनका परिवारलाई विशेष सम्झना र सम्मान गर्नुपर्छ र अविराम क्रान्तिमा लागिरहने जनता, कार्यकर्ता र नेतालाई धन्यवाद दिनुपर्छ ।

हामीले छलफल गर्न चाहेको पहिलो विषय राजनीति स्वतन्त्रताको हो । हामीले वर्तमान राज्यव्यवस्थामा जनतासँग छलफल गर्ने राजनीतिक स्वतन्त्रता नै पाएनौँ । हामीले नेपालको शान्तिप्रक्रियाका बारेमा छलफल गर्न चाह्यौँ र शान्तिप्रक्रिया असफल हुँदैछ भन्यौँ । दोस्रो संविधानसभाबारे छलफल गर्न चाह्यौँ र भन्यौँ– यसमा नेपालकै राजनीतिक स्वतन्त्रता गुम्यो । वैदेशिक शक्तिकेन्द्रको स्वार्थ छ– हामीले नेपालको संविधानका बारेमा छलफल गर्न चाह्यौँ र भन्यौँ– यसले पुरानै असफल संसदीय व्यवस्था फर्कायो यसबाट देश र जनताको समस्याको समाधान हुँदैन । फेरि मङ्सिर ८ को महासचिव क. विप्लवको वक्तव्यमा भनिएको छ, ‘यो दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो हुनेछैन ।’ जब यही संविधानअन्तर्गत चुनाव भयो तब हामीले यसबारे छलफल गर्न चाह्यौँ र बहिष्कारको अपिल गर्न जनसभा आयोजना ग¥यौँ तर हामीलाई जनसभा नै गर्न दिइएन । वास्तवमा हामीले जे भन्यौँ त्यही सही साबित भएको छ । अहिले त हामीलाई अघोषित प्रतिबन्धजस्तै छ । यसरी हामीलाई सत्य कुरा बोल्न रोकेर राजनीतिक स्वतन्त्रताको अधिकारबाट वञ्चित गरिएको छ । त्यसैले यहाँ ‘…काल पल्केको चिन्ता हो ।’ तपाईंहरूले देख्नुभयो ? राज्यले काठमाडौँमा निषेधित क्षेत्र तोकेको छ, जनसभा गर्न प्रतिबन्ध गरेको छ अर्थात् निश्चित ठाउँ तोकेको छ । हामीलाई जनसभा गर्ने ठाउँ नै भएन, नयाँ प्रेस कानुन ल्याएर प्रेस स्वतन्त्रता कुण्ठित गरेको छ । नेताहरू भीआईपीबारे प्रश्न उठाउन नपाइने गरी सामाजिक सञ्जालमा नियन्त्रण गर्न खोजेको छ । समग्रमा यो राज्य देश र जनताको राजनीतिक स्वतन्त्रता कुण्ठित गर्दैछ । यो जनयुद्ध र जनआन्दोलनको उद्देश्यविरुद्ध छ । त्यसैले वर्तमान राज्यले क्रान्तिको हैन, प्रतिक्रान्तिको प्रतिनिधित्व गरिरहेको छ ।

दोस्रो हामीले छलफल गर्न चाहेको विषय हाम्रो पार्टीको नीतिका बारेमा हो । हाम्रो काम राज्यव्यवस्थासँग असन्तुष्ट भएर गुनासो गर्ने मात्र हैन, बरु यसको विकल्प र त्यो प्राप्तिको बाटोबारे आफ्नो नीति स्पष्ट पार्ने प्रमुख दायित्व हो । त्यसैले हाम्रो पहिलो नीति हो— देश र जनताको राजनीतिक स्वतन्त्रताको सुनिश्चितता गर्ने नयाँ राजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्ने । यो सन्दर्भमा महासचिवको सोही वक्तव्यमा भनिएको छ, ‘अहिले जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणाली खोजेका छन् र त्यो वैज्ञानिक समाजवादी व्यवस्था हो’ किनभने अहिलेको राज्यव्यवस्था जोसँग जनताले परिवर्तनको अपेक्षा गरेका छन् सुख, शान्ति र विकासको आशा गरेका छन्, हामीले राजनीतिक स्वतन्त्रताको माग गरेका छौँ । विडम्बना ! स्वयम् यो देश, राज्य र नेतृत्व स्वतन्त्र छैन । ती चाहे कम्युनिस्ट नामधारी सामाजिक दलाल पुँजीवादी हुन् चाहे ती लोकतान्त्रिक नामका दलाल पुँजीवादी हुन्, यी सबै यही नवउपनिवेशिक राज्यका शासक हुन् ।

तपाईंहरूलाई थाहा छ ? आजको भूमण्डलीकृत राजनीति र अर्थनीतिको चपेटामा परेर प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो देश एकपछि अर्को परनिर्भर हुँदै कङ्गालीको दिशामा गइरहेको छ । राज्यले विश्व बैङ्क, व्यापार सङ्गठन, मुद्राकोष, एसियाली बैङ्कका अनुचित सर्तसहितको नीति मानेको छ र उनीहरूको नीति भनेको हाम्रो देशलाई फगत विकसित देशमा उत्पादित मालको बजार मात्र बनाउने, हाम्रो प्रचुर प्राकृतिक सम्पदाको दोहन गर्ने र सस्तो श्रम खरिद गरेर आफ्नो उत्पादनमा झन् वृद्धि गर्ने हो । यसरी हाम्रो देश बेरोजगार र सस्तो श्रम बेच्न विवश आधुनिक दास जन्माउने देशमा परिणत भएको छ । हाम्रो कुनै स्वतन्त्र उत्पादन छैन जो राष्ट्रले निर्यात गरेर आम्दानी गर्न सकोस् । बरु नेपालमा सबभन्दा धेरै उत्पादन हुने आफ्नो श्रम बेच्न विवश श्रमिकहरू र दलालहरू हुन् । ती श्रमिकहरू त स्वतः जन्मन्छन् र विकसित हुन्छन् तर दलालहरू भने योजनाबद्ध लगानीद्वारा उत्पादन गरिन्छन् र उनीहरूद्वारा राज्यव्यवस्था सञ्चालन गरिन्छ जसलाई हामीले संसदीय दलाल पुँजीवादी व्यवस्था भन्छौँ । यो व्यवस्थामा भ्रष्टाचार, बलात्कार, हत्या, वेश्यावृत्ति, करवृद्धि, कमिसनखोरी, माफिया गिरी, महँगी, असुरक्षा, लुटपाट, अराजकता हुनु अनिवार्य छ जसले यो व्यवस्थामा यी खराबीको विरोध गर्छ । त्यो ब्वाँसाको कन्याइ मात्र हो । त्यसैले यो व्यवस्थाअन्तर्गत दिने ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एक झूट र भ्रम हो, बरु आज व्यवहारमा लागू भएको नारा हो गरिब र सङ्कटग्रस्त नेपाल निराश र चिन्तित नेपाली वास्तवमा घनश्याम भुसालहरूको चिन्ता तिनै चिन्तित नेपालीहरूको हो । फेरि पनि यही व्यवस्था कायम हुने हो भने भविष्यमा लागू हुने नारा हुनेछ ‘कङ्गाल र बरबाद नेपाल निरीह र दुःखी नेपाली ।’ त्यसैले देश र जनताको समस्या, अधोगति, बरबादी र सङ्कटको कारक वर्तमान संसदीय दलाल पुँजीवादी राज्यव्यवस्था हो । यो वैदेशिक साम्राज्यवादीद्वारा निर्देशित र नियन्त्रित राज्यव्यवस्था हो । यसको अन्त्य गरेर राजनीतिक स्वतन्त्रता सुनिश्चित गर्ने नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने पार्टीको स्पष्ट मूल नीति हो ।

यो नयाँ राज्यव्यवस्था भूमण्डलीय उत्तरसाम्राज्यवादी राजनीति र अर्थनीतिबाट स्वतन्त्र हुनेछ । यही स्वतन्त्रता प्राप्तिका लागि कार्यक्रमका प्रमुख वक्ता तथा पार्टीका प्रवक्ता क. प्रकाण्डले ‘सबै जनतालाई राष्ट्रिय सेनामा परिणत गर्ने’ पार्टीनीति स्पष्ट पार्नुभएको हो । यसैगरी विगतका असमान सम्झौता खारेज गरेर खुला सिमानाको समस्या हल गरिनेछ । देशको आवश्यकता र अनुकूल शिक्षानीति अपनाइनेछ । सम्पूर्ण जनतालाई शिक्षा र स्वास्थ्य समान र निःशुल्क दिइनेछ । जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र सञ्चार सुविधाको सुनिश्चितता गरिनेछ । देशको जमिनलगायत सम्पूर्ण प्राकृतिक सम्पदा राज्यको हुनेछ र यसको उचित र अत्यधिक प्रयोग गरिनेछ । देशभित्र र बाहिर रहेको कालो धनलाई राष्ट्रियकरण गरेर औद्योगिकीकरणमा जोड गरिनेछ, भ्रष्टाचार र बेरोजगारी समस्या हल गरिनेछ । यसका लागि श्रमिक जनताको एक सङ्क्रमणकालीन एकीकृत राज्य हुनेछ जसलाई वैज्ञानिक समाजवाद भनिनेछ ।

हामीले छलफल गर्न चाहेको तेस्रो विषय हो हाम्रो गतिविधिबारे । हो, हामीले जे गतिविधि गरेका छौँ त्यो वैज्ञानिक समाजवाद ल्याउन गरेका छौँ । हामीले आफ्नो राजनीति विचार जनतालाई बुझाएर सङ्गठन गरिरहेका छौँ । सङ्गठन परिचालन गर्न आर्थिक सहयोग लिएका छौँ । हामी भ्रष्टाचारीलाई कारबाही गर्छौं । राष्ट्रघातीलाई कारबाही गर्छौं । हामी जनघातीलाई कारबाही गर्छौं र दलालहरूलाई कारबाही गर्छौं । यो सब हामी देशको आवश्यकता र जनताको मागअनुसार गर्छौं तर राज्यले यसलाई हिंसाको संज्ञा दिँदै दमन गदछ र नेता–कार्यकर्ताको गिरफ्तारी गर्छ । विगतको सङ्कटकालको सम्झना दिलाउँछ । हामी भने प्रतिरोध गर्न बाध्य हुन्छौँ । यसरी क्रान्ति र प्रतिक्रान्तिको टक्कर चल्छ । यहाँनेर राज्यले हामीलाई कारण बनाएर युद्धको सन्त्रास फैलाउँदैछ किनकि राज्यले हामीलाई दोष लगाई आफैँ युद्ध चाहेको छ । हामीले त युद्ध हैन, क्रान्ति चाहेका छौँ । त्यसैले यहाँ चर्चा गर्न खोजेको क्रान्तिको नयाँ विधि वा कार्यदिशाको हो । हाम्रो देशमा वैज्ञानिक समाजवादका लागी क्रान्ति आवश्यक र अनिवार्य छ तर त्यो पुरानै तरिका वा विधिबाट सम्भव छैन । हामीले यसो भन्दा केही लालबुज्रुकहरू मालेमावादका विरुद्ध उभ्याउँछन् । तर उनीहरू १९८० को दशकयता क्रान्ति हुन नसक्नुको स्पष्ट जबाफ दिन सक्दैनन् ।

अबको क्रान्ति सम्पन्न र सफल गर्ने नयाँ विधि भनेको एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा हो । यो बल प्रयोगको मालेमावादी सिद्धान्तमा आधारित कार्यदिशा हो र यसले आजका विकसित समाजका नयाँ विशेषतालाई सम्बोधन गरेको छ । यो कार्यदिशा भनेको दलाल राज्यव्यवस्थाविरुद्ध सबै जनता एकीकृत गर्दै गाउँ र सहरलाई एकीकृत गर्ने हो । मजदुर, किसान र विद्यार्थीसँग मध्यमवर्ग, राष्ट्रवादीलाई एकीकृत गर्ने हो । क्रान्ति र शान्तिलाई एकीकृत गर्ने हो । अन्त्यमा जनता, सेना र विज्ञान–प्रविधिलाई एकीकृत गर्ने हो । सिद्धान्ततः क्रान्तिको विधिको कुरा गर्दा केहीले चुनावी विधिको पनि तर्क गर्छन् तर संसदीय दलाल पुँजीवादी व्यवस्थामा हुने चुनाव अनि दुईतिहाइले जनताको व्यवस्था आउँदैन । अहिलेको दुईतिहाइको परिणामले पनि स्पष्ट गरेको छ ।

हाम्रा गतिविधि रोकिने छैनन्, झन् चर्किनेछन् अथवा चर्काउनुपर्नेछ । हो, हाम्रो नयाँ एकीकृत जनक्रान्ति रोकिनेछैन । अवश्य पनि हाम्रो नयाँ विधिले क्रान्तिलाई झन् गति दिएको छ र दिनेछ । जबसम्म हाम्रो देश र जनता स्वतन्त्र हुँदैनन्, जबसम्म हामी हाम्रो आफ्नो दिमागले चल्ने र आफ्नो खुट्टामा उभिने हुँदैनौँ, जबसम्म भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्दैनौँ, जबसम्म हाम्रा युवाहरू श्रमविभाग र मेनपावर धाउन छोडेर आफ्नो देशका लागि आफ्नै धर्तीमा काम पाउँदैनन् तबसम्म हाम्रा गतिविधि जारी हुनेछन्, जबसम्म वैज्ञानिक समाजवाद आउँदैन तबसम्म यो एकीकृत जनक्रान्ति जारी रहनेछ र सिद्धान्ततः वैज्ञानिक समाजवादमा पनि नयाँ ढङ्गले क्रान्ति जारी रहनेछ किनकि हाम्रो सङ्घर्ष मानव जातिको उत्कृष्ट नयाँ सभ्यताका लागि हो । त्यसैले यो नयाँ सभ्यताका लागि, क्रान्तिका लागि, हाम्रो मुक्ति र स्वतन्त्रताका लागि, शान्ति, विकास र समृद्धिका लागि आवश्यक पर्छ । हामी गिरफ्तारी दिनेछौँ, पसिना, आँसु र खुन दिनेछौँ । जे चाहिन्छ त्यही दिनेछौँ तर हामी जित्नेछाँै । यही दृढ विश्वास र सन्देशसहित सबै सच्चा देशभक्त, कम्युनिस्ट, वामपन्थी र लोकतन्त्रवादीलाई सहयोगको अपिलसँगै कार्यक्रममा सहभागीहरू सबै आआफ्नो कार्यक्षेत्र र जिम्मेवारीमा फर्केका छन् ।

अन्त्यमा, मङ्सिर ८ को जनप्रदर्शनसहितको सभाको सफलताले साँच्चै क्रान्ति भनेको कुनै नेता वा व्यक्तिको विषय होइन, यो सामाजिक विषय हो, क्रान्ति त समाजको वस्तुगत नियमको कुरा हो । त्यसैले नेपालमा संसदीय दलाल पुँजीवादी व्यवस्था टिक्दैन र नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य छ भन्ने सन्देश दिँदै प्रतिक्रान्ति र संसदीय दलाल पुँजीवादी व्यवस्थासँगै प्रचण्डको पतन, क्रान्तिको उठान र वैज्ञानिक समाजवादसँगै विप्लवको उदय भएको छ ।’ विचार र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको फैसला गर्दछ’ भन्ने यथार्थको पुष्टि भएको छ । विप्लव नेतृत्वको नेकपाले विकास गरेको नयाँ एकीकृत जनक्रान्तिको कार्यदिशाको वैज्ञानिकता पुष्टि भएको छ । पार्टी पुनर्गठनको दिन एक उत्सव हो । उत्सवकै रूपमा सम्पन्न भएको छ । पार्टी योजना सफल भएको छ ।

यो सफलताले पैदा गर्ने थप चुनौतीको सामना गर्ने गरी तयारी गर्ने जिम्मेवारीबोध पार्टीलाई गराएको छ । यो सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार