स्टिफन हकिङको सम्झना : एक रहस्यमय वैज्ञानिक

सन् १९४२, जनवरी ८ का दिन जन्मिएका एक्काइसौँ शताब्दीका महान् भौतिक वैज्ञानिक स्टिफन हकिङ्सका बारेमा विभिन्न किस्सा सार्वजनिक भएका छन् । किशोरावस्थामै दुर्लभ मानिने रोगले आक्रमण गरे पनि त्यसलाई चुनौती दिँदै ७६ वर्ष बाँचेका उनको गत वर्षको मार्च १४ मा उनको निधन भयो ।

स्टिफन जम्मा २१ वर्षका थिए, चिकित्सकले उनलाई २ वर्षमात्र बाँच्ने समय रहेको बताइदिए । उनले ब्रह्मान्डको रहस्यबारे जान्नका लागि संसारलाई मद्दत गरे । उनको अध्ययन–अनुसन्धान जसरी रहस्यहरु पत्ता लगाउनमा केन्द्रित रह्यो, त्यसैगरी स्वयम् स्टिफनको जीवन पनि अन्यका लागि एउटा रहस्य नै बन्यो । उनीसँग जोडिएका केही रहस्य अझै पनि खोजीको विषय बन्न सक्छ ।

ब्ल्याकहोल थ्योरी
१९७४ मा स्टिफनले सबैभन्दा महत्वपूर्ण खोज ‘ब्लाकहोल थ्योरी’का बारेमा संसारलाई जानकारी दिए । ब्ल्याकहोलले क्वान्टम प्रभावका कारण गर्मी फैलाउने उनले बताए । त्यसको ५ वर्षपछि नै उनी क्याम्ब्रिज युनिभर्सिटीमा गणितका प्राध्यापक बने । यो पदमा कुनै समय महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन विराजमान थिए ।

स्टिफनलाई २१ वर्षको उमेरमा एमिट्रोफिक ल्याटरल सिरोसिस (एएलएस) नामक गम्भीर रोग लागेको थियो । यही रोगका कारण उनको शरीरले विस्तारै काम गर्न छाड्दै गएको थियो । स्टिफन जब अक्सफोर्डमा अन्तिम वर्षको पढाइमा थिए, तब उनलाई सिँढी चढ्न गाह्रो पर्न थाल्यो । यो समस्या बढ्दै गएर उनको आवाज नबुझिने बन्दै गयो । यही बेला चिकित्सकहरुले उनको आयु २ वर्ष बाँकी रहेको बताए, तर स्टिफनले आफ्नो अनुसन्धान जारी राखे ।

विशेष डिभाइसबाट काम
स्टिफन हिँडडुल गर्न सक्दैनथे । हरदम ह्विलचियरको मद्दत चाहिन्थ्यो । उनी कम्प्युटर तथा विभिन्न डिभाइसका माध्यमबाट आफ्ना शब्द व्यक्त गर्थे । यसैगरी उनी भौतिकशास्त्रका विविध सफल प्रयोग गर्न सफल रहे ।

स्वर्गः अँध्यारोसँग डराउनेको कथा 
स्टिफनले स्वर्गको परिकल्पनालाई कहिल्यै स्वीकार गरेनन् । यसलाई उनले ‘अँध्यारोसँग डराउनेको कथा’ भने । मान्छेको दिमागलाई उनले कम्प्युटरसँग तुलना गर्दै भने, ‘जब कम्प्युटरको पुर्जा खराब हुन्छ, तब यसले काम गर्न बन्द गर्छ । खराब भइसकेको कम्प्युटरका लागि स्वर्ग र त्यसपछिको जीवन रहँदैन । स्वर्ग भनेको अन्धकारसँग डराउने मान्छेका लागि रचिएको एउटा कथामात्रै हो ।’

पुस्तकले दिएको ख्याति
१९९८ मा प्रकाशित स्टिफनको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले दुनियाँभर सनसनी नै मच्चायो । यो पुस्तकमा उनले ब्रह्माण्ड विज्ञानका जटिल विषय ‘बिग ब्याङ थ्योरी’को सन्दर्भलाई अति नै सरल ढङ्गमा बयान गरेर साधारण पाठकले समेत सहजै बुझ्ने बनाएका छन् । यो पुस्तक लाखौँ प्रति बिकिसकेको छ । यद्यपि, उनको यस पुस्तकको विरोध पनि नभएको होइन । विरोध हुनुको मुख्य कारण थियो, ईश्वरको अस्तित्वलाई नकार्नु ।

पृथ्वी बन्न सक्छ आगोको गोला
गत वर्ष स्टिफनले ६ सय वर्ष वा त्यसअघि नै पनि धरती आगोको गोला बन्न सक्ने चेतावनी दिएका थिए । पृथ्वीमा जुन गतिमा जनघनत्व वृद्धि तथा ऊर्जाको अधिक खपत हुँदै आएको छ, त्यसमा कमी नआउने हो भने धरती आगोको गोला बन्न सक्ने उनको चेतावनीले सर्वत्र चिन्ता थपिदिएको छ ।

२० लाखले पढे पीएचडी थेसिस
स्टिफनले तयार पारेको पीएचडी थेसिस (शोधपत्र) सार्वजनिक भएको केही दिनमै २० लाख जनाभन्दा बढीले त्यसको अध्ययन गरेका थिए । १९६६ मा उनले गरेको यो शोध यति लोकप्रिय भयो कि, त्यो जारी गर्ने बेलामा क्याम्ब्रिज युनिभर्सिटीको वेबसाइट नै बन्द हुन पुगेको थियो ।

मर्लिन मुनरोका फ्यान 
स्टिफन एउटा मेसिन बनाउन चाहन्थे । एक पटक उनले भनेका थिए,  ‘मसँग यदि टाइम मेसिन हुने थियो भने हलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मर्लिन मुनरोलाई भेट्न जान्थेँ ।’

दुईवटा विवाह
१९७४ मा स्टिफनले आफ्नै विद्यार्थी जेन विल्डेसँग विवाह गरेका थिए । विल्डेबाट ३ सन्तान जन्मिएका छन्, तर यी दुईबीच १९९९ मा पारपाचुके भयो । यसपछि पनि उनी चुप बसेनन्, दोस्रो विवाह गरे ।
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार