(संरा अमेरिकी अध्येता ग्रुभर फर लामो समयदेखि तत्कालीन सोभियत सङ्घको इतिहासबारे अध्ययन गर्दैछन् । सोभियत इतिहास, विशेषत: सोभियत सङ्घका नेता स्तालिनबारे विभिन्न प्रचारमाध्यम र बुद्धिजीवीले नियोजितरूपमा गरेका प्रचारको सत्यताबारे उनले गहिरो अध्ययन गरिरहेका छन् । उनले स्तालिनबारे त्रोत्स्की नेतृत्वको गुट र ख्रुश्चेभ नेतृत्वको गुटका प्रचारको पनि चिरफार गर्दै केही पुस्तक पनि प्रकाशन गरेका छन् । ‘ख्रुस्चेभ लाइड’, ‘मर्डर अफ सर्गेई किरोभ’, ‘ब्लड लाइज’, ‘त्रोत्स्कीज ‘अमालगम्स’ त्रोत्स्कीज लाइज’ उनका केही चर्चित पुस्तक हुन् । प्रस्तुत छ, फरसँग स्तालिनबारे गरिएको अन्तर्वार्ताको राताेपाटीले गरेकाे अनुवादकाे अंश)

केही आलोचक स्तालिनको सबभन्दा प्रमुख समस्या भनेको ‘प्रजातन्त्रमाथि नियन्त्रण’ भन्छन् । यो विचारप्रति तपाई कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?

सबभन्दा पहिले त यी महत्वपूर्ण विषयमा आफ्ना धारणा राख्ने मौका दिनुभएकोमा आभार व्यक्त गर्छु । ग्रीकहरूको लागि ‘प्रजातन्त्र’को परिभाषा ‘जनताद्वारा शासन’ थियो । तर वर्गीय समाज भएसम्म ‘प्रजातन्त्र’को विषयमा कुरा गर्नु निरर्थक छ । शासक वर्गले शासन गर्छ र कुनै शान्तिपूर्ण माध्यमबाट आफूले चलाइरहेको सत्ता छोड्न तयार हुँदैन ।

ओल्ड साउथ (संरा अमेरिकाको दक्षिणी क्षेत्रमा रहेका पहिलेका अनुदार प्रदेशलाई ‘ओल्ड साउथ’ भनिन्छ, जहाा दासप्रथा र दासमाथिको शोषण एवं अत्याचार अझ निर्मम थियो) का दासमालिकहरूलाई हेर्नोस् त । जब अमेरिकाको व्यवस्थापिका उनीहरूको नियन्त्रणबाट बाहिर गयो, उनीहरूले आफूलाई नै स्वतन्त्र घोषणा गरे । उनीहरू युद्धपछि मात्र राजकीय अधिकार त्याग्न तयार भए ।

यसले के देखाउँछ भने राज्यसत्ता भनेकै एउटा वर्गमाथि अर्को वर्गको तानाशाही हो । पुँजीवादी देशमा पुँजीपति वर्गले तानाशाही शासन गर्छन् । लेनिनको गहन कृति ‘राज्य र क्रान्ति’ले ‘प्रजातन्त्र’का दोहोरो पक्षबारे व्याख्या गर्दछ । मेरो विचारमा त्यो कृति सबैको लागि अध्ययनयोग्य छ । त्यसमा केही अपुग कुरा छन्– उदाहरणका लागि त्यो कृतिमा क्रान्तिको नेतृत्व गर्न एउटा कम्युनिष्ट पार्टीको आवश्यकताबारे केही भनिएको छैन ! तर हामी बाँचेको संसारबारे आधारभूत कुरा बुझ्न त्यो पुस्तक विलक्षण पुस्तक हो ।

लेनिनले जस्तै स्तालिनले पनि अठारौं शताब्दीदेखि पुँजीवादी देशमा ‘प्रजातन्त्र’ शब्दबाट बुझिादै आएको व्यापक रुपमा प्रतिनिधिमूलक प्रजातन्त्र चाहेका थिए । कम्तीमा खु्रश्चेभको शासनकालमा त्यस्तो प्रजातन्त्र लागू गर्दा के भयो भन्ने कुरा मैले दुई खण्डमा लेखेको एउटा लेखमा विस्तृत र तथ्यमूलक व्याख्या गरेको छु ।
के त्यस्तो व्यवस्थाले काम हुन सक्थ्यो ?

स्तालिन र उनका समर्थकले ‘अठारौा शताब्दीदेखि पुँजीवादी देशमा बुझिादै आएजस्तो प्रजातन्त्र’ लागू गर्न सकेनन् । लागू गर्न सफल भएका भए हामी सकारात्मक र नकारात्मक दुवै अनुभवले समृद्ध हुने थियौं ।

तर स्तालिनले पक्का पनि कुनै चुनावी माध्यमबाट समाजवाद नै उल्टिने बाटो रोज्ने थिएनन् । उनले त्यस्तो गर्न पनि हुँदैन ।

किरोभको हत्याको लागि स्तालिनलाई दोष लगाइएको छ । के यो दोषारोपणमा कुनै विश्वसनीयता देख्नुहुन्छ ?

पश्चिमेली देश र रुसमा यो कुरा निकै प्रचार गरियो । विशेषत: कम्युनिष्टविरोधी र स्तालिनविरोधी लेखकहरूले यो काम गरे । यो दुस्प्रचारको मूल जरो भनेका ट्रोत्स्की र अलेक्सान्द्र ओर्लोभ देखिन्छन् । पछि (बेलायती–अमेरिकी इतिहासकार तथा कवि) रोबर्ट कनक्वेस्टले सन् १९९० मा ‘स्तालिन र किरोभको हत्या’ (स्तालिन एण्ड द किरोभ मर्डर) पुस्तक लेखेर त्यो प्रचारबाजीको बिंडो सम्हाले । जतिसुकै मिहेनतले खोजेर बुनेको भए पनि स्तालिनविरोधी कथा बिक्ने थिएन । अर्का (अमेरिकी इतिहासकार) एमी नाइटले त्यो विषयमा सन् २००० मा अर्को पुस्तक लेखिन्– किरोभलाई कसले मार्‍यो (हु किल्ड किरोभ ?) । उनको कम्युनिष्टविरोधी पूर्वाग्रहले उनलाई सत्यभन्दा धेरै पर धकेल्यो ।

यो दोषारोपण पूर्ण रुपमा असत्य हो । त्यो कहिल्यै सत्य थिएन । त्यसको कुनै पनि प्रमाण नै छैन । बरू स्तालिन किरोभलाई निकै मन पराउँथे । किरोभ पनि स्तालिनका पक्का समर्थक थिए । वास्तवमा ट्रोत्स्की र ओर्लोभले झुठ बोलेको प्रमाणित भएको छ ।

सन् १९५६ को फेब्रुअरी २५ मा खु्रश्चेभले दिएको आफ्नो कुख्यात भाषणमा किरोभको हत्याको दोष स्तालिनमाथि लगाइयो । तर उनले कहिल्यै पनि सिधा यो आरोप लगाउन सकेनन् । ख्रुश्चेभकै पालामा कम्तीमा दुई नभए तीन वटा आयोग गठन भएको थियो । किरोभ हत्यामा स्तालिनको दोष देखाउन सकिने प्रमाण खोज्न । तर अहँ, कुनै पनि आयोगले प्रमाण फेला पार्न सकेन ।

यो विषयमा प्रमुख रुसी अनुसन्धानकर्ता भनेको अल्ला किरिलिना हुन् । उनी स्तालिनका घोर विरोधी थिइन् । त्यसबारे उनले केही पुस्तक पनि लेखेकी छन् । Rikoshet and Neizvestnyi Kirov नामको उनको पुस्तक अघिल्लो पुस्तकमा परिमार्जन सहित प्रकाशन गरिएको छ । तर उनले समेत किरोभ हत्यामा स्तालिनको कुनै सम्बन्ध नभएको स्वीकारेकी थिइन् ।

रोचक कुरा त के हो भने अहिले स्तालिनविरोधीहरूले किरोभको हत्याका लागि निकोलायभ मात्र संलग्न रहेको कथनलाई प्रोत्साहन गरिरहेका छन् । निकोलायभ किरोभमाथि गोली हान्ने व्यक्ति हुन् । यो कथन स्वीकार्नुको अर्थ सन् १९३६ को मस्को इजलास र जिनोभेभ–कामेनेभ अदालती कारबाहीका प्रतिवादीले स्वीकारेका अपराधलाई समेत चोख्याउनु हो । उनीहरू स्वयंले योजना बनाएर किरोभको हत्या गरेको स्वीकारेका थिए । तर कम्युनिष्टविरोधीहरू उनीहरू जसरी हुन्छ, उनीहरूका स्वीकारोक्तिलाई ‘झुठो’ भएको विश्वास गर्छन् । जबकि उनीहरूका भनाइलाई बल पुग्ने झिनो मात्र पनि प्रमाण छैन ।

उनीहरूले झुठो बोलेको भन्ने हामीसँग कुनै बलियो प्रमाण छैन । सन् १९३७ को दोस्रो मस्को इजलास र सन् १९३८ को तेस्रो मस्को इजलासमा उनीहरूले दिएका बयान कति समान थियो भन्नेमा हामीसँग कुनै प्रमाण छैन । निसन्देह हामीसँग विस्तृत जानकारी छैन किनभने रुस सरकारले अनुसन्धानका लागि पुराना कागजका ठेली सार्वजनिक गरेको छैन । कोही अनुसन्धातालाई अनुसन्धानको लागि ती दस्तावेज उपलब्ध गराएको पनि छैन । खु्रश्चेभको शासनमा र त्यसपछिको गोर्भाचोभ अनि एल्तसिनको शासनकालमा स्तालिनविरोधी हावापानी थियो । वास्तवमै स्तालिन किरोभको हत्यामा दोषी भएका भए रुसी सरकारसँग भएका ती कागजात धेरै अघि नै बाहिर आइसकेको हुन्थ्यो ।

प्रमाणहरू यति कम सङ्ख्यामात्र बाहिर ल्याइएको छ, कुनै पनि निष्कर्षमा पुग्ने सम्भावना रहने गर्दछ । तर निकोलेयभलाई धेरै सम्भव किरोभको हत्याको जिम्मा दिइएको थिएन । मानसिक रुपमा अस्थिर निकोलेयभलाई किरोभले उनीमाथि हानी पुर्‍याइरहेको कुरा बताइएको थियो ।

सन् २००३ मा कोतोलिनोभसँग गरिएको सानो सोधपुछ रुसी भाषामा प्रकाशित भएको थियो । उक्त दस्तावेजमा कोतोलिनोले किरोभ हत्यामा आफ्नो नैतिक जिम्मेवारी स्वीकारेका छन् । उनीहरूले नै निकोलायभको दिमाग किरोभविरुद्ध विषवमन गरेका थिए (लुब्यानका–स्तालिन…१९२२–१९३६, नं ४८१) । अरु दस्तावेजमा पनि कोतोलिनोभले ठाउँठाउँमा आफ्नो संलग्नता स्वीकारेका छन् र व्यक्तिगत रुपमा आफूले निकोलायभलाई कुनै निर्देशन नदिएको उनले बताए ।

किरोभ निकोलायभकी श्रीमती मिल्डा द्राउलेसँग सल्किएको प्रचारबाजी अझै पनि चलेकै छ । जिनोभियभ–कामेनेभ समूहले निकोलायभलाई उक्साउने हेतुले यो प्रचारबाजी गरेको हुनसक्छ । किरिलिनाले सार्वजनिक रुपमै किरोभ र द्राउलेबीच त्यस्तो कुनै सम्बन्ध भएको अविश्वसनीय भएको बताइसकेकी छन् । बरू किरोभको  हत्यामा निकोलायभलाई द्राउलेले सहयोग गरेकी थिइन् किनभने द्राउले स्वंयले यसमा आफ्नो संलग्नता स्वीकारी सकिन् ।

सन् १९३० को दसकसम्म सोभियत सरकारलाई समेत सो घटनाबारे के थाहा थियो भने कुरा हामीलाई थाहा छैन । किनभने रुस सरकारले सो घटनासँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

जिनोभेभ–कामेनेभलगायत सन् १९३६ को मस्को इजलासका प्रतिवादीहरूका बयान झुटा थिए भन्ने कुरा भनिरहनुको अब कुनै अर्थ छैन । किनभने उनीहरू आफैंले निकोलायभलाई किरोभको हत्या गराउने योजना बनाएको स्वीकारी सकेका छन् ।

हामीलाई प्राप्त भएका सीमित प्रमाणका आधारमा हामीले त्यत्तिबेला यस्तै कुनै प्रकारको षड्यन्त्र भएको हुनुपर्दछ भन्ने अनुमान गर्न सक्छौं । सारा प्रमाण अझै बाहिर आउन बाँकी नै भएकाले यस्तै हो भन्न गार्‍हो छ ।

कम्युनिष्ट विरोधी ‘पार्टी लाइन’ले किरोभको हत्या कुनै षड्यन्त्र थिएन भन्छ । उनीहरू निकोलायभले आफ्नै व्यक्तिगत लहडमा त्यो हत्या गरेको र जिनोभेभ, कामनेभलगायतका बाँकी अभियुक्तलाई किरोभ हत्याको आरोप जबर्जस्ती  स्वीकार्न लगाएको भनाइ राख्छन् । प्रमाणको अभावमा उनीहरूका यस्ता कुरालाई मान्नुपर्ने अवस्था बन्यो । तर मलाई लाग्छ, यो सबै गलत प्रचारबाजी मात्र हो ।

मूल कुरा, हामीसँग भएका जति पनि प्रमाण छन्, तिनले जिनोभेभ, कामेनेभ र उनीहरूका समूह नै किरोभको हत्या गर्न निकोलायभलाई तयार बनाएको भन्ने भनाइलाई पुष्टि गर्छ । हामीसँग भएका प्रमाणको अध्ययनले हामीलाई यही निष्कर्षमा पुर्‍याउने गर्छ ।

अझै पनि गोप्य राखिएका पूर्व सोभियत सङ्घका पुराना दस्तावेजबाट जुन दिन थप प्रमाण उपलब्ध हुनेछन्, तब तिनै प्रमाणका आधारमा आउने सत्यसँग आज हामीले सोचिरहेको कुरा बदल्नुपर्ने पनि हुनसक्छ ।

कम्युनिष्टविरोधीहरू ती दस्तावेज सार्वजनिक गर्न चाहँदैनन् । उनीहरू त स्तालित, बोल्शेविक र समग्रमा साम्यवादबारे ‘राक्षसी कथा’ मात्र स्वीकार्न तयार छन् । उनीहरू स्तालिन, बोल्शेविक र साम्यवादलाई ‘कुरुप’ बनाउन मात्र लागिपरेका छन् । उनीहरू सबैजनाले झुठो बोलिरहेको हुन जरुरी छैन । कोहीकोही जस्तै रोबर्ट कन्क्वेस्टले त प्रस्ट रुपमै झुट बोलिरहेको हो । कोहीकोही भने गलत प्रचारबाजीका कारण पनि त्यस्ता कुरा गरिरहेका हुन सक्छन् ।

स्तालिनले अल्पसङ्ख्यक राष्ट्रहरूमाथि गरेको व्यवहारका कारण आलोचना गरिन्छ । के त्यस्ता आलोचना सही हुन् ?

अहँ, कत्ति पनि सही होइन । स्तालिन जातिवादविरोधी थिए । स्तालिनको पाला र त्यसपछि पनि सोभियत सङ्घमा जातिवादी पूर्ण रुपमा निर्मूलन भइसकेको थिएन । तर स्तालिनको पालामा बोल्शेविक पार्टीको नीति जातिवादी कदापि थिएन । स्तालिन त जातिवादको घोर विरोधी नै थिए ।…

सोभियत सङ्घभन्दा अघि र पछिको रुसजस्तै सोभियत सङ्घ पनि बहुराष्ट्रिय राज्य थियो । सबैका राष्ट्रिय पहिचान थिए । सामान्यत: फरक भाषाको आधारमा परिभाषित हुने गरेका साना राष्ट्रहरूलाई निश्चित अधिकार, निश्चित क्षेत्र दिइएको थियो । यसले केही समस्या पनि भए । तर विभिन्न भाषा र संस्कृतिलाई एउटा ठूलो राज्यमा एकत्रित बनाइराख्ने त्यत्तिबेलासम्ममा भएको सबभन्दा उत्तम प्रयास थियो ।

स्तालिनको निधनपश्चात केही महिनाभित्रै लाभ्रेन्ती बेरियाको हत्या भयो । ख्रुश्चेभलगायत सोभियत कम्युनिष्ट पार्टी अध्यक्षमण्डलका सदस्यहरूले हत्या गराएका थिए । यसको कारण बेरिया रुसी बडाराष्ट्र अहंकारवादका कडा आलोचक थिए । इस्टोनिया, लातभिया र लिथुआनिया तथा पश्चिम युक्रेनमा पार्टी नेताहरूबाट भएका यस्ता बडाराष्ट्र अहंकारवादी व्यवहारका उनी आलोचक थिए । बेरियाको राजनीति स्तालिनकै राजनीतिमा आधारित थियो ।

स्तालिनको निधनपश्चात रुसी बडाराष्ट्र अहंकारवाद अझ भयावह तहमा बिस्तार भयो । तर आजको चरणसम्म भने कहिल्यै पुगेको थिएन ।

नेपाली अनुवाद: नीरज लवजू
स्रोत: द पोर्टल्याण्ड माओइस्ट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार