बारबरा प्लेट उशर /बीबीसी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग २७ र २८ फेब्रुअरीमा दोस्रो पटक भेटवार्ता हुने घोषणा गरेका छन् ।

यो भेट भियतनाममा हुनेछ । उक्त भेटघाटमा मुख्यतः परमाणु मुद्दाबारे कुराकानी हुनेछ । यसअघि यी दुई नेताले सन् २०१८ को जुनमा भेटेका थिए ।

दोस्रो भेटको तयारीमा जुटेका दुई नेता सामुन्ने विभिन्न चुनौती छन् ।

चुनौती नम्बर १ः ठोस् कदम आवश्यक

ट्रम्प र किमबीच जुन २०१८ मा भएको पहिलो भेटका लागि विश्वव्यापी कौतुहल एवं चर्चा थियो ।

तर उक्त भेटपछि स्थिति आशा गरेअनुसार अघि बढेन । उत्तर कोरियालाई  परमाणु हतियार मुक्त गराउने अमेरिकी लक्ष्यका अनुसार कुनै ठोस् नतिजा देखिएन । यस्तै, अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध फुकाउन तयार नभएकाले उत्तर कोरिया निराश रह्यो ।

त्यसकारण यी दुई पक्षलाई यसपटक केही ठोस् नतिजामा पुग्नुपर्ने दबाब छ ।

समस्या यो छ कि यी दुई नेताले परमाणु मुद्दालाई व्यक्तिगत बनाएका छन् । ट्रम्प र किम एक–अर्कासँग फेस टु फेस कुरा गर्न रुचाउँछन् । उनीहरुबीच चिठ्ठी र उत्साहित तुल्याउने शब्दको आदन–प्रदान भएको छ ।

यसपटकको शिखरवार्ता अघि अधिकारी स्तरमा चर्चा हुन आवश्यक छ ।पहिलो शिखरवार्तामा यस्तो भएको थिएन तर यसपटक भने यस्तो गरिँदै छ ।

भविष्यमा अघि बढ्नका लागि विशेषज्ञ स्तरमा एक ढाँचा तयार गरेर त्यसमा सहमती स्थापित गर्नसके वास्तविक उपलब्धि हुनेछ ।

दोस्रो चुनौतीः दिशा एकै होस्

ट्रम्प र किमबीच सिंगापुरमा भएको भेटवार्ताको क्रममा दुई देश कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु हतियार मुक्त गराउने कुरामा सहमत भएका थिए ।

तर एकवर्ष बित्नै लाग्दा यसबारे केही  ठोस् कदम उठाइएका छैनन् । ‘के यसबारे कुनै सम्झौता हुनसक्छ ?’ प्रश्न उठाइन थालिएको छ ।

अमेरिकाका लागि परमाणु हतियार नष्ट गर्नुको अर्थ उत्तर कोरिया एकतर्फी तरिकाले आफ्नो सबै परमाणु हतियार हटाओस् र अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई यसको पुष्टि गर्ने अनुमती देओस् भन्ने हो ।

यता उत्तर कोरियाले अमेरिकाले यसको जवाफमा आफ्नो परमाणु हतियार हटाएर सुरक्षाको प्रत्यायभूती देओस् भन्ने चाहन्छ ।

यीमध्ये धेरै कुरामा अमेरिका मोलतोल गर्न चाहँदैन ।

अमेरिकी सेनाका जनरल अचम्मित भएका होलान् तर राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा तैनाथ सैनिकलाई घर फिर्ता ल्याउन चाहन्छन् । यद्यपी, उनले अहिलेका लागि यस्तो गर्ने कुनै पनि योजना नभएको भनेर जानकारी दिइसकेका छन् ।

किम जोंग उनले अहिलेसम्म परमाणु हतियार हटाउने विषयमा लिखित रुपमा वचन दिएका छैनन् । विशेषज्ञका अनुसार उनलाई यसका लागि दबाब दिनुपर्छ  र त्यो स्थिती हासिल गर्नका लागि विस्तारपूर्वक खाका तयार गरेर त्यसमा पनि उनको सहमती लिनुपर्छ ।

यो एक वास्तविक चुनौती हो ।

अमेरिकी विदेश मन्त्रालयमा उत्तर कोरियाका लागि प्रतिनिधी स्टिफन बीगनले परमाणु हतियार मुक्त गर्ने लक्ष्यमा विभिन्न समस्या भएको स्विकारोक्ति गरेका थिए । उनले भविष्यमा उत्तर कोरियासँग एक सम्झौता हुने भन्ने जानकारी पनि दिएका थिए ।

चुनौती नम्बर ३ः परमाणु हतियारको विषयमा कदम उठाउनुहोस्

दुबै पक्षको तर्फबाट जुन संकेत पाइएको छ, त्यसले ट्रम्प र किमको भेटमा केही ऐतिहासिक कदम उठाइने आशा बढाएको छ ।

बीगनका अनुसार उत्तर कोरियाले यदि ट्रम्प प्रशासन जवाफी उपाय (काउन्टर मिजर्स) गर्छ भने उनीहरु परमाणु बमको इन्धन तयार गर्ने आफ्ना सबै संयन्त्र नष्ट गर्न तयार भएको प्रस्ताव राखेको छ ।

किम जोंग उन अमेरिकासँग छुटको रुपमा प्रतिबन्धमा फुकुवा र सुरक्षाको प्रत्यायभूती चाहन्छ । उदाहरणका लागि कोरियाली युद्ध समाप्त भएको औपचारिक घोषणा गरियोस् ।

अहिलेका लागि यस्तो लाग्छ कि अमेरिका परमाणु हतियार हटाउनका लागि वास्तविक कदम उठाउने आफ्नो मागको विषयमा नरम तरिका अपनाइरहेको छ । किम जोंग उन ‘एक कदम उठाएको बदलामा एक कदम उठाउने’ जुन ढाँचाको वकालत गरिरहेका छन् अमेरिका पनि त्यही दिशामा अघि बढिरहेको देख्न सकिन्छ ।

उत्तर कोरियाको परमाणु र मिसाइल हतियारको निर्माणमा रोक लगाउने स्थितीमा त्यो प्रतिबन्धमा आंशिक छुट दिइने सम्भावना भएको रिपोर्ट पनि सार्वजनिक भइरहेको छ । स्मरण रहोस्, उत्तर कोरियाले परीक्षणमा रोक लगाएको छ तर उत्पादन भने बन्द गरेको छैन ।

दोस्रो भेटपछि उत्तर कोरिया आफूसँग भएको परमाणु हतियारलाई नष्ट गर्ने दिशामा ठोस् कदम उठाओस् ।

चिन्ता यो छ कि ट्रम्पले परमाणु हतियार नष्ट गर्ने स्पष्ट बाटो तय गर्नुको साटो एक अन्तरिक सम्झौता गर्न सक्छन् ।

चुनौती नम्बर ४ः वास्तविकतालाई बुझ्नुपर्ने

अमेरिकामा नेशनल इन्टेलिजेन्सका निर्देशक डेन कोट्सले गत हप्ता सिनेटमा एउटा कमिटीलाई उत्तर कोरियाका नेताहरुले ‘आफ्नो शासन कायम राख्न परमाणु हतियार अत्यावश्यक भएको’ सोच्ने जानकारी दिए । यस्तै, विशेषज्ञका अनुसार किम जोंग उन यस्तो कूटनीतिक माहौल तयार गर्ने कोसिस गरिरहेका छन् जहाँ उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न देशको रुपमा मान्यता पाउन सकियोस् ।

नयाँ वर्षको आफ्नो भाषणमा किम जोंग उनले परमाणु हतियार नष्ट गर्ने आफ्नो बचन अनुसार उत्तर कोरिया न त परमाणु हतियार बनाउनेछ न नै त्यसको सम्वर्धन गर्ने बताएका थिए ।

पेन्टागनका केही पूर्व अधिकारीले हतियारलाई पूर्ण रुपमा नष्ट गर्नुको साटो हतियारको नियन्त्रणबारे कुराकानी गर्नु तर्कसंगत हुने बताइरहेका छन् ।

केही विश्लेषले जबसम्म उत्तर कोरियाको शासनले आफूलाई सुरक्षित महसुस गर्दैन तबसम्म परमाणु हतियार हटाउने दिशामा प्रगति सम्भव नभएको धारणा प्रस्तुत गरिरहेका छन् ।

उनीहरुका अनुसार किम जोंग उनलाई यो सम्झाउन सकिन्छ कि सत्तामा रहिरहनका लागि उनलाई परमाणु हतियारको आवश्यकता छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार