प्रधानमन्त्री सहभागी हुने धेरै जसो कार्यक्रम ‘द कपिल शर्मा शो’ जस्ता लाग्छन्, हाँसेको हाँस्यै गर्नुपर्ने ।

आज पनि चेम्बर डेमा गए कि ‘द केपी शर्मा शो’ मा गए कि आफै कन्फ्यूस्ड भाको छुु । आफू रिपोर्टिङमा गएको एक कार्यक्रममा देशका प्रधानमन्त्रीबारे कृष्ण रिजालले फेसबुकमा लेखे । रिजाल जस्ता धेरै पत्रकारहरुका लागि केपी ओलीले भाषणमा यस्तै गरी मजाकका विषयलाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता छ । कतिपसम्म दुई दिन संसदमा बोल्दासमेत प्रधानमन्त्रीले हुँदै नभएको तथ्य प्रस्तुत गरेको भनेर अधिकांश संचारमाध्यमले उनको धज्जी उडाए ।

प्रधानमन्त्री जस्तो गरिमायुक्त मात्र होइन आशा, उत्साह र सम्भावना बोकेको व्यक्तिले यसरी हचुवा र मजाकमा बोल्दा केहीलाई केहीबेर हाँस्न फोरम त होला तर, यसले देशलाई राम्रो पक्कै गर्दैन । वर्षौसम्म राजनीतिक संक्रमण देखाएर राजनीतिक पेशालाई निरन्तरता दिएका प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई अब भने संक्रमण देखाएर भाग्ने ठाउँ छैन । तर, उनीहरुको कार्यशैली, सोच, चिन्तन र शैली हेर्दा लाग्छ । दुई तिहाई मत त के एक सय प्रतिशत मत ल्याएर कुनै दल विजयी भए पनि उनीहरुले काम गर्न सक्दैनन् भन्ने केपी ओली सरकारको कार्यशैलीले देखाएको छ ।

देशमा तुइन विस्थापित गर्ने उद्घोष गरेका प्रधानमन्त्री ओलीलाई तुईनका तार र डोरीले नागरिकका बांगिएका औलाले के भन्लान् ? नदीमा एउटा पुल हाल्न नसक्दा बाटोलाई गाडी गड्न सहज बनाउन नसक्दा एकैपटक २० औं जनाले दुर्घटनामा ज्यान गुमाउनुपर्दाको पीडाले प्रधानमन्त्रीलाई कति छोएको होला ? सरकार र राज्य तहबाट थोरै पनि नतिजा निस्कने गरी काम गर्न सक्ने हो भने यसरी अनाहकमा ज्यान जाने घटना कम हुन्छन् ।

हामीलाई अहिले ठूला सपना र आश्वासन चाहिएको छैन । सुलुलु बग्ने रेल, पानी जहाज र पचासौं वटा वाइडबडी जहाज चाहिएको छैन । कम्तिमा सहज रुपमा गाडी गुड्न सक्ने सडक, राम्रा पुल, पुलेसा मात्रै बनाइदिने हो भने अनाहकका मानिसहरुले सडक सडक दुर्घटनामा एकबारको जुनी सिध्याउनुपर्ने थिएन । तुइनबाट झरेर सयौंले नदीमा आफूलाई बेपत्ता बनाउनुपर्ने थिएन । राज्यका संयन्त्रले प्रभावकारी काम गर्न थोरै मात्र आत्मबल बढाइदिंदा पनि यी काम गर्न धेरै बेर ने लाग्दैन ।

सडकको दुरावस्थाकै कारण वर्षेनी दुर्घटनाबाट मात्र दुई हजार बढीले ज्यान गुमाउनुपरेको भन्दै कांग्रेसले मंगलबार संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता गरायो । सरकारको ध्यानाकर्षण गराउँदै उसले सडकको स्तरोन्नती गर्नका लागि सरकारसँग आग्रह पनि ग¥यो । तर, हाम्रा प्रधानमन्त्री जे गर्न सकिन्छ त्यो बोल्नुहुन्न, जे गर्न सकिंदैन त्यो बोल्नुहुन्छ । पुस १६ पछि पानी जहाजको टिकट काट्नका लागि उहाँले आह्वान गरेको भनेर संचारमाध्यममले समाचार नै प्रकाशन/प्रसारण गरे ।

कहाँनेर खोज्ने आशाको किरण

ओली सर तपाईंलाई काम गर्न रोक्ने कुनै तागत शक्ति अरुसँग छैन । दुई तिहाईको बलमा नाजायज कुरामा विपक्षी होस् वा अरु कुनै भीड होस् पाता फर्काएर तपाईं अघि बढ्न सक्नुहुन्छ । तर, यसरी अघि बढ्दा तपाईंको उद्देश्य र शैली पवित्र हुनुपर्छ । जनताले प्रधानमन्त्री साँच्चै राम्रो काम गर्दैछन् भन्ने विश्वास गर्नुपर्छ । तर, देशमा आशाको दीयो बल्दै छ भन्ने कहाँ देखिन्छ भनिदिनुस् न ।
तपाईंका मन्त्री भ्रष्टाचारमा आरोपित हुँदै गर्दा स्वतन्त्र छानविन नहुँदै तपाईं कुन बाटोबाट बचाउँने भन्ने छिद्र खोज्न थाल्नुहुन्छ । तपाईंका जिम्मेवारी प्रशासकहरु राज्यको करोडौं भ्रष्टाचारमा मुद्दा खेप्दैछन् । यस्तोमा राज्यमाथि नागरिकले कहिलेसम्म आशाले नजरले हेरिरहने ।

आज पनि १५ सय देखि दुई हजार युवाहरु विदेशमा श्रम बेच्न एयरपोर्टमा लाम लागेका छन् । तर, तपाईंका मन्त्री श्रम बेच्न विदेशी गन्तव्य खोज्न उद्यत छन् । देशमैं युवाहरुलाई उद्यमशील बनाउन नसक्ने भएर हो कोरियामा जस्तै जापानमा पनि कामदार पठाउन लाग्नुभएको हो । नागरिकले उद्यमशील हुन खोज्दा राज्यबाट थोरै भरथेग गरेर यही उद्यम गर्ने हौसलायुक्त कार्यक्रम ल्याउँने तपाईंका मन्त्री किन लाग्दैनन् ? भएका, पढेका युवालाई विदेशमैं श्रम, पसिना बेच्दै आफ्ना उर्जाशील समय बेच्नुको विकल्प नभएको हो ?

नियमित र क्रमिक विकास तपाईंको देन होइन । जो प्रधानमन्त्री, मन्त्री, प्रशासक भए पनि यी निरन्तर हुने काम हुन् । यी विकासका नियमित सुस्त प्रक्रिया हुन् । हाम्रो अविकास, पछौटेपन, दरिद्रता र गरिबी हेर्दा हामी घस्रने होइन तपाईंकै भाषामा सुलुलु बग्ने गतिमा अघि बढ्नुपर्ने हो ? तर, तपाईंले कहींनेर पनि आशाको किरणसमेत छर्न सक्नुभएन । हिजो राजनीतिक संक्रमण देखाइयो, बहुमत नआउँदा काम गर्न सकिएन भनेर भागियो । तर, आज दुई तिहाई मत हुँदा तपाईंहरु के गरिरहनुभएको छ ? एकपटक आफ्नै पतिवद्धताका फेहरिस्त हेर्नुहोस् ? कृपया तपाईंको मजाकले केहीबेर ओठ हास्ला र तर, हामीहरुले मनस्थिति न हाँस्न सक्छ, न आशामा रमाउँन सक्छ ।

तपाईं व्यंग्य गर्नुहुन्छ । काठमाडौंको मुटुमा रहेको रानीपोखरी समयमा निर्माण नहुँदा फुटबल खेलेर तपाईंमाथि युवाहरुले व्यंग्यवाण हानेका छन् । यस्तो शैलीलाई तपाईंकै देन मान्ने की ? तपाईंको कमजोर कार्यशीलको कारण मान्ने छ ? (दियाेपाेष्टबाट)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार