अक्टोबर क्रान्तिले १०० वर्ष पूरा गरेको अवसरमा विश्वव्यापी रुपमा र नेपालमै पनि विगत १ वर्षभित्र थुप्रै कार्यक्रमहरु भए । चर्चित वामपन्थी व्यक्तित्व सोनाम साथीको नेतृत्वमा अक्टोबर क्रान्ति शतवार्षिकी समारोह, नागरिक समिति गठन भई विभिन्न कार्यक्रमहरु समेत गरिए । यसै सन्दर्भमा अक्टोबर क्रान्तिको महत्व र त्यसलाई मनाउनु, सम्झनुको औचित्य के हो त भन्ने प्रश्नको सेरोफेरोमा रहेर रातोपाटीका लागि चन्द्र खाकी र श्रवण उप्रेतीले उहाँसँग गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

अक्टोबर क्रान्तिको उद्गमभूमि रुस आफैँ यतिखेर प्रतिक्रान्तिको भयानक चपेटामा परेर फरक खालको राजनीतिक अभ्यास गरिरहेको छ भने यता तपाईहरु चाहिँ अक्टोबर क्रान्तिको सतवार्षिकी मनाउदैं हुनुहुन्छ ।आजको विश्व व्यवस्थामा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको महत्त्व र औचित्य के हो ?

अक्टोबर क्रान्तिले१९१७ नोभेम्बर ७ मा भएको हो । त्यो अहिले छैन । १७ लाख मजदुरहरु पार्टी सदस्य रहेकोरुसी समाजिक जनवादी मजदुर पार्टीको नेतृत्वमा उक्त क्रान्ति भएको थियो ।

त्यस पार्टीमा बाहिर समेत चिनिएका दुई नेता थिए । ट्राट्की र लेनिन दुई जना चिनिएको भए पनि अरु पनि नेता थिए । नोभेम्बर ७ को रातमा ३६ घण्टा चलेको केन्द्रीय समितिको बैठकमा क्रान्ति गर्ने नगर्ने भन्ने बारे भएको व्यापक वहसमा क्रान्ति गर्नुपर्छ भन्ने लेनिनको अडानका बीच सानो बहुमतका आधारमा पूरानो सत्ता फालेर नयाँ सोभियत सत्ता स्थापना गर्ने भन्ने निर्णय भयो । त्यसपछि २००० रेड गार्डहरु नेतृत्वमा त्यो बेलाको अन्तरिम सरकारको आवास भवन विन्टर प्यालेसमा आक्रमण भयो र तत्कालिन समयमा अन्तरिम सरकारको नेतृत्व गरिरहेको केरेन्स्की सरकार च्युत भएर मजदुर र किसानहरुको सोभियत सरकार अर्थात् सर्वहारा वर्गको अधिकानयत्वको सरकार स्थापना भयो ।

अब त्यो क्रान्ति उबेला भयो, ऊ बेलै सकियो । अब हामीमा त्यसको स्मरण छ र त्यसले गरेका प्रभावका कामहरु छन् ,एक कारण यो हो । दुई यो वर्षभरिनै संसारभरि अक्टोबर क्रान्तिलाई सम्झिने, स्मरण गर्ने र त्यसका राम्रा कुराहरुलाई अनुसरण गर्ने कुराबारेमा संसारभरि कार्यक्रमहरु भएको छ । हजारौं कार्यक्रमहरु भएका छन् ।

मान्छेको इतिहासमा हामी साढे तीन लाख वर्षभन्दा बढीको इतिहासमा  सम्पति नभएको, सार्वजनिक सम्पति त हुन्थ्यो तर नीजि सम्पति नहुने अवस्था पार गरेर आएका छौं । यो नृतत्त्वशास्त्रीहरुको भनाइ हो । सम्पतिलाई लिएर झगडा सुरु हुन थालेको चाहिँ बढीमा आजभन्दा इशा पूर्व ६००० पहिलेबाट सुरु भएको हो । त्यो भनेको ८००० वर्ष पहिलेको कुरा । जहिलेबाट तामा र काँसको प्रयोग हुन थाल्यो त्यो बेलादेखि यो सम्पत्ति नीजि बनाउने झगडा सुरु भएको हो । यो नै सबै झगडाहरुको जड हो ।

यो कति विकराल छ भने अहिले पनि अदालतमा गएर हेरे हुन्छ ९० प्रतिशत झगडा संम्पतिको विषयलाई लिएर भएको छ । यसलाई मेटाउनका लागि हजारौ कोशिसहरु भएका छन् ।  दक्षिण एशियाका सन्दर्भमा भन्दा भोलेबाबा, बुद्ध,महाविर, गोरख आदि थुप्रै चिन्तकहरुले मुक्ति खोजेको मुख्य विषयवस्तु पनि यही नै थियो । गुरु कार्ल माक्र्स मात्रै त्यस्ता मानिस हुन्, जसले मानव मुक्तिको पहिलो राम्रो कडी वर्गीय मुक्तिको कुरा उठाउनुभयो । पूर्वीय गुरु, महर्षीहरुले लोभ, लालचबाट मुक्त हुनु पर्ने कुरा उठाउनु भयो । उहाँरुले भन्ने गर्नुभएको माया मोह त्याग गरको अर्थ नै निजी सम्पत्ति त्याग भन्ने हो । तर माक्र्सले चाँही त्यसलाई त्याग्ने होइन, नीजि सम्पत्तिलाई साझा गर्ने बताउनु भयो । निजी सम्पत्ति नराख, व्यक्तिगत सम्पत्ति राख, सार्वजनिक सम्पत्ति राख भन्नुभयो । कुराको सार यत्ति हो । र, विगत ८००० वर्षको इतिहासमा यो कामको प्रयास  पेरिस कम्युनमा भयो ।

हुनत पेरिस कम्युनमा त माक्र्सवादीभन्दा पनि अराज्यवादीहरुले गरेका हुन् । यसको नेतृत्व ब्लाकींले गर्नुभएको थियो, जसलाई कार्लमाक्सले फ्रान्सेली सर्बहाराको ‘माइण्ड एण्ड सोल’ भन्नु भएको छ ।

तर त्यो कम्युन ७१ दिन चलेर त्यो ध्वशं भयो । अलि लामो चलेको र अलि ठूलो प्रभाव चाँही यही रुसको अक्टोबर क्रान्ति नै हो, जुन नयाँ पोप ग्रेगोरियनको पात्रो अनुसार नोभेम्बर ७ र तत्कालिन रुसमा चलेको जुलियस सिजरको पालादेखिको क्यालेण्डरको भने अक्टोबर २५ मा भएको थियो ।

अब यसलाई किन मनाउनु पर्छ भन्दा इनारको पानी खाने मानिसले इनार खन्नेलाई सम्झनुपर्छ । मानव जातिको इतिहासमा वर्गबाट थिचिएका मानिसहरुले त्यसबाट मुक्तिा पाउनको लागि दोस्रोपटकसामुहिक रुपमा यो वर्गीय दुनियाँबाट निवर्गिय दुनियाँमा जाउँ भन्ने सोचका साथ गरेको घटना हो अक्टोबर क्रान्ति । हुनत त्यो कोसिस अहिले १०० वर्षमा असफल भएको छ ।

तर पनि त्यो ठूलो कोसिस भएको हुनाले मानव मुक्ति चाहने कसैले पनि, धर्मकर्म मान्ने, नमान्ने, आस्तिक, नास्तिक, ईश्वरवादी, अनिवश्वरवादीलाई मानव मुक्ति चाहने सबैले ‘कोही शोषक हुनुपर्दैन, कोही शोषित हुनुपर्दैन’ भन्ने महान् लक्ष्य र सारतत्व बोकेको त्यो अक्टोबर क्रान्तिलाई सम्झनु र त्यसको शतवार्षिकी मनाउनु उचित छ ।

त्यसलाई तपाईँ सारमा भनिदिनु न । त्यसबाट सिक्नुपर्ने पाठ चाहिँ के हुन्छ ?

मुख्य कुरा सोध्नु हुन्छ भने त्यसबाट सिक्नु पर्ने मुख्य पाठ भनेकै यो वर्गीय दुनियाँबाट निर्वर्गीय दुनियाँमा तार्ने भन्ने कुरा हो । त्यसलाई राजनीतिक भाषामा क्रान्ति भन्छन् । हाम्रो दक्षिण एशियाको भाषामा चाहिँ वर्गीय दुनियाबाट पार हुने भन्छन् । यत्ति कुरालाई सम्झनुपर्छ ।

त्यो पार चाहिँ कसले गराइदिन्छ ?

जसलाई चाहिएको हो उसैले गर्नुपर्यो ।

तर कसै न कसै त त्यसको नेतृत्व पनि त गर्नुपर्ला नि ?

नेतृत्व पनि उहीबाट निस्कन्छन् । जसले जानेका छन्, हामीलाई बाटो देखाउछन् । जुक्ति निकाल्छन्, उपाय देखाउछन्, उसले नेतृत्व गर्छ ।

अक्टोबर क्रान्तिको कुरा गर्दा सर्बहारावर्गको अधिनायकत्व अर्थात् डिक्टेटरसीप अफ प्रोलाटेरिएट भन्छन् । नेपालको सन्दर्भमा, त्यो वर्गको प्रतिनिधित्व चाहिँ कसले गर्छ ?

जबसम्म कम्युनिष्ट नाम रहन्छ, र आफूलाई कम्युनिष्ट भन्छ, हामीसरकार, सदन, सडक र अलिअलि बनतिर पनिः सबैतिर कम्युनिष्ट छौं । कमलराज रेग्मीले बित्नु अघि भन्नुहुन्थ्यो, “सरकारमा कम्युनिष्ट, सदनमा कम्युनिष्ट, सडकमा कम्युनष्टि, बनमा कम्युनिष्ट तर कम्युनिष्ट खोई ?”

यसको अर्थ हामी कम्युनिष्टहरुले आफूलाई प्रश्न गर्न सक्नुपर्छ, के हामी अक्टोवर क्रान्तीको मर्म अनुसार चलेका छौं त ? बन, घर सडक, सदन, सरकारमा हुने कम्युनिष्टः तर के साँच्चै कम्युनष्टि छौं ? हामीले गम्ने र सोच्ने बेला आयो । हामीले नगरी नहुने काम छ यो । यस अर्थमा अहिले पनि अक्टोबर क्रान्तिको औचित्य छ ।

सर्वहारा वर्गको अधिनायकत्व भनेको पूजीपति सामन्ती अधिनायकत्वभन्दा फरक हो । त्यो अधिनायकत्व वर्गले चलाउने कुरा हो, त्यो कुनै नेताले चलाउने कुरा होइन ।

लेनिन गुरु १९१७ को अप्रिलमा जेनेभाबाट फर्कनुभयो तर त्यस अघि मार्चमा लेखेको चार वटा चिठ्ठी छ,  लेटर फ्रम अ फार अर्थात् ‘दुर देशको पत्र’ भनेर चिनिने । त्यसमध्य एउटा पत्रमा के लेख्नुभएको छ भने यो हाम्रो राज्यव्यवस्था सामान्ती र पूँजीपति व्यवस्था जस्तो व्यवस्था होइन, यो जनताले आफैले चलाउने राज्यव्यवस्था हो । हामी सेना पनि बनाउदैनौं, हामी अदालत बनाउदैनौं उल्लेख गर्नु भएको छ । तर रुसको विशिष्ट परिस्थितिको कारणले उहाँहरुले स्थायी सेना पनि बनाउनुप-यो । बुर्जुवाहरुको जस्तो राज्यसत्ताः अदालत,सदन आदि उभ्याउनु पर्यो । सुरुमा उहाँहरु आफूलाई मन्त्री भन्न लजाउनुहुन्थ्यो, सट्टामा कमिसार भनिन्थ्यो । जस्तो लेनिनको पद नै चेयरम्यान अफ द कमिसार भनिन्थ्यो । पछि मात्र आफूलाई मन्त्री भन्न थाल्नु भएको हो ।

त्यही भएर जहिलेसम्म यो पृथ्वीमा आठ वटा कुराहरु रहन्छ, तीनमा शासन, शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता रहन्छ अनि प्रत्येक मान्छेको गर्भदेखि चितामा जानुभन्दा पहिलेसम्म उसको प्राणरक्षा, विचार रक्षाको लागि आधारभूत आवश्यकताको पूर्तिको ग्यारेन्टी समाजले गर्ने र आठौं स्रोतसाधन, नीति निर्माता, मुल्याकंन, क्रियान्वयन आदि इत्यादिमा सरोकारवालाले नै फैसला गर्न पाउने, कसैको पनि आदेश पर्खेर बस्नु नपर्ने स्थिति कायम हुँदैन, अक्टोबर क्रान्तिको महत्व रहिरहन्छ ।

जबसम्म तपाईंका आधारभूत आवश्यकताहरु पूरा हुँदैनन्, तबसम्म तपाईं ढुक्क हुनुहुन्न, सम्पत्ती कमाउन छोड्नु हुन्न । जहिले तपाईंको ग्यारेन्टी हुन्छ र ढुक्क हुनुहुन्छ, त्यस अवस्थामा तपाईं सम्पत्तL कमाउने लन्ठामै लाग्नु हुन्न । त्यो भन्दा पर तपाईं जिन्दगीलाई रमाएर जिउने क्रियामा लाग्न थाल्नु हुन्छ ।

अतः नेपालको सन्दर्भमा सर्वहारा अधिनायकत्वको सिद्धान्तको मूल मर्म भनेको  निजी सम्पत्तिकरणलाई रोक्नु न हो । अहिलेको शासन व्यवस्थाले निजी सम्पत्ति बनाउने कुरालाई रोक्न खोस्न खोजियो भने हत्कडी लगाएर नख्खुमा जाक्छ, त्यो बेला, सर्वहारावर्गको शासनको बेलामा चाहिँ निजी सम्पत्ति जसले बनाउन खोज्छ, त्यसलाई हत्कडी लगाउँछ । कुरा सारमा यत्ति हो ।

त्यति राम्रो परिकल्पना गरेको अक्टोबर क्रान्ति चाहिँ किन दिगो हुन सकेन ?

साउनमा पानी पर्दा इन्द्रेणी देखिन्छ । तर त्यो दीगो रहँदैन । एकछिन चम्कन्छ र केही बेरपछि त्यो हराएर जान्छ । ठीक त्यसै गरी, अक्टोबर क्रान्तिको कुरा गर्दा, त्यो बेलाको समस्या समाधान गर्दा खेरी त्यो क्रान्ति सम्भव भएको थियो ।

अब कहिले पहिले नगरेको कुराहरु अभ्यासमा लाँदा त्रुटीहरु हुन्छन्, भयो । जन्म भएपछि मृत्यु हुन्छ । सबै कुराको मृत्यु हुन्छ । अक्टोबर क्रान्तिको हकमा पनि त्यो सत्य हो । खासगरि अक्टोबर क्रान्ति दीगो हुन नसक्नुका चार कारण छन्ः आफ्नै, अरुको, छ्यासमिस र अर्को मानवीय कारण । यी सबै कारणहरुले कुनै पनि कुराको पतन हुन्छ । विज्ञहरुले यसबारेमा धेरै अनुसन्धान गरेका छन् । हामै्र नेपालको सन्दर्भमा पनि हामी ४२ सालदेखि हामीहरु किन हा¥यौं भनेर अनुसन्धान भइरहेको छ ।

अब हामीहरुको कुराकानीलाई बिट मारुँ । अहिले हाम्राे कुराकानीको निष्कर्षमा चाहिँ के भन्न चाहनुहुन्छ?

हामीले म्याद गुज्रेको पुँजीवादको पछि लागेर हुँदैन । यो मानवताविरोधी पूँजीवादी व्यवस्थालाई छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ । अझ यो व्यवस्था रहिरहे यसले पृथ्वी ध्वंश गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार