नेपालमा गरिबको संख्या क्रमश: घट्दै गएको सरकारी तथ्यांकले देखाउँछन् । अहिले गरिबी २१ प्रतिशत रहेको सरकारी अनुमान छ । ३० वर्षअघि गरिबी ४९ प्रतिशत रहेको थियो । नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ, तर सरकारले अहिलेसम्म कुन–कुन व्यक्ति गरिब हुन् भनेर परिचयपत्र दिन सकेको छैन ।

सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ । जीवनस्तर सर्वेक्षण लामो अन्तरालमा हुने हुँदा अन्य वर्षमा द्वितीय तथ्यांकका आधारमा गरिबीको अनुमान गरिन्छ । नेपालमा पछिल्लो जीवनस्तर सर्भे २०६८ सालमा सम्पन्न हुँदा गरिबी २५.२ प्रतिशत थियो । त्यसयताको तथ्यांक अन्य आर्थिक तथ्यांकका आधारमा विश्लेषण गरेर अनुमान गरिएको हो ।

तेस्रो जीवनस्तर सर्वेक्षण ७ हजार २० घरधुरीमा गरिएको थियो । सो सर्वेक्षणका आधारमा नेपालको कुल घरधुरी ५४ लाख २७ हजार ३ सय २ मा रहेको जनसंख्याको गरिबी अनुमान गरिएको हो । केन्द्रीय तथ्यांक विभागले पहिलो पटक २०५३ सालमा जीवनस्तर सर्वेक्षण गर्दा गरिबको जनसंख्या ४२ प्रतिशत थियो । त्यसभन्दा पहिले २०४५ सालमा नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा गरिबी ४९ प्रतिशत देखिएको थियो ।

नेपालमा भने ०.५ डलरभन्दा कम आम्दानी हुनेलाई गरिब मान्ने गरिएको छ । नेपालको पर्चेचिङ पावर प्यारिटी (पीपीपी) को आधारमा दैनिक ५३ रुपैयाँलाई मानिएको हो ।

विकसित मुलुकमा जस्तो जवान भएका छोराछोरीले नेपालमा अभिभावकबाट स्वतन्त्र जीवनयापन गर्दैनन् । नेपालको सन्दर्भमा कुनै परिवारमा एक जनाको आम्दानीमा सबै जनाको हक हुन्छ भने कुनै परिवारमा हुँदैन । पारिवारिक र सामाजिक संरचनाले पनि गरिबको गणना कसरी गर्ने भन्ने समस्या पर्छ । यस्ता समस्यालाई गरिबी मापनमा सम्बोधन गरिएको छैन ।

गरिब केलाई मान्ने भन्ने यकिन गर्न नै कठिन छ । गरिबको मापदण्ड निर्माण गरेपछि गणना गर्न कठिन छ । ठाउँ, परिवेश, देश र समयअनुसार गरिबीको मापदण्ड र मापन विधि फरक हुने गरेका छन्, जसले गर्दा नेपालमा अहिले कायम गरिबको तथ्यांक र विगतका तथ्यांकबीच तुलना गर्नु कति उचित हुन्छ भन्ने प्रश्न उठ्छ । त्यस्तै, नेपालको गरिबीलाई अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्न पनि कठिन छ ।

समग्रमा हेर्दा, सुखपूर्वक जीवनयापनबाट वञ्चित हुनु गरिबी हो । परम्परागत रूपमा हेर्दा सुख भनेको वस्तुहरूमाथिको अधिकार हो । त्यसैले जोसँग न्यूनतम थ्रेसहोल्डभन्दा माथिको उपभोग गर्ने क्षमता वा आयआर्जन छैन, त्यसलाई गरिब भनिन्छ । यस दृष्टिकोणले गरिबीलाई मौद्रिक रूपमा हेर्छ ।

गरिबीलाई उपभोगका प्रकार विशेषका आधारमा पनि परिभाषित गर्न सकिन्छ । जस्तो कि कोही आवास, कोही खाद्य वा कोही स्वास्थ्यको गरिब हुन सक्छ । गरिबीका यी आयाम प्रत्यक्ष मापन गर्न सकिन्छ । जस्तो कि कुपोषण वा साक्षरता दरबाट मापन गर्न सकिन्छ ।

अझ वृहद रूपमा हेर्दा, सुखीपन समाजमा क्रियाकलाप गर्ने व्यक्तिगत क्षमतामा केन्द्रित हुन्छ । एउटा गरिबसँग प्रमुख क्षमताहरूको अभाव हुन्छ, अपर्याप्त आय हुन सक्छ वा खराब स्वास्थ्य अवस्थामा हुन सक्छ वा शक्तिहीन महसुस गरेको हुन सक्छ वा राजनीतिक स्वतन्त्रताको अभाव हुन सक्छ ।

मुख्यत: गरिबभन्दा तल भनिएको थे्रसहोल्डसँग कसैको व्यक्तिगत आय वा उपभोग तुलना गरेर गरिबी मापन गरिन्छ । व्यक्तिसँग पर्याप्त खाना, बास, स्वास्थ्य सेवा वा शिक्षा छ ? भनेर हेरिन्छ । पोषण गरिबीको मापन बच्चाको शारीरिक विकास हेरेर गरिन्छ । शिक्षाको गरिबी कोही निरक्षर छ कि छैन भनेर हेरिन्छ वा उनीहरूले प्राप्त गरेको औपचारिक शिक्षाको आधारमा हेरिन्छ ।

अमत्र्य सेनले सन् १९८७ मा मानिसहरूमा सुख समाजमा क्रियाकलाप गर्ने क्षमताबाट आउँछ भने । मानिसहरूसँग मुख्य क्षमताहरूको कमी भएपछि अपर्याप्त आर्जन वा शिक्षा वा कमजोर स्वास्थ्य वा असुरक्षा वा कमजोर आत्मविश्वास वा शक्तिहीनताको अनुभव वा अभिव्यक्ति स्वतन्त्रताजस्ता अधिकारबाट वञ्चितीकरण हुन्छ । यसरी हेर्दा गरिबी बहुआयामिक परिवेश हो ।

गरिबको अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेबारे स्पष्ट र व्यवस्थित ढंगले सोच्न र नतिजामूलक कार्य गर्न विश्व बैंकले गरिबी न्यूनीकरण रणनीतिपत्र (पीआरएसपी) प्रक्रियालाई प्रोत्साहन गर्यो । त्यसलाई अंगिकार गर्दै नेपालले २०५४ सालमा दसौं पञ्चवर्षीय योजनालाई पीआरएसपीकै रूपमा तयार गर्यो ।
पीआरएसपीमार्फत राष्ट्रहरूले घरेलु गरिबी मापन गर्ने र गरिबी न्यूनीकरण गर्ने क्रियाकलापको सञ्चालन र पहिचान गर्ने अपेक्षा विश्व बैंकले गरेको थियो ।

पीआरएसपी प्रक्रियालाई बलियो प्राविधिक सहयोग आवश्यक पर्दछ । विश्लेषणात्मक सीपहरू र प्राविधिक ज्ञान दिने कार्यमा गरिब मुलुकहरूलाई विश्व बैंकले सहयोग गरिरहेको छ ।

गरिबी निवारणको सन्दर्भमा आर्थिक वृद्धिलाई पहिलेदेखि नै महत्व दिइँदै आएको छ । उच्च औसत आयले गरिबी कम गर्न पक्कै सहयोग गर्छ, यसले गरिबलाई सशक्तीकरण गर्न सहयोग हुन सक्छ वा जोखिमविरुद्ध उनीहरूलाई सुनिश्चितता प्रदान गर्न सक्छ अथवा विशेष कमजोरीहरूलाई सम्बोधन गर्न सक्छ ।
गरिबी असमनाता वा जोखिमयुक्तता (भलनेराबिलिटी) सँग सम्बन्धित हो तर फरक हो । असमनाता भनेको स्रोतको असमान वितरण हो । भलनेराबिलिटी भविष्यमा गरिबीमा पर्न सक्ने जोखिम हो । यदि मानिस अहिले गरिब छैन भने पनि खडेरी, कृषि मूल्यको ह्रास, वित्तीय संकटजस्ता पीडाहरूबाट प्रभावित हुन सक्छ । त्यस्तो मानिस पछि गरिब बन्न सक्छ । जोखिमयुक्तता सुखीपनको एउटा मुख्य आयाम हो । यसले लगानी, उत्पादन प्रकरण, व्यवस्थापन रणनीतिको सन्दर्भमा प्रभाव पार्छ ।

गरिबी मापन गर्न समय, मेहनत र पैसा लाग्छ । घरधूरीबाट प्रत्यक्ष तथ्यांक सर्भे गरेर मात्र यसको सही मापन हुन सक्दछ । गरिबी मापन गर्नुपर्ने चार उपयुक्त कारण छन् । रेभालियनले १९९८ मा भनेका छन्, एउटा विश्वासिलो गरिबी मापन गरिबको जीवन अवस्थामा नीति निर्माताको ध्यान आकर्षित गर्ने शक्तिशाली हतियार हुन सक्छ । गरिबहरू तथ्यांकीय रूपमा अदृश्य छन् भने गरिबलाई बेवास्ता गर्न सकिन्छ । यसर्थ गरिबी मापन आर्थिक र राजनीतिक एजेन्डाका रूपमा देखिनलाई आवश्यक पर्छन् ।

दोस्रो कारण, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हस्तक्षेप गर्न हो । गरिब को हुन् भन्ने पहिचान नभई कसैले गरिबलाई सहयोग गर्न सक्दैन । गरिबी प्रोफाइलले क्षेत्र, ग्रामीण सहरी, तराई, पहाड भूगोलका आधारमा गरिबीको भिन्नता थाहा पाउन आवश्यक पर्छ । त्यस्तै, सामुदायिक चरित्रहरू जस्तै : एउटा स्कुल भएको र अर्को नभएको समुदाय र घरधुरी चरित्रहरू जस्तै : घरमूलीको शिक्षा, घरधूरीको आकार पत्ता लगाउन गरिबी प्रोफाइल आवश्यक पर्छ ।

गरिबी प्रोफाइल गरिब क्षेत्रलाई विकास स्रोत लक्षित गर्ने प्रयासलाई समर्थन गर्न सबैभन्दा महत्वपूर्ण प्रयोग हुन्छ । जस्तो कि कृषि क्षेत्रमा आर्जन सिर्जना क्षमता बढाउनुपर्छ भन्ने यसैबाट थाहा हुन्छ । गरिबी र शिक्षाको सम्बन्ध विशेष महत्वपूर्ण हुन्छ । किनकि गरिबी घटाउन र आर्थिक वृद्धि बढाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । राम्रो शिक्षितको राम्रो आय हुन्छ र उनीहरू गरिब हुने सम्भावना न्यून हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार