यसरी कम्युनिष्ट भएँ

म ७२ पुगेर ७३ वर्षमा छु । जन्मस्थान प्यूठान हो । प्रावि, निमावी, मावी र कलेज तहमा पढाएँ, धेरै होइन थोरै समय । पढ्ने, पढाउने बेलामै गरिब जनताको मुक्ति कम्युनिष्ट सिद्धान्तबाट हुन्छ भनेर राजनीतिमा लागेँ । सरसंगत पनि कम्युनिष्ट विचाराधारामा आकषिर्त गराउने खालकै थियो । निम्नमध्यम वर्गीय परिवारको भएकाले पनि कम्युनिष्टप्रति आकर्षण भयो भन्ने लाग्छ ।

कम्युनिस्ट पार्टीको सदस्यता २०२१ सालमा पाएँ । २०२८ देखि पूर्णकालीन राजनीतिमा लागेँ । २०३१ सालमा केन्द्रीय सदस्य बनेँ । त्यतिबेला पार्टीमा मेरो नाम ‘कपिल’ थियो ।

मैले पछिल्लो पटक दर्शनसम्बन्धी पुस्तक ‘हिमाली दर्शन’ प्रकाशनमा ल्याएको छु । पुराना रचनाहरुको संस्करण निकाल्ने सोच छ । तिनलाई परिमार्जन, संशोधन गर्नुपर्ने छ । समालोचना र राजनीतिसम्बन्धी किताव पनि निकाल्ने योजना छ तर, लेख्न भ्याएको छैन ।

म वाहिरबाट हेर्दा राम्रो देखिने तर, गुदी केही नहुने खालको काम गर्ने व्यक्ति होइन । बरु बाहिर नदेखियोस् तर, भित्र गुदी हुनैपर्छ भन्ने सोच राख्छु ।

बाहिर ठुलो तामझाम गर्ने तर, जनताको काम नगर्ने जस्तो झुक्याउने काम सत्तामा गएका नेताहरूले गरेका छन् । जनताको मनोभावना बुझ्दै त्यसलाई सिद्धान्त, राजनीतिसँग गाँस्नुपर्ने हुन्छ । जनतासँगको सम्बन्ध पनि मजबुत बनाउनुपर्ने हुन्छ । जनताको समस्या सुन्ने, भावना बुझ्ने र त्यसलाई संल्लेषण गरेर जनतालाई सुखी बनाउने गरी सेवा पुर्‍याउनु नेताको धर्म हो । यो असाध्यै गाह्रो कुरा हो । यो भन्न सजिलो हुन्छ, गर्न गाह्रो हुन्छ ।

श्रीमतीलाई लेखपढमा लाग भनेर मैले भन्ने भइ नै हाल्यो । महिलाहरूलाई घरमा भ्याई नभ्याइ हुन्छ । बढी त उनको आफ्नै पहलमा एसईई उतीर्ण भएकी छन् । यो उनकै मिहिनेतको फल हो ।

सेक्टरकाण्डबारे बेखर

२०४५ चैतमा सेक्टर काण्ड हुँदा म पार्टी महासचिव थिएँ । तर त्यो मैले गराएको होइन । निर्णय गरेर ‘एक्सन’ लिने पार्टीका साथीहरूले घट्नाबारे केन्द्रीय कार्यालयलाई थाहा पनि दिइएनन् ।

पञ्चायती दमन कालमा त्यस्तो घट्ना अस्वभाविक पनि होइन । पार्टीमा मेरो नेतृत्व भएकाले कतिले मलाई जोडेर सेक्टर काण्डलाई ठूलो घटना बनाउँछन् तर, त्यो त्यस्तो कुरै होइन । त्यसलाई ठूलो मान्ने हो भने त जनयुद्धमा कत्रा-कत्रा घट्ना भए, भए !

२०४६ सालको परिवर्तन एक कदम अगाडि हो । दलीय प्रतिबन्ध हट्नु सकारात्मक पक्ष थियो तर, पर्याप्त थिएन । नयाँ जनवादी क्रान्तिका लागि लडेकाहरूका लागि त अपुग नै हो । त्यसैले पुरानो राज्यसत्ता, पुरानो व्यवस्थाको ठाउँमा जनताको राज्यसत्ता, जनताको व्यवस्था स्थापना गर्ने हाम्रो लक्ष्य छ ।

नयाँ जनवादी क्रान्तिमार्फत् देशलाई अर्धसामन्ती, अर्धऔपनीवेशिक अवस्थाबाट मुक्त गरेर सर्वहारा वर्गको नेतृत्वमा सम्पूर्ण शोषित पीडित जनताको राज्यसत्ता स्थापित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही उद्धेश्य प्राप्तीका लागि २०५२ सालमा जनयुद्ध शुरु गरेका हौं ।

घुमीफिरी संसद

हामीले जनयुद्ध शुरु गर्नुभन्दा पहिला संसदीय व्यवस्था आएकै थियो । घुमीफिरी रुम्जाटार भने जस्तो अहिले पनि त्यही संसदीय व्यवस्थामा छौं । आमूल परिवर्तन भएन, साथीहरूले क्रान्तिप्रति धोकाधडी गरे । जनताप्रति विश्वासघात गरे ।

त्यतिबेला मुल नेतृत्वमा रहेकैले पार्टी नीतिहरू फेरे । बहुमतले गरेको भएपनि नयाँ जनवाद छोडेर संसदीय बाटोमा जाने निर्णय गलत थियो । मैले संविधान सभाको चुनावमा जाने निर्णयलाई चाहिँ गलत भन्न खोजेको होइन । संविधानसभा बहस, छलफल गर्ने ठाउँ हो । त्यहाँबाट पनि नयाँ जनवाद पारित गराउन सकिन्थ्यो ।

तर, साथीहरूले संसदीय लोकतन्त्र भन्ने पहिला नै निर्णय गरे । त्यो राजनीतिक गल्ती भयो ।

संविधानसभामा पार्टीको बहुमत भएर के गर्नु, त्यतिखेरसम्म साथीहरुले पार्टीको ‘लाइन’ नै छडिसकेका थिए । पहिलो संविधानसभामा म पनि सभासद बनेर जान त गएँ, तर त्यति रुचि थिएन । पछि त त्यहाँ बस्नै मन लागेन । त्यहाँ भूमिका खेल्न त्यत्रा साथीहरू पनि थिए, त्यसैले पार्टीलाई राम्रो बनाउन म संविधानसभाबाट बाहिरिएँ । प्रचण्डले छोड्नुहुन्न भन्दाभन्दै मैले नै छोड्छु भनेर निस्किएको हुँ ।

संसदलाई उपयोग गर्नुपर्छ भन्नेमा विमती छैन । त्यसलाई हाम्रो सिद्धान्तले स्विकार गरेको पनि छ । कम्युनिस्टहरूले संसदमा गएर बहस, छलफल गर्नुपर्छ भन्नेमा कुनै विवाद छैन तर, संसद साधन मात्र हो, सबथोक होइन । सबैथोक त राज्यसत्ता नै हो ।

नेतृत्वले टेकेको धर्ती छाड्यो

क्रान्तिका लागि पार्टी एकता गर्नुपर्छ तर, हतार गर्नुहुँदैन । राजनीतिक छलफल, बहस गर्दै गरौं । राजनीतिक विचार मिल्दा पार्टी एकता हुन्छ, त्यो नै नमिली एकता गर्ने कुरा भएन
पार्टी सच्चिनुपर्छ भनेर मैले पहिलेदेखि भन्दै आएको थिएँ । खरिपाटी सम्मेलनमा पनि यही कुरा राखेको हुँ । साथीहरू हामीसँग बैठकमा बस्दा क्रान्ति गर्ने हो भन्थे तर, व्यवहारमा संसदीय व्यवस्थामै गए । राजनीतिक रुपमा सच्चिदै सच्चिएनन् ।

साथीहरूले लाइन छाडे, धोका दिए । प्रचण्डजी र बाबुरामजी मिल्नुभयो । उहाँहरूले एक पछि अर्को गलत गरेपछि हामीले विद्रोह गर्‍यौं । सही गरिएछ भन्ने नै लाग्छ ।

बादलजीहरूलाई प्रचण्डबाट अलग नभएको भए हुने रहेछ भन्ने लाग्यो, फर्किनुभयो । विप्लवजी अर्कै ढंगले जानुपर्छ भन्ने सोचेर जानुभयो । विचार नमिलेपछि जानुभयो, राम्रै भयो । विचार नमिलेपछि सँगै नबस्नु नै राम्रो ।

हामीले २०७० को चुनाव असफल पार्ने प्रयास गर्‍यौं तर, सकेनौं । हामीलाई पनि चुनावमा लैजान भनेर गोलमेच सम्मेलन गरेका थिए तर, झारा टार्ने खालको । एक दिन कुरा सुन्ने अनि त्यतिमै सक्ने खालको थियो । साँच्चै बहस गरेर अगाडि जानेगरी सम्मेलन गर्न खोजिएन ।

गोलमेच सम्मेलन भनेपछि अधिकार सम्पन्न हुनुपर्ने हो तर, सम्मेलनको अधिकारको परिभाषा नै गरिएन । स्पष्ट परिभाषा गरेर महत्व स्थापित गरेको गोलमेच सम्मेलनमा बस्न हामी चाहन्थ्यौं । सुशील कोइरालाजीले प्रयास पनि गर्नुभयो तर, सम्मेलनलाई अधिकारसम्पन्न बनाउन सक्नु भएन र हामी गएनौं ।

चुनावमा कहिले हारिन्छ, कहिले जितिन्छ । यो सामान्य कुरा हो । नेपाली काँग्रेस, एमालेले पनि यस्तो अवस्था भोगेकै हो । जहिल्यै सरकारमा जानुपर्छ भन्ने सोच चाहिँ गलत हो । पार्टी कमजोर भयो भने बलियो बनाउने हो, बनाउन सकिन्छ भन्ने उदाहरण त त्यो बेलाको माओवादी पार्टी नै हो नि । जनयुद्ध शुरु गर्नुभन्दा पहिला माओवादी सानै थियो ।

तर, टेकेको धर्ती नै छाड्नु मुल समस्या हो । धरातलमै नरहेपछि, संसदीय व्यवस्थालाई स्विकार गरिसकेपछि भ्रष्ट बन्नु ठूलो कुरा होइन । सत्तामा गएका साथीहरूको विषयमा यो भन्दा धेरै के भनौं !

कतिपय साथी पार्टी एकताको प्रक्रियामा लागेका छन्, तर अहिले एकता गाह्रो छ । तल्काललाई कसैसँग एकता हुने सम्भावना देख्दिन । गल्ती स्विकार्नुभयो भने प्रचण्डजीलाई पार्टीमा ल्याउन सकिन्छ । विप्लव -नेत्रविक्रम चन्द)हरूको लाइनै के हो, हामीलाई थाहा छैन । के गर्न खोजेको हो, त्यो पनि थाहा भएन ।

क्रान्तिका लागि पार्टी एकता गर्नुपर्छ तर, हतार गर्नुहुँदैन । राजनीतिक छलफल, बहस गर्दै गरौं । राजनीतिक विचार मिल्दा पार्टी एकता हुन्छ, त्यो नै नमिली एकता गर्ने कुरा भएन ।

बाबुरामजी नयाँ शक्ति भनेर हिँडिरहनुभएको छ । पहिला उहाँ माक्र्सवाद वा उदारवादले मात्र हुँदैन, माक्र्सवाद र उदारवादलाई जोडेर जानुपर्‍यो भन्नुहुन्थ्यो । अहिले माक्र्सवाद पनि ठीक छैन, उदारवाद पनि ठीक छैन, नयाँ ढंगले जानुपर्छ भनिरहनुभएको छ । ‘नयाँ’ भनेर भ्रमित पार्न नयाँ शब्द जोड्नुभएको होला तर, उहाँ पुरानै मान्छे भनेर चिनिनुहुन्छ ।

विचार पुरानो भएपछि नाम नयाँ राखेर के काम ? बाबुरामजीको विचारै छैन त के नयाँ, के पुरानो ? उहाँले जति नयाँ भने पनि त्यही संसदीय व्यवस्था हो, त्योभन्दा माथि वा पर होइन । शब्दले सजाएर पुरानो विचार नयाँ हुँदा पनि हुँदैन ।

राजनीतिमा असम्भवै भन्ने त केही हुँदैन तर, अब बाबुरामजी, प्रचण्डजीहरूसँग एकठाउँमा बसेर काम गर्न गाह्रै होला । प्रचण्डजीहरूले पनि कुनै कालखण्डमा गएर गल्ती गरिएछ भन्नसक्नुहुन्छ । गल्ती महसुस गरेर र्फकनुभयो भने पार्टीमा ल्याउन, एकै ठाउँमा बसेर काम गर्न सकिएला ।

प्रम केपी शर्मा ओलीबारे

ओलीजी भन्न त समृद्ध नेपाल र अरु पनि के-के भन्नुहुन्छ । भने पनि साथीले गर्ने भएनन् । देश ठुलो व्यापार घाटामा छ तर, निर्यातमुखी उद्योग स्थापनाका लागि केही गरेको हैन । भारतबाट विजुली ल्याएर लोडसेडिङ हट्यो भनिएको छ ।

यत्रो नेपाली श्रमशक्ति विदेशमा छ, स्वरोजगारको उपाय खोजिँदैन । रोजगारको नाममा कार्यकर्ता मात्र भर्ती गरिन्छ । उल्टोपाल्टो काम गरेर हिंड्नुभएको छ, ओलीजी । उहाँहरूले केही गर्न सक्नुहुन्न ।

राष्ट्रियताको त्यत्रो मुद्दा छ, खै सम्बोधन गरेको ? भारतले सीमा मिचेको छ । ठुला जलविद्युत आयोजनाहरु त्यही भारतलाई दिएको छ । मानव संशाधन विदेश पठाउने अनि प्राकृतिक श्रोतसाधन पनि विदेशीलाई दिने गरेपछि कसरी हुन्छ नेपालको विकास ?

देशको भविष्य बनाउने त चिन्तन नै छैन । पार्टीलाई पुरानो सत्ता सुहाउँदो बनाउनुभएको छ- दुई तिहाई भन्दै फुल्लिने तर, देश र जनताको लागि केहि नगर्ने । उहाँहरू सत्तामा पुग्ने, मोजमस्ती गरेर बस्ने कुरासँग त हामीलाई के मतलब भयो र !

व्यक्तिगत आलोचना होइन, प्रधानमन्त्री ओलीजीको केही पनि चित्त बुझ्दो छैन । उहाँ न कसैको सुझाव लिनुहुन्छ न त आलोचना सुन्न सक्नुहुन्छ । आफूले जे बोल्यो, जे भन्यो त्यो मात्र ठीक भन्ने बलमिच्याँई देखिन्छ ।

उहाँ एक रुढीवादी, पुरातनपन्थी मान्छे, त्यसमाथि अहिले त दुई तिहाईको दम्भ पनि चढेको छ । त्यो दम्भले गर्दा अरुको कुरा नसुन्नुभएको होला । तर, त्यो दुई तिहाईको पनि एक वर्ष त खेरै गयो ।

ओलीजीले नयाँ जनवादी सत्ता चलाउँनुहुन्छ भन्ने आशा कसैले गरेको होइन, तर यही पुरानो सत्ता पनि चलाउन सक्नुभएन । घोषणाहरु गर्ने, काम नगर्ने देखियो । भरतमोहन अधिकारीजी नै भनिरहनुभएको छ- ओलीजीले अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाले अर्थतन्त्रको प्राविधिक कुरा जान्नुभएको छ तर, दृष्टिकोण छैन ।

यो सरकारबारे हामीले केही भन्नै पर्दैन, माधव नेपालजी, झलनाथ खनालजीहरू नै भनिरहनुभएको छ । तर, ओलीजी सुनिरहनुभएको छैन किनभने उहाँमा पुरातनपन्थी चिन्तन र दम्भ पनि छ ।

अनलाइनखबरसँगकाे कुराकानीकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार