यही डिसेम्बर १८ का दिन चीनमा सुधार र खुलापनको नीति शुरुआत गरिएको ४० औँ वर्षगाँठ पुगेको छ । त्यसो त चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा जनवादी गणतन्त्र चीन स्थापना र समाजवाद निर्माणका सर्वोच्च नेता माओको १२५ औँ जन्म  दिन पनि यही डिसेम्बर २६ नै हो ।

त्यसरी नै सन् १९४९ देखि चिनियाँ कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दै समाजवाद निर्माणलाई अघि बढाइरहेकोमा माओको नेतृत्व अवधिका पछिल्ला वर्षहरुमा अपेक्षित विकास भइरहेको र कतिपय अस्तव्यस्तताले जनअसन्तोष बढिरहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो पुस्ताका सर्वोच्च नेता देङ सियाओ पेङको नेतृत्वमा सन् १९७८ डिसेम्बर १८ मा भएको सिपीसीको बैठकबाट चीनमा सुधार र खुलापनको नीति अघि बढाइयो । जसले चिनियाँ विशेषता अनुरुपको समाजवाद निर्माण र आधुनिकीकरणलाई तीव्र बेगका साथ अघि बढाइरहेको छ ।

चीनमा सन् १९७८ पछि सुधारका नीति ग्रामीण क्षेत्रमा किसानहरुबीच लागू गरियो, यसले चाँडै नै किसानको जीवनस्तरमा सुधार आयो, आयमा बढोत्तरी हुन थाल्यो । उत्पादनमा उल्लेखनीय वृद्धि भयो । छोटो अवधिमा नै किसानले अनुभूत हुने गरी आफ्ना जीवनमा सकारात्मक परिवर्तन, विकास र प्रगति सम्भव भयो । यसबाट उत्साहित हुँदै सुधारका नीतिहरु शहरी क्षेत्रमा उद्योग, व्यापार व्यवसायमा अघि बढाइयो । विशेष आर्थिक क्षेत्रहरु स्थापना गरियो ।

खुलापनको नीति अवलम्वन गर्दै विदेशी लगानी भित्र्याउँदै पूँजी, प्रविधि र व्यवस्थापकीय दक्षतालाई आफ्नो देशको विकासमा उपयोग गरियो । यसका पनि सकारात्मक र उत्साहजनक परिवर्तन देखा परे । फलतः सुधार र खुलापनको नीतिलाई समाजका सबै क्षेत्रमा व्यापक ढंगले लागू गरियो र चीन छिटोछिटो आधुनिक, सम्पन्न र शक्तिशाली राष्ट्र बन्न पुग्यो । देङ सियाओ पेङले भनेका थिए– ‘बिरालो सेतो होस् वा कालो, मुसा मार्नु पर्छ’ अर्थात् कम्युनिष्ट पार्टीको लक्ष्य भनेको जसरी हुन्छ सम्पूर्ण जनताको जीवनमा सुखी र समृद्धि ल्याउने हो त्यसको निम्ति सहज, सरल र व्यवहारिक नीति अवलम्वन गर्नुपर्छ । त्यसरी नै समाजवाद भनेको गरीबी बाँड्ने होइन सम्पन्नतामा हिस्सेदारी गर्ने हो, समाजको सबै पसलमा समृद्धि हासिल गर्नु हो र जनताको निशर्त सेवा गर्नु कम्युनिष्ट पार्टीको एक मात्र ध्येय उद्देश्य हो भन्ने कुरा नेकपाका नेताले बुझ्नुपर्छ ।

त्यसरी नै देङसियाओ पेङले माओ विचारधाराको सारलाई अत्यन्त गहन ढंगले ग्रहण गर्दै त्यसलाई कार्यान्वयन गरे । तथ्यहरुबाट सत्यको खोजी, सयौँ फूलहरुलाई फुल्न देऊ सयौं विचारहरुलाई प्रतिस्पर्धा गर्न देउजस्ता विचारलाई ग्रहण गर्दै चिनियाँ विशेषताअनुसारको समाजवाद निर्माणलाई अघि बढाइयो । त्यसरी नै सरकारी, संयुक्त र निजी स्वामित्वका उद्योग व्यापार व्यवसायी संस्थाहरु निर्माण गर्दै यिनको कुशल संयोजनद्वारा आधुनिक समाजवाद निर्माणको निम्ति उत्पादक शक्तिहरुको उत्पादकत्व वृद्धि गर्दै समुन्नत समाजवाद निर्माणको गति तीव्र भयो र आज कम्युनिष्ट पार्टीको नेतृत्वको समाजवादी चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । करीब ४० वर्षको अवधिमा ७४ करोड गरीबलाई गरीबीबाट मुक्त गरिएको छ र यसलाई सारा दुनियाँले स्वीकार गर्दै मुक्त कण्ठले प्रशंसा गर्दै मानव इतिहासमा अद्वितीय उपलब्धि भनेका छन् ।

डिसेम्बर १८, २०१८ को सुधार र खुलापनको ४० औँ वर्षगाँठको भव्य समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले सुधार र खुलापनको नीतिलाई हरेक चुनौतीहरुको डटेर सामना गर्दै समाजका सबै क्षेत्रमा यसलाई गहन र व्यापक ढंगले अघि बढाउने र सन् २०५० सम्ममा आधुनिक, सम्पन्न र शक्तिशाली समाजवादी चीन निर्माण गर्दै विश्वका विकसित देशको दाँजोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सिपीसीको बुद्धिमत्तापूर्ण नेतृत्वमा यो लक्ष्य सहज ढंगले प्राप्त हुने विश्वास गर्न सकिन्छ ।

चीनको सफलताबाट नेपालले कयौँ कुराहरु सिक्न सक्छ । चीनमा क्रान्ति, निर्माण तथा सुधार र खुलापनको नीति अवलम्वन गर्दा माक्र्सवाद–लेनिनवादलाई आफ्नो देशका विद्यमान चुनौती र समस्याहरु समाधान गर्न मौलिक ढंगले लागू गर्ने क्रममा यी नीति सिद्धान्त विकसित गरियो । अर्धसामन्ती, अर्धउपनिवेशी चीनलाई मुक्त गर्न माओको नेतृत्वमा सिपीसीले नौलो जनवादी कार्यक्रम अघि सार्दै त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने क्रममा नै चिनियाँ क्रान्ति सफल भयो ।

यो माओको माक्र्सवाद–लेनिनवादमा थप योगदान र अरु विकसित र समृद्ध बनाउने कार्य थियो । त्यसरी नै समाजवाद निर्माणमा मौलिक नीतिहरु अघि सारियो । त्यसरी नै करीब ३० वर्ष समाजवाद निर्माणका अनुभवहरुको समीक्षा गर्दै उत्पन्न परिस्थिति, तिनमा रहेका कमी कमजोरीबाट सिक्दै सन् १९७८ मा देङ सियाओ पेङले सुधार र खुलापनको नौलो नीति अघि सार्नुभयो र यसको सफलताले माक्र्सवाद–लेनिनवादलाई विकसित र सशक्त बनाउन महान् योगदान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार