लण्डनको हाइगेट सिमेट्री (समाधीस्थल) मा रहेको कार्ल मार्क्सको समाधिमा क्षति पु¥याइएको पाइएको छ ।  आक्रमणकारीले समाधिमा रहेको त्यस मार्वलको पाटीमा क्षति पुर्याएका छन्, जुन सन् १८८३ को माक्र्सको मूल समाधिमा लगाइएको थियो । त्यसलाई सन् १९५४ मा स्मारक स्मारकसहितको समाधि निर्माण गर्ने क्रममा जस्ताको तस्तै राखिएको थियो ।

हाईगेट सिमेट्रीमा रहेको मार्क्सको स्मारकमा वर्षेनी लाखौं मानिसहरु भ्रमण गर्ने गर्छन् ।  हाइगेट सिमेट्रीले आफ्नो ट्वीटरमा राखेको माक्र्सको स्मारकको पछिल्लो तस्विरमा स्मारकको मार्वलमा कुदिएका अक्षरहरु र मार्वल आफैंमा क्षति पुर्याइएको देखिन्छ ।

समाधिमा हतौडाको प्रयोग गरेर तोडफोड गरिएको बताइएको छ ।  ‘फ्रेण्ड अफ हाइगेट सिमेट्री ट्रष्ट’का प्रमुख अधिकृत इयान डङभेलले समाधिमाथिको हमलालाई ‘घृणित कार्य’ भन्दै यो ‘राजनीतिक विरोध व्यक्त गर्ने सहि तरिका नभएको’ बताए ।

‘पछिल्लो तोडफोडले गर्दा समाधिमा स्थाई दाग रहन सक्छ,’ डङभेलले भने ।  गार्डियनसँग कुरा गर्दै उनले भने, ‘समाधिस्थलमा रहेका अरु समाधिमा कुनै हानी पुर्याएको छैन । यो कार्ल मार्क्सको समाधीलाई नै लक्षित गरेर जानीबुझी गरिएको थियो । यो अञ्जानमा भएको कार्य होइन । हमलाकारीले कार्ल मार्क्सको नाम मेटाउन सक्दो प्रयास गरेको देखिन्छ ।’

‘यो कुनै मार्क्सवाद विरोधी व्यक्तिको काम हो भने उनीहरुले स्मारक तोडफोड गर्नुभन्दा मानिसहरुको विचार बदल्न प्रयास गर्दा पो राम्रो हुन्थ्यो । यसले मार्क्सवाद विरोधी कार्यप्रति कुनै समर्थन बढाउँदैन,’ डङ्भेलले भने ।

बेलायती स्मारकहरुको सूचिको ग्रेड–१ स्मारक

डङभेलले थप भने, ‘ग्रेड–१ स्मारकमाथि कसैले यस्तो गर्छ ? यो राजनीतिक विरोधको भद्दा शैली हो ।’  बेलायतमा ग्रेड–१ को स्मारकहरु त्यहाँको सरकारी विभागले सूचिकृत गर्ने ऐतिहासिक महत्वका स्मारकहरुमध्ये सबैभन्दा महत्वपूर्ण स्मारकहरु हुन् । कार्ल मार्क्सको समाधिलाई सन् १९९९ मा स्मारकहरुको सर्वोच्च दर्जा दिइएको थियो ।

यो घटना कहिले भयो भनेर स्पष्ट भइसकेको छैन । तोडफोडबारे सोमबार अपरान्ह पहिलोपटक प्रहरीलाई जानकारी गराइएको थियो । तर डङ्भेलले समाजिक सञ्जालमा प्रकाशित भएका तस्विरहरुले यो घटना अघिल्लो हप्ता अथवा त्यो भन्दा अघिनै भएको हुन सक्ने देखिएको बताए । ‘स्मारक भ्रमणपछि मानिसहरुले सामाजिक सञ्जालमा राखेका केही तस्विरहरुमा तोडफोड गरेको स्पष्ट देखिन्छ,’ उनले भने ।

मर्मत खर्च उठाउन सार्वजनिक आह्वानको सुझाव

क्षतिको मूल्य हालसम्म आँकलन भइसकेको छैन । डङ्वेलले यसबारे बोल्दै भने, ‘पत्थरका विशेषज्ञ संरक्षणकर्तालाई झिकाएर त्यहाँको सेतो मार्बल जोडेर त्यसमा अक्षरहरु पुन राख्न सकिन्छ होला । त्यसो भएमा क्षति देखिदैन ।’

बाल–किताब लेखक तथा कवि मिचेल रोसेनले क्षति मर्मतका लागि अभियानको आह्वान गर्नुपर्ने सुझाए ।  समाधिस्थलले स्मारकको मर्मतलाई लिएर यसको स्वामित्व रहेको माक्र्स ग्रेभ ट्रस्टसँग छलफल गर्नेछ । यसले ट्रस्टसँग स्मारकको छेउछाउ सीसीटीभी राख्ने सम्भावनाबारेमा पनि कुरा गर्नेछ ।

को समाधिमा यो आक्रमण पहिलो भने होइन । उग्रदक्षिणपन्थी विचार राख्नेहरुले विभिन्न समयमा समाधिमा फ्याकेका रंगको दाग अझै देखिन्छ । उनीहरुले रंग छ्यापेर स्मारकलाई बिगार्ने कोसिस गरेका थिए ।

डोरीले तानेर लडाउने प्रयास पनि नभएका होइनन् तर स्मारकमाथिको सबैभन्दा ठूलो दक्षिणपन्थीहरुको हमला सन् १९७० जनवरीमा भएको थियो । त्यो बेला समाधिमाथि रहेको अर्थकदको मार्क्सको शालिकमाथि हानिएको पाइप बमले शालिकको आगाडि भागमा क्षति पुगेको छ ।

को हुन् कार्ल मार्क्स ?

साम्यवाद सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सको जन्म सन् १८१८ मा हाल जर्मनीमा पर्ने ट्रियरमा भएको थियो ।  क्रान्तिकारी राजनीतिक अभियानको कारण तत्कालिन समयमा युरोपका निरकुंश सरकारहरुको आँखाका कसिंगर भएका थिए उनी । यही कारण माक्र्स एकपछि अर्को देश निर्वासन सर्दै अन्तत सन् १८४९ मा बेलायतको राजधानी पुगेका थिए ।

त्यहाँ उनका अनन्य मित्र तथा राजनीतिक सहयात्री फ्रेडरिक एंगेल्सको बुवाको व्यवसाय थियो, जसलाई एङ्गेल्स स्वयमले सञ्चालन गरिरहेका थिए ।  एङ्गेल्सको सहयोगमा माक्र्सले आफ्नो बाँकी जीवन लण्डनमै बिताए । यसमा बेलायतमा त्यो समय युरोपको बाँकी देशमा भन्दा उदार राजनीतिक अभ्यासले पनि सहयोग गरेको थियो ।

लण्डनमा माक्र्सको धेरैजसो समय लण्डन म्युजियमको विशाल पुस्तकालयमा पुस्तक पढेर र महत्वपूर्ण कृतिहरु लेखेर बित्यो । माक्र्सको मृत्यु पनि लण्डनमै सन् १८८३ भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार