उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ।

उत्तर कोरियाको प्रमुख मित्र चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर सम्मेलनको तयारीको रूपमा लिइएको छ।

उत्तर कोरियाली नेता किम मंगलबार चीन आइपुगेका थिए। उत्तर कोरियाको एक प्रमुख कूटनीतिक साथीको रूपमा रहेको चीनको किमको चौथो भ्रमण हो। यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता रहेको थियो।

नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मंगलबार अपराह्न आइपुगेको थियो। एक दिनको बसाइपछि रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको स्थानीयले जानकारी दिएका छन्।

किमले चिनियाँ राष्ट्रपति सीसँग एक घण्टा भेटवार्ता गरेका थिए। उत्तर कोरियाली नेता किमको जन्मदिन पनि मंगलवार भएको जनाइएको छ। यी दुबै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका थिए।

किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको थियो।

किम र ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएलगत्तै उनले चीन भ्रमण गरेका हुन्। गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो।

यसै साताको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै सार्वजनिक गर्ने बताएका थिए। अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो। अर्का बैठक गर्ने बारेमा सहमति भए पनि स्थान र मिति भने तय हुन बाँकी रहेको ट्रम्पले बताएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार