अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकार परिषद्ले एक महिनाअघि ‘दि अपर्चुनिटी कस्ट अफ सोसलिजम’ नामको ७२ पृष्ठ लामो एउटा दस्ताबेज प्रकाशमा ल्यायो ।

सन् १९९० कै दशकमा सकियो भनेको समाजवादले समग्र ल्याटिन अमेरिका, नेपाल, ग्रिस, स्पेन, ब्रिटेन हुँदै स्वयं अमेरिकामा समेत अनेकखाले अभ्यास र प्रभाव देखाउन थालेपछिको सन्त्रासका कारण ह्वाइट हाउसको आर्थिक सल्लाहकारको टोली नै बसेर प्रतिरोध गर्न आवश्यक ठान्यो ।

कम्युनिस्ट पार्टीको नाममा शासन चलाइरहेका चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिङ पिङले कार्लमाक्र्स दुई शतवार्षिक जन्मजयन्तीका अवसरमा पार्टीका सदस्यलाई मार्क्सवाद अध्ययनमा पुनः ध्यान दिन आग्रह गरे ।

उनले कार्यकर्ता तथा नेताको बाक्लो र चुनिन्दा उपस्थितिमा प्रवचन प्रस्तुत गर्ने क्रममा भने– हामी मानव इतिहासकै सबैभन्दा प्रखर चिन्तक कार्ल मार्क्सलाई सम्झन गइरहेका छौँ । हामी मार्क्सवादले प्रस्तुत गरेको वैज्ञानिक सत्यमाथि विश्वास गर्छौं । उनले आफ्ना कार्यकर्तालाई मार्क्सका संकलित रचना खासगरी कम्युनिस्ट घोषणापत्र पढ्न सुझाए ।

नेपालमा पनि प्रधानमन्त्री खड्गप्रसाद ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले आफ्नो पार्टी कम्युनिस्ट पार्टीकै रूपमा क्रियाशील रहेको दाबी गरिरहेका छन् ।

उनीहरूले हालसालै विश्वभरिका सत्तारुढ कम्युनिस्ट प्रतिनिधि बोलाएर मार्क्सको शतवार्षिकीमा एउटा अन्तर्राष्ट्रिय गोष्ठी पनि सम्पन्न गरे । नेकपा डबलका स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र राम कार्कीले ‘मार्क्स दुई शतवार्षिकी समारोह समिति’ खडा गरी विगत डेढ वर्षदेखि देशव्यापी रूपमा मार्क्सवादसम्बन्धी प्रशिक्षण आभियान चलाइरहेका छन् । यी सबै घटनाले साम्यवाद जिउँदै छ भन्ने मात्र होइन, अपरिहार्य पनि बन्न पुगेको हो कि भन्ने सञ्चारित हुन पुगेको छ ।

सोभियत संघको विघटन र पूर्वी युरोपेली समाजवादको पतनपछि ‘समाजवादी’ शासन व्यवस्थामा एकरूपता देखिँदैन । विगतमा देखिएझैँ स्थायित्व पनि देखिन्न । उनीहरूले प्रस्तुत गरेका आर्थिक तथा सामाजिक नीति चारित्रिक हिसाबले कोही अलि निकै गाढा वामपन्थीजस्तो लाग्ने, कोही गुलाबी देखिने र कोही–कोही खैरो वा खरानी रंगले ओतप्रोत झर्रो नवउदारवादी नक्कललाई नै समाजवाद नामकरण गर्ने देखिन्छन् ।

अर्को शब्दमा गाढा, मध्यम लोककल्याणकारी र नवउदारवादी (समाजवादी ?) जस्ता देखिन्छन् । विगतमा (खासगरी सन् १८७० देखि सन् १९७० को दशकसम्म) कम्युनिस्ट र समाजवादी आन्दोलनभित्र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सैद्धान्तिक, वैचारिक तथा दार्शनिक तहमा बृहत् छलफल र बहस आयोजना गरिन्थे । अन्तर्राष्ट्रिय तहमा ऐक्यबद्धता आदानप्रदानको अभ्यास हुने गथ्र्यो । हाल सबै दन्त्यकथाजस्तो लाग्छ ।

ल्याटिन अमेरिकाको पिंक कलरले पाएको सफलता विश्वमन्दी (२००८/०९) सँगै ओह्रालो लागेको छ । इक्वेडर, ब्राजिल र भेनेजुयलाको वामपन्थी आन्दोलन संकटबाट गुज्रिरहेका छन् । मेक्सिकोमा वामपन्थी लोपेज ओब्रादोरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफैँभित्रका दक्षिणपन्थीसँग कसरी लोहा लिने हुन् भन्न सकिने अवस्था छैन ।

विगतमा ग्रिसेली वामपन्थ जर्मनी र युरोपेली बैंकका अगाडि घुँडा टेक्न पुग्यो । चीन, भियतनाम, लाओस एक पार्टी प्रणालीअन्तर्गत राज्य पुँजीवादमा आधारित शासन व्यवस्थामा रमाइरहेका छन् । क्युवाको मोडल यी सबैभन्दा भिन्न देखिन्छ तर खतरामुक्त छैन ।

उत्तर कोरियामा अघोषित जहानियाँ पारिवारिक शासन व्यवस्था लादिएको छ । संसदीय राजनीतिभित्र रुमल्लिएको ‘नेपाली समाजवाद’ खाकाविहीन छ । हालसम्म सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम, बजेट तथा सुधार कार्यक्रम हेर्दा यी विश्वव्यापी मान्यताअनुरूपका समाजवादउन्मुख लाग्दैनन् ।

समकालीन साम्यवादी विचार

वर्तमान दुनियाँका सबैभन्दा ख्यातिप्राप्त दर्शनशास्त्री अलेन बैदुले ‘कम्युनिस्ट हाइपोथेसिस’ अगाडि सारेपछि सन् २००९ मा प्रसिद्ध दर्शनशास्त्री स्लाभो झिझेकलगायत प्रगतिवादी खेमाका दर्शनशास्त्रीको अगुवाइमा लन्डनमा एउटा पथप्रदर्शक गोष्ठी सम्पन्न गरे ।

गोष्ठीमा राष्ट्र–राज्यको अवधारणा, समाजको उत्थान र विकास, सर्वसाधारणमा आइलागेका समस्या र अराजनीतीकरणका नाममा पुँजीवादी राजनीतिले खडा गरेको संकट र संकटपछि विस्तारित विषम परिस्थितिबारे बृहत् व्याख्या र विकल्पका रूपमा मार्क्सवादमा आधारित समाजवाद र साम्यवादको औचित्य अझै रहेको निचोड निकालियो ।

सन् २०१० मा भर्सोले (पुस्तक प्रकाशक संस्था) ‘आइडिया अफ कम्युनिजम’ नाम दिएर पुस्तक बजारमा ल्यायो । त्यसलाई स्लाभो र कोस्तास दौजिनासले सम्पादन गरेका थिए । सन् २०११ मा प्रकाशन संस्था भर्सो आफैँले न्युयोर्कमा सम्मेलन आयोजना गर्‍यो । र, सन् २०१३ मा ‘आइडिया अफ कम्युनिजम–२’ न्युयोर्क कन्फ्रेन्स नाममा पुस्तक छाप्यो ।

दार्शनिक र राजनीतिक विमर्श गरिएको यस पुस्तकमा विश्वव्यापी रूपमा सामाजिक र वित्तीय खलबलीमा कम्युनिस्ट विचारको महत्वलाई अगाडि सारिएको छ । २२४ पृष्ठको यस पुस्तकमा अलेन बैदु, इटनी वालिवार, ब्रुनो बोस्तिल्स, सुसान बक–मोर्स, जोडी दिन, एड्रियन जोन्स्टन, फ्रान्कोइस निकोलास, फ्रयांक रुदा, इम्यानुयल टेरे र स्लाभो झिझेकले आफ्ना विचार प्रस्तुत गरेका छन् ।

सन् २००८/०९ को विश्वव्यापी मन्दीपछि एक दशक व्यतीत भइसक्दा पनि संकटबाट विकसित पुँजीवादी मुलुक ब्युँतन सकिरहेका छैनन् । विकसित मुलुकले आरोग्यता हासिल गर्न नसक्दा चीनलगायत एसिया तथा ल्याटिन अमेरिकी नवऔद्योगिक राष्ट्रहरू, जो निर्यातमा आधारित आर्थिक वृद्धि गरिरहेका थिए, कमजोर हुँदै गएका छन् र दोस्रो चरणको मन्दी भोग्न बाध्य बन्दै छन् ।

एक प्रतिशत धनाढ्यमा पुँजी सञ्चिति केन्द्रित हुँदै जानु र अर्कातर्फ बहुसंख्यक जनताको जीविकोपार्जनमा समस्या सिर्जना भएपछि विश्वव्यापी रूपमै नयाँ खालको अन्तरविरोध उत्पन्न भइरहेको छ । यद्यपि दार्शनिक र राजनीतिक हिसाबमा समस्या समाधानको विकल्प के हो र त्यो कसरी खोज्न सकिन्छ भन्नेबारे निकै लामो अलमल देखिन्छ ।

‘कम्युनिस्ट आतंंक’

अलेन बैदुले ‘कम्युनिस्ट विचार र आतंक’बारे निबन्ध प्रस्तुत गरेका छन् । फ्रान्सेली होस् या अमेरिकन, अक्टोबर क्रान्ति होस् या चिनियाँ र क्युबाली सबै क्रान्ति धेरथोर रक्तपातपूर्ण थिए ।

क्रान्ति समग्रमा राज्यभित्र एउटा सामाजिक वर्गको आर्थिक, राजनीतिक वा सामाजिक वर्चस्व समाप्त गर्नकै लागि हुने गर्छ । उनले यस आलेखमा कम्युनिस्ट आतंक सम्बन्धमा यसरी वर्णन पस्किएका छन् ।

पहिलो, रुसमा सम्पन्न अक्टुबर क्रान्तिपछि श्रमजीवी सर्वहारा वर्गले पुँजीपति वर्गको अर्थराजनीति तथा सामाजिक वर्चस्व समाप्त गर्नका लागि सम्पन्न गरेको क्रान्तिपछि सर्वहारा क्रान्ति लोकप्रिय हुँदै आयो । पुँजीपतिको वर्चस्व वा अधिनायकत्व समापन गरेर सर्वहाराको अधिनायकत्व स्थापित गर्ने नारा लाग्यो । यसैलाई पुँजीवादीले सर्वहारा क्रान्तिलाई ‘आतंक’ नाम दिए र विश्व कम्युनिस्ट आन्दोलनमा ‘टेरर’ स्थापित गरियो ।

क्रान्ति भन्नेबित्तिकै सशस्त्र, विध्वंस र विनाशका रूपमा प्रचारित गरियोे । यीसँगै सर्वहारा क्रान्ति भन्नेबित्तिकै खेतीयोग्य जमिनको सामूहिकीकरण, औद्योगिक विकासको केन्द्रीकरण, नयाँ सैन्य शक्ति निर्माणको अभ्यास, धार्मिक अन्धताविरुद्ध जेहाद गरी सबै तह र तप्कामा संघर्ष स्थापित गर्ने मान्यता स्थापित गराइयो ।

यसको अर्थ समग्र जनसमुदाय संलग्न हुने गरी वास्तविक गृहयुद्ध चलाउने कुरा नै मान्यताका रूपमा स्थापित गरियो । अन्त्यमा अन्तरद्वन्द्व र अनिश्चितताले भरिएको इतिहासमा ‘नयाँ समाज’ जन्माउन क्रान्ति गरिने हो, जसको अर्थ समग्रमा दुईखाले जीवनयापन अर्थात् श्रमजीवी सर्वहाराजस्ता संकटग्रस्त कष्टपूर्ण जीवन र पुँजीवादीको ठाँटबाँटसहितको सौखिन जीवनचर्याबीचको विभेद हटाएर समानतायुक्त नयाँ समाजको आधार तयार गर्ने अठोट त्यो क्रान्तिसँगै गाँसिएर आयो ।

बैदु लेख्छन्– ‘साम्यवाद’ शब्दसँगै बल प्रयोगसँग सम्बन्धित चारवटा भिन्न अर्थ बोकेका शब्द पनि आए । जस्तो सत्ता प्राप्तिका लागि क्रान्तिकारी बलप्रयोग, पुरानो संस्कार संस्कृति हटाएर समानतामा आधारित आर्थिक तथा सामाजिक सांस्कृतिक रीतिथिति बसाल्न तानाशाही बल प्रयोग, नयाँ सामाजिक सम्बन्ध स्थापित गर्न रूपान्तरणकारी बल प्रयोग तथा राज्य र पार्टीबीचको अन्तरविरोध समाप्त पार्न राजनीतिक बल प्रयोग ।

बल प्रयोग वास्तवमा मुलुकभित्रको राजनीतिक तथा सामाजिक शक्तिबीचको अन्तरसम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ । अहिलेको साम्यवादी विचारमा बल प्रयोगको विषय एका–दुई अभ्यास देखिए पनि बिस्तारै हराउँदै गएको छ । कसैले बल प्रयोग नहुनुलाई कम्युनिस्ट आन्दोलनमा कुबाटोको संज्ञा दिने गरेका छन् । कसैले समग्र अवधारणामा आएको परिवर्तनका रूपमा बुझ्ने गरेका छन् । यद्यपि कम्युनिस्ट आन्दोलन आतंकवादको पर्याय होइन, परिवर्तनको वाहक हो ।

फराकिलो समतायुक्त समाज निर्माणका लागि गरिने क्रान्ति वा भविष्यमा हुने परिवर्तनकामी क्रान्तिको स्वरूप तत्कालीन आर्थिक सामाजिक तथा राजनीतिक परिस्थितिमा निर्भर हुन्छ भन्ने उनको तर्क छ ।

कम्युनिस्ट प्रतिबद्धता

फ्रेन्च दार्शनिक एटनी बलिवारले कम्युनिस्ट प्रतिबद्धता, कल्पना र राजनीतिमाथि आफ्ना विचार प्रस्तुत गरेका छन् । को हो कम्युनिस्ट ? संसार बदल्न इच्छा राख्ने मान्छे कम्युनिस्ट बन्छ र आफूलाई बदल्छ ।

तिनले दोस्रो ‘मुद्दा’ बारेमा सोच्छन् वा मुद्दाको गहिराइसम्म पुग्छन् र उत्तर खोज्छन् । एउटै मुद्दामाथि विभिन्न कोणबाट समस्या पहिचान गर्छन् । यसको अर्थ पुँजीवादी समाजको आधारभूमि, उत्पादन र विनिमय अथवा मोडल वा उत्पादन र विनिमयले उत्पन्न गर्ने सबै सकारात्मक र नकारात्मक सम्बन्धबारे उत्तर खोज्छन् र अन्त्यमा समाधानका लागि कस्तो निर्णायक संघर्ष गर्ने भन्ने तय गर्छन् ।

अन्तिम संघर्षका लागि उनीहरूले आफ्ना सहकर्मीमाझ मुक्ति, रूपान्तरण, सुधार, क्रान्ति, सभ्यताबारेका आ–आफ्ना व्याख्यालाई एकरूपता वा एकीकृत बुझाइमा ढाल्न कोसिस गर्छन् ।

मार्क्सले जर्मन आइडोलोजीमा ‘साम्यवाद भनेको राज्यको विद्यमान अस्तित्व बदल्ने उद्देश्यका लागि नै स्थापित गरिन्छ’ भनेर गरेको किटानलाई समेट्दै उनी लेख्छन्– कम्युनिजम भनेको ‘विचार’ मात्रै होइन, अस्तित्वमा नरहेका वा रहेका बहुमतविरुद्धका पुरातन संस्कार, संस्कृति र राजनीतिलाई बिदा गरी सर्वथा नयाँ समानतायुक्त सत्यको स्थापना गर्ने प्रतिबद्धता भएको विचार हो । व्यक्तिको सम्पत्तिको अक्षुण्णता र बजारकै शुद्धतामा (प्योर मार्केट) समाहित हुने हो भने साम्यवादी विचारको काम छैन ।

आइडिया अफ कम्युनिजम भनेको ‘न्याय’, ‘वास्तविकता’ र ‘समानतामा आधारित’ ‘सर्वसाधारण सबैको पहुँच हुँने गरी’ प्रस्ट हुनुपर्छ, द्विअर्थी होइन । विश्व बदलियो भने मात्र साम्यवादमा ‘नयाँ मान्छे’ वा ‘नयाँ खालको जीवनपद्धति’ सम्भव हुन्छ । त्यसका लागि नयाँ शिराबाट नयाँ युगका लागि आफूलाई वर्गसंघर्ष गर्ने गरी तयार पार्नुपर्छ । त्यसको अर्थ कुनै प्रकारको व्यक्तिवादद हाबी हुनु हुँदैन । त्यसैले आफैँभित्र क्रान्तिकारी रूपान्तरण नगरी, आफैँभित्र प्रतिबद्धता जाहेर नगरी क्रान्तिमा होमिन र साम्यवादी समाज निर्माण सम्भव हुँदैन ।

‘क्रान्ति नगरी क्रान्ति ल्याउन सम्भव छ ?’ उनी जर्मन दार्शनिक जर्ज विलियम फ्रेडरिक हेगलको सूत्र उद्धृत गर्दै लेख्छन्, ‘क्रान्तिले आफैँमा त्यो वातावरण निर्माण गर्छ, ‘नेगेसन अफ दि नेगेसन’ ले मानिसलाई क्रान्तिकारी रूपान्तरणका लागि झकझकाउँछ ।

यसले आफूहरूजस्तै अरूसँग नजिकको सम्बन्ध गाँस्न लगाउँछ र विमर्श सुरु गराउँछ र क्रान्तिका लागि संगठित हुन सिकाउँछ ।’ उनी यसरी लेखिरहँदा एक्चुआलिटी अफ कम्युनिजमका लेखक ब्रुनो बोस्टिल्सको ‘क्रान्ति सम्पन्न नगरी सुधारमा फर्कने विषय पुरानै सुधारलाई दोहोर्‍याइरहने अर्थात् अपरिवर्तनमा फर्कुनु हो’ भन्ने सम्झन पुग्छन् । उनका विचारमा क्रान्तिविनाको ‘सुधार’ आन्तरिक बन्न पुग्छ, क्रान्तिकारीबीच माथिबाट लादिने ‘सुधार’ क्रान्तिको उपज हो पनि र होइन पनि जस्तो धुमिल बन्छ र फेरि पुरानै ठाउँमा फर्किन्छ ।

पुँजीमा मार्क्सले एक ठाउँमा उद्धृत गरेको कुरालाई दोहोर्‍याउँदै लेख्छन्, ‘उत्पादन प्रक्रिया वस्तुको उत्पादन मात्र होइन र नयाँ उत्पादनको सम्बन्ध वा आफूहरूबीच सामाजिक सम्बन्ध स्थापित गर्ने कुरा पनि हो ।’ कथित सुधारमा पुनरुत्पादन पद्धति दोहोरिन्छ । यसको अर्थ विद्यमान सम्पत्तिमाथिको स्वामित्वको हक पनि दोहोरिन्छ । नियमनको पुरानो ढाँचा, अनुशासन पद्धति जाग्ने र ओह्रालो लाग्ने कुरा सबै दोहोरिन्छ । अर्थात् आमजीवन पद्धतिको हिसाबमा जहाँको तहीँ आइपुगिने अवस्था रहन्छ ।

उनी अन्त्यमा सुझाउँछन्, त्यसैले साम्यवादीले क्रान्तिकारी रूपान्तरणलाई निष्कर्षमा पुर्‍याउने इच्छा गर्ने हो भने वा विद्यमान असमान सामाजिक अवस्थालाई फेरबदल गर्ने हो भने वैकल्पिक राजनीतिक, आर्थिक र सामाजिक ढाँचा प्रस्तुत गर्दै निरन्तर संघर्ष गर्न आवश्यक हुन पुग्छ ।

कम्युनिस्ट नैतिकता

कुनै पनि गतिशील समाज अनेकन नैतिक सिद्धान्तबाट वा आफैँभित्र परिमार्जित परिष्कृत नीतिशास्त्रबाट निर्देशित हुन्छ । नैतिकता भन्ने शब्द आदर्श, अधिकार, कर्तव्य, गुण, मानवीयता आदिमा अपसर्ग वा प्रत्यय भएर निर्देशित भइरहन्छन् ।

नैतिकता वा ‘नीतिशास्त्र दर्शन’ दर्शनको एउटा हाँगो हो, जसले सुव्यवस्थित गर्न, प्रतिरक्षा गर्न, असल र खराब के हो भन्ने छुट्याउन मद्दत गर्छ । मानिस आफैँ सामाजिक सँगसँगै असामाजिक प्राणी पनि हो । असामाजिकलाई सामाजिक तुल्याउन वा बहुमत समाजको समान उद्देश्यलाई निरन्तरता दिन समाजको स्वीकृतिमा नीति तय गरिन्छ । तर, सबैका लागि, सधैँका लागि ती पाच्य हुन्छन् भन्ने हुँदैन ।

कोरोनेल विश्वविद्यालयकी दर्शनशास्त्रकी प्रोफेसर सुसान बक–मोर्स लेख्छिन्– मानिस सामाजिक प्राणी हो तर समाजविरोधी हुने खतरा पनि रहन्छ ।

मानिससँग रहने ‘जनावर प्रवृत्ति’ समाजले बनाएका असल मान्यताले प्रशिक्षित हुँदा मात्र संयमित र नियन्त्रित रहन्छन् । ती मान्यता विज्ञान र प्रविधिको विकास, तिनले परिष्कृत गर्ने सामाजिक चेतनाअनुरूप अझ बढी विकास हुँदै जान्छन् ।

के अखबार, म्यागेजिन र जर्नलविनाको लेनिनको कल्पना गर्न सकिन्छ ? पदार्थ र चेतना विश्लेषणबाहिर हेगल र मार्क्सको कल्पना गर्न सकिन्छ ? (मार्क्सका कम्युनिस्ट घोषणापत्र, पुँजी, गुन्डरिसेलगायत दर्जनौँ किताबबाहेक पनि अखबारमा भारतमाथि थोपरिएको उपनिवेशबारे, चिनियाँ व्यापारबारे र अमेरिकी गृहयुद्धबारे उनका सयकडौँ लेख प्रकाशित भए र हाल पनि ती रचना संग्रहित छन् ।

यसको अर्थ आइडिया कम्युनिजममा प्रवेशको अर्थ समाजबारे विशद वा गम्भीर अध्ययनको थालनी हो । ‘अध्ययन’ सूचना स्वतन्त्रतामा भर पर्छ । कुनै पनि विषयमाथिको ज्ञान प्राप्ति पक्ष र विपक्षमा गरिने बहस वा विमर्शको उपलब्धतामा भर पर्छ, जसलाई स्वतन्त्र प्रेसबेगर कल्पना गर्न सकिन्न ।

स्वतन्त्र प्रेसको अर्थ राज्यले सत्यमा आधारित सूचना संकलन गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउने वा प्रशोधन गर्ने, वा निषेध गर्नेजस्ता कुकृत्य अधिकारका रूपमा ग्रहण गर्नु हुन्न । त्यो कुरा सबै खालका मिडियामा सर्वसाधारणको पहुँच हुन पाउने समानताको अधिकारसँग सम्बन्धित छ ।

हामी सबै यतिवेला आत्मघोषित लोकतन्त्रमा विचरण गरिरहेका छौँ । भिन्न–भिन्न पेसाकर्मी छौँ । भिन्नभिन्न विषयमा हाम्रो रुचि छ । समाजको उन्नति र प्रगतिबारे हाम्रा आ–आफ्नै रुझान छन् । जस्तो– कसैले बजार र निजीकरणबाहेक केही देख्दैनन् । कसैले केन्द्रीयकरण र राष्ट्रियकरणबाहेक अरू केही देख्दैनन् । कसैले मिश्रितको कुरा गर्छन् । यी सबैको अर्थ समाज बहुलवादी छ भन्ने स्वीकार्यता अबको ‘कम्युनिस्ट इथिक्स’ भित्र राखिनुपर्छ ।

यसको अर्थ वर्गसंघर्ष सकियो, वर्गबीच समन्वय हुन्छ भन्ने होइन । यो शताब्दीमा झन् वर्गसंघर्षको सम्भावना बढेको छ । विश्व पुँजीवादी प्रणालीमा बढ्दो असमानता, खासगरी उत्पादनका साधनमाथि निश्चित धनाढ्य मुलुकको कब्जा बढ्दो छ ।

गरिब विकासशील मुलुकमा थोरै संख्यामा रहेका धनाढ्य र शासकले अन्तर्राष्ट्रिय निगम तथा वित्तीय संस्थासँगको मिलेमतो र साँठगाँठमा समग्र पुँजीमाथि कब्जा गरिरहेका छन् र असमानता विस्तार गरिरहेछन् । यो असमानता बजार अर्थतन्त्र (अनियन्त्रित पुँजी संकलन) र स्वतन्त्र समाज (पश्चिमा शैलीको प्रजातन्त्र) को देन हो ।

बजारशास्त्रले शिक्षा, स्वास्थ, रोजगारीदेखि जेलसम्मको निजीकरण निम्त्याउँदा ९९ प्रतिशत जनसंख्या रोग, भोक र साधनस्रोतविहीन र अपमानित, अपहेलित बन्नुपरेको छ । यो असमानता र अपहेलना सशस्त्र युद्धले मात्रै निराकार हुन्छ भन्ने छैन ।

आमजनता सुसूचित, सुशिक्षित र सुसंगठित हुँदा पनि जित्न सम्भव छ । कथित स्वतन्त्र छनोटमा मतदान गर्न पाउनु मात्रै स्वतन्त्रता होइन, वास्तवमा त्यो च्वाइस नै होइन । यो त पुँजीवादी अपराध ढाकछोप गर्न ओढाइने बर्को मात्र हो ।

पुँजीपतिको वर्चस्व वा अधिनायकत्व समापन गरेर सर्वहाराको अधिनायकत्व स्थापित गर्ने नारालाई पुँजीवादीले ‘आतंक’ नाम दिए र विश्व कम्युनिस्ट आन्दोलनमा ‘टेरर’ स्थापित गराए

आफैँभित्र क्रान्तिकारी रूपान्तरण नगरी, प्रतिबद्धता जाहेर नगरी क्रान्तिमा होमिन र साम्यवादी समाज निर्माण सम्भव हुँदैन

कम्युनिस्ट इच्छा, सम्भव र असम्भव

एन्टोनियो नेग्रीले व्यक्तिगत कि सामूहिक ‘इच्छा’ ? व्यक्तिगत रहर कि सामूहिक रहर ? भन्ने प्रश्न गर्दै सामूहिक इच्छा प्राप्तिको अर्थ प्रतिरोध, संघर्ष र संवैधानिक शक्तिको आर्जनसँग जोडिन्छ भनेका छन् ।

अलान बैदु थप्छन्– अक्टोबर १९१७ सँग जोडिएको कथा सिक्वेल सेरिजहरू समाप्त भए तर पुँजीवादीले घोषणा गरेझैँ कम्युनिजम मर्‍यो भन्ने सत्य होइन । कम्युनिजम ‘घटना’ थिएन र होइन । यो ‘राज्य निर्माण’को दस्ताबेज मात्र होइन, अपितु राजनीतिक सत्य हो, अधिक आवश्यकीय हो र निश्चित दृष्टान्त हो । कम्युनिजमले ‘असम्भव’ ठानिएकोलाई पनि उद्घाटित गराउँछ ।

यद्यपि इच्छा गर्नेबित्तिकै कम्युनिजम प्राप्त हुँदैन । सैद्धान्तिक ज्ञान र वस्तुगत अवस्थाको व्यवस्थापन त्यो इच्छासँग संगठित रूपमा व्यवस्थित गरिनुपर्छ । त्यसैले कम्युनिजम के हो ? भन्ने थाहा पाउन जरुरी छ ।

लेखिका एवं अमेरिकी राजनीतिशास्त्री जोडी डिन लेख्छिन्, ‘कम्युनिजमले निषेध र क्रान्ति मात्र गर्दैन, उदार प्रजातान्त्रिक तथा बुर्जुवा क्रान्तिकै लागि पनि आममानिसलाई संगठित गर्छ, बुर्जुवा क्रान्तिमा देखिने खालीपन केलाउँछ, जुन असाध्य गाह्रो काम हो । बुर्जुवा क्रान्तिले सुरु गर्ने खुला बजारको रोजाइमा सामूहिक रहर व्यक्तिगत रहरमा बदलिन सक्छ र व्यक्तिगत अनगिन्ती इच्छा र आकांक्षा बुर्जुवा क्रान्तिले स्थापित गर्ने मान्यतामै बन्धक बन्न पुग्छन् ।

त्यसो भएमा बुर्जुवा क्रान्तिले स्थापित गर्ने खाडल पूरा गर्नुको साटो फराकिलो बन्न पुग्छ । त्यसैले कम्युनिस्ट इच्छा वा रहरलाई व्यक्ति–व्यक्तिमा सीमित नहुने वातावरण निर्माण गर्नुपर्ने हुन्छ ।’ कम्युनिजम सामूहिक निर्णय प्रणाली हो, क्रियाकलाप हो । यो सामूहिक इच्छा भएमा मात्र उपलब्ध हुन सक्छ । पुरानो समाज रातारात बदलिँदैन, त्यसका लागि प्रशस्त अनुभव हासिल गर्न जरुरी हुन्छ । क्रान्तिलाई पेटी बुर्जुवा नेतृत्वले विकृत बनाउने खतरा रहन्छ । अनेकन कुतर्कको खेतीमार्फत पुँजीवादमा आत्मसमर्पण गर्न विवश बनाउने खतरा रहन्छ ।

तिनले ‘साम्यवाद’लाई प्राप्त हुन नसक्ने कथन (युटोपिया) भन्दै कम्युनिस्ट इच्छा ‘असम्भव’ भन्छन्, तर उत्पादनका साधनबाट विमुख गराइएका बहुसंख्यक जनतासँग जोडिने विषय हो, कम्युनिजम । त्यसैले यो युटोपिया मात्र होइन, जोडीको तर्क छ । ‘आदर्शवादको मृत्यु’ ‘ईश्वरको मृत्यु’सरह हो भन्ने ठान्छन् जर्मन दार्शनिक फ्रयांक रुदा । वर्तमान समाजमा बिछ्याइएको व्यक्तिवादिताले भौतिकवाद हाबी देखिन्छ । केन्द्रीकृत गरिँदै लगिएको भौतिकवादलाई लोकतान्त्रिक भौतिकवादमा कसरी बदल्ने भन्ने कुरा यतिवेलाको गह्रौँ प्रश्न हो ।

रुदा भन्छन्, ‘आदर्शवादविनाको भौतिकवाद विचारविनाको भौतिकवाद हो । आदर्शविहीन भौतिकवादले बहस र छलफलको निर्माण गर्दैन । त्यसकारण त्यो लोकतान्त्रिक बन्न सक्दैन ।’ विचारका कारण मानिस जनावरभन्दा फरक हुन्छ । विचारले नै अनुशासन, पद्धति, समानता र स्वतन्त्रता निर्माण हुन्छ, भ्रातृभावका लागि प्रेरित गर्छ । कम्युनिस्ट आइडियाले मानवीय राजनीतिबारे सोच्न बहस निर्माण गर्न सिकाउँछ ।

एक्काइसौँ शताब्दीमा कम्युनिस्ट विचार विगतको इतिहास र वर्तमानको वस्तुस्थिति, परिस्थिति र वर्तमान उत्पादक शक्तिको चेतना विकास र आपसी सम्बन्ध तथा संगठित रूपमा शक्तिको ऊर्जा परिचालनको अध्ययन र कार्यान्वयनसँग सम्बन्धित विषय हो ।

आजको साम्यवाद

‘जहाँ शोषण हुन्छ, त्यहाँ संघर्ष हुन्छ र जहाँ थिचोमिचो र अत्याचार हुन्छ, त्यहाँ प्रतिवाद हुन्छ’ माओत्सेतुङको यो विचारोत्तेजक वाणी ‘किन राज्य सत्ता ?’ भन्ने प्रश्नसँग जोडिएर आउँछ ।

फ्रेन्च मानवशास्त्री एम्यानुएल टेरे ‘कम्युनिस्ट पार्टीहरूको रणनीति कसरी बन्छ र बनाइनुपर्छ’ भन्ने सेरोफेरोमा तर्क गर्छन् । पुँजीको प्रारम्भिक सञ्चितिबाट पुँजीवाद सुरु हुन्छ । त्यो सञ्चिति व्यक्ति–व्यक्ति, परिवार–परिवारबाट सुरु हुन्छ । तर, सामूहिक उत्थान वा रूपान्तरण व्यक्तिमा होइन, ‘राज्य’ मा निहित हुन्छ । राज्य नै यो रूपान्तरणको प्रभावशाली औजार हो । मार्क्सले उत्पादनका साधनमाथि व्यक्ति वा निजी स्वामित्व र नियन्त्रण हटाएर सामूहिक स्वामित्वमा ल्याएपछि मात्र सबैखाले ‘सामूहिकता’ सम्भव हुने तथ्य उजागर गरेका थिए ।

आजको सन्दर्भमा उत्पादनका साधन जमिन, श्रम, पुँजी र व्यवस्थापकीयतामा मात्र होइन, वित्तीयकरणको नियन्त्रणमा समेत खोज्न आवश्यक छ । राज्यले कसरी सुशासन गर्छ भन्ने कुराले मात्रै कम्युनिजमको विकास सम्भव छैन र हुँदैन । उत्पादनसम्बन्धी प्रबन्ध र संगठित उत्पादन कसरी गरिन्छ भन्नेमा पनि कम्युनिजमको आरोग्यता भर पर्छ ।

मानवशास्त्री टेरे विगतमा उत्पादनको साधन र स्रोतको राष्ट्रियकरणपछि केन्द्रीकृत र कर्मचारीतन्त्रको व्यवस्थापन गर्दाका असफलतालाई दोहोर्‍याउनुको तुक देख्दैनन् । निजी सम्पत्ति र राज्य नियन्त्रणको दोधारमा उभिनुको पनि केही अर्थ छैन । उनको विचारमा स्वामित्वको विषय ‘आवश्यकताको आयतन’, ‘सेवा उपलब्धताको आकार तथा भूगोलमा पुर्‍याइने साधनको उपलब्धताका आधारमा लोकतान्त्रिक पद्धतिबमोजिम स्थानीयकरण गर्न सकिन्छ ।

समुदाय र व्यक्तिमै पनि जिम्मेवारी सुम्पन सकिन्छ । ‘प्रतिस्पर्धा’को निर्धारण समाजको आवश्यकता, आफ्नो जनशक्तिको ल्याकत, पुँजी सञ्चितिको अवस्था तथा परिचालन विधिमा भर पर्छ । यी सबै व्यवस्थापन नयाँ समाजको लक्ष्य र उद्देश्य निर्धारणसँग जोडिन्छन् । प्रतिस्पर्धा ‘ब्लाइन्ड गेम’ होइन र खासगरी असमानतापूर्ण समाजमा सीधै सबै कुरा बजारमा हस्तान्तरण गर्न मिल्दैन ।

त्यसैले स्वामित्व र सञ्चालन योजनाबद्ध रूपमा हुन आवश्यक छ । तर, विगतमा झैँ यो उपल्ला पदाधिकारीले बनाउने केन्द्रीकृत योजनामा सीमित नभई आमसरोकारवालाको सहभागिताका आधारमा निर्णित हुने व्यवस्था गरिनुपर्छ ।

किताबका सम्पादक स्लाभो झिझेक चिनियाँ कथन दोहोर्‍याउँछन्, ‘तिमी रुचिपूर्ण समयमा बाँचिरहेका छौ ।’ यो वाक्यको अर्थ ऐतिहासिक रूपमा, अशान्ति, युद्ध र शक्तिका लागि थोरैले करोडौँ, अर्बौं मानिसलाई अप्ठ्यारोमा धकेलिएको वेला भन्ने लाग्दो रहेछ । यो ‘अप्ठ्यारो’ संसारका प्रायः सबै देशका बहुसंख्यक मानिसले झेलिरहेका छन् र सामाजिक न्याय र स्वतन्त्रताका लागि संघर्षरत छन् ।

स्वतन्त्रताको अर्थ के निर्वाचन भनिएजस्तै स्वतन्त्र हुन्छ ? के भनिएजस्तै प्रेस स्वतन्त्र तथा आग्रह पूर्वाग्रहरहित छन् ? के न्यायालय भनिएजस्तै स्वतन्त्र छन् ? के भनिएजस्तै आमरूपमा मानवअधिकारको रक्षा हुने गरेको छ ? के राजनीतिक र सामाजिक सम्बन्धहरूले आर्थिक समानताका अवसर तथा सामाजिक उपभोग्य वस्तु उत्पादन गर्न र वितरण गर्नका लागि उचित रूपमा संस्थागत व्यवस्थापनबारे सम्बोधन गरेका छन् ? जबसम्म यस्ता प्रश्न रहिरहन्छन्, तबसम्म ‘आइडिया अफ कम्युनिजम’को औचित्य रहिरहनेछ भन्ने झिझेकको सार छ ।

र अन्त्यमास्वघोषित ‘कम्युनिस्ट’ शासक, अघोषित कम्युनिस्ट, भूमिगत क्रान्तिकारी र अर्धभूमिगत तथा सुधारवादी कम्युनिस्टका लागि यो पुस्तकको औचित्य अत्यधिक छ । कट्टर बजारवादीका लागि पनि यो पुस्तक उपयोगी देखिन्छ । किनकि, आजको युगमा वामपन्थी दर्शनशास्त्रीहरू विकल्पसहित प्रस्तुत भएका छन्, तिनले प्रस्तुत गरेको विश्व दृष्टिकोण बुझ्नैका लागि भए पनि ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार