जुन वेला आगो दन्केको थियो
आगो ताप्नेहरू धेरै थिए
दाउरा थप्नेहरू पनि धेरै थिए
धेरैले गाउँथे आगोको प्रेम-गीत
जो आगोदेखि आतङ्कित थिए
या जो आगोलाई घृणा गर्थे
ती पनि स्वर मिसाउँथे।

एउटा खराव मौसममा
जव आगो ओझिंदै गयो
आगो ताप्नेहरू घटे
दाउरा थप्नेहरू घटे
आगोको प्रेम-गीत मधुरो हुँदै गयो !

ऐले आगो निभेको छ
एक जना पनि छैन
आगो निभेको अँगेना नजिक
दाउरा थप्ने पनि छैनन
आगोको प्रेम-गीत रोकिएर
कर्कस स्वरमा बज्दै छ-
“चोली के पिछे क्या है ?
चुनरी के निचे क्या है ?”
र यही गीतमा ठुम्का मारिरहेछन
भूतपूर्व कमरेडहरू !

ऐले आगोलाई गाली गर्ने मौसम छ
हिजो आगो फुक्नेहरू नै
वाँकी अगुल्टो पानीमा चोपेर
ख्रुश्चेवको भट्टीमा दारु पिउँदै छन
भट्टीभित्रबाट
आइरहेछ अश्लिल आवाज-
जुन यहाँ शब्दमा भन्न मिल्दैन !

केही भुइँ मान्छेहरूको दिलमा
झिल्का झिल्की वाँकी छ आगो
उनीहरू वेला वेला झिल्का पार्छन
मौसम पूरै ओसिलो छ
आगो बलिरहेको छैन
बाहिर आगो पूरै निभेको छ !

हिजो आगोको प्रेम-गीत गाउँनेहरू
मृत्युको गीत गाइरहेछन
उनीहरूको गीतले भन्छ-
“यौटा फूल थियो झर्यो
यौटा आगो थियो मर्यो
आगो मात्र हैन यहाँ
आगोको इतिहास मर्यो
हिमवत्खण्डको चिसोमा पुगेर
आगोले आत्म हत्या गर्यो !”

प्रिय मान्छेहरू !
जो जोसँग आगो छ दिलमा
आऊ एक ठाममा आऊ
हाम्रा आगोहरू जम्मा गरौं
आगो फेरि बाल्नु नै पहिलो काम हो
यो आगो निभेको वेला
जो जोसँग आगो छ आऊ !

आगो हाम्रो उर्जा हो
आगो नै हाम्रो औजार हो
आगो हाम्रो अनन्त मित्र हो
यो समय
आगोको बीऊ वचाउँने समय हो
आऊ आऊ
हामी फेरि आगो फुकौं
आऊ आऊ
हामी आगोको बियाड राखौं
आऊ आऊ
हामी आगोको नयाँ प्रेम-गीत रचना गरौं !

यो आगो निभेको वेला
आगोको कुरा गर्नु खतरनाक छ
तर त्योभन्दा खतरनाक
आगोको कुरै नगर्नुमा छ !

को योध्दा हो
र को गद्दार हो
चिन्न सजिलो समय हो
आगो निभेको वेला !

२०७५|०७|२७
ढल्को

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार