चिनियाँ राष्ट्रपति सी चिनफिङले देश संकटबाट गुज्रिएको भन्दै त्यसको सामना गर्न युद्धका निम्ति तयार हुन पिपुल्स लिबरेसन आर्मी (पीएलए) लाई निर्देशन दिएका छन्।

शुक्रबार राजधानी बेजिङमा भएको केन्द्रीय सैन्य आयोगको बैठकलाई सम्बोधन गर्दै सीले देश खतरातर्फ बढिरहेकाले अप्रत्याशित परिस्थित र युद्धका निम्ति तयार रहन निर्देशन दिएका हुन्।

‘विश्वमा अहिले यस्तो परिवर्तन भइरहेको छ, जुन बितेको एक दशकमा कहिल्यै भएको थिएन’, सीले भने, ‘त्यसैले हामी सचेत रहनुपर्छ, रणनीति विकास गर्नुपर्छ।’

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष हुन्। पीएलएका उच्च अधिकारीलाई मात्र सहभागी गराइएको बैठकमा सीले दिएको प्रतिरक्षा रणनीति सम्बन्धी मन्तव्य पछि केन्द्रीय टेलिभिजनले प्रशारण गरेको थियो।

‘सेनाका सबै युनिटले प्रमुख राष्ट्रिय सुरक्षा र नयाँ परिस्थिति विकासको ट्रेण्ड राम्रोसँग बुझ्नै पर्छ’, सीले भने, ‘अप्रत्याशित कठिनाई, संकट र युद्धका निम्ति पनि तयार रहनु पर्छ।’

विश्वशक्ति अमेरिकासँग व्यापार युद्ध भइरहेको बेला आफुले अगाडि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले एशिया–प्रशान्त रणनीत आक्रामक रुपले अगाडि सारेको बेला राष्ट्रपति सीले यस्तो निर्देशन दिएका हुन्।

सन् २०१३ पहिलो पटक राष्ट्रपति भएदेखि नै सीले सेनालाई जस्तासुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएका छन्। तर २०१९ मा राष्ट्रपति सीले बढी गम्भिर रुपमा युद्धकै तयारी गर्न निर्देशन दिएका हुन्।

पीएलएको मुखपत्र पीएलए डेलीले अघिल्लो साता एउटा सम्पादकीयमा ‘युद्धको तयारी ढिलो गर्ने समय नभएको’ बताएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी निकट द ग्लोबल टाइम्स दैनिकका अनुसार दक्षिण चीन सागरमा आफ्नो नियन्त्रण बढाउन र अमेरिकासँगको व्यापार युद्ध तथा ताइवन सम्बन्धलाई लिएर उत्पन्न हुनसक्ने खतराको सामना गर्न तयार रहेको सन्देश दिन चाहन्छ चीन।

बैठकपछि राष्ट्रपति सीले एउटा सैन्य दस्तावेजमा हस्ताक्षर गरेका छन्, जसअनुसार पीएलएको युद्ध क्षमता जाँच गर्न चीनले क्षमता प्रदर्शन कार्यक्रम आयोजना गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार