कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अंक जीडीपीको प्रकारअनुसार फरक पर्छ । सबै प्रकारका जीडीपीका आआफ्नै महत्व र उपयोगिता रहेका हुन्छन् । यस लेखमा जीडीपीका विभिन्न प्रकार र तिनको उपादेयताबारे चर्चा गरिन्छ ।

नोमिनल (अस्वास्तविक, नाम मात्रको वा नगदको) जीडीपी भनेको एक आर्थिक वर्षमा कुनै मुलुकभित्र उत्पादन भएका सम्पूर्ण वस्तु तथा सेवाको बजार मूल्यको जोड हो । अघिल्लो वर्षकै जति वस्तु तथा सेवा उत्पादन भए पनि यो वर्ष मूल्यवृद्धिका कारण जीडीपी बढ्न वा मूल्यह्रासका कारण जीडीपी घट्न सक्छ । त्यसैले यसलाई अवास्तविक जीडीपी भनिन्छ । जीडीपीको वृद्धिदरमा यस्तो अंकलाई आधार मानिंदैन । तर वर्तमान जीडीपीको कूल अंक यही जीडीपीलाई मानिन्छ । आर्थिक वर्ष ०७४/७५ मा नेपालको ३० खर्ब रुपैयाँको जीडीपी नोमिनल जीडीपी हो ।

रियल (वास्तविक) जीडीपी भनेको एक आर्थिक वर्षमा कुनै मुलुकभित्र उत्पादन भएका सम्पूर्ण वस्तु तथा सेवाको स्थिर मूल्यको योग हो । विगतको कुनै एउटा आर्थिक वर्षको मूल्यलाई आधार मूल्य मानिएको हुन्छ । अर्थतन्त्र सामान्य रहेको वर्षको मूल्यलाई आधार वर्ष मानिन्छ । अर्को आधार वर्ष नमान्दासम्म सो वर्षको आधारमा जीडीपी अंक निकालिन्छ । वर्तमानको जीडीपी अंक भने यो जीडीपीलाई मानिँदैन । जीडीपीको वृद्धिदर निकाल्दा यो जीडीपी अंकलाई प्रयोग गरिन्छ । नेपालको जीडीपी वृद्धि ६.५ प्रतिशत भयो भनेर यही जीडीपीबाट निकालिएको हो । नेपालमा आर्थिक वर्ष ०५७/५८ लाई आधार वर्ष मानिएको छ । आर्थिक वर्ष ०७४/७५ को वास्तविक जीडीपीको अंक ८ खर्ब ८२ अर्ब रुपैयाँ मात्र हो ।

एक्चुअल (यथार्थ) जीडीपी भर्सेस पोटेन्सियल (सम्भावित) जीडीपीको अंकबाट पनि अर्थतन्त्रको मापन गरिन्छ । यथार्थ जीडीपी भनेको अहिलेको समयमा कति सेवा र वस्तु उत्पादन गर्न सकियो भन्ने अंक हो । पोटेन्सियल जीडीपी भनेको सम्पूर्ण साधनस्रोतको पूर्णतः उपयोग भएको, सुशासन भएको भए जीडीपी कति पुग्न सक्थ्यो भन्ने अनुमान गरेर निकालिएको अंक हो । दुवै जीडीपी रियल वा नोमिनल जुनसुकै अंकमा निकाल्न सकिन्छ । यसमा जीडीपीको अंकको महत्व हुँदैन, अनुपातको महत्व हुन्छ ।

एक्चुुअल जीडीपी र पोटेन्सियल जीडीपीबीचको अन्तर सकेसम्म कम गर्ने प्रयत्न सरकारले गर्नुपर्छ । नेपालमा पोटेन्सियल जीडीपीको अंक नै निकालिँदैन । जनशक्ति, पुँजी र प्राकृतिक स्रोतहरू बेरोजगार भएको अर्थात् पूर्ण उपयोग नभएको अवस्थामा जीडीपीको अन्तर निकै ठूलो हुने गर्छ । नेपालमा जीडीपी अन्तर निकै रहेको अनुमान गर्न सकिन्छ ।

कुनै पनि मुलुकका जनताको जीवनस्तर र देशको अर्थतन्त्रको सबलता समग्रमा निर्धारण गर्न प्राथमिक सूचकहरूमध्ये एक सूचकका रूपमा जीडीपीलाई मानिन्छ । जीडीपीले देशको आर्थिक उत्पादन र वृद्धिको प्रतिनिधित्व गर्छ । एउटा देशको अर्थतन्त्र कसरी फक्रिरहेको छ भनेर निर्धारण गर्न यसको जीडीपी वृद्धिदरलाई आधार लिइन्छ । यो दरले वार्षिक, चौमासिक वा मासिक रूपमा आर्थिक उत्पादनको घट्दो वा बढ्दो प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।

जीडीपीले नीति निर्मातालाई देशमा अर्थतन्त्र कमजोर वा सबल के बन्दै गएको छ र यसमा सुधारको आवश्यकता वा नियन्त्रणको आवश्यकता पर्छ भन्ने जानकारी दिन्छ । यो विश्लेषणको आधारमा सरकारका कार्यान्वयन निकायले संकुचनकारी वा विस्तारकारी मौद्रिक तथा वित्तीय नीति अवलम्बन गर्ने भनेर निर्णय लिन सक्छन् । त्यस्तै, लगानीकर्ताहरूले अर्थतन्त्र कसरी परिवर्तन भइरहेको छ, जसको आधारमा उनीहरूले आफ्नो सम्पत्ति विनियोजन गर्ने निर्णयका लागि जीडीपी महत्वपूर्ण हुन्छ ।

जीडीपीलाई मुलुकको समृद्धि, विकास, जीवनस्तर र सम्भावित लगानीका लागि प्रमुख सूचकका रूपमा लिइए पनि यसका सीमितता तथा केही बेफाइदासमेत छन् । कतिपय मुलुकमा ठूलो परिमाणमा कालो बजार, मौद्रिक मापनमा नआएको उत्पादन र खपत, राष्ट्रिय लेखमा नसमेटिएको उत्पादन र खपत हुन सक्छ, जसलाई जीडीपीले समेट्दैन । कालो बजारी, भूमिगत अर्थतन्त्र, गैरकानुनी आर्थिक गतिविधि, लागू औषध कारोबार, यौन व्यवसायजस्ता पक्ष समेटिँदैनन् ।
कतिपय कानुनसम्मत कारोबार पनि कर तिर्नु नपर्ने भएका कारण जीडीपीमा समेटिँदैनन् । यस अर्थमा एउटा देशको आर्थिक अवस्थामा महत्वपूर्ण भूमिका खेल्ने केही तत्वहरूको सही मापन जीडीपीले गर्दैन । त्यस्तै, विदेशी कम्पनीले स्वदेशमा गरेको आम्दानी जीडीपीमा गणना हुन्छ तर वास्तवमा त्यो पैसा विदेशीले आफ्नै देशमा लैजान्छ । यसरी जीडीपी आवास्तविक ठूलो देखिन जान्छ ।

त्यसैले मुलुकको अर्थतन्त्रको मापनका लागि जीडीपी र जीएनपी (कुल राष्ट्रिय उत्पादन) दुवैको अवलोकन गर्नुपर्छ । नेपालजस्तो अतिकम विकसित, जनसंख्या वृद्धिदर उच्च भएको र सुशासनको अभाव रहेका मुलुकमा जीएनपीको ठूलो महत्व हुन्छ । जीडीपीमा विदेशीले स्वदेशमा पेसा व्यवसाय गरेर कमाएको पैसा घटाउँदा र विदेशमा आफ्ना नागरिकले कमाएको पैसा जोड्दा आउने योग जीएनपी हो । आर्थिक वर्ष ०७४/७५ मा नेपालको जीएनपी ३८ खर्ब ७७ अर्ब अर्थात जीडीपीभन्दा पौने ९ खर्ब रुपैयाँ बढी छ ।

नेपालमा कुल गार्हस्थ्य बचत जीडीपीको १० प्रतिशत हाराहारी रहँदै आएकोमा गत आर्थिक वर्ष ०७४/७५ मा १५ प्रतिशत अर्थात ४ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । कुल राष्ट्रिय बचत भने जीडीपीको ४५ र जीएनपीको ३४ प्रतिशत रहँदै आएको छ । नेपालमा जीडीपीको अनुपातमा २५ प्रतिशत अर्थात् ७ खर्ब ५० अर्ब रुपैयाँ रेमिटान्स र ५० अर्ब रुपैयाँ पेन्सन भित्रने गर्छ । नेपालमा विदेशी कामदारलाई स्वीकृति नदिइएको हुँदा विदेशीले यहाँबाट कमाएर लैजाने पैसा न्यून मात्र छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार