‘एट्टी–वन’ले फालेका ‘प्यारा–बम’ उनीहरुका ठीकमाथि आकाशमा पड्कन्थे। लगत्तै बम बिस्फोटपछि निक्लेको उज्यालो पछ्याउँदै गोली र बमगोला बर्षन्थे ।। कानका जाली फुटाउने आवाजसहित ओर्लेका ती बमगोलालाई चुनौती दिँदै रातमा एउटा युवा आवाज झरिरह्यो। आवाज सुनेर उनलाई लागिरह्यो, ‘ठीकठाक चल्दैछ।’

नजिकै तर फरकफरक ‘आर्क’बाट कमान्ड गरिरहेका कमान्डर दम्पतीको आवाज बेलाबेला मिसिएर झुल्नेटा बजार पुग्थे।

गोलाबारी झरीमै रातको १ बज्यो। त्यसपछि एकाएक कासन गर्ने युवा आवाज रोकियो। माओवादी भाषामा ‘दुश्मन’को गोलावर्षा पनि थामियो। नजिकको त्यो आर्क सुनसान भयो।

सन्नाटा चिर्दै उनको छेवैमा ‘दुश्मन’ बम बज्रियो। यति जोडले कि, त्यसको धमाकाले उनको होश पनि लिएर हिँड्यो।

भोलिपल्ट उपचार भइरहेको ठाउँमा उनलाई कमरेडहरूले पर्स र घडी थमाइदिए।

पर्समा थिए, उनी आफैंले पठाएका प्रेमपत्र र आफ्नै फोटो।

सीता सम्झना

त्यस रात जून लागेको थियो। जात्राबाट फर्कने जत्रालु मादल र मुरली धुनसित ओर्लेका गीत तालमा घर फर्कंदै थिए।

२०५६ सालको बर्खे दसैं पूर्णिमामा लाग्ने जुडापाटाको पाँचपुन्नी मेला थियो। जुडापाटा उनको घरदेखि एकडेढ घण्टा पैदल दूरीमा थियो।

घर नफर्की तीनवटी दलित केटी भने माडीखोला छाडेर माओवादी उकालो बाटो लागे। जुनेली रातमा जति सकिन्छ उति छिटो। पुग्ने कहाँ हो ? गर्ने के हो ? केही थाहा थिएन। तिनका मनमा बर्खायामको माडी छालजस्तै काँधमा बन्दुक बोकेर हिँड्ने उत्कट चाह मात्र थियो।

कुर्कुरे बैंस भर्खर पलाउन थालेका ती केटी यसरी उकालिए कि, जति सकिन्छ उति आफ्नो गाउँबाट टाढा। यसकारणले कि, परिवार सदस्यले भेटेर घर नफर्काऊन्।

लगातार एकडेढ घण्टा उकालिएपछि कमरेडहरूले तिनलाई एउटा घरमा लगे।

९ कक्षाका ती केटीका काँधमा न झोला थिए, न फेर्ने लुगा। (फेर्ने लुगा लिएर गए घरमा शंका गर्छन् भनी जीउको लुगामात्र लगाएर हिँडेका थिए।) तिनले सारी लगाएका थिए।

‘सेल्टर’मा रोल्पाका कुमार र दिनेशसहित पाँच/छजना माओवादी थिए।

महिला कमरेडहरूले फेर्नलाई आफ्ना लुगा दिए। तिनले लुगा फेरे। त्यसपछि कमरेडहरूले जुनेली रातमा थप तीन घण्टा उकाले। कारण थियो, तिनलाई फर्काउन आउलान् कि भन्ने आशंका।

बिहानको चार बजेतिर एउटा घरमा पुगेर सुते।

‘आउन त आइयो। सकिन्छ कि सकिँदैन ? ’

ती केटीका अल्लारे मनमा उर्लेको कर्णालीले निदलाई कहाँ हो कहाँ बगायो। चार बजेपछिको उज्यालो पर्खन पनि तिनले हजारबार कोल्टे फेरे। ‘कहाँ न कहाँ खोज्दैछ होलान्’ भनेर खासखुस गरे।

बूढाबूढी आमाबासहित परिवार सदस्यहरूलाई छाडेर आएका थिए। तीनमध्ये एउटीले त एक्ली आमालाई।

त्यो रात काँचै आँखामा ढल्यो।

०००

माओवादी बनेपछि नयाँ नाउँ राख्ने (माओवादीले टेक नाम भन्थे) चलन नै थियो।

यसको पछाडि दुई कारण थिए। एक थियो, सुरक्षा। नयाँ नाउँले सुरक्षित हुन मद्दत गथ्र्यो। अर्को थियो, माओवादी हुनु नयाँ मान्छे हुनु हो र फेरिनु हो भन्ने अवधारणा। र, यसले दुनियाँ बदल्न नयाँ जिन्दगी सुरु भयो है भन्ने सन्देश दिन्थ्यो।

तीन दलित युवतीमा दुइटीले ९ कक्षा पढ्थे भने एउटीले ९ नपुग्दै पढ्न छाडेकी थिइन्।

नामकरण भयो—

सीता विक भइन् सम्झना।

पिमा नेपाली भइन् बिर्सना।

र, कुमारी विक भइन् भावना।

माडी मास्तिर ढाडापोखरा

सम्झना चार दिदीबहिनीमा कान्छी थिइन्। बा भारतमा रङ बनाउने कम्पनीमा काम गर्थे भने उनका एकमात्र दाजु भारतीय सेनामा।

पाखुरा बजारे खानलाउन दुःख थिएन।

उनको गाउँ गोठीबाङस्थित ढाडापोखराबाट सदरमुकाम खलंगा गएर साँझ फर्कन सकिन्थ्यो। दूरीले सदरमुकाम टाढै भए पनि मोटरबाटोले छोट्याएको थियो।

उनको गाउँमा सदरमुकाम जानुलाई ‘प्यूठान जाने’ भन्थे भने सदरमुकाम तिरकाले उनको भेगलाई ‘रोल्पा’।

माडी र झिमरुक दुई नदीका भेगमा प्यूठान जिल्ला विभाजित छ। उनको घर माडी भेगमा थियो। मगर र दलितबहुल माडी भेग पिछडिएको थियो।

तुलनात्मक रूपले उनको गाउँमा दलितलाई चर्को शोषण र अपमान थिएन। यसको एउटा कारण थियो, गाउँमा बाहुन/क्षेत्री नहुनु। गाउँमा एक घर क्षेत्रीबाहेक बाँकी दलित र मगर थिए। फरकफरक टोलमा विभाजित उनको गाउँमा मगर, सार्की, कामी र दमाई थिए। बाँकी समस्या भने ज्यादै जर्जर थिए। पानी लिनसमेत गाउँले एक घण्टा टाढा पुग्थे।

‘नो खुराकी, नो सुराकी’ नारा लगाएर मोहनविक्रम सिंहको नेकपा (मसाल)ले माओवादी प्रतिरोध गर्न खोजे नि माडी भेगमा माओवादी पस्यो। कांग्रेस–एमालेले नै थाम्न नसकेको माओवादी लहर मसालले कसरी थाम्नु !

सम्झना घर माओवादी सेल्टर बन्यो। उनको गाउँमै जनमुक्ति सेना परेड खेल्थे। सांस्कृतिक कार्यक्रम देखाउन उनकै गाउँमा ‘रिहर्सल’ गर्थे। माओवादी दुईतीन जोडीले उनकै घरमा जनवादी बिहे गरे।

आमासित सम्झना

तीनवटी सँगै थिए।

दिनभर घरको बैकल वा गोठमा लुक्थे। रात परेपछि गाउँ पस्थे। गाउँले भेला गर्थे। सांस्कृतिक कार्यक्रम देखाउँथे। भाषण गर्थे। संगठन बनाउँथे।

यी सब कमरेडहरूबाट तीनवटीले सिक्दै थिए।

घरबाट एकडेढ घण्टाको पैदल दूरीमा रहेको छापडाँडामा उनीहरू लुकेको घरमा छोरी खोज्दै दुई आमा पुगे। आमा थिए, सम्झना र बिर्सनाका।

यो थियो, घर छाडेको १२औं दिन दिउँसोपख।

पहिले आमाहरूलाई कमरेडहरूले भेटे।

छोरी भेटेर झरेका आमामन त आँखाबाट पो झर्न थाले। भिजेको आमाबोली झरे, ‘जानीजानी भुंग्रोमा नजाऊ। मर्छौ। घर फर्क।’

कमरेडहरूले ‘देश र जनताको मुक्तिका लागि थुप्र्रै युवती हिँडेका छन्’ भन्दै आमाहरूलाई फेरि सम्झाए।

आमामन गले पो !

‘अहिले फर्क। राम्ररी पढ। पार्टीमा हिँड्ने नै भए नि पछि हिँडौला। हामीसित हिँड’, आमाहरूले छोरीहरूलाई फकाइरहे।

आमा मन त आँखाबाट निरन्तर झरिरहेका थिए।

महिला संगठनमा काम गर्दा जानेका कुरामा थप १२ दिनमा सम्झना मनमा धेरै कुरा थपिएका थिए। सम्झनाले आमालाई भनिन्, ‘आमा तपाईं फर्कनुस्। कि म सहिद हुन्छु कि जितेर आउँछु। मेरो चिन्ता नलिनुस्।’

त्यस बेला माओवादी हुनु आगोमा हामफाल्नु थियो। चारैतिर जगजगी। भिडन्तै भिडन्त सुनिन्थे। तर, तिनका अल्लारे मनमा माओवादी मात चढेको थियो।

लड्नुपर्छ भन्ने जोशसामु आमा आँसुको जोड चलेन।

आमा रुँदै फर्किहेर्दै बाटो लागिन्।

त्यस बेला दिन भर्खरै डुब्न लागेका थिए।

आमा हिँडेपछि भने सम्झनालाई चसक्क भयो, ‘आमालाई रुवाएर ठीक त गर्दैछु ? ’

माओवादी पूर्णकालीन कार्यकर्ता नबन्दै सम्झना महिला संगठनमा थिइन्। यस्तै पाँच महिना काम गरेपछि कमरेडहरूले थपेथे, ‘डब्लूटी (पूर्णकालीन) हुनुपर्छ।’

कमरेडहरूले त्यसैमा फेरि थपेथे, ‘तपाईंका साथीहरू त जनमुक्ति सेना भइसके। तपाईंहरू पछि पर्नुभो।’

मनमा थियो कि, माओवादी डब्लूटी त हुने तर एसएलसी परीक्षा दिएर।

०००

कम्ब्याट लुगा लगाएका जनमुक्ति सेना देखेर सम्झनाका किशोरी मन यसै लहलह भएको थियो। उनको इच्छाअनुसार नै जनमिलिसिया भइन्।

हरियो रङको मिलिसिया लुगा लगाइन्। काँधमा बन्दुक, कम्मरमा खुकुरी।

अचम्मै आत्मविश्वास र जोश बढेजस्तो अनुभूत भयो।

घर फर्काउने आशंकाले सम्झनालाई माओवादीले दाङको हाँसीपुर सरुवा गर्‍यो। त्यस बेला दाङ र प्युठानलाई माओवादीले एउटै जिल्ला बनाएको थियो।

महिला छापामार

लमही अर्जुनखोलाको ठीकमाथि जंगल। भन्थे, पधेरीचिरा। जंगल बीचमा ठूलो चौर थियो। त्यै चौरको एक छेउलाई भिजाएर कुल्कुलाउँदै पानी अर्जुनखोला ओर्लन्थ्यो।

जंगलबीचमा चौर र पानी। लुकेर हिँड्ने माओवादीलाई यति भए के चाहियो !

त्यै चौरमा माओवादीले २० दिन सैन्य तालिम चलायो। गाउँका युवकयुवतीले कहिले परेड खेले त कहिले लडाइँको ड्रिल त कहिले बन्दुक निशाना लाए।

तालिम लिने १२/१५ जना महिलामध्ये एक थिइन्, सम्झना। यो नै उनको सैन्य जीवनको पहिलो तालिम थियो।

कपाल काटेकी थिइन्। लडाइँमा कपाल तारमा अल्झिन्छ र दौडन दिँदैन भनेर कपाल काट्न भनिन्थ्यो। (त्यस बेलादेखि सम्झनालाई लामो कपाल राख्न मन लाग्दैन।)

न्दुक ‘यसरी बोक्ने र पड्काउने’ भनेर त माओवादी बनेको सुरुकै दिन सिकाइएको थियो। साथमा पिटी परेड पनि। तर, सैन्य ज्ञान भने त्यै तालिमबाट लिइन्।

थालनीताका एउटा सेक्सन (९ देखि ११ जना)मा एक दुईजना महिला हुन्थे। महिलाले लड्न सक्तैनन् कि भन्ने अविश्वास देखिन्थ्यो। महिलालाई ड्युटी पनि अघि राखिदिन्थे भने खाना पनि अघि दिन्थे। माया गरेजस्तो देखिए पनि अर्को कोणबाट हेर्दा त ‘महिलाले अप्ठेरो झेल्न नसक्ने कमजोर’ भन्ने मनोविज्ञान पनि देखिन्थ्यो।

दोस्रो वार्तापछि महिला जनमुक्ति सेनामा भर्ना हुने लहर चल्यो। एक दुईजना मात्र महिला हुने सेक्सन पुरुष हाराहारीमा पुग्न थाले।

महिला पनि कमान्डर भए। भलै सुरुआती दिनमा ‘महिलाले पनि कमान्ड गर्न सक्छन् र ? ’ भन्दै कमान्डर नस्वीकारेजस्तो देखिन्थ्यो।

युद्धमोर्चामा महिला त अग्रमोर्चामै लडे। लडाइँमा पुरुष भागे तर महिला भागेनन्। लड्न र कमान्ड सम्हाल्न गाह्रो थियो तर महिलाका लागि असम्भव छैन भन्ने प्रमाणित गर्न थाले।

‘पिटी परेड खेल्न, नोट टिपाउन, क्लास लिन त हामीले राम्रो गर्न थाल्यौं’, सम्झनाले भनिन्, ‘काम गरेर देखाउने इख नै लियौं।’

जनमिलिसिया सम्झना माओवादीले स्क्वाट बनाएपछि स्क्वाटमा गइन्। पाँच/छ महिनापछि स्क्वाट विघटन भयो। प्लाटुन बन्यो। सम्झना प्लाटुनमा भर्ती भइन्।

सदस्यले बन्दुक बोक्थे। झन्डै छ महिना उनले बन्दुक बोकिन्।

बढुवा भएर एफजीएल भइन्। टोयलबर बोकिन्। सेक्सन सहकमान्डर हुँदै कमान्डर भइन्।

त्यसपछि राइफल बोकिन् अनि एसएलआर। प्लाटुन सहकमान्डर हुँदै प्लाटुन कमान्डर भइन्। त्यसपछि उनको काँधमा बस्यो, इन्सास।

जति बढुवा भइन्, उति नै नयाँनयाँ हतियार बोकिन्। अन्तमा उनको कम्मरमा पेस्तोल झुन्डियो।

‘नयाँ हतियार बोक्दा आत्मविश्वास र जोश बढ्थ्यो’, सम्झनाले लडाइँ याम सम्झँदै भनिन्।

कमान्डर भएपछि थप जिम्मेवारी थपिए। जस्तो, रेडियो सुन्नु। सहयोद्धाहरूलाई ‘ब्रिफ’ गर्नु। पिटी र परेड खेल्नु। योजना बनाउनु। छलफल गर्नु। लडाइँमा आफू पनि लड्नु र लडाउनु।

उमेरले अल्लारे सम्झनालाई जिम्मेवारीले भने पाको बनाउँदै लग्यो।

सम्झना कम्पनी कमान्डर हुँदा यस्तो संयोग जुर्‍यो कि, उनका कमिसार पनि महिला नै भइन्, लीला शर्मा उर्फ कमरेड अस्मिता। सम्झना बटालियन सहकमान्डर हुँदै कमान्डर भइन्। बटालियनमा तीन सय हाराहारी संख्या हुन्छ।

जनमुक्ति सेनाको फर्मेसनमा दलित र गैरदलितको दुनियाँ एउटै थियो। मनमा भए नि विभेद व्यक्त गर्ने वातावरण थिएन। माओवादी आन्दोलनमा हुँदासम्म उनले कहिल्यै त्यस्तो जातीय विभेद खेपिनन्।

‘हामी त वर्ग र जात सक्नलाई माओवादी आन्दोलनमा लागेका थियौं। अहिले पो उम्रियो फेरि’, सम्झनाले अहिले र उहिलेका विभेद तौलँदै भनिन्।

दलित महिला छापामारमा सबैभन्दा माथिल्लो तहमा पुगेकी कमान्डर उनै सम्झना थिइन् भने पुरुषमा छापामारमा अमरबहादुर विक उर्फ कमरेड योद्धा। बेनी आक्रमणमा मारिएका ब्रिगेड सहकमान्डर अमर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्माका भाइ थिए।

अनमिन पहिलो प्रमाणीकरणमा प्रमाणित ३२ हजार जनमुक्ति सेनामा सात हजार महिला थिए। तर, जनमुक्ति सेनामा काम गरेको संख्या भने १० हजार हाराहारी थियो।

शान्तिप्रक्रियाअघि महिला जनमुक्ति सेनामा चार बिग्रेड सहकमान्डर, आठ बटालियन कमान्डर र १२ कम्पनी कमान्डर थिए। शान्ति प्रक्रियापछि कमला नहर्की उर्फ सपना बिग्रेड कमान्डर भइन्। सपना नै जनमुक्ति सेनाको सबैभन्दा माथिल्लो तहमा पुग्ने पहिलो महिला हुन्।

जनमुक्ति सेना संरचनामा सबैभन्दा माथिल्लो तह डिभिजन हो भने ब्रिगेड त्यसभन्दा एक तह तल। तीन ब्रिगेड बराबर एक डिभिजन हुन्छ भने एक ब्रिगेडमा लगभग नौ सय जना जनमुक्ति सेना।

मुटु खाने खारा

खोटाङ ऐँसेलुखर्कदेखि सिन्धुली भिमानसम्मका लडाइँ लडेर नौ महिनापछि घर फर्कंदा सम्झनाको घर त घरजस्तो थिएन। पूरापूर फेरिएको थियो।

शाही सेना र पुलिस पसेर परिवार सदस्यलाई यातना दिएका थिए। छोरी सुर्तामा यातनासमेत थपिएपछि सम्झनापिता ‘माथि’ लागिसकेका थिए।

सम्झनालाई देखेर सब अचम्मित थिए। कारण थियो, नेकपा (मसाल) कार्यकर्ताले सुनाएको झुटो खबर। घरमा सुनाइदिएका थिए, ‘तिम्री छोरी मारिइन्। पूर्व कुन ठाउँमा उनको लुगा भेटियो रे।’

०००

सम्झना र उनका पति फरकफरक बटालियनमा तर दुवै कम्पनी कमान्डर थिए।

दोस्रो खारा आक्रमणमा दुवै ‘फस्ट असल्ट’मा थिए। सबैभन्दा राम्रा लडाकु छानेर ‘फस्ट असल्ट’ बनाइन्छ, जसमा छानिएका सबैभन्दा पहिले लडाइँ लड्छन्। संयोगवश नजिकै फरकफरक ‘आर्क’बाट लड्दै थिए।

भीषण लडाइँ चलिरहेको बेला राति १ बजेपछि उनका पतिको कासन रोकियो। त्यसलगत्तै सम्झनाछेवैमा बस खस्यो। र, धमाकाले बेहोश भइन्।

घाइते मनले श्रीमान्को हात र साथ खोजिरहेको थियो। विडम्बना ! भोलिपल्ट स्वास्थ्यका कमरेड आजादले मुटु चँडिएको खबर सुनाए। त्यसपछि घाइतेलाई सुमसुम्याउन आउलान् कि भन्ने पतिका सामान सम्झनालाई हात पारे। तिनलाई समाउन उनका हात काँपे। सामान थिए, घडी र पर्स।

पर्समा उनको फोटो थियो। र, थिए, उनले पठाएका चिठी।

आँसु बाँध भत्किएको बेला कुनै कमरेडले सुनाए, ‘कमरेडको टाउकोमै गोली लागेको थियो।’

०००

लडाइँकै बीचमा एकपालि भेट भएको थियो।

सम्झना पतिले भनेथे, ‘नआत्तिई लड्नुस् है।’

अन्तिम ‘सेल्टर’मा भएको ‘रोलकल’मा देखादेख भएको थियो। बोल्न न फुर्सद थियो न त संयोग नै जुर्‍यो।

त्यसअघि रोल्पाको हान्निङमा भेट भएको थियो। खारा हान्न गरिएको सर्वेपछि हान्निङमै समीक्षा बैठक थियो। सम्झना दम्पती आआफ्ना टिम लिएर सर्वे गर्न गएका थिए।

सम्झनालाई भनेथे, ‘विवेक पुर्‍याएर लड्नुहोला है।’

बिहे हुँदा माओवादीले ‘जहाँ टेक्यो, त्यहीँ पड्कने’ नारा ल्याएको थियो। लडाइँको चापले उनीहरू बिहेलगत्तै आआफ्ना कार्यक्षेत्र लागेथे।

०००

जीवनसाथी गुमाएपछि सम्झनाको अर्को जिम्मेवारी पनि थपिएको थियो। त्यो थियो, अन्य कमरेडहरूजस्तै आफ्ना पतिको सपना पनि पूरा गर्ने।

लडाइँसँगै उनको लडाइँ रफ्तार पनि बढ्यो।

ठूला लडाइँ घोराही, बेनी, अर्घाखाँचीका साथै पूर्वको रुम्जाटार लडिन्। ‘जति लडाइँ लडेँ, फस्ट असल्टमै लडेँ’, लडाइँ याम सम्झेर नोस्टाल्जिक हुँदै सम्झनाले भनिन्। लडाइँमा उनको समर्पण यति थियो कि, फस्ट असल्टमा लड्नलाई जिद्दी गर्थिन्। त्यसताका छापामारमाझ सम्झना र नवीना ‘खतरा फाइटर’ भनेर चिनिन्थे।

यति खतरा लडाकु सम्झना भने पहिलो लडाइँमा बतासे डाँडाको लाँकुरी भएकी थिइन्। दाङको पञ्चकुले पुलिस चौकी आक्रमणमा निक्लेजति जम्मै गोली आफ्नै जीउमा झरेजस्तो लागेको थियो।

‘आधा घण्टा त लगलग काँप्दैमा बित्यो’, १५ वर्षकी हुँदा लडेको पहिलो लडाइँ सम्झँदै सम्झनाले भनिन्, ‘दोस्रो लडाइँपछि भने फायर खुल्नासाथ जोश जाग्यो।’

सम्झना संघर्ष, समर्पण र जिम्मेवारी माओवादी आन्दोलनसँगै उकालियो। लुकेर हिँड्दाहिँड्दै उनीहरू त सैन्य फर्मेसनमा दिनमै हिँड्ने याममा पुगेका थिए। एउटी दलित युवती जनसेनाको तीन सय लस्करलाई कमान्ड गर्ने कमान्डर भएकी थिइन्।

सम्झनाले कति लडाइँमा कमरेडहरूलाई आफ्नै हातले बिदा गरी फर्किइन् त कति लडाइँमा आफ्नै अगाडि ढलेका कमरेडलाई ‘लाल सलाम’समेत भन्न पाइनन्। कुनै लडाइँमा कमरेडहरू गुमाए नि लडाइँ जितेको ‘जित मलम’ले मन बुझाइन् भने कुनै लडाइँमा कमरेडहरू गुमाउनुका साथै हारमात्र हात लाग्यो।

अमेरिकी सेनाको ‘फोर्टिफिकेसनमा बसेको’ भनिएको रुकुम खाराको शाही सेना क्याम्पमाथि माओवादीले दोस्रो पालि आक्रमण गर्दा पनि जित हात पारेन। त्यस बेला शाही सेनालाई माओवादीले ‘शाही अमेरिकी नेपाली सेना’ भन्थ्यो।

तीन वर्षको अन्तरालमा माओवादीले खारा हानेको थियो, २०६१ चैत २५ गते।

दोस्रो पटकको आक्रमण जनमुक्ति सेनाका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष कमान्ड गरेका थिए। प्रचण्डको प्रत्यक्ष कमान्डमा लडेको खारा नै पहिलो र अन्तिम लडाइँ थियो। यद्यपि खारामा लडाइँ हुँदा प्रचण्डसहित पोष्टबहादुर बोगटी र नेत्रविक्रम चन्द विप्लव करिब चार घण्टा पैदल दूरीमा रहेको रोल्पाको घर्तीगाउँ र ओत सिमाना आरुडाँडाको ठीक माथि टाकुरामा थिए। त्यहीबाट त्यस बेलाको अत्याधुनिक सेटबाट डेपुटी कमान्डर नन्दकिशोर पुन पासाङलाई निर्देशन दिएका थिए। अन्य लडाइँ हुँदा भने प्रचण्डसहित माओवादी ठूला नेता कि भारतमा थिए कि लडाइँमोर्चा चलिरहेको ठाउँभन्दा धेरै टाढा।

पहिलो खारा आक्रमणमा प्लाटुन सहकमान्डर सम्झनाले थुप्रै सहयोद्धालाई खारामै छाडेर फर्किएकी थिइन्। दोस्रोपालि लड्दाखेरि कम्पनी कमान्डर सम्झना आफैं घाइते भइन्। र, दर्जनौं कमरेडहरूसहित आफ्ना जीवनसाथीलाई पनि खारामै छोडिन्। खारामा गुमाएका उनका जीवनसाथी थिए, एसटीएफ बटालियनका कम्पनी कमान्डर हीरालाल चौधरी उर्फ कमरेड जलन।

पति मारिएको खबर

पति मारिएको खबर सुनाउन सम्झना आफैँ पुगिन्, जलन घर।

जलन तीन दाजु र एक दिदीका कान्छा भाइ थिए। एसएलसी पास गरेर माओवादीमा लागेका टाठा थिए। जलनपिता गाउँका जान्नेमान्ने थिए।

सम्झना बिहे भएको सात महिनापछि पहिलोपालि पति घरमा पस्दै थिइन्। त्यो पनि मुटु टुक्रिएको घाउ बोकेर।

तुलसीपुर बजारछेवैको टिकरी गाउँ पस्दा गाउँले खानपिन गरी सुत्न तर्खरिँदै थिए।

‘तपार्इंका छोरा अब फर्कंदैनन् भनेर कसरी भन्ने ? आफैंलाई धौ भएको बेला सम्झाउने कसरी ? ’

कमान्डर सम्झनाभित्रको कोमल मान्छेका गोडा यसै लर्खराएथे।

स्थानीय नेता मीनाको पछि लागेर सम्झना घरभित्र पसिन्। मीनासँगै थप दुईचारजना कमरेड पनि थिए।

बिहेअघि एकपालि टिकरी पुगेकी थिइन् तर रातमा।

बिहे गर्दा सम्झना २२ वर्षकी थिइन्। र, बिहे भएको सात महिनापछि पति गुमाएकी थिइन्।

लडाइँ चाप खुकुलिएपछि ‘घर चिन्न’ टिकरी जाने योजना योजनामै रह्यो।

परिवार सदस्यसित सम्झनाको चिनजान थिएन।

जलन आमाबाले भने, ‘छोरोले बिहे गरेको हो कि होइन ? तिमी बुहारी हौ कि होइनौ ? हामी चिन्दैनौं।’

सुरुमा चिन्दैन भनेका बूढाबूढी त केही समयपछि ‘मेरो छोरा कहाँ छ’ भनेर सोध्न थाले। त्यसपछि रुँदै सम्झनालाई भन्न थाले, ‘कहाँ गयो छोरो ? मेरो छोरोलाई कहाँ छाडेर एक्लै आयौ ?’

पति गुमाएको घाउ आमाबाको प्रश्नले थप चर्कायो।

लामो रुवाबासीपछि जलनका आमाबाले भने, ‘नजाऊ। यतै बस। हामी अब कसलाई हेरेर बस्ने ? कोसित बस्ने ? ’

आमाबा कान्छा जलनको अंश लिएर अलग्गै बसेका थिए।

सम्झनाले भनिन्, ‘लडाइँ सकिएर सजिलो भयो भने तपाईंहरूसित बस्छु। धन्दा नमान्नुस्। दुश्मनको चाप छ। अहिले म यतै बसेँ तपाईंहरूलाई पनि अप्ठेरो हुन्छ।’

जगजगी चर्को थियो। त्यसैमा बजारसँग जोडिएको गाउँ।

डेढ घण्टा जति कुराकानी र रुवाबासीपछि सम्झना निक्लिइन्। त्यस बेला रातको १२ बज्दै थियो।

जलनका आमाबाले भने, ‘फेरि आउनू। नबिर्सनू।’

०००

शान्तिप्रक्रिया सुरु भयो।

टिकरीमा सम्झना पाइला बाक्लियो। जलन आमाबाले सम्झनालाई बुहारी होइन, छोरी माने।

सम्झनाको दोस्रो बिहेको कुरा चल्यो। ‘छोरीको बिहे गर्नुपर्छ’ भने। जलन आमाबाले बुहारीको बिहे गराइदिए, बालकृष्ण शर्मा उर्फ कमरेड सबिनसित। सल्यान सुइकोटका सबिन जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर थिए।

संसद् सम्झना

सम्झनाका सहयोद्धा शिविरमा बन्दुक बिसाउन तर्खरिँदा उनलाई भने माओवादीले काठमाडौं बोलायो। काठमाडौं पुगेपछि नेताले नागरिकता बनाउन भने। तर, नागरिकतामा ‘वास्तविक नाम र २५ वर्ष काटेको’ बनाउने निर्देशनसहित।

सम्झनालाई आफ्नो नाउँ सम्झनाको माया मार्न धौ भयो। मनले नमाने पनि जबर्जस्त नागरिकतामा सीता राखिन्। जुन सीता गाउँ र स्कुलमै छाडेर सम्झना भएकी थिइन्।

पछि थाहा पाइन्, नागरिकतामा सम्झना राखे पनि केही फरक नपर्ने रहेछ। धेरैपछि उनले यो पनि बुझिन्, पुरानै समाजमा फर्कन नागरिकतामा नेताले पुरानो नाउँ लेख्न भनेछन्।

अन्तरिम संसद्मा माओवादी पाएको ८३ सिटमा एउटा सम्झनाको भागमा पर्‍यो। नागरिकतामा २५ काटे पनि सिंहदरवार पस्दा भने उनी भर्खर २४ को घरमा पस्दै थिइन्।

माओवादी नेताले भने, लडाइँ मोर्चा बदलिएको हो। ‘हो न हो’ ठानिन्, पुरानो सत्ताको संरचना बदल्ने लडाइँ। उनले हेर्दाहेर्दै नेता र पार्टी पो पुरानोमा फेरिए, फरक्क पछिल्तिर फर्केर।

०००

सम्झनासँग यात्रासाइत गरेका बिर्सना र भावना कहाँ गए होलान् भनी खुल्दुली लाग्यो होला, तपाईंलाई पनि। बिर्सना त १२औं दिनमा लिन गएकी आमासित घर फर्किइन्।

उनका न बा थिए न दाजुभाइ र दिदीबहिनी। उनकी आमा उनकै नाउँमा बसेकी थिइन्।

चारपाँच दिन घर बसेर फेरि माओवादीमै फर्किइन्। चारपाँच महिनापछि घर बिदा लिएर गइन्। बिहे गरिन्। त्यसपछि भने बिर्सनाले माओवादी बिर्सिइन्। कालापार (भारत) लागिन्।

भावनाले शंकर विकसँग बिहे गरिन्। शंकर लडाइँमा मारिए। पति गुमाएको केही समयपछि भावनालाई शाही सेनाले समात्यो। त्यसपछि तनहुँ ढकालटारस्थित पुनस्र्थापना केन्द्रमा राख्यो।

माओवादी आरोपमा पक्राउ परेका एक सर्वसाधारणसँग भावनाले ढकालटारमै मन गाँसिन्। त्यहीँबाट उनीहरू परिवारलाई पनि खबर नगरी कालापार गए।

बेपत्ता सूचीमा दर्ज भावना शान्तिप्रक्रियाको केही वर्षपछि नेपाल फर्किन्। भावना परिवारले बेपत्ता राहत भने लिएका थिएनन्।

अहिले बिर्सना र भावना दुवै कालापारमा छन्। सम्झना (३४) दाङ सर्रामा पति सबिन र छोरी सुप्रिया (९) र छोरा सुमित (५) सँग बस्छिन्।

बिसौनीमा

गएको असोजमा काठमाडौंस्थित एउटा हल खचाखच भरिएको थियो। ड्यासमा एउटी युवती बोल्न थालिन्। बोल्दाबोल्दै उनको बोलीलाई आँसुले पछ्यायो— राजनीतिक हिसाबले त म कमान्डर भएँ। सांसद भएँ। त्यस बेला यस्तो ठान्थेँ— मैले एउटा वर्गको प्रतिनिधित्व गरेको छु। राजनीतिक, आर्थिक र सांस्कृतिक परिवर्तनको महान् यात्रामा यात्रारत महान् मान्छे हुँ।

तर, होइन रहेछ। हिजो त्याग गर्ने र गरिखाने वर्गप्रति इमानदार मान्छे हेर्दाहेर्दै निरीह भए। यस्तो देखेर ग्लानि हुन्छ। यसो भनेर हतोत्साही भएकी होइनँ। मनमा अझै आगो छ।

श्रम गर्नेले सम्मानपूर्वक जीवन जिउने समाज बनाउन माओवादी भएँ। आन्दोलनमा होमिएँ। थुप्रै योद्धालाई लडाइँमा छोडेर आएँ। आन्दोलनमै घाइते भएँ। जीवनसाथी गुमाएँ।

त्यसैले म त एक्लै भए नि सत्यको पक्षमा उभिइरहने छु। सत्यको पक्षमा उभिँदा के हुन्छ ? त्यो भोग्छु, जो भोगिरहेछु।

आँसु र आक्रोश मिसाएर बोल्ने युवती उनै सम्झना थिइन्। र, उनको संस्मरण किताब युद्धभित्रको संस्मरणलाई प्रगतिशील लेखक संघ काठमाडौंले पुरस्कृत गर्दा उनले रुँदै आफ्ना कुरा राखेकी थिइन्।

थुप्रै सहयोद्धा र जीवनसाथीका सपना लस्करले सम्झनालाई निदाउन दिएका छैनन्। त्यसैले सम्झना मन (जति कर गरे नि) सीता विक बन्न राजी छैन। जब कि उनका सुप्रिम कमान्डर कमरेड प्रचण्ड पुष्पकमल दाहाल भएर डबल नेकपा नै भइसके।

सम्झना त सम्झनाकै सम्झनामा छिन्। सम्झनालाई ‘धौ बिर्सनु’ छ। र, बिर्सना र भावनासँग रातमा उकालिएका सम्झना पाइलाले थामिन मानेका छैनन्। सम्झना सम्झनामै सम्झेर भनेकी हुन्, ‘मनमा आगो अझै बाँकी छ।’ फरक यत्ति हो, यति बेला उनको काँधमा बन्दुक छैन।

‘दुनियाँ नबदली कहाँ रोकिन्छ र यात्रा ? हामी थाके भोलि कोही आउला, जस्तो हाम्रा अगुवा थाके नि हामी हिँडिरहेछौं’, सम्झनाले यति भनेर बिट मारिन्।

अन्नपूर्ण दैनिकबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार