धेरैले सतहबाट कम बुझेको वा उल्टो बुझेको सम्बन्ध प्रचण्ड र किरणको हो । मान्छेहरू धेरैले किरणलाई प्रचण्डको गुरु भनेर बुझ्छन् भने प्रचण्डलाई किरणले नै नेतृत्वमा विकास गरेको भन्ने ठान्छन् र यो हो भन्ने नै पर्छ तर प्रचण्डले यो कुरा कतै पनि लिखित रूपमा उल्लेख गरेका छैनन् र उनको मनमा त्यो छैन पनि । भित्री पार्टी जीवनमा झन् त्यो हुँदै होइन । बरु दुवैको बीचमा एकताको खोलभित्र सङ्घर्षको मनोदशा जीवित रहिरह्यो । उनीहरूका बीचमा भावना पनि छन् तर वैचारिक सङ्घर्षको पाटो पछिल्लो समयसम्म पनि कायम रह्यो ।

जनयुद्धको तयारी गर्ने र क्रान्ति सम्भव छ भनेर पार्टी–पङ्क्तिलाई विश्वस्त पार्नेमा प्रचण्ड–किरणको सम्बन्ध महŒवपूर्ण छ तर यो निर्णायक कम थियो । प्रचण्डले बादल र बाबुराम पाएपछि किरणलाई सम्मान दिएजस्तो गर्थे तर मुख्य भर किरणमा भन्दा अरूमा बढी परेको देखिन्थ्यो । महŒवपूर्ण जिम्माहरू हेर्दा पनि त्यो भन्न सकिन्छ । वास्तवमा भन्ने हो भने प्रचण्डले किरणलाई प्रतिद्वन्द्वीका रूपमा निकै कम लिएको देखिन्थ्यो भने किरणमा पनि वैचारिक रूपले भित्र आलोचना गरे पनि प्रचण्डसँग सङ्घर्षभन्दा मिलेर काम गर्ने मनस्थिति थियो । ठीक यस्तै बुझाइ पार्टी–पङ्क्तिमा पनि थियो । किरण एक ‘दार्शनिक’ क्षमता भएका नेता त हुन् तर क्रान्तिको नेतृत्व हाँक्न सक्ने क्षमता उनीमा छैन भन्ने नै परेको थियो र पारिएको थियो भने हुन्छ । यो कुरा किरणलाई थाहा थियो र उनी यसमा कुण्ठित हुन्थे ।

प्रचण्ड–किरणको सम्बन्धबारे पहिलो फरक बुझाइ मोहनविक्रमबाट विद्रोह गरी किरण महासचिव बनेर ३ वर्षमै महासचिव प्रचण्डलाई छोडेपछिको सन्दर्भमा थियो । पार्टीका केही पङ्क्ति र बाह्य पक्षलाई किरणले प्रचण्डलाई उत्तराधिकारीका रूपमा नेतृत्व हस्तान्तरण गरेका हुन्, किरण र प्रचण्डमा कुनै अन्तर छैन भन्ने परेको थियो तर प्रचण्ड र पार्टीको ठूलो पङ्क्तिमा किरणको नेतृत्व असफल भएपछि वा किरणले नेतृत्व दिन नसकेपछि प्रचण्ड सङ्घर्षसहित जितेर अगाडि आएका हुन् भन्ने थियो । वास्तविकतामा पहिलोभन्दा दोस्रो नै मुख्य देखिन्छ तर किरण आफैँ नेतृत्वबाट पछि हट्ने र नयाँमा जाँदा कसलाई महामन्त्री बनाउने भन्ने सन्दर्भमा भने प्रचण्डप्रति नै ढल्केका थिए किनकि त्यस बेला किरणपछि पालो स्वतः हुँदा सीपी गजुरेलको थियो, भक्तबहादुर वरिष्ठ भए पनि उनले त्यो अवसर पाउने सम्भावना थिएन । पार्टीमा सङ्घर्ष पनि कुनै न कुनै रूपले चल्यो । सङ्घर्षमा किरणको सहयोगका कारण प्रचण्डलाई नेतृत्वमा आउन सहज भयो । यसमा बादलको साथ पनि प्रचण्डलाई नै थियो । किरण यो सम्बन्धमा आफूले छोडिदिएको र आफ्नै सहयोगमा प्रचण्ड नेतृत्वमा आएको देखाउन चाहन्थे भने प्रचण्ड किरणलाई जितेर क्षमताका आधारमा आएको बुझाउन चाहन्थे ।

२०४८ पछि यसमा बाबुराम, बादलहरूको पनि समर्थन थियो । प्रचण्ड, बाबुराम, बादलहरूले पछिल्लो समयमा क्रान्तिको समस्या ‘जडसूत्रीय संशोधनवाद’ पनि हो कुनै समयमा यो अप्ठ्यारो बन्न आउने गरेको भन्दै रूपमा मोहनविक्रमतिर र भित्र किरणतिर (चौथो महाधिवेशनको लाइन भन्दै) सोझाइरहेका थिए । दोस्रो राष्ट्रिय सम्मेलनवरपर त यसको धज्जी नै उडाइयो पार्टीमा । यसले किरणलाई पोल्नु स्वाभाविक थियो भने प्रचण्डले जसरी पनि यो सत्य बुझाउनुपर्छ भन्ने सोच्थे । प्रचण्डले यो सत्य किरणलाई नै भन्न लगाउने कलाबाजी गर्दै थिए । नेतृत्व तहमा भित्र र बाहिर पर्ने यत्ति फरकले पनि आन्दोलनका हकमा जाँदा कता हो कता धेरै तन्किनु स्वाभाविक थियो र यो तन्किरह्यो पनि । प्रचण्ड र किरणबीचको सङ्घर्षमा यो मनोभावको प्रभाव निरन्तर रह्यो । बादल कारबाहीमा पर्दा उनीमाथि चर्को प्रहार हुनुमा सिद्धान्तको खोलभित्र किरणको यो मनोदशाले पनि काम गरेको थियो । यसबारे बादल पनि स्पष्ट थिए र मौका पर्दा उनले तिखो प्रहार गर्न बाँकी राख्दैनथे ।

जनयुद्ध आरम्भ र बादलको कारबाहीपछि मुख्य क्षेत्रको नेतृत्व प्रचण्ड आफैँले हेरे । उनले सुरुमा दिवाकरलाई देखावटीमा राखेर भित्र आफैँले सबै निर्णय गर्ने गरे । यो एक हदसम्म ठीकै पनि थियो । पछि भने दिवाकरले निकै मेहनत गरेर नेतृत्व क्षमताको विकास गरेका थिए, त्यसले प्रचण्डलाई निकै ठूलो सहयोग पुग्यो । २०५५ मा नेतृत्व केन्द्रीकरणको बहस बाबुरामसँग हुँदा किरण पनि प्रचण्डको इच्छामा पूर्ण सहमत थिएनन् । किरणले केन्द्रीकरण यो स्तरमा गर्ने बेला नभएको सोचाइ राख्थे तर बाबुरामसँगको लडाइँले गर्दा प्रचण्डसँग रहन पनि बाध्य थिए । प्रचण्डले रूपमा किरणलाई शान्त राखे तर भित्रभित्रै जडसूत्रवादको जरो पनि खन्दै गरे । यो किरणले बुझेका थिए । प्रचण्डले किरणलाई पनि नेतृत्व स्थापनाको विरोधी बताएर प्रहार गर्न थालिसकेका थिए । यो कुरा दिवाकरजस्ता इमानदारले भन्न थालेका थिए । चौथो विस्तारित बैठकपछिको बैठकमा यो सङ्घर्ष प्रस्टै देखियो । मूल सङ्घर्ष बाबुरामसँग भए पनि किरणले पनि प्रचण्डलाई केन्द्रीकरणका नाममा ‘तानाशाही’ बन्न खोजेको टिप्पणी गरेका थिए तर केन्द्रीय समितिले बाबुराम, किरण दुवैलाई प्रहार ग¥यो र जनयुद्धलाई उच्चता दिनका लागि नेतृत्व केन्द्रीकरणको आवश्यकता रहेको संश्लेषण ग¥यो ।

विचार संश्लेषणको बहस अगाडि बढेपछि सिलगुढी बैठकमा बादलले किरणलाई प्रहार गरे । उनले जनयुद्धको तयारीदेखि अहिले पनि पार्टीमा जडसूत्रीय संशोधनवाद बाधक बनिरहेको त्यो ‘चाणक्य र चन्द्रगुप्त’ को भूमिकामा बस्न खोजेको विश्लेषण गरे । बादलको यो टिप्पणीमा प्रचण्ड र बाबुरामले पनि कुनै न कुनै रूपले सहमति जनाए । त्यही बेला बाबुरामले प्रचण्डको सहमतिमा भारतलाई भेटेका थिए र उनीहरूको विवाद मिल्नेतिर गइरहेको थियो । किरणमाथिको यो प्रहार अप्रत्याशितजस्तो थियो । किरणले यो चाल प्रचण्डको नै हो भन्ने बुझिहाले र निकै उद्वेलित र भावुक हुँदै भने, ‘मुटुमा फ्युज बाल्न तयार छु ।’ उनी भावुक भएर बोलेपछि बैठक नै स्थगित भयो तर पार्टीमा जनसूत्रीय संशोधनवादमाथि विशेष रूपले प्रहार हुन थाल्यो । एक हदसम्म जडसूत्रवादको समस्या देखिन्थ्यो र थियो पनि । पुरानोले नपुग्ने नयाँमा जान तयार नहुने हुँदा जडसूत्रवादको चक्कर चल्छ । जडसूत्रवादले पनि अन्ततः क्रान्तिलाई विसर्जन नै गर्दछ । प्रचण्डले मौका पाएसम्म भन्न थालिसकेका थिए, ‘किरणले भनेको मानेको भए जनयुद्ध सुरु नै हुने थिएन । जनयुद्ध सफल हुन्छ भन्नेमा उनी विश्वस्त थिएनन् ।’ यो विषय बादल, बाबुराम र दिवाकरले पनि भन्ने गर्थे ।

२०५९ सालमा दुम्ला बैठकले २१ औँ शताब्दीको जनवाद पारित ग¥यो । त्यसमा कयौँ विषय सकारात्मक भए पनि स्टालिनमाथिको प्रहार, जडसूत्रवादमाथिको प्रहार र बहुदलीय प्रतिस्पर्धाको मान्यतामा विशेष जोड थियो । यसका पछाडि पनि किरणतिरको सङ्घर्षको झल्को देखिन्थ्यो । किरणबारे धेरै टिप्पणी आउन थालेका थिए । जनयुद्धलाई पनि जित्न सकिँदैन भन्ने दृष्टिकोण राख्छन्, निराश देखिन्छन् भन्ने चलिरहेको थियो । पार्टीमा रूढिवाद र जडसूत्रवादबारे बहस गर्नुपर्ने र त्यो समस्यालाई हल गर्नुपर्ने भन्ने छलफल सुरु भइसकेको थियो । यो बहस चल्दै गर्दा किरण गिरफ्तार परे । उनी गिरफ्तार परेको विषयलाई पनि पार्टीमा रहस्यमय तरिकाले बुझियो । सुरुका ३ दिन कतैबाट बाहिर प्रचार नगर्ने भन्ने आयो, रूपमा हेर्दा छुटाउन सकिन्छ कि भन्ने सकारात्मक तर्क नकारात्मक दृष्टिले हेर्दा समयमै नबोलेर फसाएजस्तो देखिने भयो । गिरफ्तारी पनि किरणकै कमजोरीले भयो भन्ने बढी भयो किनकि उनी आँखाको उपचारमा गएका थिए ।

नेपालमा भर्खरै म्याग्दी कारबाही भएको थियो । परिस्थितिलाई बुझ्न नसकेको भन्ने भयो तर किरणको भनाइमा प्रचण्डलाई सोधेर नै उपचारमा गएका थिए । जे भए पनि किरण गिरफ्तार पर्नुमा केवल किरणको कमजोरी मात्र थिएन, त्यहाँ पार्टीभित्रको सङ्घर्षलाई ध्यान दिएर भारतले खेलेको खेल पनि थियो । गिरफ्तार नै गर्न चाहेको भए सिलगुडीमा बसेका किरणलाई भन्दा दिल्लीमा बस्ने प्रचण्ड–बाबुरामलाई सजिलो थियो । किरण यसरी गिरफ्तारीमा परेपछि उनीसँगको प्रचण्डको सङ्घर्ष त्यहीँ रोकियो । उनी गिरफ्तार नखाँदा हुन् त यो निश्चित थियो– कुनै न कुनै स्तरको सङ्घर्ष किरणसँग भइसक्थ्यो किनकि जनयुद्धको विस्तारले प्रचण्डको प्रभावलाई कसैले पनि चुनौती दिन सक्ने अवस्था नै पार्टीमा थिएन । प्रचण्डले गर्ने इशारामा पूरै पार्टी विशेषतः नयाँ पिँढी एक ढिक्का भएर सङ्घर्षमा अग्रसर हुन्थ्यो तर किरण गिरफ्तार भएपछि प्रचण्ड बेलाबखत किरणको उपस्थिति खट्किएको, बहस गर्ने शक्ति कमजोर भएको अनुभूति गर्थे र पार्टीमा कुरा हुँदा उल्लेख पनि गर्थे ।

शान्तिप्रक्रियापछि किरण जेलबाट निस्किए । उनले पार्टीका बहसहरू सुने । प्रचण्ड–बाबुरामको दमदमी हेरे । उनीहरूको भद्दा कार्यशैली र दम्भ पनि देखे । केही चिने–जानेका कमरेडहरूले प्रचण्ड–बाबुरामले बिगार्दै गएको र प्रचण्ड विचलित भएको तर्क पनि सुने । यो सुनाउने पहिलो व्यक्तिमध्ये जनार्दन शर्मा ‘प्रभाकर’ भएको कुरा किरण बताउँछन् । अरू धेरैले पनि किरणलाई सुनाए, यो एक हदसम्म प्रचण्डलाई किरणले भन्न सक्लान् र रूपान्तरण होला कि भन्ने सदाशयले पनि थियो । २०६३ मा चितवनको होलील्यान्ड स्कुलमा भएको प्रशिक्षणमा पहिलोचोटि किरणले प्रचण्ड–बाबुरामले भनिरहेको ‘दुई कार्यनीति’ र ‘संविधानसभाबाट संविधान’ अझै बुझिनसकेको तर्क राखेका थिए । यसले हललाई उद्वेलित पारेको पनि थियो । प्रचण्डले यसलाई बुझिहाले र केही प्रस्ट पार्दै किरणसँग बसेर समाधान गर्ने जबाफ दिए ।

२०६४ सालमा बालाजु पाँचौँ विस्तारित बैठकमा किरणसहित हामीले कार्यशैली, लोकतान्त्रिक गणतन्त्र र विद्रोहबारे बहस ग¥यौँ । पछि किरणसहित भएर दस्ताब्ेज सच्याउने भन्ने भयो तर प्रचण्डले दस्ताबेज नै तल पठाएनन् । यो पनि बीचमै रोकियो । त्यसपछि तुरुन्तै पार्टी संविधानसभाको चुनावतिर मोडियो । किरण प्रचण्डले गल्ती गरिरहेको विशेषतः बाबुरामसँग लागेर दक्षिणपन्थी बाटो पकड्न थालेको विचार राखिरहेका थिए । पार्टीमा क्रमशः प्रचण्डविरुद्ध सङ्घर्ष बढ्न थाल्यो । किरणले यसको नेतृत्व गरे । जब २०६६ सालमा खरीपाटी राष्ट्रिय भेला भयो, त्यहाँ प्रचण्ड–बाबुरामले ‘जनपक्षीय लोकतान्त्रिक गणतन्त्र’ को राजनीतिक प्रस्ताव पेस गरे । त्यो कार्यक्रम सीधा नयाँ जनवादी गणतन्त्र वा जनगणतन्त्रका विरुद्ध ल्याइएको संशोधनवादी कार्यक्रम थियो । त्यसमा हामी सहमत हुनसक्ने कुरै थिएन । त्यसका विरुद्ध हामीले ‘जनगणतन्त्र’ को कार्यक्रम पेस ग¥यौँ । यसको नेतृत्व किरणले गरे । त्यहाँ पहिलोपटक प्रचण्ड र किरणको फरक धार निर्माण भयो । किरणले यसलाई जनयुद्धकालदेखि प्रचण्डले गरेका धूत्र्याइँका विरुद्ध पनि सदुपयोग गरे । प्रचण्डले पनि यो कुरा राम्रोसँग बुझे तर समयले कसरी पल्टा खायो भने यो सङ्घर्षमा किरण क्रान्तिकारी र आक्रामक, प्रचण्ड दक्षिणपन्थी र रक्षात्मक बनेका थिए । इतिहासको विश्लेषणमा पनि किरण स्वतः प्रभावीजस्ता बनिरहेका थिए ।

किरण र प्रचण्डका सयौँ बैठक भए होलान् । दुई लाइन सङ्घर्ष सुरु भएपछि तर यो हल भएन र हुने अवस्था पनि थिएन । पालुङटारमा दुई लाइन सङ्घर्ष अरू चर्कियो । यसको नेतृत्व पनि किरणले नै गरे । धोबीघाटमा पुग्दा सङ्घर्ष उत्कर्षमै पुग्यो । प्रचण्ड जीवनमा पहिलोपटक अल्पमतमा पुगे तर किरण प्रचण्डलाई फेर्नेभन्दा रूपान्तरण भन्दै बसे (प्रचण्ड भएको भए नेतृत्व परिवर्तन हुन्थ्यो) । बाबुराम र प्रचण्ड मिलेर जनमुक्ति सेना विसर्जन गर्ने निर्णयमा पुगेपछि किरणकै नेतृत्वमा विद्रोह भयो र नेपाल कम्युनिस्ट पार्टी–माओवादी बन्यो । यसरी प्रचण्ड र किरणको सङ्घर्ष विभाजनसम्ममा पुगेर टुङ्गियो ।

प्रचण्ड आफ्नो विचलनको पराकाष्ठामा पुग्दै एमालेसँग एकता गरेर जीवन धान्नेमा पुगेका छन् भने किरण विचारको दृष्टिले क्रान्तिकारी धारामा बसे पनि कार्यनीतिका दृष्टिले टाउको संसद्वादी उपयोगवादको दुलोभित्र घुसारिरहेका छन् । उनले त्यसबाट टाउको निकाल्लान् वा अकर्मण्यताको भुमरीमा अल्झिएर पुच्छर मात्र क्रान्तितिर फर्काइरहलान् ? त्यो कुरा भाबी आन्दोलनले प्रस्ट पार्ला !

महापतनबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार