पाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन एनजीओसँग एक करोड भिख मागेर जनताको अपमान गरेको बताएका छन् ।

नेपाल सांस्कृतिक संघ ओखलढुंगाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले एक करोड भिख माग्न प्रधानमन्त्री ओलीले ३ दिनसम्म सोल्टी होटलमै बसेको खुलासा गरे ।

ओली नेतृत्वको कम्युनिस्ट सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको, बाइडबडीमा भ्रष्टाचार गरिएको लगायतका प्रकरणले सरकार बदनाम भइसकेको बताए । ‘कम्युनिस्टहरूले झुटा आश्वासन दिएर चुनाव जितेका हुन् । अहिले केही पनि काम गर्न सकेका छैनन्,’ उनले भने, ‘ज्येष्ठ नागरिक भत्ता ५ हजार घरघरमा दिन्छु भनेकोमा ५ रुपैयाँ दिएका छैनन् । झुटो आश्वासन दिएको प्रमाणित भएको छ ।’

चुनावमा थोरै भोटले कांग्रेस हारेको भएपनि कांग्रेसको सिद्धान्त जितेको खतिवडाले बताए । ‘बहुदल, संसदीय व्यवस्था र संविधान नमान्ने कम्युनिस्टलाई कांग्रेसले मान्ने बनाएको छ, कांग्रेस जितेको छ,’ उनले भने, ‘कम्युनिस्टहरूले चुनावमा जनताको बीचमा गरेका प्रतिवद्धता के भयो भनेर सोध्नुपर्ने बेला भएको छ ।’

कम्युनिस्ट सरकार १ वर्षमै असफल भइसकेको उनको भनाई छ । आगामी ४ वर्षपछि कांग्रेस पहिलो पार्टी हुने बताउँदै खतिवडाले भने, ‘अब कांग्रेसभित्र यो वा त्यो भन्ने होइन । आगामी ४ वर्षमा ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला बनाउँछौं भनेर प्रतिवद्धता गरौं ।’

आगामी महासमिति बैठकपछि सबैलाई एकठाउँमा राखेर कांग्रेसलाई पहिलो पार्टी बनाइने योजना उनले सुनाए । ‘४ वर्षमा घरघरमा, टोलटोलमा गाउँगाउँमा कांग्रेस बनाउनुपर्छ,’ उनले भने, ‘केपी ओलीले त गफ मात्रै गर्ने हुन् । अब स्वर्ग गएपछि सुनको भर्याङ बनाइदिन्छु भन्न मात्रै बाँकी छ केपी ओलीले ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार