सन् १९२६ को वसन्तको एक दिन लालसेना एकेडेमीको राजनीतिक विभागका सञ्चालक कामरेड वन ह्वा अध्यक्ष माओसँग भेट्न आउनुभयो र एकेडेमीमा विद्यार्थी भर्नासम्बन्धी कुराकानी गर्नुभयो ।

कुराकानीको क्रममा अध्यक्ष माओले मलाई ध्यानमग्न भई हेर्नुभयो र भन्नुभयो, “यहाँ हेडक्वार्टरमा केही अनुभवी योद्धा छन् । ती राम्रा कामरेड हुन्, ती लामो अभियानको परीक्षामा खरो प्रमाणित भएका हुन् । तिनीहरूमा केहीलाई पढ्नको लागि किन नपठाउने ?” कामरेड माओले भन्नुभयो ।
“हामी उनीहरूको स्वागत गर्छौं ।” कामरेड वन ह्वाले जवाफमा भन्नुभयो ।

केही दिनपछि एकदिन बिहान म अध्यक्ष माओको हातमुख धुने पानी राखी बाहिर गइरहेको बेला उहाँले मलाई रोक्दै भन्नुभयो, “छन छाङ—फङ ! म तिमीलई पढ्नको निम्ति लालसेना एकेडेमीमा पठाउँदैछु । तिमी खुशी छौ कि छैनौ ?”

मैले तुरुन्तै उत्तर दिइनँ । मेरो मुटु जोडले धड्कन थाल्यो । विभिन्न प्रकारका विचारले मेरो दिमागमा चक्कर लाउन थाल्यो । कहिल्यै विद्यालय नगएको र सानोमा जमिनदारको गाई चराउने म साँच्चै विद्यालय जाँदैछु ? साँच्चै, म निकै खुसी थिएँ । तर, मैले अध्यक्षसँग ६ वर्ष व्यतीत गरिसकेको थिएँ । यो कुनै सानो अवसर थिएन । उहाँ जतिसुकै व्यस्त हुनुभए पनि र अत्यन्त कठिन दिनहरूमा पनि मेरो ख्याल राख्नुहुन्थ्यो र शिक्षा दिनुहुन्थ्यो । उहाँ मेरो राजनीतिक तथा सबै शिक्षा र दैनिक कठिनाइहरूदेखि लिएर जीवनका सानातिना आवश्यकताहरू समेतमा ध्यान दिनुहुन्थ्यो । उहाँको पितातुल्य रेखदेखमा नै मैले बिस्तारै वर्गसङ्घर्ष तथा अन्य विषयमा धेरै कुरा सिकेको थिएँ । तैपनि सबभन्दा महत्वपूर्ण कुरा त यो हो कि उहाँको दैनिक जीवन तथा कार्यबाट मैले एक सच्चा कम्युनिष्ट के हो भन्ने कुरा सिकेँ ।
मेरो सङ्कोच देखेर अध्यक्षले मलाई फेरि सोध्नुभयो, “के तिमीले निर्णय ग¥यौ ?”

“म … म ! लाग्छ, म जानु हुँदैन, अध्यक्ष कामरेड ।”

“किन ?”

“अरू विशेष त केही होइन तर म तपाईंसँग बिछोडिन चाहन्नँ । यसबाहेक त्यहाँ सिक्ने विषय म तपाईसँग सिक्न सक्छु ।” मैले भनेँ ।

अध्यक्ष मेरो नजिक आउनुभयो । उहाँले मेरो काँधमा हात राख्नुभयो र मलाई बस्नको निम्ति भन्नुभयो । मसँगै बसेर उहाँले निकै नम्र भएर भन्नुभयो– “छन छाङ–फङ, तिमीले हाम्रो क्रान्तिकारी अड्डा दिनदिनै विस्तृत हुँदै गएको बुझ्नुपर्छ । हामीलाई हरेक प्रकारको काम गर्नको लागि पार्टी र जनताप्रति बफादार कार्यकर्ताहरूको आवश्यकता छ । तिमी मसँग बसेको छ–सात वर्ष भयो । यसबीचमा तिमीलाई अध्ययन गर्ने बढी मौका मिल्न सकेन । अब तिमीले विद्यालय जानुपर्छ र त्यहाँ व्यवस्थितरूपले पढ्नुपर्छ । अध्ययन समाप्त गरिसकेपछि तिमी पार्टीको लागि निकै राम्ररी काम गर्न सक्नेछौ । यसबाट मलाई निकै खुशी मिल्नेछ । ठीक छ कि छैन, तिम्रो के विचार छ ?”

बोल्दै गर्दा उहाँ मलाई बडो स्नेहपूर्वक हेर्दै हुनुहुन्थ्यो ।

“यदि मैले तपाईंलाई छोडेर गएँ भने तपाईको हेरविचार कसले गर्छ ?” मैले केटाकेटीले झैँ प्रश्न गरेँ ।

“यसबारे तिमीले चिन्ता गर्नुपर्दैन ।” उहाँले मुस्कुराउँदै भन्नुभयो “जब तिमी जान्छौ, तिम्रो ठाउँमा अरू कोही आउनेछ । के तिमीलाई थाहा छ, का. ल्यू शाओ चीको अङ्गरक्षक पनि स्कूल जाँदैछन्?” म उभिएँ । म यति डराएको थिएँ कि अध्यक्षले हात मुख नधुनुहुँदै मैले पानीको भाँडो लिएर हिँडेछु ।

जेहोस्, म स्कूल जाने कुरा तय भयो । अध्यक्षसँग बिदा हुने अघिल्लो रात मैले नसुती बिताएँ । म आफ्नो भावी स्कूल जीवन, आफ्नो भविष्य तथा अध्यक्षको बारेमा सोच्दै थिएँ । मेरो ठाउँमा को आउने होला ? नयाँ साथीलाई अध्यक्षको बानी व्यवहार कस्तो लाग्नेछ ? यो विचार आउनेबित्तिकै मेरो मन फेरि उद्विग्न भयो । म बिछ्यौनाबाट बाहिर निस्केँ । रात निकै छिप्पेको थियो । अध्यक्षको कोठामा अझै बत्ती बलेकै थियो । मैले उहाँसँग आफूलाई साथमै राख्न अन्तिमपटक अनुरोध गर्ने तय गरेँ । तर, झ्यालतिर पुगी हेर्दा उहाँ लेखिरहनु भएको थियो† मेरो हिम्मत टुट्यो । मलाई थाहा थियो, मभित्र गएँ भने उहाँले मसँग कुराकानी गर्नुहुनेछ । वर्षौंको अनुभवबाट मलाई थाहा थियो कि मैले उहाँको काममा बाधा हाल्नुहँुदैन । सारा देश एवम् सारा पार्टीको कामको तुलनामा मेरो सानो आग्रह आखिर के हो र ? म चाल नदिइकनै आफ्नो कोठामा फर्केँ ।

अर्को दिन बिहान म निकै हतारमा थिएँ । सधैँझैँ म मुख धोएर अध्यक्षको अफिसमा सफाइ गर्ने, बढार्ने र सबै काम जुन म निकै राम्ररी बुझ्थेँ, गरेँ । तर, म अब यी सबै वस्तुहरूसँग बिछोडिदै थिएँ !

त्यही समयमा अध्यक्ष हातमा दुई वटा कपी र दुई वटा सिसाकलम लिएर भित्र पस्नुभयो । “तिमी छिटै नै जाँदैछौ”, उहाँले भन्नुभयो, “कोठाको चिन्ता नगर । जाऊ, आराम गर ।” मलाई दुई कपी र दुई वटा सिसाकलम दिनुहुँदै उहाँले अगाडि भन्नुभयो– “यी तिम्रो लागि स्कूलमा प्रयोग गर्ने वस्तु हुन् । राम्ररी पढ्नू । फुर्सद मिल्नासाथै मलाई भेट्न आउनू ।”

मैले अध्यक्षको उपहार लिएँ । उहाँतर्फ हेर्दैगर्दा मेरो गला अवरुद्ध र मेरा आँखा सजल भइरहेको अनुभव भयो ।

लालसेना एकेडेमीमा मेरो प्रवेशलगत्तै अध्यक्ष माओ मोर्चामा जानुभयो । मैले त्यहाँ कुल चालीस दिन अध्ययन गरेँ । त्यसपछि मलाई उत्तर—पश्चिम सुरक्षा टुकडीको निर्देशक बनाइयो । त्यसै सालको अगष्टमा अध्यक्ष माओ शान्ति मोर्चाबाट फर्कनुभयो र म उहाँलाई भेट्न गएँ । जसै म उहाँको कोठामा पसेँ, उहाँले सबभन्दा पहिले मेरो पढाइको बारे सोध्नुभयो ।

“म अब पढिरहेको छैन, काम गर्दैछु ।” मैले जवाफ दिएँ । “कस्तो काम ?” अध्यक्ष माओले निकै चासोका साथ सोध्नुभयो । मैले बताएँ, “उत्तर—पश्चिम सुरक्षा ब्युरोको एक सुरक्षा टुकडीको निर्देशक बनेको छु ।”

“वाह ! तिम्रो दलमा कति सैनिक छन् ?”

“दुई सत्न्दा बढी ।”

यो सुनेपछि अध्यक्षले निकै विनम्र भावमा भन्नुभयो । “दुई सत्न्दा बढी ! यसको मतलब तिमी एउटा सानो बटालियनको कमाण्डर हौ ।” (त्यस समयमा हाम्रा प्रायः कम्पनीहरूमा केवल सत्तरी—अस्सी मानिस हुन्थे ।)

अध्यक्षको त्यो कुराबाट मलाई केही बेचैनी महसुस भयो । “के तिमी आफ्नो काम राम्ररी गर्दैछौ ?” यो उहाँको दोश्रो प्रश्न थियो ।

“एक निर्देशकको हैसियतबाट, के तिमीले सावधानीको स्थितिमा कसरी खडा हुनुपर्छ र आरामको स्थितिमा कसरी भन्ने बुझ्यौ ?”

त्यस समयमा मलाई याद आयो–अध्यक्षको सेवा गर्दा हामी कति सावधान एवम् आरामको स्थितिमा खडा हुन्थ्यौँ । मैले मुस्कुराउँदै जवाफ दिएँ “अँ हो, मैले सिकेँ । तर, भाषण त म अझ पनि गर्न सक्दिनँ, खासगरी बेलुकी हाजिरीको समयमा ।”

उहाँ मुस्कुराउनुभयो । उहाँले सोध्नुभयो– “के तिमी बोलिरहेको समयमा सैनिक आफ्नो पाइताला पड्काउँछन् र लामखुट्टेको बारेमा सिकायत गर्छन् ?” (ती दिनमा बेलुकीको हाजिरीको समयमा भाषण निकै लामो भयो भने केही ठटेउला सैनिक आफ्नो पाइताला पड्काउँथे र कसैले सोध्यो भने–लामखुट्टेले टोकेको भन्ने जवाफ दिन्थे । लाग्थ्यो, अध्यक्ष माओ सेनाका यी ठट्टाहरू राम्ररी बुझ्नुहुन्छ ।) अध्यक्षको कुरा सुनेर मलाई हाँसो उठ्यो ।

फेरि उहाँले गम्भीर भएर सोध्नुभयो, “अब तिमी एकजना कार्यकर्ता हौ, त्यसैले हरेक कुरामा ध्यान दिनुपर्छ । बोल्दा हरेक कुरा स्पष्ट भन्नुपर्छ । बेकारको कुरा गर्नुहुन्न, न कहिल्यै देखावा गर्नुहुन्छ ।” फेरि उहाँले सोध्नुभयो – “के तिम्रो साथीले पढ्न – लेख्न सिक्दैछ ?”

मैले जवाफ दिएँ, “हो ।” अनि उहाँले उसलाई लेख्न कसले सिकायो भनी सोध्नुहुँदा मैले लजाउँदै भनेँ, “मैले ।” “अँ, तिमी, अध्यापक पनि हौ !” उहाँले भन्नुभयो ।
“म पढ्नुको साथै पढाउँछु पनि” मैले बताएँ, “यदि मैले नबुझेको कुनै शब्द आएमा म शब्दकोशमा खोज्छु ।”

यस्तो सुनेपछि उहाँले मलाई उत्साहित गर्दै भन्नुभयो, “यो निकै राम्रो कुरा हो । मिहिनेतसाथ काम गर र कठिनाइहरूमाथि विजय प्राप्त गर । तिमीलाई याद छ, च्याङ्सीमा रहँदा श्य च्वे चाए, श्वीथ ली, छन युन र च्वन ह्वान तिमीलाई कसरी पढ्न र लेख्न सिकाउँथे ?!”

मैले स्वीकारोक्तिको टाउको हल्लाएँ । म कसरी भुल्न सक्थेँ ? ती दिनमा अगुवा कार्यकर्ताहरू पालैपालो आएर हामीलाई प्रशिक्षण दिन्थे र हामीलाई पढ्न–लेख्न सिकाउँथे । खासगरी कामरेड श्य च्वे चाए हाम्रो पढाइमा विशेष चासो लिन्थे । अध्यक्ष माओ निकै व्यस्त रहेर पनि अलिकति फुर्सद पाउनेबित्तिकै हाम्रो पढाइमा मद्दत गर्नुहुन्थ्यो ।

ती दिनमा, जहाँ लालसेना जान्थ्यो, त्यहाँ नाराहरू लेखेर टाँसिन्थ्यो । अध्यक्ष माओ ती नाराहरूको शब्द सिक्न हामीलाई सहयोग गर्नुहुन्थ्यो र पछि हाम्रो परीक्षा लिनुहुन्थ्यो । उहाँले नै मलाई हात समाएर मेरो नाम लेख्न सिकाउनुभएको थियो । उहाँले अरू पनि थुप्रै कुरा सिकाउनु भएको थियो । जब हामी एउटा कोइलाखानीको केन्द्र रहेको फुच्येन प्रान्तमा पुग्यौँ, उहाँले हामीलाई जमिनमुनिको कोइला कसरी बन्छ भन्ने बताउनु भएको थियो । यदि बाटोमा कुनै तातो झरना देखियो भने उहाँ हामीलाई त्यसको कारण बताउनुहुन्थ्यो । कुनै बखत बिजुली चम्क्यो भने यो कसरी हुन्छ भनी बताउनुहुन्थ्यो ।

च्याङ्सी प्रान्तको रुइचिनमा बस्दाका दिनहरूमा अध्यक्षलाई हामीले पाउनेजति मात्र पैसा मिल्थ्यो । उहाँसँग कुनै खानेकुरा हुन्थेन । ऊ च्येछिङ र म पालैपाले उहाँका लागि खानेकुरा किन्न जान्थ्यौँ र पकाउँथ्यौँ । बजारबाट फर्केपछि म आफ्नो नोटबुकमा सब्जीहरूको नाम लेख्थेँ । एकदिन उहाँले त्यो नोटबुक देख्नुभयो र चासो लिँदै सोध्नुभयो, “के यो तिम्रो हिसाब हो ?”

“होइन ।”, मैले जवाफ दिएँ– “यी सबै मैले सिक्दै गरेका शब्द हुन् ।”

“शब्द सिक्ने यो राम्रो तरीका हो ।” उहाँले भन्नुभयो– “के ऊ च्येछिङ पनि यस्तै गर्छ ?”

मैले “गर्दैन । ” भन्ने उत्तर दिनासाथ उहाँले भन्नुभयो, “यो त राम्रो कुरा भएन ! उसलाई यहाँ आउन भन्नू ।”

मैले ऊलाई भित्रबाट बोलाएँ, ऊ आयो र अध्यक्षले भन्नुभयो, “अबदेखि तरकारी किन्दा जहिले पनि हिसाब लेख्नू र मलाई देखाउनू ।”

त्यसबेलादेखि ऊले गम्भीरतापूर्वक पढ्न–लेख्न थाल्यो । अध्यक्ष माओले यसरी नै हाम्रो शिक्षामा गहिरो चासो लिनुहुन्थ्यो ।

मैले अध्यक्षसँग अरू पनि कुराकानी गरिरहेँ । यसपछि कामरेड ल्यू शाओ ची र चाउ ऐन—लाई आउनुभयो । मैले उभिएर अध्यक्षसँग फर्कन चाहेको कुरा राखेँ । तर, अध्यक्षले मलाई जान दिनुभएन । त्यस दिन मैले उहाँसँगै खाना खाएँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार