बोकेर काँधमा कुँहेको लाश
छमछमी नाँच कमरेड छमछमी नाँच !
सोझा निमुखा त मरे मरुन्
तिमी चै नाँच कमरेड तिमी चै नाँच !
बोकेर काँधमा……!

यादहरूले सताउलान् ,
जम्मा गरेर सारा जलाऊ !
आस्था निष्ठाका स्तम्भहरू,
राख्नु हुँदैन बाँकी ढलाऊ !
बिर्स विगतका बाँचाहरू,
ती काम नदिने बाँचाहरू !
बिर्स विगतका बाटाहरू,
ती लक्ष्य नपुगिने बाटाहरू !

युध्दमा बगेको सहिदको रगत,
कुर्सीसँग साट कमरेड कुर्सीसँग साट !
बोकेर काँधमा कुँहेको लाश,
छमछमी नाँच कमरेड छमछमी नाँच !

लाज लजावस केही हुन्न
कोसिस गर र लाजै पचाऊ !
इमान जमान त मर्यो मर्यो ,
त्यो हाड-छाला मात्रै बचाऊ !
धोका दिएर स्वर्गलाई ,
वैरीको पाऊमा शरण पर !
जित्न सकेनौ शेष समर,
जे जे सकिन्छ त्यही गर !

मृत्यु-उत्सवको नाटक गरेर,
थुकेर चाट कमरेड थुकेर चाट !
बोकेर काँधमा कुँहेको लाश,
छमछमी नाँच कमरेड छमछमी नाँच !

२०७५|१०|१४
सुवर्ण चोक, भक्तपुर

तिमिल्सिनाकाे फेसबुकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार