भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशका सबै ऊर्जा र खनिज स्रोतमाथि कब्जा जमाउन नै संयुक्त राज्य (संरा) अमेरिकाले आफ्नो नेतृत्वको सरकारविरुद्ध नयाँ नाकाबन्दी थोपरेको बताएका छन् ।

‘उनीहरू हामीसँग भएको तेल, ग्यास र सुन आफ्नो नियन्त्रणमा पार्न चाहन्छन् । हामी भन्छौँ–यी स्रोत तिमीहरूको होइन । ती स्रोतसाधन भेनेजुएली जनताको थियो र सधैँ रहिरहनेछ ।’, गएको जनवरी २३ मा विपक्षी सांसद हुँवा गुइएडोले अवैधानिक रूपमा आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि र  सो असंवैधानिक कदमलाई संरा अमेरिका, क्यानाडा र दक्षिण अमेरिकाका अन्य केही दक्षिणपन्थी सरकारले समर्थन जनाएलगत्तै भेनेजुएलाको राजधानी काराकसमा निकोलस मदुरोले बोलेका थिए ।

हुँवा गुइएडोको नेतृत्वमा भएको संसदीय सत्ताविप्लव प्रयासप्रति दक्षिणपन्थी शक्तिहरूले समर्थन जनाए । उनीहरूले गुइएडोको प्रयासप्रति समर्थन गर्नु अन्तर्राष्ट्रिय रूपमा पनि अवैधानिक हो । माडुरोलाई सत्ताच्युत गर्ने लक्ष्यका साथ गरिएको सत्ताविप्लव प्रयासप्रति उनीहरूले किन समर्थन जनाए ? उनीहरू अनेकथरी मानवीय कारण देखाएर आफ्नो सो कदमलाई जायज ठहर्याउन खोज्छन् । तर ती कारणसँग उनीहरूको लक्ष्यको कुनै सम्बन्ध वा लिनुदिनु छैन ।

भेनेजुएलामा दुई दसकदेखि बोलिभारियाली सरकारले शासन गर्दै आएको छ । (ल्याटिन अमेरिकी स्वतन्त्रता आन्दोलनका नेता सिमोन बोलिभारको नाममा थालिएको समाजवादी आन्दोलनलाई नै त्यहाँ बोलिभारियाली आन्दोलन भन्ने गरिन्छ ।) बोलिभारियाली सरकारका प्रगतिशील र सार्वभौम नीतिकै कारण भेनेजुएलाका खनिज पदार्थ र तेल स्रोतमाथि वासिङ्टनको नियन्त्रण खुकुलो बनेको हो ।

तेल :

अमेरिका किन भेनेजुएली मदुरो सरकार हटाउन चाहन्छ ? सन् २०१७ को जनवरी १ मा प्रकाशित सीआईए विश्व तथ्य पुस्तिकाअनुसार भेनेजुएला अरू कुनै पनि देश (साउदी अरबसमेत) भन्दा बढी प्रमाणित तेलखानी भएको देश हो ।

सन् २०१७ को नोभेम्बरको तथ्याङ्कअनुसार भेनेजुएलाको ‘ह्युगो चाभेज’ ओरिनोको तेलखानी क्षेत्रमा मात्र ३ खर्ब ९० करोड ब्यारेल बराबरको तेल खानी छ । निकोलस मदुरो दोस्रो कार्यकालको लागि राष्ट्रपति पदमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्प सरकारले संवैधानिक रूपमा निर्वाचित राष्ट्रपतिमाथि कडा नाकाबन्दी बिस्तार गरेको हो ।

तेलसम्बन्धी विशेषज्ञहरूका अनुसार भेनेजुएलामाथि त्यस्तो नाकाबन्दी थोपर्नुको मूल कारण भनेको त्यहाँको तेल चीनलाई बेच्न नदिनुका साथै बढ्दै गएको अमेरिकी बजारमा आपूर्तिका लागि एउटा स्थायी स्रोतको जोहो गर्नु पनि हो । आफ्नो तेल उत्पादन मात्र अमेरिकालाई मनग्य पुग्ने अवस्था छैन । जनवरी १६ मा अमेरिकी ऊर्जा विभागले जारी गरेको तथ्याङ्कअनुसार अमेरिकाको तेल उत्पादन २७ लाख ब्यारेलले घटेर ४३ करोड ७० लाख ब्यारेलमा झरेको छ ।

भेनेजुएलाको पेट्रोलियम मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१७ सम्म भेनेजुएलामा १९८.३ ट्रिलियन क्युबिक फिट प्रमाणित ग्यास खानी छ । हालसालै ऐतिहासिक क्षेत्रहरू जस्तै माराकायबो, माटुरिन, बार्सिलोना, कुमाना र बारिनसमा थप २.३ ट्रिलियन क्युबिक फिट प्रमाणित ग्यासखानी भेटियो । साथै तेल क्षेत्र (आयल बेल्ट)मा ७१८.७ ट्रिलियन क्युबिक फिट ग्यासखानी रहेको अनुमान छ ।

खनिज पदार्थ

भेनेजुएलाले त्यहाँको खनिज पदार्थको भण्डारविरुद्ध अमेरिकाले थालेको अन्तर्राष्ट्रिय अभियानप्रति खेद प्रकट गर्दै आएको छ । भेनेजुएलाको खनिज पदार्थ भण्डारमा सुन, हिरा र कोल्टनजस्ता खनिज पदार्थ मनग्य मात्रामा छ । भेनेजुएलालाई आर्थिक रूपमा अझ अप्ठ्यारोमा पार्न अमेरिकाले थालेको सो अभियानले भेनेजुएलाको सुनलाई अवैध, चोरिएको र भ्रष्टाचार गरिएको भनी प्रस्तुत गर्दै आएको छ ।

सन् २०१८ मा भेनेजुएला सरकारले तीसभन्दा बढी सुनखानीमा सुन निकाल्न अनुमति पत्र जारी ग¥यो । भेनेजुएलालाई ‘विश्वकै दोस्रो सबभन्दा ठूलो सुन उत्पादक’ बनाउने लक्ष्यका साथ भेनेजुएला सरकारले ती अनुमति पत्र जारी गरेको थियो ।

सन् २०१८ मा भेनेजुएलामाथिको कडा नाकाबन्दीबीच पनि सन् २०१७ को तुलनामा गैरतेलजन्य वस्तुको निर्यात २०० प्रतिशतले बढेको थियो । हल्यान्ड, पोचुर्गल, स्पेन, स्विडेन, स्विजरल्यान्ड, अमेरिका, बेलायत र विशेषतः टर्कीलाई भेनेजुएलाले सुन बेचेको थियो । सन् २०१८ को सुरुका महिनाहरूमा भेनेजुएलाले युरेसियाली देशहरूलाई २३.६२ टन सुन बेचेको थियो । त्यति सुनको मूल्य ९० करोड अमेरिकी डलर बराबर हुन्छ ।

संसारका लागि तेल र सबभन्दा ठूलो प्रमाणित सुन खानीको विकल्पको रूपमा भेनेजुएलाको उदयसँगै अमेरिकाले त्यहाँका खनिज पदार्थ आफ्नो नियन्त्रणमा राख्न चासो देखाउन थालेको हो । भेनेजुएलाले आफूसँग भएका खनिज पदार्थ रुस र टर्कीलाई बेच्न नसकोस् भन्नेमा पनि वासिङ्टनको चासो देखिन्छ ।

त्यसैकारण मदुरोले वासिङ्टनको मूल लक्ष्य भेनेजुएलाको तेल र खनिज पदार्थ कब्जा गर्ने भएको प्रष्ट बोलेका हुन् ।

ल्याटिन अमेरिकी राजनीतिको प्रकाश स्तम्भ

सन् १९९८ मा भएको निर्वाचनमा ह्युगो चाभेज राष्ट्रपति पदमा निर्वाचित भए । पछिल्ला बीस वर्षमा ल्याटिन अमेरिकाको अवस्था बदल्न त्यो चुनावी विजय निकै महत्त्वपूर्ण प्रमाणित भयो । त्यत्तिबेलादेखि आजसम्ममा सो क्षेत्रमा प्रजातान्त्रिक माध्यमबाट निर्वाचित पन्ध्र प्रगतिशील सरकार गठन भइसकेका छन् ।

ल्याटिन अमेरिकालाई एकीकृत महादेश बनाउने सिमोन बोलिभारको विचारबाट निर्देशित ल्याटिन अमेरिकी एकताका लागि चाभेज र उनको सरकारका विदेशमन्त्री (हालका राष्ट्रपति) निकोलस माडुरोको महत्त्वपूर्ण भूमिका रहँदैआएको छ । लुइस दा सिल्भा, डिल्मा रुसेफ, राफेल कोरेया, इभो मोरालेस, निस्टोर क्रिचनर, क्रिस्टिना फर्नान्डेज दि क्रिचनर, मानुएल जिलाया, फर्नान्डो लुगो, डानियल अर्टेगा, फिडेल क्यास्ट्रो, राउल क्यास्ट्रोसँगको सहकार्यमा भेनेजुएलाले दक्षिण अमेरिकी महादेशको क्षेत्रीय एकतालाई अघि बढायो ।

सो क्रममा क्षेत्रीय एकताका केही संस्थाहरू जस्तै ल्याटिन अमेरिकी र क्यारिबियन सङ्गठन (सिलाक), हाम्रो अमेरिकी जनताको बोलिभारियाली मोर्चा (अल्बा), दक्षिण अमेरिकी सङ्घ (युनासुर) र दक्षिण अमेरिकी व्यापार बिस्तारका लागि दक्षिणी साझा बजार (मेर्कोसुर) स्थापना भए । ती सबै सङ्गठनको लक्ष्य भनेको ल्याटिन अमेरिकी र क्यारिबियन देशहरूबीचको एकता कायम राखी स्वतन्त्र रूपमा अघिबढ्नु हो ।

दक्षिण र ल्याटिन अमेरिकी देशहरूमा बनेका प्रगतिशील सरकारलाई फाल्न सत्ताविप्लवका प्रयास हुन थालेपश्चात यस्ता एकीकृत पहल सुरू गरिएका थिए । सन् २००२ मा ह्युगो चाभेजको सरकारविरुद्ध त्यस्तो सत्ताविप्लवको प्रयास पहिलो त्यस्तो प्रयास थियो । सन् २०१० मा होन्डुरसमा मानुएल जिलायाविरुद्ध अर्को सत्ताविप्लव भएको थियो । पाराग्वेमा फर्नान्डो लुगोविरुद्ध संसदीय सत्ताविप्लव भएको थियो । त्यस्तै सन् २०१६ मा ब्राजिलमा डिल्मा रुसेफविरुद्धको महाभियोग आंशिक संसदीय सत्ताविप्लब थियो ।

ती सबै प्रक्रियालाई ‘कानुनी युद्ध’ (लफेयर) भनी परिभाषा गरिएको छ । लुलाविरुद्धको कानुनी दमन यसको उदाहरण हो । राफेल कोरेया र इक्वेडरमा जर्ज ग्लासविरुद्ध हालै मात्र त्यस्ता प्रयास भए । अर्जेन्टिनामा क्रिचनरविरुद्ध त्यही प्रकृतिको कानुनी दमन भएको थियो ।

यस प्रकार ल्याटिन अमेरिकामा एकपछि अर्को दक्षिणपन्थी सरकार उदाइरहेका छन् भने ‘राष्ट्रिय पपुलर सरकारहरू’ पराजित भइरहेका छन् । बोलिभिया, निकारागुआ, क्युवा र एल साल्भाडोरसँग बाँकी बचेको भनेको भेनेजुएला पनि हो ।

यिनै कारण वर्षौंदेखि भेनेजुएलालगायत ल्याटिन अमेरिकाका सबै ‘राष्ट्रिय पपुलर सरकारहरू’ विरुद्ध राजनीतिक र आर्थिक दमन तथा अस्थिरता निम्त्याउने प्रयास भएका हुन् । दक्षिण अमेरिकी क्षेत्रका पहिलो प्रगतिशील देश र सरकार स्थापना भएको भेनेजुएलालाई पराजित गर्नु अमेरिका र स्थानीय दक्षिणपन्थी शक्तिको निम्ति निकै महत्त्वको विषय बनेको छ ।

भेनेजुएलाको मदुरो सरकारलाई पराजित गर्नु भनेको सो क्षेत्रमा प्रगतिशील आन्दोलनलाई पराजित गर्नु हो भनी उनीहरू लागेका छन् ।

(स्रोत : टेलिसुर,अनुवाद : नीरज लवजू काे सहयाेगमा राताेपाटीले तयार पारेकाे सामाग्री )

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार